विश्व मञ्चमा गुञ्जियो नेपालको पीडा
रियाद : नेपालमा गएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै इटालीको चर्चित फुटबल क्लब एएस रोमाले विश्व फुटबलको प्रतिष्ठित मञ्चबाट नेपालको पक्षमा आवाज उठाएको छ। युरोपेली च्याम्पियन्स लिगअन्तर्गत १० सेप्टेम्बरमा टर्कीको इस्तानबुलमा फेनरबाचेविरुद्ध भएको खेलमा एएस रोमाका खेलाडीहरू ‘नेपालका लागि एकसाथ’ भन्ने सन्देश अंकित विशेष जर्सी लगाएर मैदान उत्रिएका थिए। जर्सीमा संयुक्त राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रमको चिन्हसमेत राखिएको थियो।
नेपालको विपदलाई अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याउने उद्देश्यले एएस रोमा र विश्व खाद्य कार्यक्रमको सहकार्यमा अभियान सञ्चालन गरिएको हो। खेलाडीहरूले प्रयोग गरेको विशेष जर्सी लिलामी गरी त्यसबाट प्राप्त रकम नेपालका विपद प्रभावित समुदायको राहतमा प्रयोग गरिने जनाइएको छ।
च्याम्पियन्स लिगका त्यस साताका खेलअघि नेपालका बाढीपीडितको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो। मैदानमा ‘नेपाल तिमी एक्लो छैनौ’ भन्ने सन्देशसहितको ब्यानर प्रदर्शन गरिएको थियो। विश्वभर करोडौं फुटबलप्रेमीको ध्यान पुग्ने च्याम्पियन्स लिगको मञ्चमा नेपालको विपदको विषय उठाइनुले नेपाली जनताको पीडालाई अन्तर्राष्ट्रिय तहमा पुर्याएको छ।
फुटबल केवल प्रतिस्पर्धाको खेल नभई मानवता र ऐक्यबद्धताको माध्यम पनि बन्न सक्छ भन्ने सन्देश एएस रोमाको यो पहलले दिएको छ। विपदको कठिन घडीमा नेपालको पक्षमा उभिएको एएस रोमा, उसका खेलाडी तथा विश्व खाद्य कार्यक्रमप्रति नेपाली समुदायले सम्मान र आभार व्यक्त गरेको छ।
प्रतिक्रिया दिनुहोस !