बाढीमा परी ज्यान गुमाएकाको सम्झनामा साउदीस्थित नेपाली दूतावासमा शोकसभा
साउदी : रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत आसपासका क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको सम्झनामा साउदी अरबस्थित नेपाली दूतावास र नेपाली वाणिज्य दूतावासले शोकसभा तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन्।
कार्यक्रममा बाढी तथा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मौनधारण गरिएको थियो। सहभागीहरूले दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली दूतावास रियादकी कार्यवाहक राजदूत सिर्जना अधिकारीले प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पीडित परिवारप्रति दूतावासको गहिरो सहानुभूति रहेको बताइन्।
उनले प्रवासमा रहेका नेपालीबीचको एकता, सहकार्य र मानवीय सहयोगले विपत्तिमा परेका परिवारलाई ठूलो राहत पुग्ने उल्लेख गर्दै उद्धार, राहत तथा पुनःस्थापनाका प्रयासमा सबै नेपालीलाई हातेमालो गर्न आह्वान गरिन्। त्यस्तै, नेपाली वाणिज्यदूत पारस पण्डितले पनि विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रभावित परिवारलाई सहयोग गर्नु सबैको साझा दायित्व भएको बताए। उनले साउदी अरबमा रहेका नेपाली समुदायले विपत्तिको समयमा देखाएको मानवीय एकता र सहयोगको प्रशंसा गर्दै पीडित परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोगलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
कार्यक्रममा सहभागी नेपाली समुदायका प्रतिनिधिहरूले पनि दुःखको यस घडीमा प्रवासमा रहेका नेपालीहरू एकजुट भएर पीडित परिवारको साथमा उभिनुपर्ने बताएका थिए। साथै, उद्धार तथा राहतका लागि विभिन्न संघसंस्था, सामाजिक अभियन्ता तथा नेपाली समुदायबाट भइरहेको सहयोगप्रति धन्यवाद व्यक्त गरिएको थियो। शोकसभामा दूतावास परिवार, नेपाली समुदायका प्रतिनिधि, विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रवासी नेपालीहरूको सहभागिता रहेको थियो। कार्यक्रमले बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै विपत्तिबाट प्रभावित नेपाली परिवारको उद्धार, राहत र पुनःस्थापनाका लागि सामूहिक रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस !