बाढीपीडितका लागि क्यानबेरामा १५ हजार एयूडी राहत संकलन
क्यानबेरा : नेपालमा बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियाको क्यानबेरामा आयोजित कार्यक्रममा करिब १५ हजार अस्ट्रेलियन डलर संकलन भएको छ । आर्ट साउण्ड एफएम र नेपाली कला, संस्कृति तथा साहित्य प्रतिष्ठान ( क्यानबेरा ) को सहकार्यमा आयोजित 'नेपाल फ्लड डिजास्टर अपिल' कार्यक्रममा नेपाली तथा अस्ट्रेलियाली समुदायका प्रतिनिधि, कलाकार, सामाजिक अभियन्ता र सर्वसाधारण सहभागी भएका थिए ।
टर्नरस्थित पोलिस हवाइट ईगल क्लबमा भएको कार्यक्रममा नेपाली खानाका परिकारसँगै प्रत्यक्ष सांगीतिक प्रस्तुति, कविता वाचन र बाढीसम्बन्धी नाटक प्रस्तुत गरिएको थियो । संकलित रकम इमर्जेन्सी एक्सन अलायन्सको नेपाल फ्लड डिजास्टर अपिल तथा नेपालका प्रधानमन्त्री राहत कोषका लागि जुटाइएको आयोजकमध्येका प्रदीप तिम्सिनाले जानकारी दिए ।
कार्यक्रममा जलविज्ञ डा. दुर्गा दत्त कँडेलले जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण नेपालमा बाढी, पहिरो तथा अन्य विपद्को जोखिम बढिरहेको बताए । उनले नेपालजस्ता भौगोलिक रूपमा संवेदनशील देशले भोगिरहेका जलवायुजन्य चुनौतीप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान जानुपर्नेमा जोड दिए ।
अर्थशास्त्री डा. कृष्ण हमालले विपद् को समयमा सहयोगका लागि जुटेका कलाकार, स्वयंसेवक र सहभागीप्रति आभार व्यक्त गरे । आर्ट साउण्ड एफएमका अध्यक्ष स्टिभ लिटलले नेपालप्रति ऐक्यबद्धता जनाउँदै मानवीय संकटका बेला सहयोग निरन्तर रहने बताए ।
कार्यक्रममा अस्ट्रेलियाली ब्यान्ड द डेभिल एन्ड द बन्नी तथा द डेजी कलेक्टिभले सांगीतिक प्रस्तुति दिएका थिए । उपस्थित हुन नसक्ने दर्शकका लागि एफएम तथा युट्युबमार्फत प्रत्यक्ष प्रसारणसमेत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस !