आमा सुरक्षा कार्यक्रम बच्चा जन्माउन मात्रै निःशुल्क गर्ने होइन:तोसिमा कार्की
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद डा. तोसिमा कार्कीले राज्य खोज्दै अस्पताल पुगेकी 'बबिता' सम्म राज्यको सेवा पुग्न नसकेको बताएकी छन्। शुक्रबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद कार्कीले राज्यको सेवा नपाएकै कारण 'बबिता'ले सडक पेटीमा शिशुलाई जन्मदिनु परेको दुखेसो सुनाइन्।
केही दिनअघि सप्तरीको गजेन्द्र नारायण सिंह अस्पतालनजिकै सडक पेटीमा महिलाले शिशुलाई जन्म दिएकी थिइन्।
उनले भनिन्,‘राज्य खोज्दै बबिता अस्पताल पुगिन्। तर,राज्यको सेवा बबितासम्म पुगेन। बबिताजस्ता हरेक गर्भवती महिलासम्म राज्य पुगोस्। चिन्ता नलिऊ,बबिता,म तिम्रो साथमा छु। तिमीलाई केही हुँदैन,राज्य तिम्रो साथमा छ भन्नसक्नुपर्छ।'
उनले उक्त घटनामाथि गहिरो अनुसन्धान गर्नुपर्ने माग गरिन्। ‘प्रसव व्यथाले थलिएकी गर्भवती महिला अस्पताल पुग्दा उनलाई भर्ना गर्ने जिम्मेवारी कसको हो? अस्पतालले हामीलाई जानकारी छैन भनेर मात्रै पन्छिन मिल्छ र ?’उनले प्रश्न गरिन्।
उनले आमा सुरक्षा कार्यक्रम बच्चा जन्माउनुलाई मात्रै निःशुल्क बनाउने कार्यक्रम नभएको भन्दै गर्भवती महिलालाई समग्र स्वास्थ्य सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिइन्। अस्पताल पुगेका गर्भवती महिलालाई कुनै पनि बहानामा उपचारबाट बञ्चित गर्न नहुने उनको भनाइ छ। उनले आमा सुरक्षा कार्यक्रमलाई थप व्यवस्थित बनाउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराइन्।
प्रतिक्रिया दिनुहोस !