विश्व टेनिसको शिखरमा र्‍याबकिना

विश्व टेनिसको शिखरमा र्‍याबकिना
सुन्नुहोस्

न्युयोर्क : विश्व टेनिसमा केही वर्षयता आफ्नो छुट्टै पहिचान बनाउँदै आएकी एलेना र्‍याबकिनाले अन्ततः महिला टेनिसको सर्वोच्च स्थानमा आफ्नो नाम लेखाएकी छन्। कजाखस्तानकी र्‍याबकिनाले २०२६ को यूएस ओपनको उपाधि जित्दै विश्व नम्बर एक बन्ने आफ्नो यात्रालाई अझ ऐतिहासिक बनाएकी हुन्।

न्युयोर्कस्थित आर्थर एस स्टेडियममा शनिबार राति भएको फाइनलमा र्‍याबकिनाले निवर्तमान विश्व नम्बर एक तथा दुई पटककी डिफेन्डिङ च्याम्पियन आर्यना सबालेन्कालाई ६–४, ५–७, ६–२ को सेटमा पराजित गरिन्। यो र्‍याबकिनाको करियरको तेस्रो ग्रान्डस्लाम उपाधि हो भने यूएस ओपन पहिलो। उपाधि जित्नुअघि नै र्‍याबकिनाले विश्व नम्बर एक बन्ने उपलब्धि सुनिश्चित गरिसकेकी थिइन्। क्वार्टरफाइनलमा चीनकी झेङ छिनवेनलाई ३–६, ६–१, ६–४ ले पराजित गर्दै उनी विश्व वरीयताको शीर्ष स्थानमा पुगेकी थिइन्। 

नयाँ वरीयता सोमबार

सोमबार महिला टेनिसको नयाँ वरीयता सार्वजनिक हुँदा र्‍याबकिना आधिकारिक रूपमा विश्व नम्बर एक बन्नेछिन्। यो उपलब्धि र्‍याबकिनाका लागि मात्र नभई कजाखस्तानकै टेनिस इतिहासका लागि ठूलो क्षण हो। उनी कजाखस्तानबाट पुरुष वा महिला दुवैतर्फ विश्व नम्बर एक बन्ने पहिलो खेलाडी हुन्। साथै, र्‍याबकिना डब्लूटीए वरीयता इतिहासमा शीर्ष स्थानमा पुग्ने ३०औं महिला खेलाडी बनेकी छन्।

रूसमा जन्म, कजाखस्तानबाट पहिचान
र्‍याबकिनाको टेनिस यात्रा केही फरक पृष्ठभूमिबाट सुरु भएको थियो। सन् १९९९ मा रुसको मस्कोमा जन्मिएकी उनले ६ वर्षको उमेरदेखि टेनिस खेल्न थालेकी थिइन्। प्रारम्भिक चरणमा रूसबाट टेनिस खेल्दै आएकी र्‍याबकिनाले सन् २०१८ मा कजाखस्तानको प्रतिनिधित्व गर्ने निर्णय गरिन्। त्यसपछि उनको करियरले क्रमशः नयाँ गति लिन थाल्यो।

सन् २०१४ मा व्यावसायिक टेनिसमा प्रवेश गरेकी र्‍याबकिनाले २०१९ मा बुखारेस्टमा आफ्नो पहिलो डब्लूटीए उपाधि जितिन्। त्यसको एक वर्षपछि उनी विश्व वरीयताको शीर्ष २० मा प्रवेश गरिन्। खेलमा शक्तिशाली सर्भ, बेसलाइनबाट लगातार आक्रामक प्रहार र दबाबमा पनि शान्त रहने क्षमताले उनलाई अन्य खेलाडीभन्दा फरक बनाउँदै लग्यो।

तर, र्‍याबकिनाको वास्तविक विश्वव्यापी उदय भने सन् २०२२ मा भयो। त्यतिबेला उनले विम्बल्डनको उपाधि जितेर पहिलोपटक ग्रान्डस्लाम च्याम्पियन बन्ने सफलता पाइन्। त्यसपछि उनी महिला टेनिसको शीर्ष खेलाडीमध्ये एकका रूपमा स्थापित भइन्।

अस्ट्रेलियन ओपनदेखि यूएस ओपनसम्म
सन् २०२६ र्‍याबकिनाको करियरकै सबैभन्दा सफल वर्षमध्ये एक बनेको छ। वर्षको सुरुवातमै उनले अस्ट्रेलियन ओपनको उपाधि जितिन्। मेलबर्नमा सबालेन्कालाई हराउँदै उनले दोस्रो ग्रान्डस्लाम उपाधि आफ्नो नाममा लेखाएकी थिइन्। त्यसपछि स्टुटगार्टमा डब्लूटीए ५०० उपाधि जितिन् भने इन्डियन वेल्स र टोरोन्टोमा उपविजेता बनिन्।

२०२५ को अन्त्यमा र्‍याबकिनाले डब्लूटीए फाइनल्सको उपाधि जितेकी थिइन्। त्यस सफलताले उनको आत्मविश्वास र विश्व वरीयतामा उक्लिने आधार अझ बलियो बनाएको थियो। डब्लूटीएका अनुसार २०२६ मा उनले ३५० भन्दा बढी एस प्रहार गर्दै टुरमै सबैभन्दा धेरै एस निकाल्ने खेलाडीको रूपमा समेत प्रभाव जमाइरहेकी छन्।

यूएस ओपनअघि भने उनको तयारी सहज थिएन। सिनसिनाटीमा चोटका कारण उनले खेल छाडेकी थिइन्। त्यसपछि न्युयोर्क आइपुग्दा उनको फिटनेसलाई लिएर प्रश्न उठेको थियो। तर, यूएस ओपन सुरु भएपछि उनले लगातार उत्कृष्ट प्रदर्शन गरिन्। नकआउट चरणमा नाओमी ओसाकालाई हराउँदै क्वार्टरफाइनल पुगेकी र्‍याबकिनाले झेङलाई हराएर सेमिफाइनलमा स्थान बनाउँदै नम्बर एकको ताजसमेत पक्का गरेकी थिइन्।

सबालेन्काको प्रभुत्व अन्त्य
र्‍याबकिनाको नम्बर एक यात्रा अझ विशेष बन्नुको अर्को कारण आर्यना सबालेन्काको लामो प्रभुत्व अन्त्य हुनु हो। सबालेन्का अक्टोबर २०२४ देखि लगातार विश्व नम्बर एक थिइन्। उनी ९९ सातासम्म शीर्ष स्थानमा बसेकी थिइन्। र्‍याबकिनाले क्वार्टरफाइनल पार गरेसँगै त्यो लामो यात्रामा पूर्णविराम लागेको थियो। र्‍याबकिनाले नम्बर एक बनेर मात्र चित्त बुझाइनन्। उनले यूएस ओपनको फाइनलमै सबालेन्कालाई हराएर उपाधि आफ्नो नाममा लेखाउन सफल भइन्।

फाइनलमा पहिलो सेट ६–४ ले जितेकी उनले दोस्रो सेट ५–७ ले गुमाइन्। निर्णायक तेस्रो सेटमा भने र्‍याबकिनाले आफ्नो धैर्य र आक्रामक खेलको उत्कृष्ट नमुना प्रस्तुत गर्दै ६–२ ले जितिन्। यो जितसँगै उनले सबालेन्काको यूएस ओपनमा लगातार १९ खेलको जित यात्रामा पनि पूर्णविराम लगाइदिइन्। सबालेन्का लगातार तेस्रो यूएस ओपन उपाधि जित्ने लक्ष्यमा थिइन्। तर, र्‍याबकिनाको शक्तिशाली रिटर्न, बेसलाइन खेल र निर्णायक क्षणमा देखाएको संयम उनका लागि भारी पर्न पुग्यो। 

‘ठूला खेलकी खेलाडी’
र्‍याबकिनाको विशेषता उनको शारीरिक क्षमता मात्र होइन, महत्वपूर्ण खेलमा दबाब व्यवस्थापन गर्ने शैली पनि हो। करिब ६ फिट उचाइकी र्‍याबकिनाको सर्भ उनको सबैभन्दा ठूलो हतियारमध्ये एक हो। शक्तिशाली फोरह्यान्ड र दुई हातको ब्याकह्यान्डसँगै उनले विपक्षीलाई बेसलाइनबाटै दबाबमा राख्ने गर्छिन्। उनको खेलमा अर्को महत्वपूर्ण पक्ष निरन्तरता हो। २०२२ को विम्बल्डन सफलतापछि केही समय उतारचढाव आए पनि उनले आफूलाई पुनः विश्व टेनिसको शीर्ष तहमा स्थापित गरिन्। २०२५ को डब्लूटीए फाइनल्स र २०२६ को अस्ट्रेलियन तथा यूएस ओपन उपाधिले त्यसको प्रमाण दिएका छन्।

यूएस ओपन उपाधिसँगै र्‍याबकिनाले तीन वटा ग्रान्डस्लाम जितिसकेकी छन्, सन् २०२२ विम्बल्डन, २०२६ अस्ट्रेलियन ओपन र २०२६ कै यूएस ओपन। अब उनको अगाडिको ठूलो लक्ष्य करियर ग्रान्डस्लाम पूरा गर्नु हुनेछ। त्यसका लागि फ्रेन्च ओपन उनको बाँकी एउटा ग्रान्डस्लाम हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.