सरकार जनताको चाहना र अपेक्षा अनुसार चल्न सकेन : पूर्वप्रधानमन्त्री नेपाल

सरकार जनताको चाहना र अपेक्षा अनुसार चल्न सकेन : पूर्वप्रधानमन्त्री नेपाल
सुन्नुहोस्

वीरगन्ज : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्री बालेन शाह नेतृत्वको वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा भएपनि सरकारले जनताको चाहनाअनुसार काम गर्न नसकेको आरोप लगाएका छन्। 

शनिबार वीरगन्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सह–संयोजकसमेत रहेका नेपालले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका क्रममा सरकारले बेपत्ताको खोजी तथा उद्धारमा ढिलाइ गरेका कारण थप जनधनको क्षति भएको दाबी गरे।

‘देश अहिले विपत्तिमा छ। हिमाली सुनामीका कारण ठूलो जनधनको क्षति भएको छ,’ नेपालले भने, ‘खोजी कार्यमा सरकारले पर्याप्त ध्यान दिन सकेको छैन । समयमै भारत र चीन सरकारको सहयोग लिन सक्नुपथ्र्यो। त्यसैले भोटेकोशी बाढीका क्रममा सरकार धेरै ठाउँमा चुकेको छ।’


संविधानको रक्षा, संघीयता र समावेशिता जोगाउन परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको बताए।अहिले लोकतन्त्र, संघीयता, समावेशिता लगायतका संवैधानिक अधिकार कटौती हुने खतरा बढ्दै गएको भन्दै उनले त्यसको रक्षाका लागि परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्ने बताए।

‘संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिले हामीलाई संविधान जोगाउने चिन्ता छ,’ उनले भने, ‘मुख्य कुरा संघीयता र समावेशिता जोगाउने चिन्ता हो। जनताले सुशासनको महसुस गर्न पाइरहेका छैनन्। त्यसैले परिवर्तनकारी शक्ति एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन ।’

पूर्वप्रधानमन्त्री नेपालले नेकपा (एमाले)सँग तत्काल पार्टी एकता सम्भव नरहेको स्पष्ट पार्दै मुलुकको समृद्धि र विकासका लागि सबै कम्युनिष्ट पार्टीबीच कार्यगत एकता भने आवश्यक रहेको बताए।
उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको निष्पक्ष छानबिन गर्नुपर्ने मागसमेत गरे।

समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भु कुमार सुमनको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रममा मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेल, नेकपा पर्साका सह–इन्चार्ज मनोज चौधरी, जिल्ला संयोजक जयप्रकाश थारु, गंगा खड्का, बाबुराम कौशिक, केन्द्रीय सदस्य किशोरी कुशवाहा लगायतकाको पनि उपस्थिति थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.