बाढी–पहिरोले लुम्बिनीका दर्जनौं सडक अवरुद्ध, नदी क्षेत्रका नागरिक जोखिममा
बुटवल : लगातार परेको वर्षात्ले लुम्बिनी प्रदेशका मुख्य राजमार्गसहित भित्री सडकहरू अवरुद्ध भएका छन्। सडक अवरुद्ध यात्रुहरूलाई गन्तव्यमा पुग्न कठिन भइरहेको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, बुटवलका अनुसार लुम्बिनी प्रदेशका दर्जनौं सडक पहिरो गएर अवरुद्ध भएका छन्।
रोल्पा र प्यूठानीहरूको भविष्यसँग जोडिएको भालुवाङ प्यूठान सडक खण्डअन्तर्गत सरुमारानी गाउँपालिकाको खहरे खेलामा लेदोसहितको पहिरो खस्दा आवतजावत ठप्प भएको छ। यस क्षेत्रमा बर्सेनि पहिरोले दुवै जिल्लाका नागरिकलाई सताउने गरेको छ। यही सडक भएर प्यूठानका पवित्र धार्मिक एवं पर्यटकीय तीर्थस्थल स्वर्गद्वारी पुग्ने तिर्थयात्रुहरूसमेत प्रभावित भएका छन्। रोल्पा र प्यूठानका नागरिकहरू औषधि उपचार गर्न बुटवल, काठमाडौं, नेपालगन्ज, भैरहवालगायत सहरमा पुग्ने प्रमुख सडकसमेत यही हो।
अर्घाखाँचीका नागरिकहरूको लाइफलाइनको रुपमा रहेको गोरुसिंगे–सन्धिखर्क सडक वर्षा सुरु भएलगत्तै अवरुद्ध छ। यस सडक खण्डको विभिन्न ठाउँमा पहिरो गएपछि जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले हरेक दिन साँझ ६ देखि बिहान ६ बजेसम्म सवारी चलाउन पूर्णरूपमा रोक लगाएको छ। बुटवल, काठमाडौं आउजाउन गर्ने अर्घाखाँची र केही प्यूठानका नागरिकको यो प्रमुख सडक हो। अर्घाखाँचीको प्रमुख धार्मिक स्थल सुपादेउराली मन्दिर दर्शन गर्न पुग्ने तीर्थयात्रुहरूका लागि पनि यो मुख्य सडक हो। अवरुद्ध सडक सूचारुका सुरक्षा निकाय र स्थानीय प्रशासन खटिरहेका छन्।
सिदार्थ राजमार्गअन्तर्गत पर्ने बुटवल पाल्पा सडक खण्डको पनि ठाउँठाउँमा पहिरो जाने र रुखहरू ढलेर सडक अवरुद्ध हुनेक्रम रोकिएको छैन्। तर, यहाँ प्रहरी प्रशासनले सडक अवरुद्ध भएलगत्तै खुलाउने काम गरेका छन्। प्रहरीले यो सडक भएर आउजाउ गर्ने यात्रुहरूका लागि राति ७ बजेदेखि बिहान ५ बजेसम्मका लागि आवागमन रोकेको छ। संभावित दुर्घटनाबाट जोगिनका लागि पूर्वतयारी स्वरूप आवागमन रोकिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका प्रहरी निरीक्षक विराट पौडेलले जानकारी दिए। हाल यो सडक तत्कालका लागि अवरुद्ध नभए पनि संभावित जोखिमका हिसावले संवेदनशील मानिन्छ। गाडी चालकहरूका अनुसार यो सडक क्षेत्रमा पर्ने सिद्धबाबा क्षेत्रमा कतिवेला पहिरो र ढुंगा खस्छ भन्ने एकिन हुँदैन।
प्रहरीका अनुसार गुल्मी र पाल्पा क्षेत्रमा पर्ने कालीगण्डकी करिडोर, गुल्मीकै रुद्रबेनी वामी टक्सेरा सडक, मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रिडी तम्घास सडक पूर्णरूपमा अवरुद्ध भएका छन्। मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने छत्रकोट गाउँपालिका–३ स्थित श्रृंगा देउरालीमा पहिरो गएको छ। गुल्मीकै रेसुंगा नगरपालिका–१० सिमिचौरमा गएको पहिरोले सडक भासिदा तम्घास खज्र्याङ रिडी सडक पूर्णरूपमा अवरुद्ध भएको छ।
त्यस्तै, रोल्पा नगरपालिका–६ स्थित लालभाङमा पहिरो खस्दा सहिद राजमार्ग सडक अवरुद्ध भएको छ। प्यूठानको नौवहिनी गाउँपालिका–६ मा पहिरो जाँदा बाग्दुला बाहाने सडक पूर्णरूपमा अवरुद्ध छ। भने सोही गाउँपालिकाको लाखाचौरमा गएको पहिरोले बाहाने खवाङ सडक पनि पूर्णरूपमा रोकिएको छ। नौवहिनी गाउँपालिका प्यूठानको दुर्गम क्षेत्रमा पर्ने पालिका हो। यहाँका नागरिकहरूका लागि दैनिक उपभोग्य र औषधि उपचारका लागि जिल्ला अस्पताल सहितका बजारमा पुग्ने मार्ग अवरुद्ध हुँदा जनजीवन कष्कर बनेको छ।
नदी किनारमा जोखिम
लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा नदीको बहावहरूसमेत बढेका छन्। प्रहरीले नदी किनारका बस्तीका नागरिकलाई सुरक्षित स्थानमा राख्ने काम गरिरहेको छ। सार्वजनिक सूचनाहरूसमेत जारी गरेर प्रहरीले नागरिकलाई सजक गराएको छ। लुम्बिनीको सबैभन्दा बढी जोखिमपूर्ण क्षेत्र मानिने तिनाउ नदीको बहाव दिनहुँ बढ्दै गएको छ। तिनाउसहित दानव नदी किनारको तटीय क्षेत्रमा समेत जोखिम बढ्दो छ।
नदीको बहाव बढ्दै जानथालेपछि तिनाउ पुलमुनि बसेका दर्जनौं नागरिकहरूलाई होल्डिङ सेन्टरमा सारिएको हो। बुटवल उपमहानगरपालिकाको कार्यालयले कान्ति माध्यमिक विद्यालयमा जोखिमपूर्ण क्षेत्रमा रहेका व्यक्तिहरूको सुरक्षाका लागि होल्डिङ सेन्टर बनाएको छ। खोलाको बहाव बढ्दै गएपछि केही व्यक्तिहरू स्वत : स्फूर्त होल्डिङ सेन्टरमा आउन थालेको समेत इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नेत्र बुढाक्षेत्रीले जानकारी दिए। प्रहरीले बुटवल क्षेत्रमा रहेका प्रमुख नदीहरू तिनाउ र दानवको किनारमा बस्दै आएका व्यक्तिहरूलाई लक्षित गरी सार्वजनिक सूचनाहरूसमेत जारी गरिरहेको छ। अहिले तिनाउ नदीको बहाव बढ्दै गइरहेको छ। विहिवारदेखि बुटवलमा निरन्तर पानी परिरहेको छ।
मौसम तथा पूर्वानुमान महाशाखाले समेत उच्च जोखिमपूर्ण क्षेत्रको सूचीमा तिनाउ नदी र आसपासका क्षेत्रलाई राखेको छ। होल्डिङ सेन्टरमा राखिएकामध्ये अधिकांश बच्चाबच्ची र महिलाहरू छन्।
प्रतिक्रिया दिनुहोस !