रास्वपाकै सांसदका प्रश्नले घेरिँदै सरकार

रास्वपाकै सांसदका प्रश्नले घेरिँदै सरकार

काठमाडौं :  प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङको कार्यशैली र व्यवहारप्रति प्रश्न गर्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदहरूले असन्तुष्टि व्यक्त गरेका छन्।

सरकारका कामकारबाहीप्रति प्रश्न र आलोचना गर्नुपर्ने संसदीय भूमिका निर्वाहमा प्रतिपक्षी दलका सांसदभन्दा सत्तारूढ रास्वपाकै कै सांसदहरू अगाडि देखिएका छन्। पछिल्लो दिनमा प्रतिनिधिसभामै अस्वाभाविक दृश्य देखिएका छन्। सरकारको सबैभन्दा चर्के आलोचना प्रतिपक्षीबाट होइन, सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कै सांसदबाट भइरहेको छ।

सरकारको गत वर्ष भदौ २४ गतेको विध्वंस पछिको पुनर्निर्माणको सुस्त गति, ग्यास अभाव, प्रधानमन्त्रीको सचिवालयको हस्तक्षेप, मन्त्रीहरूको कार्यशैलीप्रति सांसदहरूले प्रश्न उठाइरहेका छन्।

उद्योगमन्त्रीको राजीनामा कि बर्खास्ती ?

उद्योगमन्त्री गौरीकुमारी यादवको बिहीबार राजीनामा दिनुअघि सरकारको कार्यशैलीमाथि प्रश्न उठाउने व्यक्ति हुन्, रास्वपाकै सांसद बदनकुमार भण्डारी। बुधबारको उद्योग समितिको बैठकमा सांसद भण्डारीले ग्यास सहज आपूर्ति गर्न नसक्ने मन्त्रीले राजीनामा दिनुपर्ने बताएका थिए। मन्त्री यादवले राजीनामा दिएको नभई ‘बर्खास्त गरिएको’ रास्वपाका सांसद अमरेशकुमार सिंहको दाबी छ। रास्वपाका नेताहरूका अनुसार, मन्त्री यादवलाई व्यवस्थापन गर्न नसकिएको उल्लेख गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले पदबाट राजीनामा गर्न सुझाएका थिए।

रास्वपाका महामन्त्रीसमेत रहेका सांसद विपिनकुमार आचार्यले संसद्मै सिंहदरबार र संसद्को पुनर्निर्माण सुस्त भएको चर्चा गर्दै सरकारलाई ढिला नगरी काम गर्न भनेका छन्। निजी क्षेत्रले भदौ २४ को विध्वंसपछि आफ्ना संरचना पुनर्निर्माण गरिसक्दा राज्यका प्रमुख संरचना अझै उस्तै रहेको उनको टिप्पणी छ। ‘जब म सिंहदरबारको गेटबाट भित्र छिर्छु जलेको सिंहदरबार र गृह मन्त्रालय अझै उस्तै बेवारिसे देख्छु। यो पालिको बजेट नै नयाँ संसद् हलमा हुने भन्ने सुनेकोमा आज पनि यो अस्थायी भवनबाट आफ्ना कुराहरू राखिराखेको छुँ,’ आचार्यले प्रतिनिधिसभा बैठकमा भने, ‘राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ? के–के नीतिगत र व्यावहारिक कमजोरीहरू छन्। त्यो पत्ता लगाउँ र यो पुनर्निर्माणको गतिलाई चाहिँ बढाउँ, विफोर इटस् टू लेट।’

सल्लाहकारको कार्यशैलीमै प्रश्न

सांसद सिंहले प्रधानमन्त्री वालेन्द्र शाहका सल्लाहकार कुमार बेनलगायत सचिवालयको कार्यप्रति गम्भीर आपत्ति जनाएका छन्। ‘सरकारको केन्द्र मैले सिंहदरबार बुझेको थिएँ तर सरकारको केन्द्र ज्वागल बनेको छ, हुकुमी शासन चलिरहेको छ,’ सिंहले बिहीबार प्रतिनिधिसभाको बैठकमा भने, ‘सचिवालयको केही साथीहरूको कुरा सुन्दा म झस्कन्छु कि म कुन देशको सांसद हुँ ? एउटा जासुसी संस्थालाई भेट्न प्रधानमन्त्रीका सल्लाहकार जान्छन्। त्यहाँ दिल्लीको लीला प्यालेस होटलको दोस्रो फ्लोरमा बस्छन्। देवानन्दको गाइड फिल्म जस्तैः यो सरकार चलिरहेको छ। एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ।’ सांसद सिंहले सरकारको केन्द्र सिंहदरबारबाट हुनुपर्नेमा ज्वागल (प्रधानमन्त्री वालेन्द्र शाहका प्रमुख सल्लाहकार कुमार बेनको घर) बनेको आरोप लगाए। सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकलाई राति बोलाएर कन्चटमा पेस्तोल राखिएको पनि उनको दाबी थियो।

गृहमन्त्री गुरुङको कार्यशैलीप्रति रुष्ट

आलोचना सुन्ने धैर्य, फरक मतलाई सम्मान गर्ने संस्कार र आफू पनि गलत हुन सक्ने स्वीकारोक्ति हराउँदै गएकोमा गृहमन्त्री सुधन गुरुङ पनि पार्टीभित्रै आलोचित बनेका छन्। भदौ २३ गते जेन–जी स्मृति दिवसका अवसरमा नयाँ बानेश्वरमा आयोजित कार्यक्रममा विवादित धर्मगुरुद्वय विजय भण्डारी र श्रीनिवास आचार्यलाई मञ्चमा राखिएको एवं गृहमन्त्री गुरुङले सञ्चारकर्मीप्रति धम्कीपूर्ण शैलीमा दिएको अभिव्यक्तिप्रति सांसदहरूले आलोचना गरेका हुन्। 

पार्टी सचेतक क्रान्तिशिखा धितालले असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा प्रश्न गरेकी छिन्, ‘त्यो स्टेज किन त्यसरी खडा गरियो ? त्यहाँ भएका धर्मगुरुको अर्थ के थियो ? त्यो कार्यक्रमले जेन जी परिवारको पीडा कसरी सम्बोधन ग¥यो ?’ गत वर्ष प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र निरंकुश सत्ताविरुद्ध सडकमा उत्रिएको आन्दोलनको स्मरण गर्दै अहिले आफूहरूमाथि प्रश्न गर्नेहरूलाई नै धम्की र चेतावनीको भाषा प्रयोग गर्न मिल्छ कि मिल्दैन भन्दै प्रश्न गरेकी छिन्। 

उनको सार्वजनिक सञ्जालमार्फत गरेको प्रश्नबाट चिढिएका मन्त्री गुरुङले धिताललाई ह्वाट्स एपबाट सन्देश पठाउँदै असन्तुष्टि जनाएको रास्वपाका एक सांसदले बताए।

राज्यको मुटु नै मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दाखेरि रसुवा र नुवाकोटका नागरिकले चाहिँ पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?null

विपिनकुमार आचार्य, सांसद एवं महामन्त्री, रास्वपा

सरकारको केन्द्र मैले सिंहदरबार बुझेको थिएँ। तर, सरकारको केन्द्र त ज्वागल बनेको छ। हुकुमी शासन चलिरहेको छ।

null

अमरेशकुमार सिंह, सांसद, रास्वपा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.