छोरालाई चिठी

छोरालाई चिठी
सुन्नुहोस्

नेपाल हिमालहरूको काखमा अवस्थित देश हो। भोलिका दिनमा जलवायु परिवर्तनको कारणले बढ्दै गएको तापक्रमका कारण अन्य हिमालसमेत पग्लदै जाँदा हाम्रो हालत के होला ?

प्रिय छोरा,
आज यो चिठी लेखिरहँदा रसुवामा महाविनाशकारी बाढी आएको एक महिना पुगेको छ। भर्खरै प्रधानमन्त्री बालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको महासभामा भोटेकोशी त्रिशूली बाढीलाई जलवायु संकटको चेतावनीका रूपमा प्रस्तुत गर्दै नेपालले भोगिरहेको असमान क्षतितर्फ विश्वको ध्यान खिचेका छन्। 

नेपाल यतिबेला भयानक प्राकृतिक विपत्तिको कठोर प्रहारसँग जुधिरहेको छ। सारा धर्ति गड्गडाएर एकैपटक अर्बौं शक्तिका साथ आएको बाढी लाङटाङ हिमालको ग्लेसियर पग्लेर आएको थियो। यस महाप्रलयमा परी हजारौं जीवनरुपी दियोहरू निमेषभरमा आँखै अगाडि अस्ताए, हजारौंका सपना बाढीको पानीसँगै बगे र कति परिवारका आँगनहरु एकाएक सुनसान भए। हजारौं मानिसहरूको जीवन उजाडिएको समय तिम्रो जन्मदिन भूलेकोमा मलाई माफ गरिदेऊ। देश दुखिरहेको बेला म कसरी आफ्नो व्यक्तिगत खुसीमा रमाउन सक्थे र छोरा ? देश दुख्दा देश एक्लै नदुख्दो रहेछ छोरा ! देशमा बस्ने हरेक नागरिकको मन सँगसँगै दुख्दो रहेछ। कृपया,तिम्रो जन्मदिनमा तिमीलाई शुभकामना दिन नसकेकोमा मलाई माफ गरिदेऊ।

एउटी आमाका लागि आफ्नो सन्तानको जन्मदिन खुशीले भरिएको क्षण हो,गर्व हो,उत्सव हो। तर आज म आफैँलाई प्रश्न गरिरहेछु,आफ्नै गर्भबाट जन्मिएको सन्तानले संसार देखेको दिन कसरी कुनै आमाको स्मृतिबाट हराउन सक्छ ? तर यसपटक बाढीको ट्रमामा रन्थनिएर मैले तिमीलाई जन्मोत्सवको शुभकामना दिन बिर्सिएछु छोरा ! तिमी जन्मेको यतिका वर्षसम्म तिमीलाई पहिलो शुभकामना दिने तिम्री आमाको मानसपटलबाट तिम्रो जन्म महिना भाद्र हो भन्ने यादसम्म गुमाएछु। 

तिम्रा हरेक जन्मदिन आफ्नै जन्मदिन भन्दा विशेष लाग्थ्यो मलाई। तिमी एक वर्ष थप ठूलो हुँदै गर्दा मेरो जीवनको थप एक वर्ष सार्थक भएको ठान्थे म। तर यो भाद्रमा म खोइ कहाँ पुगेकी थिए ? कस्तो अवस्थाबाट गुज्रिरहेकी थिए ? मेरो दिमागमा कुन तत्वले डेरा जमाई बसेको थियो ? कुन शक्ति आएर हल्ला मच्चाई रहेको थियो ? केही मेलोमेसो पाइन बाबु ! सधै जस्तै कार्यालय पुगेको १५/२० मिनेटपछि जब तिम्रो कल आयो ह्वाटसअपमा,अनि तिमीले बारम्बार भनिरह्यौ “आमा आज डेट के हो ? सम्झनु त !” छिनभर त म अलमलिए, केही बुझिन। “आज कति गते हो ? थाहा पाउनु भो ?” तिमीले दोहोर्‍याएको दोस्रो वाक्यले पो झल्यास्स बनायो। अहो ! जीवनमा पहिलोपटक म तिम्रा सामु लज्जित बने। समयले कस्तो विस्मृतिमा पुर्‍यायो मलाई।

प्रसव वेदनाले पूरै एकदिन एकरात छटपटाएको, सयौं पीडा खपेर तिमीलाई जन्माएको दिन म कसरी भुल्न सक्थे र ? बिर्सन त मैले मिति बिर्सिए, दिन बिर्सिए, जन्मदिन मात्र बिर्सेकी हुँ, नौ महिना गर्भमा बोकेर तिमीलाई हिँडेको कसरी बिर्सन सक्थे र ? छोरा ! तिमी गर्भमा आएदेखिनै तिम्रो चुलबुलेपना पहिलोपटक महसुस गर्ने म नै त हुँ। तिमी गर्भमा आएको केही दिनदेखिनै “आमा म छु है” भन्ने आभास दिइ रहन्थ्यौ। घरिघरि ! शान्तसँग एकसुरले काम गरिरहेको समय जब फर्लक्क कोल्टो फेथ्र्यौ या भुक्कभुक्क लात्तीले हिर्काएर यताउता चल्थ्यौं तब म झसंङ्ग हुन्थे। भरङ्ग तन्द्राबाट व्युँझन्थे। तिम्री दिदी गर्भावस्थामा रहँदा कहिल्यै त्यतिविधी चलेको अनुभव गरिनँ मैले। तर तिमीले गर्भमा आए देखिनै हरेकपटक आमाको ध्यान खिचिरह्यौ। आमाको प्रेमको रसस्वादन गरिरह्यौ।

कुनै बिहान ओच्छयानमै ब्युँझदा पेटिकोट भिज्ने गरी गर्भरस चुहिएपछि हामी अस्पताल गएका थियौं। प्राकृतिक व्यथा नलागेपछि कृतिम व्यथा लगाउन घरी सुईमार्फत त घरी पाठेघरमा चक्की राखेर त घरी पम्प गरेर पूरै दिन र रात असह्य पीडापश्चात तिमी जन्मिएका हौं।  छोरा ! त्यसबखत आफ्नै शरीर एकप्रकारको महाप्रलयबाट गुज्रिएको महसुस गरेकी थिएँ मैले। धर्तीमा उपलब्ध हरेक जननीहरूले समय समयमा यसै धरतीमा गइरहने महाभूकम्पको भन्दा बढी कम्पन खपेर आफ्ना सन्तानलाई जन्म दिन्छिन्। आमा र बच्चा अलग्गिएपछि मरे मरेर बाँचेको,पुर्नजन्म लिएको महसुस गरेकी थिएँ। बिहानको ३:१५ बजे सुर्यको किरण भुइँमा खस्न नपाउँदै तिमी जन्मिएका थियौं। नर्सहरुले तिमीलाई सेता थाङ्गनामा बेरेर मेरो समिपमा राखिदिँदाको असिम अनुभूति म शब्दमा वर्णन गर्न सक्दिन सानु !
 
थाहा छ, तिमीलाई ? आमासँगको पहिलो भेटमै तिमी आफ्ना स–साना हातखुट्टा चलमलाउँदै ओठ मिठ्ठयाएर खाना मागिरहेथ्यौ। साँसाँसुँसु गर्दै भोकले तिमी छटपटाएको देख्दा सकीनसकी उठेर तिमीलाई स्तनपान गराउने तिम्री आमा तिम्रा हरेक सुखदुःखमा, हरेक पाइला पालामा शुभकामनाका मन्त्र जपेर हिँडिरहेकी छु छोरा ! उतिबेला पोखरास्थित मनिपाल अस्पतालको व्यवस्थापन निकै गुणस्तरीय थियो। रातभर एकजना डाक्टर मलाई नै कुरेर खटिबसेथे। तिमी जन्मेको दिन रातभर भोकले तिमी रोइरहँदा उता क्याबिनमा बस्ने कुरुवाहरु ठुस्किएर झिमिक्कै गर्न पाइएन भनेको क्षण भर्खरै जस्तो लागिरहन्छ। तिम्रा हरेक चालढाल, गतिविधी, पहिलो कोल्टाइ, पहिलो बोली, पहिलो मुस्कान हरेक क्षण स्मृतिमा बारम्बार आइरहन्छन् बाबु ! अब त तिमी जवान भैसक्यौ। टिन एज समेत पार गरिसक्यौ छोरा ! 

मैले मात्र तिम्रो जन्मदिन बिर्सेकी हुँ बाबु ! तिमी मेरो छोरा होइनौं भन्ने त बिर्सेकी होइन नि सानु ! कुनैदिन यदि विस्मृतिमा गईगएछु भनेपनि म आफ्नो छोरालाई कदापि बिर्सने छैन। गते, हप्ता, महिना, ऋतु, साल ठूलो कुरा रहेनछ बाबु ! यी त समयसँगै हामीबाट टाढा, नजिक भइरहँदा रहेछन्। जन्मपछिको प्राकृतिक चक्रमा प्रवेश गरेर तिमी पनि आफ्नो बालवयबाट, किशोर हुँदै युवावस्थामा पुगिसकेका छौ। तिमीलाई अवश्य थाहा होला छोरा ! विदेशमा अठार वर्ष पुगेका छोराछोरीहरू आफ्नै दुनियाँ बसाउन बाबुआमाको घर छाडेर हिँडदा रहेछन् बाबु ! कुनै दिन तिमी आफ्नै सन्तानको बाबु बन्नेछौं। युवा, प्रौढ, हुँदै बृद्धावस्थामा प्रवेश गर्नेछौ। तिम्रा सन्तान दरसन्तान हुर्कनेछन्। तिमी प्रौढ अवस्थामा प्रवेश गर्दै गर्दा सायद हामी आमाबाबु यो संसारबाट बिदा लिइसक्नेछौ, छोरा ! जसरी हाम्रा पुर्खाले हामीलाई हुर्काए, बढाए, आफू डाँडापारीको जून बने। 

समय बगिरहँदो छ। बितेको समय र बगेको खोला कहिल्यै फर्कदैनन्। बेलैमा समय चिन्न सक्नु पर्दो रहेछ। समयको दास कहिल्यै नबन बरु समयलाई आफू अनुकूल बनाउ। आज गरिने स–साना काम नै भोलिका दिनमा पहिचान बन्नेछन् छोरा ! आजभोलि म आफ्ना बाल्यकालिन, किशोरकालिन दिनहरू सम्झेर छक्क पर्छु। कहिलेकाँही टोलाई बस्छु। जसरी एउटा सानो बिज माटोमा परेपछि अंकुरण हुन्छ, हुर्कन्छ, फुल्छ, फल्छ, अन्त्यमा एकदिन पहेँलिएर सुकेको काठमा परिणत हुन्छ। पहेँला पातहरु खस्दै जान्छन्, नयाँ मुजुरा पलाउँदै जान्छन्। त्यसैगरी माटो, अग्नि, हावा, वायु, पानी पञ्चतत्वले बनेको यो शरीर माटोबाट उत्पत्ति भएर माटोमै बिलिन हुने रहेछ। यो सबै प्रकृतिको चक्र रहेछ। प्रकृतिले नै हामीलाई चाहिने सम्पूर्ण आवश्यक तत्वहरु उपलब्ध गराउँछिन्। अनावश्यक वस्तुहरु हामी प्रकृतिमै सेलाउँछौ। कतै प्रकृतिमाथि मानवले गरेको अप्राकृतिक गठबन्धन, चरम अत्याचार र अविवेकीपनले प्रकृतिले नै हामी माथि धावा बोल्न लागेको त होइन ? कहिलेकाँही मनभित्र प्रश्नहरूको मुस्लो जुरमुराउँछन्।
 
विज्ञान र चेतनाले तिमीलाई धेरै कुरा थाहा छ होला सानु ! तर यी सबै मेरो अनुभवले बोलेका कुरा हुन्। समयले सबैकुरा बुझाउँदै जाने रहेछ छोरा। यतिबेला तिमी जीवनको अत्यन्त महत्त्वपूर्ण घडीमा छौं। विराटनगर बसेर आफ्नो स्नातक तहको अन्तिम परीक्षाका लागि मेहनत गरिरहेका छौं। आउँदा एक महिना तिम्रा लागि अत्यन्त कठिन छन्। लगातार एउटै प्रकृतिको पढाई। एकै प्रकारको काम। कत्तिपनि नअत्तालिनु, कहिल्यै हरेस नखानु ! यी कठिन दिन त मात्र केही दिनका पाहुना हुन्। प्रकृतिको चक्रमा नै अँध्यारोपछि उज्यालो आउँछ। अनि दुःख पछि सुख। राम्रो पछि नराम्रो। दिनपछि रात। वर्षापछि घाम। विगत करोडौं वर्षपछि पृथ्वीमा यस्तै चल्दै आइरहेछ सानु। धैर्य गर। आफूले गरेको मेहनतको फल अवश्य पाउनेछौँ।
 
रसुवामा आएको बाढीको महाप्रलयले देश असाध्यै अप्ठेरो अवस्थाबाट गुज्रिरहेको छ। सामाजिक सञ्जाल हेरी साध्य छैन। समाचार सुन्न सकिँदैन। तिम्री दिदीसँगै केरुङमा १७ दिन सँगै बसेर आएको काठमाडौंका विवेक दाई टिमुरेमा बेपत्ता भए। तिम्री दिदीसँगै मानसरोवरदेखि भलाकुसारी गरेर आएका हजारौं तीर्थयात्रीको टिमुरेको इमिग्रेसन अफिसबाट केही क्षणमै अस्ताए। धन्न धन्न ! भाग्यबस ! तिम्री दिदी एक रात पहिले काठमाडौं आइपुगेकी थिइन्। सम्झ त ! एक क्षण आफूलाई त्यहाँ राखेर हेर त ! हामीले एक क्षण सोच्न नसकेको पीडाबाट गुज्रिरहेका ती हजारौं मानिसहरुलाई कस्तो भयो होला ? के बितिरहेको होला, उनीहरूलाई ? म आज भगवानप्रति नतमस्तक छु ! धन्य छु ! अन्यथा हाम्रो जीवनमा के आइपर्दो हो ? सम्झन पनि सकिँदैन। कैयौँ परिवारले लास नै पाएनन्। कति मानिसहरुले त आफन्तको कुशको लास बनाएर अन्त्येष्टि गरिसके। सरकारले सयौं लासहरूको एकैठाउँमा अन्त्येष्टि गरिसकेको छ। 

मैले थाहा पाएदेखि अहिलेसम्म यो देशमा ठूलाठूला राजनीतिक आन्दोलन, भूकम्प, नाकाबन्दी, जनयुद्ध अनेकथरी आन्दोलन, बन्द हड्ताल आफ्नै आँखा अगाडि देख्दै भोग्दै आए। सानु ! यो देश पुनर्निर्माणमा तिमीजस्ता युवाहरूको काँधमा ठूलो जिम्मेवारी आइलागेको छ।

यतिबेला जलवायु परिवर्तनको सबैभन्दा बढी क्षय नेपालले खेप्नु परेको छ। विश्वमा सबैभन्दा कम कार्बन उत्सर्जन गर्ने देशमा नेपाल पर्छ तर सबैभन्दा बढी क्षति व्यहोर्न हामी विवस छौं। छिनमै हजारौं जीवन स्वाहा ! पारेको त्यो महाप्रलयको भिडियो हेर्दा मन ढुकढुक गर्छ। हेर्न सकिँदैन। देशमा खर्बौको क्षति पुगेको छ। अबका दिनमा पुनर्निर्माणको खाँचो छ। भौतिक सम्पति त फेरि पनि जोड्न सकिएला, बनाउन सकिएला तर मानवीय क्षति जस्तो ठूलो विपत्ति केही नहुँदो रहेछ। होल्डिङ सेन्टरमा तोतेबोली बोल्ने सानो बाबुले घरीघरी “बाटो कहिले बन्छ ?” सोधिरहन्छन् रे ! उसले किन त्यसो भनिरहेछ भनि पछि बुझ्दा उसका बुबाआमा, हजुरआमा सबैलाई बाढीले बगाएको रहेछ। बाटो बनेपछि उहाँहरु आउनुहुन्छ भनेर उसलाई आशा देखाइएको रहेछ। सम्झ त ! त्यो सानो कलिलो मस्तिष्कमा के बितिरहेको यतिबेला ? यस्ता कैयौं बालबालिका घरबारबिहीन हुन पुगेका छन्। बाढी प्रभावित क्षेत्रमा जानका लागि बाटो छैन, इन्टरनेट छैन, सडक छैन। सन्जाल छैन। ती सयौं बालबालिकालाई न्यानो माया र पुर्नस्थापनाको खाँचो छ। पुनर्निर्माणको खाँचो छ।

छोरा ! यो एक वर्षभित्र यो देशले दुई ठूलाठूला महाविपत्तिहरु भोगिसकेको छ। यो देशका लागि मानव निर्मित विपत्ति जेनजी आन्दोलनमा भएको महाविनाश थियो। कलिला बालबालिकाकाको प्राण निमोठिएको त्यो क्षण सम्झदा ह्रदय भक्कानिन्छ। आफ्नै आँखा अगाडि खर्बौको क्षति हुनेगरी सरकारी र निजी सम्पत्तिमा आगो लगाएर खरानी पारिएको दिन सम्झदा उदेक लाग्छ। 

मैले थाहा पाएदेखि अहिलेसम्म यो देशमा ठूलाठूला राजनीतिक आन्दोलन, भूकम्प, नाकाबन्दी, जनयुद्ध अनेकथरी आन्दोलन, बन्द हडताल आफ्नै आँखा अगाडि देख्दै भोग्दै आए। सानु ! यो देश पुनर्निर्माणमा तिमीजस्ता युवाहरुको काँधमा ठूलो जिम्मेवारी आइलागेको छ। आगामी दिनमा जलवायु परिवर्तनका नाउँमा हामीले अझ ठूला ठूला महाविपत्ति भोग्नुपर्ने वैज्ञानिकहरु बताउँछन्। त्यसैले आजैदेखि हामी सर्तक हुनपर्नेछ, चनाखो हुन पर्नेछ। तर सरकारसँग सिमित श्रोत र साधन छ। सीमितका बाबजुद पनि बाढीमा फसेकाहरुको उद्धारमा दिलोज्यान दिएर रातदिन खटने सह्रदयी मानिसहरु हाम्रै सामू छन्। उनीहरुलाई सबैले मिलेर सहयोग गर्नुपर्नेछ।

पटकपटक आइरहने प्राकृतिक विपत्ति, अनेकथरी आन्दोलन, राजनैतिक अस्थिरता कति सहन सक्छ यो देशले ? हे नेपाल आमा ! हे जननी ! हे धर्तिमाता ! कहीँ कतै कसैलाई नपरेको प्राकृतिक प्रकोप हामीकहाँ नै किन पटक पटक ? हे नेपाल आमा ! कल्याण गर। पीडाबाट गुज्रिरेहका मानिसहरुलाई शक्ति देऊ। अरुले गरेको दोष हामीमाथि नथोपर। विभिन्न समयमा गएका विनासकारी भूकम्पको भन्दा कैयौं शक्तिशाली प्रलय रसुवा बाढीको संकटले उत्पन्न गराएको छ। भूकम्पका बेला त मानिसको उभिने जमिन, टेक्ने माटो थियो। अहिले न आफू उभिएको माटो छ, न त टेक्ने ठाउँ। गाँसबास केही छैन। बाँचेकाहरुलाई पनि जिउन गाह्रो छ। 

हामीले जलवायु संकट सिर्जना गर्न नगण्य भूमिका खेलेका छौं, तर यसको मूल्य हाम्रो भूगोल, हाम्रो अर्थतन्त्र र हाम्रा नागरिकले व्यर्थैमा भोग्नु परिरहेको छ। नेपाल हिमालहरूको काखमा अवस्थित देश हो। भोलिका दिनमा जलवायु परिवर्तनको कारणले बढ्दै गएको तापक्रमका कारण अन्य हिमालहरू समेत पग्लदै जाँदा हाम्रो हालत के होला ? कहाँ रहला यो देश ? नेपाल नै नरहे हामी कहाँ रहौंला ? यो महाप्रलय भोटेकोशी नदीमा आएको बाढी मात्र होइन, हाम्रो हिमाली भूगोलमा कति तिब्र गतिमा परिवर्तन हुँदै छ भन्ने सन्देश समेत हो, छोरा ! मान्छे सुखको खोजीमा दुःखका दिन छिट्टै बिर्सने कोसिस गर्दो रहेछ। सायद यो मान्छेको अन्तस्करणमा निहित मानवीय गुण हुनसक्छ। त्यसैले कृपया माफ गरि देऊ बाबु ! पोहोरदेखि यहाँसम्म आइपुग्दा कैयौं कुरा बिर्सन बाध्य भएझैँ यसपालि प्यारो छोराको जन्मदिन बिर्सिएछु। 

उही तिमीलाई 
सम्झिरहने ममतामयी आमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.