महाधिवेशनले जोगाउनुपर्ने साख

महाधिवेशनले जोगाउनुपर्ने साख
सुन्नुहोस्

... त्यसैले कांग्रेसको आन्तरिक संकटको प्रभाव पार्टी कार्यालयको चार पर्खालभित्र मात्र सीमित रहँदैन।

जनीतिक दलहरू केवल कार्यालय, विधान, झण्डा र चुनाव चिह्नको नाम होइनन्। दल भनेको एउटा विचार हो, एउटा इतिहास हो, हजारौं मानिसले बोकेको सपना हो र भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने एउटा राजनीतिक उत्तराधिकार हो। नेपाली कांग्रेसको इतिहास हेर्दा यो कुरा अझ गहिरो हुन्छ। २००४ सालमा स्थापना भएको कांग्रेसले राणाशासनविरुद्ध संघर्ष गर्‍यो, २००७ सालमा प्रजातन्त्रको ढोका खोल्न निर्णायक भूमिका खेल्यो। २०१७ सालमा खोसिएको लोकतन्त्र पुनः प्राप्त गर्न तीन दशक लामो संघर्ष गर्‍यो।

अनि, २०४६ को जनआन्दोलनदेखि २०६२/६३ को आन्दोलन हुँदै शान्ति प्रक्रिया, गणतन्त्र र संविधान निर्माणसम्म कांग्रेसले नेपालको राजनीतिक रूपान्तरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको आफ्नै ऐतिहासिक अभिलेखमा उल्लेख गरेको छ। यो इतिहास केवल गौरव गर्ने विषय होइन– आजका नेताहरूका लागि एउटा नैतिक ऋण पनि हो। त्यसैले आजको १५औं महाधिवेशन केवल नयाँ नेतृत्व छान्ने नियमित राजनीतिक प्रक्रियामात्र होइन। यो कांग्रेसको इतिहासको साख जोगाउने, वर्तमानको संकट पार गर्ने र भविष्यको कांग्रेस भावी पुस्तालाई कस्तो अवस्थामा हस्तान्तरण गर्ने भन्ने परीक्षा पनि हो।

आज कांग्रेसभित्र मतभिन्नता छन्। सदस्यता, सहभागिता, संगठनात्मक समायोजन, महाधिवेशनको प्रक्रिया र नेतृत्वप्रतिको विश्वासका विषयमा प्रश्नहरू उठेका छन्। यी प्रश्नलाई लोकतान्त्रिक ढंगले उठाउनु अस्वाभाविक होइन। वास्तवमा असहमति लोकतन्त्रको स्वाभाविक हिस्सा हो। तर असहमति र विभाजनबीच एउटा सूक्ष्म रेखा हुन्छ। असहमति पार्टीभित्रको शक्ति हो; विभाजन पार्टीको कमजोरी। त्यसैले नेतृत्वको वास्तविक परीक्षा आफ्ना समर्थकलाई मात्र संगठित गर्नु होइन, आफ्ना आलोचकलाई पनि एउटै छातामुनि राख्न सक्नु हो। नेतृत्व भनेको आफूलाई मन पराउनेहरूलाई मात्र साथमा हिँडाउनु होइन; आफूलाई अस्वीकार गर्नेहरूलाई पनि संवादको टेबलमा बसाउन सक्ने क्षमता हो।

यस अर्थमा १५औं महाधिवेशन गगन थापाको मात्र परीक्षा होइन, कांग्रेसका प्रत्येक शीर्ष नेताको परीक्षा हो। पार्टीभित्रको एकता कायम राख्न सभापति गगन थापाले विभिन्न पक्षसँग संवाद र सहमतिको प्रयास अघि बढाएको सुनिएको छ। असहमति र असन्तुष्टि सम्बोधन गर्ने तथा सबै पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउने प्रतिबद्धता पनि सार्वजनिक रूपमा व्यक्त भएको छ। यसलाई राजनीतिक प्रक्रियाको एउटा स्वाभाविक प्रयासका रूपमा बुझ्नुपर्छ। तर संवाद तब मात्र परिणाममुखी हुन्छ, जब संवादका दुवै पक्षमा सम्झौता गर्ने साहस हुन्छ। एक पक्षले प्रत्येकपटक एउटा कदम पछाडि हट्दै जाने र अर्को पक्षले प्रत्येक पटक नयाँ सर्त थप्दै जाने हो भने सहमतिको राजनीति अन्ततः सर्तमाथि सर्तको राजनीतिक जाल बन्न पुग्छ।

राजनीतिमा रणनीति आवश्यक हुन्छ। तर रणनीतिले संस्थालाई नै कमजोर बनाउने अवस्था आयो भने रणनीति र आत्मघाती जिद्दीबीचको सीमा छुट्याउनुपर्ने हुन्छ। कसैले यसलाई आफ्नो राजनीतिक रणनीति मान्न सक्छ; कसैले शक्ति–सन्तुलनको खेलका रूपमा व्याख्या गर्न सक्छ। तर अन्तिम प्रश्न एउटै हो– यसले कांग्रेसलाई जोड्छ कि अझ टुक्र्याउँछ ? त्यसको उत्तर इतिहासले दिनेछ। राजनीतिमा नियतको फैसला गर्न सजिलो हुँदैन। बाहिरबाट हेरेर कसैको मनभित्रको उद्देश्य घोषणा गर्नु उचित पनि हुँदैन।

तर नेताहरूका निर्णय, व्यवहार र राजनीतिक प्राथमिकता भने इतिहासले अवश्य मूल्यांकन गर्छ। आज कांग्रेसका शीर्ष नेताहरूले आफ्ना राजनीतिक आकांक्षाभन्दा माथि उठेर एउटा प्रश्नको उत्तर दिनुपर्ने समय हो, हामी कांग्रेसलाई आफ्नो पुस्ताको राजनीतिक साधन बनाउँदैछौं कि भावी पुस्ताको लोकतान्त्रिक धरोहर ? यदि पार्टी व्यक्तिगत शक्ति प्रदर्शनको मैदानमात्र बन्यो भने संगठन कमजोर हुन्छ। यदि पार्टीभित्र विचार, नीति, विधि र लोकतान्त्रिक प्रतिस्पर्धाको संस्कृति बलियो भयो भने व्यक्ति आउँछन्, जान्छन्; संस्था बाँच्छ। किनकि नेता अस्थायी हुन्छन्, पार्टी दीर्घकालीन हुन्छ। पद अस्थायी हुन्छ, विचार दीर्घजीवी हुन्छ। व्यक्ति बदलिन्छन्, इतिहास रहिरहन्छ।

कांग्रेस कमजोर हुनु भनेको एउटा राजनीतिक दल कमजोर हुनुमात्र होइन। उसकै ऐतिहासिक दाबीअनुसार उक्त यात्रामा राणाशासनको अन्त्य, बहुदलीय लोकतन्त्रको पुनस्र्थापना, शान्तिप्रक्रिया, गणतन्त्र र संविधान निर्माणसम्मका महत्वपूर्ण राजनीतिक परिवर्तन जोडिएका छन्। त्यसैले, कांग्रेसको आन्तरिक संकटको प्रभाव पार्टी कार्यालयको चार पर्खालभित्र मात्र सीमित रहँदैन। नेपालको लोकतान्त्रिक अभ्यासमा यसको प्रभाव पर्न सक्छ। यही कारण कांग्रेसलाई अक्षुण्ण राख्नु कुनै एउटा समूहको स्वार्थ होइन। यो लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउने व्यापक जिम्मेवारीसँग जोडिएको प्रश्न हो। तर यसको अर्थ आलोचना रोक्नु होइन। कांग्रेस बचाउने नाममा प्रश्नहरू दबाइनु हुँदैन; प्रश्न समाधान गर्ने नाममा कांग्रेस नै कमजोर बनाइनु पनि हुँदैन।

नयाँ पुस्तालाई हामी के हस्तान्तरण गर्दैछौं ? आजको पुस्ता कांग्रेसबाट केवल इतिहास सुन्न चाहँदैन। उसले परिणाम खोज्छ। उसले पारदर्शिता खोज्छ। उसले जवाफदेहिता खोज्छ, उसले अवसरको समानता खोज्छ, उसले नेतृत्वमा नयाँ सोच खोज्छ, उसले प्रविधि बुझ्ने संगठन खोज्छ, उसले पुस्तान्तरण खोज्छ। नयाँ पुस्ताले एउटा प्रश्न पनि सोधिरहेको छ, यदि कांग्रेस लोकतन्त्रका लागि जन्मिएको थियो भने, कांग्रेसभित्रको लोकतन्त्र कति जीवित छ ? यो प्रश्न असहज हुन सक्छ। तर लोकतान्त्रिक पार्टीले असहज प्रश्नसँग डराउनु हुँदैन। कांग्रेसले आफूलाई समयसँगै पुनर्निर्माण गर्न सक्नुपर्छ। इतिहासको गौरवले भविष्यको चुनाव जितिँदैन। इतिहास प्रेरणा हो; भविष्य निर्माण गर्न वर्तमानमा काम गर्नुपर्छ।

महाधिवेशनको अर्थ केवल चुनाव होइन, महाधिवेशनमा मतदान हुन्छ, नेतृत्व चयन हुन्छ, पदाधिकारी चुनिन्छन्। तर त्यसको गहिरो अर्थ त्यसभन्दा पर छ। महाधिवेशन भनेको पार्टीले आफैंलाई ऐनामा हेर्ने क्षण हो। कहाँ गल्ती भयो ? किन जनताबाट दूरी बढ्यो ? किन कार्यकर्ता निराश भए ? किन नयाँ पुस्ता आकर्षित हुन सकेन ? किन संगठनमा गुटले विचारलाई छायामा पार्‍यो ? कसरी कांग्रेसलाई फेरि जनताको आशा र भरोसाको राजनीतिक संस्था बनाउने ? यी प्रश्नहरूको उत्तर खोजिएन भने महाधिवेशन एउटा निर्वाचन त हुनेछ, तर पुनर्जागरणको अवसर बन्ने छैन।

आज गगन थापा, वरिष्ठ नेताहरू, इतर पक्ष, संस्थापन पक्ष—सबैका आफ्ना राजनीतिक दृष्टिकोण र दाबी छन्। तर कांग्रेसको इतिहासले सबैलाई एउटै ठाउँमा ल्याउँछ। बीपीले लोकतान्त्रिक समाजवादको सपना देख्दा आफ्ना लागि मात्र कांग्रेस बनाएका थिएनन्। गणेशमान सिंहले आन्दोलनको नेतृत्व गर्दा व्यक्तिगत सुविधाभन्दा लोकतन्त्रलाई माथि राखेका थिए। कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइरालालगायतका पुस्ताहरूले पनि आआफ्नो समयका जटिल राजनीतिक परिस्थितिमा पार्टी र राष्ट्रका प्रश्नसँग संघर्ष गरे। त्यसैले आजको नेतृत्वले पूर्वजको नाम लिनुभन्दा पहिले उनीहरूको त्यागको अर्थ बुझ्नुपर्ने समय हो।

आज कांग्रेसका सबै शीर्ष नेताहरूले आफूलाई एउटा काल्पनिक अदालतमा उभ्याएर प्रश्न गर्नुपर्छ– यदि बीपी कोइराला आज यहाँ हुनुहुन्थ्यो भने उहाँले हामीलाई के सोध्नुहुन्थ्यो ? यदि गणेशमान सिंह आज हामीबीच हुनुहुन्थ्यो भने उहाँले राजनीतिक पद र लोकतान्त्रिक आदर्शमध्ये कुनलाई प्राथमिकता दिन सम्झाउनुहुन्थ्यो ? यदि विगतका ती हजारौं कार्यकर्ता, जसले लोकतन्त्रका लागि जेल, निर्वासन, यातना र बलिदान भोगे, आज फर्किएर आए भने उनीहरूले वर्तमान कांग्रेसलाई कसरी हेर्थे ? यी प्रश्न भावनात्मकमात्र होइनन्।

यी नैतिक राजनीतिक प्रश्नहरू हुन्। किनकि इतिहासको विरासत भाषणमा होइन, व्यवहारमा जोगिन्छ। आजको पुस्ता केवल बीपीको इतिहास सुनेर सन्तुष्ट हुने पुस्ता होइन। उसले प्रश्न गर्छ। उसले परिणाम खोज्छ। उसले पारदर्शिता खोज्छ। उसले जवाफदेहिता खोज्छ। उसले नेतृत्वमा पुस्तान्तरण खोज्छ। उसले प्रविधिसँग संवाद गर्ने पार्टी खोज्छ। उसले महिलालाई, युवालाई, सीमान्तकृत समुदायलाई र नयाँ पुस्ताका आकांक्षालाई राजनीतिक केन्द्रमा देख्न चाहन्छ। त्यसैले १५औं महाधिवेशनले केवल नयाँ पदाधिकारी घोषणा गरेर पुग्दैन। यसले कांग्रेसको नयाँ राजनीतिक संस्कृति निर्माण गर्नुपर्छ। गुटभन्दा संगठन। व्यक्तिभन्दा विचार। पदभन्दा जिम्मेवारी। आदेशभन्दा संवाद। अहंकारभन्दा सहमति र इतिहासको गौरवसहित भविष्यको तयारी।कांग्रेसको सबैभन्दा ठूलो सम्पत्ति यसको इतिहास हो।

तर इतिहास आफैंमा भविष्यको ग्यारेन्टी होइन। इतिहासले प्रेरणा दिन्छ तर भविष्य निर्माण वर्तमानले गर्छ। त्यसैले बीपीको नाम लिएरमात्र बीपीको कांग्रेस बन्न सकिँदैन। गणेशमानको तस्वीर राखेर मात्र गणेशमानको राजनीतिक संस्कार आउँदैन। बलिदानको कथा सुनाएर मात्र बलिदानको अर्थ जोगिँदैन। त्यसका लागि वर्तमानमा त्याग चाहिन्छ, संवाद चाहिन्छ, आत्मसंयम चाहिन्छ, लोकतान्त्रिक संस्कार चाहिन्छ। १५औं महाधिवेशनमा एउटा समूह जित्ला, अर्को हार्ला। तर त्यो राजनीतिक परिणाम क्षणिक हुनेछ। वास्तविक विजय त्यो दिन हुनेछ, जब महाधिवेशनपछि हार्ने समूह पनि कांग्रेसकै घरभित्र आफ्नो भविष्य देख्न सकोस्। वास्तविक विजय त्यो दिन हुनेछ, जब नयाँ पुस्ताले कांग्रेसलाई पुरानो इतिहास बोकेको मात्र होइन, नयाँ भविष्य बनाउने पार्टी भनेर देखोस्।

कांग्रेस कमजोर हुनु भनेको एउटा राजनीतिक दल कमजोर हुनु मात्र होइन। उसकै ऐतिहासिक दाबीअनुसार उक्त यात्रामा राणाशासनको अन्त्य, बहुदलीय लोकतन्त्रको पुनस्र्थापना, शान्ति प्रक्रिया, गणतन्त्र र संविधान निर्माणसम्मका महत्वपूर्ण राजनीतिक परिवर्तन जोडिएका छन्।

वास्तविक विजय त्यो दिन हुनेछ, जब कार्यकर्ताले आफ् नेतृत्वलाई प्रश्न गर्न डराउनु नपरोस्। र वास्तविक विजय त्यो दिन हुनेछ, जब कांग्रेसले आफ्ना आन्तरिक मतभेदलाई लोकतान्त्रिक विधिबाट व्यवस्थापन गरेर जनताको मुद्दामा एकताबद्ध भएर उभिन सकोस्। कांग्रेसलाई बचाउने सबैभन्दा ठूलो उपाय कसैलाई हराउनु होइन। कांग्रेसभित्र लोकतान्त्रिक संस्कारलाई जिताउनु हो। कसैलाई कमजोर बनाउनु होइन। संस्थालाई बलियो बनाउनु हो। कसैको राजनीतिक भविष्य रोक्नु होइन। भावी पुस्ताको राजनीतिक भविष्य सुरक्षित गर्नु हो। यो महाधिवेशनको निर्णय केही व्यक्तिको भविष्यसँग मात्र जोडिएको छैन। यसले कांग्रेसले आगामी दशकमा कस्तो राजनीतिक चरित्र निर्माण गर्छ भन्ने दिशासमेत निर्धारण गर्नेछ।

आजको पुस्ताले एउटा जिम्मेवारी पाएको छ, पूर्वजले रगतले लेखेको इतिहासलाई स्वार्थले नमेटाउने। हामीले पाएको कांग्रेसलाई आफ्ना सन्ततिलाई अझ लोकतान्त्रिक, अझ समावेशी, अझ पारदर्शी, अझ आधुनिक र अझ जनउत्तरदायी बनाएर हस्तान्तरण गर्ने। किनकि पार्टीमा गर्ने पुस्ता इतिहासमा धेरै आउँछन्; पार्टी जोगाएर अर्को पुस्तालाई हस्तान्तरण गर्ने पुस्ता दुर्लभ हुन्छ। 

आज कांग्रेसलाई त्यही दुर्लभ पुस्ताको आवश्यकता छ। १५औं महाधिवेशनको पूर्वसन्ध्यामा कांग्रेसका सबै शीर्ष नेताहरूका अगाडि एउटै ऐतिहासिक प्रश्न उभिएको छ, तपाईं कांग्रेसभित्रको एउटा पक्षको नेता बन्न चाहनुहुन्छ कि सम्पूर्ण कांग्रेसको इतिहासको उत्तराधिकारी ? किनकि गुटहरू समयसँगै बदलिन्छन्, पदहरू आउँछन्, जान्छन्, नेताहरू बदलिन्छन् तर संस्था बाँच्छ– इतिहास बाँच्छ, विचार बाँच्छ र भावी पुस्ताले त्यसैको मूल्यांकन गर्छ। त्यसैले आज कांग्रेसलाई जिताउन कसैलाई हराउन आवश्यक छैन।

कांग्रेसलाई जिताउन कांग्रेसभित्रको लोकतान्त्रिक संस्कारलाई जिताउन आवश्यक छ। आजको आवश्यकता अर्को गुट निर्माण गर्नु होइन, गुटभन्दा माथि उठेको कांग्रेस निर्माण गर्नु हो। आजको आवश्यकता अर्को शक्ति केन्द्र बनाउनु होइन संस्थालाई नै शक्तिको केन्द्र बनाउनु हो। आजको आवश्यकता पूर्वजको नाम दोहोर्‍याउनु होइन– पूर्वजले छाडेको लोकतान्त्रिक आदर्शलाई व्यवहारमा उतार्नु हो। र आजको सबैभन्दा ठूलो जिम्मेवारी त हामीले पाएको कांग्रेसलाई आफ्ना स्वार्थले कमजोर बनाएर होइन, आफ्नो त्यागले अझ बलियो बनाएर भावी पुस्तालाई हस्तान्तरण गर्नु हो। किनकि इतिहासले अन्ततः यो सोध्नेछ– जब कांग्रेस आफ्नो निर्णायक मोडमा थियो, त्यतिबेला तपाईंले आफ्नो पद बचाउनुभयो कि कांग्रेसको इतिहास ? १५औं महाधिवेशनको वास्तविक परीक्षा यही हो। कांग्रेस कसको भयो भन्ने होइन, कांग्रेस कस्तो बन्यो भन्ने इतिहासले सम्झनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.