ओछ्यानसम्म पुग्न थाले विषालु सर्प

एन्टीस्नेक भेनम पर्याप्त हुँदा पनि छैनन् विशेषज्ञ डाक्टर

ओछ्यानसम्म पुग्न थाले विषालु सर्प
विशालु सर्पको बिगबिगी हुने चुरे क्षेत्रमा पर्ने महोत्तरीको कालापानी गाउँ र सर्पदंश उपचार केन्द्रमा उपचारका लागि भर्ना भएकाहरू। तस्बिर : राजकरण महतो
सुन्नुहोस्

बर्दिबास :
घटना १ : 
२५ वर्षीय ललितलाई विषालु सर्पले टोक्यो। १३ भाइल एन्टीस्नेक भेनम चढाएपछि उनको शरीरबाट विष हट्यो। नेपाली सेनाको प्राविधिक टोलीले महोत्तरीको बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रमा उनको उपचार गरेको हो। महोत्तरी गाउँपालिका–५ का ललित स्वास्थ्यलाभ गरी शुक्रबार घर फर्किएका छन्।

घटना २ : 
महोत्तरीको बर्दिबास नगरपालिका–६ किसाननगर चारघरेकी ३० वर्षीया इन्दु मण्डललाई करेत सर्पले टोक्दा घाइते भइन्। शुक्रबार राति ३ बजेतिर झमझम वर्षा भइरहेका बेला उनलाई ओछ्यानमै सर्पले टोकेको थियो। उनको सर्पदंश उपचार केन्द्रमा उपचार भइरहेको छ।
घटना ३ : 
किसाननगरकै पुनमदेवी साहलाई बिहीबार साँझ गाईगोठमा विषालु बिच्छीले टोकेको छ। सुतलीको बोरा टकटक्याउँदा त्यहाँ लुकेको बिच्छीले उनलाई टोकेको थियो। उनको पनि उपचार केन्द्रमा उपचार जारी छ।
घटना ४ : 
बर्दिबास नगरपालिकाको छिमेकी पालिका गौशाला, भरतपुरकी गोदावरीदेवी साह पनि सर्पको टोकाइबाट घाइते भएकी छन्। ज्यान बचाउन उनी राति नै उपचार केन्द्र पुगेकी थिइन्। पानी परेपछि बिजुली जाँदा अँध्यारोमा घरमै करेत सर्पले हातमा डसेको पीडित परिवारजनले बताएका छन्।

यी घटना त केही प्रतिनिधि उदाहरण मात्र हुन्। गर्मीसँगै लगातारको वर्षाले विषालु सर्पदंशका घटना बढेका छन्। समयमा उपचार नपाउँदा घाइतेहरूको ज्यान जाने गरेको गृह मन्त्रालयको तथ्यांकले देखाउँछ।

बढ्दै सर्पदंशका घटना
गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार असोज ९ गते ६ जिल्लामा ९ वटा सर्पदंशका घटना भए। वैशाखयता देशभर ९८ जनाको सर्पदंशका कारण ज्यान गइसकेको छ भने १ हजार २ सय ४३ जना घाइते भएका छन्।

प्राधिकरणका अनुसार आर्थिक वर्ष २०८१/८२ मा देशभर सर्पदंशका १९८ घटना हुँदा ६३ जनाको मृत्यु र १३९ जना घाइते भएका थिए। त्यसैगरी आर्थिक वर्ष २०८०/८१ मा सर्पको टोकाइबाट २९ जनाको ज्यान जानुका साथै ५१ जना घाइते भएका थिए।

मधेसमा विषालु सर्पको बिगबिगी
केही दिनको वर्षासँगै सर्पदंशका घटना तराई र चुरे क्षेत्रमा बढी देखिएका छन्। बर्दिबासस्थित सर्पदंश उपचार केन्द्रका अनुसार असोज महिनाको ९ दिनमा मात्रै ४० जना विषालु सर्प र बिच्छीको टोकाइबाट घाइते भई उपचारका लागि आएका छन्। तीमध्ये अधिकांश सर्पदंशकै घाइते छन्।

पानी धेरै परेपछि सर्प बस्ने दुलोमा पानी पसेर सर्पहरू बाहिर निस्कने हुनाले यस्ता घटनामा वृद्धि  भएको सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्णप्रसाद देवकोटाले बताए। सुरक्षित स्थानको खोजीमा सर्पजस्ता विषालु जीवहरू ओछ्यानसम्मै पुग्ने गरेको देवकोटाको भनाइ छ।

उपचारमा ढिलाइ हुँदा ज्यानकै जोखिम
साउन ७ गते बर्दिबास नगरपालिका–१२ बिजलपुरा चल्कीका ८ वर्षीय विवेक कापरको उपचारका क्रममा बर्दिबास जनसेवा हस्पिटलमा निधन भयो। परिवारजनले उनलाई ढिला गरी अस्पताल पुर्‍याएका थिए। 

विषालु सर्पको टोकाइपछि उपचार केन्द्रसम्म पुर्‍याउन ढिलाइ गर्दा अकालमै ज्यान जाने गरेका अरू पनि दृष्टान्त छन्। भदौ अन्तिम साता बर्दिबास नगरपालिका र औरही नगरपालिकाका दुई जना विषालु सर्पको टोकाइबाट गम्भीर घाइते भएपछि आईसीयूमा राखेर उपचार गर्नुपरेको थियो। केन्द्रनजिकै रहेको बर्दिबास जनसेवा हस्पिटलको सघन उपचार कक्षमा उनीहरूको उपचार गरिएको थियो। सर्पदंशका गम्भीर प्रकृतिका घाइतेलाई केन्द्रको समन्वयमा सोही अस्पतालमा उपचारको प्रबन्ध मिलाइएको छ। गम्भीर प्रकृतिका बिरामीलाई ३५ भाइलसम्म एन्टीस्नेक भेनम चढाउनुपरेको 
तथ्यांक छ।

एन्टीस्नेक भेनम पर्याप्त, एमडी डाक्टरको अभाव
उपचार केन्द्रले सर्पदंशबाट हुने मानवीय क्षति रोक्न गम्भीर हुन अपिल गरेको छ। हाल केन्द्रसँग १७९ भाइल एन्टीस्नेक भेनम मौज्दात छ। तराई र पहाडका कम्तीमा २१ जिल्लाका बिरामीलाई सेवा दिँदै आएको यो केन्द्र औषधि अभावमा केही समयअघि ५० घण्टा ठप्प भएको थियो।

तर, हाल नेपाली सेनाको प्राविधिक टोलीकै भरमा उपचार सेवा सञ्चालन भइरहेको छ। समुदायको व्यवस्थापन र नेपाली सेनाको प्राविधिक सहयोगमा १३ वर्षदेखि उपचार सेवा दिँदै आएको व्यवस्थापन समितिका अध्यक्ष देवकोटाले बताए। उनका अनुसार केन्द्रको सेवा स्तरोन्नतिका लागि एक जना एमडी डाक्टर आवश्यक छ। यता बर्दिबास नगरपालिकाका प्रमुख प्रह्लादकुमार क्षेत्रीले केन्द्रलाई डाक्टर माग गर्दै औपचारिक पत्र पठाउन अनुरोध गरेका छन्।

बर्दिबाससहितका आसपासका क्षेत्रलाई सर्पदंशको ‘हटस्पट’का रूपमा लिइन्छ। भदौ महिनामा केन्द्रबाट १५७ जनाले उपचार सेवा लिएका छन् भने असारमा १३५ जना पुगेका थिए। उनीहरूलाई गोमन, करेतलगायत विषालु सर्पले टोकेको थियो। यो समय सर्प टोकाइको मुख्य सिजन पनि हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.