मुटुलाई धड्कन दिऊँ

मुटुलाई धड्कन दिऊँ
सुन्नुहोस्

स्वस्थ जीवनशैली र नियमित परीक्षण नै मुटुको धड्कन जोगाउने मुख्य उपाय हो।

काठमाडौं : ३७ वर्षीय तवारक अहमत मियाँ मन्तव्य दिएर मञ्चबाट तल झरेका मात्र के थिए, मुटुको धड्कनले साथ छोड्यो। २०८२ माघ १९ गते आयोजित कार्यक्रममा स्वागत मन्तव्य दिएर मञ्चबाट ओर्लने क्रममा उनी अचानक ढले। चितवन मेडिकल कलेजमा पुर्‍याउँदा ढिलो भइसकेको थियो। 

चिकित्सकले मृत घोषित गरे। नवलपरासी, कावासोती–१ का मियाँको हृदयघातका कारण मृत्यु भयो। युवावयमै मुटु रोगका कारण ज्यान गुमाउने मियाँ एक्ला व्यक्ति होइनन्। गर्भावस्थादेखि नै धडकन सुरु गर्ने  मुटु कुन बेला थाक्छ, कसैलाई थाहा हुँदैन। पछिल्लो समय मियाँ जस्ता युवामा पनि मुटुसम्बन्धी रोग अर्थात् कार्डियोभास्कुलर डिजिजको जोखिम बढिरहेको मुटुरोग विशेषज्ञहरू बताउँछन्।  

कसैको मुटुमा जन्मजात नै समस्या अर्थात् कन्जनाइटल हार्ट डिजिज  हुन्छ। कतिपय बालबालिकालाई ५ देखि १५ वर्षकै उमेरमा मुटुको बाथ रोग (र्‍युमाटिक हार्ट डिजिज) ले सताउँछ। युवावस्थामा कोरोनरि हार्ट डिजिज ( मुटुको रक्तनसामा हुने रोग) र मुटुको चालमा गडबडी ( एरेदमिया)ले सताएको पाइन्छ। उच्च रक्तचापले पनि युवाहरूलाई पिरोलिरहेको छ। ४० वर्ष नपुग्दै मुटुजन्य रोगका कारण ज्यान गुमाउने घटनाहरू बढ्दै जाँदा मुटुरोग विशेषज्ञहरू चिन्तित छन्। मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट  सेन्टरका कार्यकारी निर्देशक प्राडा. रत्नमणि गजुरेलका अनुसार मुटुरोगका बारेमा आम जनमानसमा अझै पनि पर्याप्त जानकारी छैन। ‘मुटुको धड्कनलाई रोकिन नदिन सबैजना सचेत हुनु जरुरी छ,’ डा. गजुरेल भन्छन्, ‘मुटुलाई रोग लाग्नबाट बचाउन के गर्नुपर्छ। के गर्दा मुटु बलियो र स्वस्थ हुन्छ ?   भन्नेबारे जनचेतना जगाउनु पर्ने आवश्यकता छ।’

null

मुटुको मर्म बुझौं

मांसपेसीको थैलीजस्तो देखिने मुटु शरीरको सबैभन्दा महत्वपूर्ण अंगमध्ये एक हो।  यो स्वचालित रूपमा निरन्तर  धड्किरहन्छ। स्वस्थ व्यक्तिको मुटु दिनमा एक लाखभन्दा बढी पटक  धड्किन्छ। मुटुले रगत पम्प गरेर शरीरका विभिन्न कोषमा चौबीसै घण्टा अक्सिजन र पोषण पुर्‍याउँछ।

मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलका अनुसार, मुटुरोगबारे आमजनमानसमा अझै पर्याप्त जानकारी छैन। ‘मुटुको धड्कनलाई रोकिन नदिन सबैजना सचेत हुनु जरुरी छ,’ डा. गजुरेल भन्छन्, ‘मुटुलाई रोग लाग्नबाट कसरी बचाउने र मुटुलाई कसरी बलियो तथा स्वस्थ राख्ने भन्नेबारे जनचेतना जगाउन आवश्यक छ।’ प्राडा गजुरेलका अनुसार नसर्ने रोगमध्ये मुटुसम्बन्धी रोग प्रमुख स्वास्थ्य समस्यामध्ये एक हो। मुटुरोगलाई विश्वभर प्रमुख मृत्युकारकका रूपमा लिइन्छ।

मुटुमा रोग भन्नासाथ धेरैले हृदयाघातलाई मात्र बुझ्ने गरेको उनको भनाइ छ। तर, मुटुसम्बन्धी रोग धेरै प्रकारका हुन्छन्।  केही जन्मजात हुन्छन् भने केही पछि विकसित हुन्छन्। डा. गजुरेलका अनुसार, कोरोनरी हार्ट डिजिजबाहेक मुटुको चालमा गडबडी, मुटुको मांसपेसी तथा भल्भसम्बन्धी रोगले पनि ज्यान जोखिममा पार्न सक्छन्। मुटुरोगका बिरामीमा अत्यधिक थकान, छाती दुख्ने, शरीर सुन्निने, मुटु तीव्र गतिमा  धड्किएको महसुस हुनेलगायतका लक्षण देखिन सक्छन्। 

मुटुको चाल अत्यन्तै कम हुने अवस्थामा बिरामी अचानक बेहोस भएर अस्पताल आइपुग्न सक्ने डा.गजुरेल बताउँछन्। ‘मुटुले काम गरिरहेको अवस्थासम्म कुनै पनि व्यक्तिलाई मृत घोषणा गर्न मिल्दैन। शरीरका अन्य अंगले काम नगरे पनि मुटुले काम गरिरहेको छ भने व्यक्ति जीवितै मानिन्छ,’ उनी भन्छन्। 

युवालाई किन सताउँदै छ, मुटुरोग ?  

मुटुसम्बन्धी रोगमध्ये कोरोनरी हार्ट डिजिज बढी देखिने गरेको मुटुरोग विशेषज्ञहरू बताउँछन्।  जनचेतना बढे पनि मुटुरोगको भार उच्च छ। वंशाणुगत कारणसँगै अस्वस्थ जीवनशैली र व्यायामको कमीले  मुटुरोगको  जोखिम बढाइरहेको डा. गजुरेल बताउँछन्। ‘मुटुरोग निम्त्याउने नयाँ–नयाँ जोखिम कारक बढेका छन,’ उनी भन्छन्, ‘युवावस्थामै मुटुरोग देखिनुको पछाडि वंशाणुगत कारणसँगै विलासी जीवनशैली र अस्वस्थ खानपान पनि जिम्मेवार छन्।’

धेरै नुन, चिनी र बोसोयुक्त खाना, शारीरिक गतिविधिको कमी, धूमपान, मदिरा सेवन तथा बढ्दो तनावले मुटुरोगको जोखिम बढाउन सक्छ। त्यसैले मुटुलाई स्वस्थ राख्न स्वस्थकर जीवनशैली अपनाउन मुटुरोग विशेषज्ञहरूको सुझाव छ।
कसरी हुन्छ मुटु बलियो ?  

मुटुरोग विशेषज्ञहरूका अनुसार खानपान, नियमित शारीरिक गतिविधि र स्वास्थ्य परीक्षणमा ध्यान दिन सके मुटुरोगको जोखिम घटाउन सकिन्छ। दैनिक खानामा नुन, चिनी र बोसोको मात्रा कम गर्नुपर्छ। गुलियो पेय पदार्थ र धेरै मिठाइ खानुको सट्टा फलफूल खाने बानी बसाल्न सकिन्छ। ताजा फलफूल खान सकिन्छ। बजारमा पाइने प्रशोधित तथा प्याकेटका खानेकुराभन्दा घरमै तयार गरिएको सन्तुलित खाना रोज्नु उपयुक्त हुन्छ।

धूमपान नगर्नु मुटुको स्वास्थ्यका लागि महत्वपूर्ण हुन्छ। मदिरा सेवन नगर्नु नै सुरक्षित विकल्प हो। धूमपान एवं मद्यपान गरिरहेका व्यक्तिले पनि आफ्नो स्वास्थ्य अवस्था र चिकित्सकको सल्लाहलाई ध्यान दिनुपर्छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दिवाकर शर्माका अनुसार, नियमित शारीरिक गतिविधि र तनाव व्यवस्थापनमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ।

null

हृदयाघातको शंकालागे अस्पताल पुर्‍याऔं 

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. दिवाकर शर्माका अनुसार हृदयाघात गराउने कोरोनरी मुटुरोगले धेरैको ज्यान लिइरहेको छ। हृदयाघात भएपछि उपचारमा हुने ढिलाइले ज्यानको जोखिम बढाउँछ। ‘हृदयाघात हुनेबित्तिकै अस्पताल पुर्‍याउने हो भने ज्यान जोगाउन सकिन्छ। समयमै उपचार पाएमा हृदयाघात भएका झन्डै ९० प्रतिशतलाई बचाउन सकिन्छ,’ डा. शर्मा भन्छन्, ‘अस्पताल पुर्‍याउन ढिलाइ हुँदा पहिलो एक घण्टामै ज्यान जाने जोखिम हुन्छ। त्यसैले हृदयाघात भएको शंका लाग्नेबित्तिकै बिरामीलाई अस्पताल पुर्‍याउनुपर्छ।’
यसैले छाती दुख्ने, असहज हुने, अत्यधिक पसिना आउने, सास फेर्न गाह्रो हुने वा अचानक कमजोरी महसुस हुनेजस्ता लक्षणलाई सामान्य ठानेर घरमै बस्नु जोखिमपूर्ण हुन सक्छ। यस्ता लक्षण देखिए तत्काल चिकित्सकीय सहायता लिनु आवश्यक हुन्छ।

८ दशकमा बदलिएको उपचार

नेपालमा मुटुसम्बन्धी उपचारको इतिहास लामो छ। १९९७ सालमा तत्कालीन राजा त्रिभुवनलाई मुटुसम्बन्धी समस्या देखिएपछि नेपालमा ईसीजी सेवा सुरु भएको उल्लेख पाइन्छ। तत्कालीन राजा त्रिभुवन र त्यसपछिका महेन्द्रको उपचारका लागि अमेरिका र बेलायतबाट मुटुरोग विशेषज्ञसमेत बोलाइएको थियो। त्यो अवस्थामा अहिले फेरिएको छ। 

त्यसको झन्डै ८ दशकपछि मुटुसम्बन्धी अधिकांश उपचार सेवा नेपालमै उपलब्ध छन्।  सरकारी तथा निजी अस्पतालमा मुटुरोगको परीक्षण, औषधि उपचारदेखि जटिल शल्यक्रियासम्मका सेवा विस्तार भएका छन्।  बाइपास सर्जरी पनि नेपालका विभिन्न अस्पतालमा हुँदै आएको छ। सर्जनहरूका अनुसार हरेक वर्ष १ हजारभन्दा बढी व्यक्तिको बाइपास सर्जरी हुने गरेको छ। जन्मजात मुटुमा प्वाल भएका बिरामीको उपचारदेखि जटिल मुटु शल्यक्रियासम्मका सेवा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरलगायत अस्पतालमा उपलब्ध छन्। 

अबको लक्ष्य रोबोटिक सर्जरी र प्रत्यारोपण

कार्डियाक सोसाइटी अफ नेपालका अध्यक्ष तथा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. चन्द्रमणि अधिकारीका अनुसार मुटुरोगको उपचारमा नेपालले उल्लेख्य प्रगति गरेको छ।  मुटुसम्बन्धी अधिकांश उपचारका लागि नेपाली बिरामीलाई  विदेश जानुपर्ने अवस्था छैन। उनका अनुसार रोबोटिक हार्ट सर्जरी भारतमा सुरु भइसकेको छ। ‘रोबोटिक हार्ट सर्जरी नेपालमै गर्न सकिने अवस्था बनोस् भन्ने चाहना छ। यसका लागि मुटुरोग विशेषज्ञ र मुटु सर्जनहरू एकजुट भएर पहल गर्न आवश्यक छ,’ डा. अधिकारी भन्छन्, ‘विभिन्न प्राविधिक र कानुनी जटिलताका कारण नेपालमा अझै मुटु प्रत्यारोपण (हार्ट ट्रान्सप्लान्ट) हुन सकेको छैन। सरोकारवाला सबैको सहयोगमा यी सेवा पनि निकट भविष्यमा स्वदेशमै उपलब्ध होऊन् भन्ने चाहना छ।’

जाँच गरौं, समयमै थाहा पाऔं

मुटु र रक्तनलीको नियमित जाँचले मुटुजन्य रोगको जोखिम वा समस्या समयमै पहिचान गर्न सहयोग गर्छ। विकसित मुलुकमा नियमित स्वास्थ्य परीक्षण र जोखिम पहिचानलाई मुटुरोग नियन्त्रणको महत्वपूर्ण उपायका रूपमा लिइन्छ। समयमै रोग पहिचान हुँदा उपचार पनि सहज हुन्छ।

तर, नेपालका ग्रामीण तथा विकट बस्तीमा अझै पनि मुटु परीक्षणको पहुँच सहज छैन। कतिपय ठाउँमा परीक्षण सुविधा अभाव छ भने कतिपयमा नियमित जाँच गराउने संस्कार नै विकास हुन सकेको छैन। ‘बेलैमा जाँच गरिरहे मुटुको अवस्था थाहा हुन्छ,’ वरिष्ठ मुटुरोग विशेषज्ञ डा. शर्मा भन्छन्, ‘मुटु निरन्तर  धड्किरहने अंग हो। त्यसको धड्कनलाई स्वस्थ राख्ने जिम्मेवारी भने हाम्रो जीवनशैली, खानपान, नियमित परीक्षण र समयमै उपचारसँग जोडिएको छ।’ 

null


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.