१३ दिनदेखि हराइरहेका युवक मृत अवस्थामा भेटिए
महोत्तरी : महोत्तरी प्रहरीले मोबाइल लोकेशनको आधारमा एक युवकको शव फेला पारेको छ। जिल्लाको भंगहा नगरपालिका–६ का २५ वर्षीय विवेक सरदारको शव प्रहरीले मोबाईलबाट भएको कुराकानीको आधारमा लोकेशन ट्रयाक गर्दै फेला पारेको हो ।
विवेक घरबाट १३ दिनदेखि एकाएक बेपत्ता थिए। उनको शव टुक्राटुक्रा पारेर सेफ्टी ट्यांकीमा राखिएको र त्यसमाथि सिमेन्ट–बालुवाले पलास्टर गरिएको अवस्थामा प्रहरीले फेला पारेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
विवेक सरदारको शव बलवा नगरपालिका–७ बनौटाका अशोक ठाकुरको घरको शौचालयको सेफ्टी ट्यांकीभित्र फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार विवेक रक्षाबन्धनको दिनदेखि बेपत्ता थिए। परिवारजनले उनको खोजी गरिदिनका लागि प्रहरीलाई जानकारी गराएका थिए। सोही अनुरुप प्रहरीले अनुसन्धानका क्रममा विवेकको अन्तिम मोबाइल लोकेशन घटनास्थल आसपास देखिएको थियो। उनको अन्तिम फोन कल ठाकुरका छोरा दिपेन्द्र ठाकुरकी श्रीमतीको नम्बरमा देखिएको प्रहरी स्रोतले जनाएको छ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले घरधनी अशोक ठाकुर र उनका छोरा दिपेन्द्र ठाकुरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो। अनुसन्धानका क्रममा उनीहरूले शव सेफ्टी ट्यांकीमा लुकाएको बताएपछि प्रहरी घटनास्थलमा पुगेर शव बरामद गरेको हो।
दिपेन्द्रको ससुराली घर भंगहा नगरपालिका–७ संग्रामपुरमा पर्छ। जुन विवेकको छिमेकी गाउँ पर्दछ। विवेक र दिपेन्द्रकी श्रीमतीबीच चिनजान रहेको बताइएको छ। दिपेन्द्र वैदेशिक रोजगारीमा रहेका थिए। केही दिनअघि मात्रै उनी घर फर्किएको प्रहरी स्रोतले जनाएको छ।
प्रहरीले विवेक र दिपेन्द्रकी श्रीमतीबीचको सम्बन्ध तथा फोन सम्र्पकलगायत विषयलाई समेत अनुसन्धानको दायरामा राखेको छ। प्रारम्भिक अनुसन्धानमा फोनमार्फत विवेकलाई घरमा बोलाएर हत्या गरी शव सेफ्टी ट्यांकीमा लुकाइएको हुनसक्ने आशंका गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !