तीन सातासम्म उपचार गराउँदा पनि बचेन कैदीको ज्यान
विराटनगर : मोरङ कारागारमा कैद सजाय भुक्तान गरिरहेका एक कैदीको शुक्रबार दिउँसो मृत्यु भएको छ। तीन सातासम्म उपचार गराउँदा पनि कैदीको ज्यान बचेन।
धनकुटाको महालक्ष्मी नगरपालिका–९ घर भएका ४१ वर्षीय गोविन्द भण्डारीको उपचारका क्रममा मृत्यु भएको कारागारका निमित्त प्रशासक तुलसी पौडेलले बताए। उनका अनुसार लागुऔषध मुद्दामा कैद सजाय भुक्तान गरिरहेका भण्डारीलाई छाती दुख्ने समस्या देखिएपछि गत भदौ ५ गते उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो।
अस्पतालमा उपचारकै क्रममा शुक्रबार दिउँसो करिब ३ बजे चिकित्सकले भण्डारीलाई मृत घोषणा गरिदिएको पौडेलले बताए। ‘तीन सातासम्म लगातार उपचार गराइयो। तर, बचाउन सकिएन। अवस्था जटिल बन्दै गएर कैदीको मृत्यु नै भयो,’ पौडेलले भने। भण्डारीलाई फोक्सोसम्बन्धी समस्या रहेको र उपचारका क्रममा अन्य स्वास्थ्य समस्या पनि देखिएको पौडेलले बताए।
विराटनगर महानगरपालिका–८ हाटखोलास्थित कारागारमा कैद भुक्तान गरिरहेका भण्डारीलाई अदालतले लागुऔषध मुद्दामा १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिबाना हुने फैसला सुनाएको थियो। अदालतको फैसलाअनुसार उनले २०८१ असोज १३ गतेदेखि कैद भुक्तान गरिरहेका थिए। उनको कैद अवधि २०९१ साउन १५ गतेसम्म थियो। तर, कैद भुक्तानको अवधि पूरा नहुँदै उनको मृत्यु भयो । मृतक भण्डारीको शव परिवारलाई जिम्मा लगाइएको कारागार प्रशासनले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !