‘झल्का मात्र लाइगई’

‘झल्का मात्र लाइगई’
सुन्नुहोस्

टीकापुर : अछाम बान्नीगढी जयगढ–२ सल्लेनाका गणेशबहादुर साउद २०५८ फागुन ४ गते काठमाडौंमा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता खेलिरहेका थिए।

जुनियर र एकपटक सिनियर टिमबाट राष्ट्रिय प्रतियोगिता खेलेका उनी बायाँहाते ब्याक स्पाइकर हुन्। तर, सोही साल तत्कालीन नेकपा माओवादीले जिल्ला सदरमुकाम मंगलसेन र मुख्य व्यापारिक केन्द्र साँफेबगरमा भीषण आक्रमण गर्‍यो। घटनामा परी सयौंको संख्यामा प्रहरी, नेपाल आर्मी, राष्ट्रसेवक कर्मचारीको ज्यान गयो। सदरमुकाममा भएको आक्रमणबाट सीडीओ समेतको ज्यान गएपछि साउदले भलिबल खेलप्रति माया मारे।

अनि, कामको खोजीमा भारत (मुग्लान) पसे। ‘ज्यान जोगाउनै गाह्रो थियो, भलिबल खेल्ने कुरा त सपना जस्तै लाग्न थाल्यो,’ साउदले भने, ‘छिमेकीसँगै म पनि भारतमा चौकीदारी गर्न लागे।’

उनले झन्डै ६ महिना चौकीदारी गरे। कक्षा ६ मा पढ्दादेखि नै बुबाले ल्याइदिएको मादल र बासुँरीमा उनी घरमै गीत गाउँथे। भारतमा नेपालीले भोगेका दुःखकष्ट देखेँ। अनि, नेपालीका दुःखलाई समेट्दै गीत लेखेँ, ‘बगन्या आँसु’। आफ्नै स्वरमा क्यासेट एल्बम निकालेपछि साउद कलाकारका रूपमा चिनिए।  
छोराछोरी एक्लै छाडी, जनजाए माइत !
नछोड मैना बगन्याँ आँसु, परदेश जाने साइत !!

यो गीतले खुबै चर्चा पायो। देउडामा गीतमा आएको बगन्या आँसु नै साउदको पहिलो एल्बम बन्यो। भारतमा चौकीदारी गर्दा भएको एक घटनालाई उनले गीतमा बुने। 
देश डुल्नुछ, भिक माग्नुछ, जीवनभरि धामा !
तिर्नुछ दूधको भारा, कठै मेरी आमा !! 

यो गीत अधिकांश घरमा बज्यो। भारत जाने प्रत्येक घरको कथा साउदले गीतमा बुनेका थिए। ‘सांगीतिक यात्राको पहिलो एल्बमले नै मलाई स्थापित गर्‍यो, गीत निकै चल्यो’ साउदले भने, ‘यो मैले भोगेको वास्तविक घटनामा आधारित भए पनि हरेक भारत जाने सुदूरपश्चिमेलीको पीडा थियो।’

देश द्वन्द्वको चर्को उत्कर्षमा रहेका बेला ०६० सालमा उनले ‘अशान्तिका आँसु’ एल्बम ल्याए। २०६४ मा ‘सुन होइकी पित्तल’, २०६७ मा ‘यसाई दिन बाइगया’, २०७० मा ‘सम्झनाको नासो’ भिडियो एल्बम, २०७१ मा लोकपप ‘यो त मालै रहेछ’ बजारमा ल्याएका साउदले २०७७ मा देउडा दोहोरी ‘मनको धनी’ बजारमा ल्याए।

‘छम्म बजा ताली, छमकछमक देउडा खेलौं हामी भिना साली’ र ‘सरर सिरु पात सर्काइदे, हातकी रुमाल फर्काइदे’ साउदका देउडा दोहोरी निकै चर्चामा रहे। ०७१ सालमा साउदले लोकपप लयमा व्यंग्य गीत बजारमा ल्याए। युवा पुस्ता कुलतमा फसिरहेको विषयलाई साउँदले आफ्नो गीतमा समावेश गरे।  
बाउ आमाले दूध पिउ भन्छन्, जिउमा तागत लाग्ने
छोरा भन्छ, चाहियो मलाई, पिउँदा पिउँदै लाग्ने
चरेस, गाँजा, रक्सी पिउँदै हाल बेहाल भएछ, 
साना ठूला सबै भन्छन्, यो त माल रहेछ, यो त मालै रहेछ।

पुरानो एल्बममा समावेश गीतलाई रिमेक गरेर साउँदले केही दिनअघि मात्रै ‘झल्का मात्रै लाइगई’ गीत बजारमा ल्याए। ‘झल्का मात्रै लाइगई’ले सामाजिक सञ्जाल फेसबुक र टिकटकमा धमाका मच्चाइरहेको छ। उक्त गीतमा भिडियो बनाउने क्रम बढ्दो छ। 

सुरुको एल्बमको बिक्रीबाट हौंसिएका उनका अरू गीतले त्यति बजार तताउन सकेनन्। देउडाभन्दा बढी दोहोरी गीत चल्न थाले। ०६३ मा धनगढीमा दिनेश एफएम सञ्चालन भएपछि उनी आरजे बने। सातामा सातै दिन कार्यक्रम सञ्चालन गर्दै आएका साउदले दुई वर्ष आरजे बनेर काम गरे। सञ्चारकर्मबाट जीविकोपार्जन हुने नदेखेपछि उनी बिमा अभिकर्ता बने। एसियन लाइफ इन्स्योरेन्सको बजार प्रतिनिधिबाट काम गरेका उनी यतिबेला कम्पनीको सुदूरपश्चिम प्रदेश प्रमुख छन्। 

‘जीविकोपार्जनका लागि अन्य पेशा गरिरहेको भए पनि गीत संगीतप्रतिको लगाव मेटिएको छैन’ साउदले भने, ‘गीत–संगीतलाई मैले जीवनशैली मानेको छु।’

टीकापुर जेसिज वर्ष २०२० का अध्यक्ष, लायन्स क्लब अफ टीकापुर २०२३ का अध्यक्ष, टीकापुरस्थित जनकल्याण सहकारी संस्थाधका संस्थापक अध्यक्ष, खप्तड सांस्कृतिक परिवारका निवर्तमान अध्यक्ष तथा टीकापुरस्थित गणेशबाबा बोर्डिङ स्कुलका अध्यक्ष छन्। नेपाल जेसिजका राष्ट्रिय उपाध्यक्षसमेत भएका साउद गायन, बिमाका अतिरिक्त सामाजिक क्षेत्रमा समेत सक्रिय छन्। 

बिमा व्यवसायमा व्यस्त रहँदै आएका साउदले देउडा गीत भने छोडेनन्। देउडा संस्कृतिको संरक्षणका लागि गीतलाई निरन्तरता दिँदै आएका साउद गीत–संगीतलाई जीवन जिउने माध्यमका रूपमा लिन्छन्। ‘मेरो लागि गीत संगीत जीवन जिउन कला हो, संर्घषका सुख–दुःख, जीवनका भोगाई हाम्रा देउडा गीतमा समावेश छन्’ साउदले भने, ‘वर्तमानको भोगाईलाई भावी सन्ततीसम्म पुर्‍याउनका लागि पनि मैले गीत–संगीत छोडेको छैन।’

देउडा गीतको माध्यमबाट पुर्याएको योगदानका लागि सुदूरपश्चिम महोत्सव, डल्फिन महोत्सव, टीकापुर महोत्सव, खप्तड सांस्कृतिक परिवारबाट पटक–पटक सम्मानित भएका उनी कला संस्कृतिको संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गर्न गीत–संगीतलाई जीवनशैली बनाउँदै आएका छन्।  

साउदले देउडा गीतका माध्यमबाट सुदूरपश्चिमको परम्परा, भोगाई, वास्तविक भोगाई, बेदना समेट्दै आएका छन्। गीत–संगीतका माध्यमबाट भावी पुस्तालाई देउडा संस्कृति हस्तान्तरण गर्न पनि देउडा गीतलाई निरन्तरता दिँदै आएको उनको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.