लगानीकर्ता विश्वस्त बनाउँदै सरकार, आशा जगाउँदै सेयर बजार

लगानीकर्ता विश्वस्त बनाउँदै सरकार, आशा जगाउँदै सेयर बजार
सुन्नुहोस्

सेयर बजारका लगानीकर्तामा केही उत्साह थप्ने र आगामी सेयर कारोबारमा सुधारका संकेत देखिने विश्लेषकहरूको भनाइ छ

काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार सेयर बजार सुधारको योजना छिट्टै ल्याउने प्रतिबद्धता जाहेर गरेका छन्। डा. वाग्लेले नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८ औं वार्षिक साधारणसभामा आगामी सातासम्ममा १०–१२ बुँदे बजार सुधारका योजना ल्याउने बताएका हुन्।

यसअघि उनले सेयर बजारको कानुनी सुधारका योजना मागेअनुसार नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले १० बुँदे सुझाव पनि बुझाइसकेका छन्। 

त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार निजी क्षेत्रका शीर्ष व्यवसायीहरू विनोद चौधरी, उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्रप्रसाद ढकाल, पूर्वराज्यमन्त्री एवं व्यवसायी उमेश श्रेष्ठ, वरिष्ठ उद्योगी पवन गोल्यानसँग भेट गरेका छन्। त्यसक्रममा प्रधानमन्त्री शाहले सरकारले लगानीको वातावरण बनाइदिने, व्यवसायीलाई ढुक्क भएर लगानी गर्नका सन्देश दिए। उनको भनाइले अब सरकार व्यवसायीमाथिको धरपकड र थुन्ने काममा रोकिने देखिन्छ। यसले सेयर बजारका लगानीकर्तामा पनि केही उत्साह थप्ने र आगामी सेयर कारोबारमा सुधारका संकेत देखिने विश्लेषहरूको भनाइ छ। 

भदौको चौथोे सातामा सेयर कारोबार चार दिन भएकोमा नेप्से दुई दिन घटेर दुई दिनै बढ्यो। सरकारले मंगलबार ‘प्रथम जेन–जी दिवस’ को सार्वजनिक बिदा दिएकाले सेयर कारोबार भएन। अघिल्लो साता भने चार दिन कारोबार भएकोमा नेप्से एक दिन घटेर तीन दिन बढेको थियो। 

अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २५४२.७७ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार दोहोरो अंकले बढ्यो। त्यसदिन नेप्से १८.०७ अंकले बढेर २५६०.८४ विन्दुमा पुग्यो। त्यसपछिका दुई दिन लगातार नेप्से घट्यो। मंगलबार १५.४३ अंक र बिहीबार १३.८५ अंकले घटे। यस साताको अन्तिम कारोबारको दिन शुक्रबार नेप्से उच्च अंकले बढ्यो। त्यसदिन नेप्से २७.९४ अंकले बढेर २५५९.४९ विन्दुमा पुगेर बन्द भयोे। 

सातामा दुई दिनको कारोबारमा नेप्से ४६.०१ अंकले बढ्ने र दुई दिनको कारोबारमा २९.२८ अंकले घट्दा नेप्सेमा १६.७३ अंकले बढोत्तरी भयो। अघिल्लो सातामा भने नेप्से १४.५५ अंकले घटेको थियो। यस सातामा शुक्रबार न्यून विन्दु २५२४.५५ मा र बुधबार उच्च विन्दु २५७८.४३ अंकसम्म नेप्से बढेर सेयर कारोबार भयो।

यस साता सबैभन्दा कम बिहीबार ३ सय ४१ वटा कम्पनीको कारोबार भएकोमा सोमबार र बुधबार साताकै सबैभन्दा बढी ३ सय ५२ स्क्रिप्टहरूको कारोबार भयो। अघिल्लो साता बढीमा ३ सय ५४ स्क्रिप्टसम्मको कारोबार भएको थियो। 

यस साता सबैभन्दा कम सेयर कारोबार सोमबार ३ अर्ब ८३ करोड १५ लाख र सबैभन्दा बढी शुक्रबार ४ अर्ब ३६ करोड १ लाख रुपैयाँको भयो। साताभरिमा चार दिनको कारोबारमा १६ अर्ब ३९ करोड १४ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो। यसबाट औसतमा दैनिक ४ अर्ब ९ करोड ७९ लाख रुपैयाँको सेयर कारोबार भएको देखाउँछ।

अघिल्लो साता भने १२ अर्ब ९६ करोड ३४ लाख मात्रैको कारोबार हुँदा औसतमा दैनिक ३ अर्ब २४ करोड ८ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो। यसले सातामा औसत दैनिक सेयर कारोबार लगभग २६ प्रतिशतले बढेको देखाउँछ। अघिल्लो साता भने औसत दैनिक सेयर कारोबार करिब १८ प्रतिशतले घटेको थियो। 

नेप्सेको कुल बजार पुँजीकरण शुक्रबार ४४ खर्ब २ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ। अघिल्लो साताको अन्तिम दिन शुक्रबार बजार पुँजीकरण ४३ खर्ब ७३ अर्ब ९० करोड रुपैयाँ थियो। साताभरमा नेप्से १६.७३ अंकले बढ्दा कुल बजार पुँजीकरण पनि २८ अर्ब ७६ करोड रुपैयाँले बढ्न पुग्यो। अघिल्लो साता भने कुल बजार पुँजीकरण २६ अर्ब ८० करोड रुपैयाँले घटेको थियो। 

यस साता पियोर इनर्जी र लिवर्टी इनर्जीको एक–एक दिन सकरात्मक सर्किट लेभलमा कारोबार भयो। सातामा तीन दिन सिन्धु विकास बैंक र दुई–दुई दिन इमर्जिङ नेपाल र जानकी फाइनान्सकोे नकारात्मक सर्किट लेभलमा कारोबार भयो। इमर्जिङ नेपालको संस्थापक सेयर १८ महिनापछि कारोबारमा आएको हो, अनि मुक्तिनाथ विकास बैंकले सिन्धु र जानकीलाई प्राप्ति गर्ने भएपछि यिनीहरूको सेयरमा दबाब परेको थियो। 

यस साता सर्वाधिक बढी कारोबार हुनेमा सोमबार र बुधबार रिलायन्स स्पिनिङ मिल्सको क्रमशः २५ करोड २१ लाख ६६ हजार र ४२ करोड ७६ लाख ७४ हजार, बिहीबार र शुक्रबार लिबर्टी इनर्जीको क्रमशः ४५ करोड ४८ लाख ८८ हजार र ३६ करोड ६६ लाख ५५ हजार रुपैयाँ छ। सेयर बजारमा यस साता सात उपसमूह बढेका थिए भने अरू ६ वटाको घटे। बैंकिङ, म्यानुफ्याचरिङ एन्ड प्रोसेसिङ, नन्लाइफ इन्स्योरेन्स, माइक्रो फाइनान्स, लाइफ इन्स्योरेन्स र इन्भेस्टमेन्ट समूह बढेका थिए। अघिल्लो साता भने चार उपसमूहको बढेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.