तीजमा मन्दिर बाट सुन चोर्ने ६ भारतीय महिला पक्राउ
कपिलवस्तु : हरितालिका तीजको दिन कपिलवस्तुको तौलेश्वरनाथ महादेव मन्दिरबाट सुनको सिक्री र लकेट चोरी गरेको आरोपमा प्रहरीले ६ जना भारतीय महिलालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये दुई जना बालिका रहेको प्रहरीले जनाएको छ।
मन्दिरमा पूजाआजाका लागि आएका श्रद्धालुको भीडमा सुनको सिक्री र लकेट चोरी गरी भाग्ने क्रममा प्रहरीले मन्दिरअगाडिबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका महिलामाथि सोधपुछ तथा घटनाबारे थप अनुसन्धान भइरहेको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिंहले घटनाको अनुसन्धान भइरहेको जानकारी दिनुभयो।
पक्राउ परेकामध्ये एक बालिकालाई आवश्यक प्रक्रिया पूरा गरी परिवारको जिम्मा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा यही समूहले गत वर्षको तीजमा समेत तौलेश्वरनाथ मन्दिरबाट सुन चोरी गरेको खुलेको छ। उनीहरूले साउनमा हुने बोलबम कावर जलयात्राका क्रममा समेत मन्दिरबाट सुन चोरी गरेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरी नायब उपरीक्षक रिपेन्द्र कुमार सिहले बताए ।
प्रहरीले पक्राउ परेका महिलाको समूहबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस !