फुट्यो हुङ्गा खोलाको ताल, दूधकोशी क्षेत्रमा उच्च सतर्कता
काठमाडौं : सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–२ बोदेलमा विशाल पहिरोले हुङ्गा खोला थुनेर बनेको ताल प्राकृतिक रूपमै फुटेर पानी निकास हुन थालेको छ।
३० मिटर चौडा पहिरोले खोला थुनिँदा १०० मिटरभन्दा लामो र १५ देखि २० मिटर उचाइसम्मको ताल खोलामै बनेको थियो। शुक्रबार दिउँसोबाट तालको बाँध स्वतः खोलिएर पानी निरन्तर बाहिर बग्न थालेपछि तत्कालका लागि ठूलो दुर्घटना टरेको भए पनि जोखिम भने अझै पूर्ण रूपमा टरेको छैन।
ताल फुटेर बाहिरिएको लेदो र पानीको तीव्र बहावले गर्दा दूधकोशी नदीमा पानीको सतह ३ देखि पाँच मिटर मिटरसम्म बढ्न सक्ने अनुमान गरिएको छ। थुनिएको हुङ्गा खोला सोताङ र थुलुङ दूधकोशी गाउँपालिका हुँदै ओखलढुङ्गाको दूधकोशी नदीमा मिसिने भएकाले त्यस तटीय क्षेत्रका बस्तीहरू उच्च जोखिममा परेका छन्।
माथिबाट पुन: पहिरो खसेर खोला थुनिन सक्ने सम्भावना अझै कायमै रहेकाले सोलुखुम्बु र ओखलढुङ्गा जिल्ला प्रशासन कार्यालयले नदी किनारका सम्पूर्ण बस्तीहरूलाई सतर्क रहन अपिल गरेका छन्। प्रहरी टोलीलाई तटीय क्षेत्रमा खटाइएको छ।
प्रतिक्रिया दिनुहोस !