अँध्यारो सुरुङमा कबिरका १० दिन : मृत्यु स्वीकारे, हिम्मत हारेनन्

अँध्यारो सुरुङमा कबिरका १० दिन : मृत्यु स्वीकारे, हिम्मत हारेनन्

उज्यालो पनि आवाजसँगै थियो। यसपटक त्यो भ्रम थिएन। बाहिरबाट मानिसहरू साँच्चिकै आएका थिए। कबिर कराए। उताबाट आवाज आयो–‘ए, साउन्ड आयो यार। साउन्ड आयो।’ ‘कोही कराउँदै छ त्यहाँ।’ कबिरले आफ्नो बाँकी शक्ति जम्मा गरे। र, चिच्याए, ‘म यता छु। मेरो नाम यो–यो हो। म यहाँ छु। तपाईंहरू को हो ? मलाई निकाल्नुस् यहाँबाट।’

काठमाडौं : कीर्तिपुरको पाँगास्थित कबिर महर्जनको घरमा मानिसहरूको चहलपहल छ। आफन्त, साथीभाइ र छरछिमेकीहरू उनको वास्तविक भोगाइलाई कथा झैं चाख मानेर सुनिरहेका छन्। महर्जनलाई मन्त्रमुग्ध भएर हेर्छन् र हर्षित हुन्छन्। भान्सामा पत्नी हरिशोभा प्रशन्न मुद्रामा चिया पकाइरहेकी भेटिन्छिन्। यस्तो लाग्छ, उनको घरमा चिया पार्टी चलिरहेको छ।

भदौ १० गतेपछि यही घरमा चियाको बास्ना पनि थिएन। थियो त केवल चिन्ताको बासमात्रै। भदौ १० गते भोटेकोशीको विनाशकारी बाढीसँगै अपर त्रिशूली–३‘ए’ को टनेलमा कार्यरत सुपरभाइजर कबिर महर्जन सम्पर्कविहीन भएका थिए। परिवारको निन्द्रा हराएको थियो। ६८ वर्षीय बुबा नन्दकुमार महर्जन ती १० दिन सम्झँदा भावुक बन्छन्। 

‘कुनै रात निदाउन सकिएन, छोरालाई के भयो होला भन्ने चिन्ताले मात्र सताउँथ्यो’ उनी भन्छन्। आज भने उनी छोराकै छेउमा छन्। १० दिन अँध्यारो सुरुङ र २० दिन अस्पतालको बासपछि घर फर्किएका छोराको पूर्ण स्वास्थ्यलाभको कामना गर्दै हेरचाह गरिरहेका छन्। एक महिनापछि कबिरको घर आगमनले श्रीमती, बुवाआमा, दुई छोरा र आफन्तको अनुहारमा फेरि खुसी फर्किएको छ। 

तर, कबिरलाई भने अझै कहालीलाग्दी ती १० दिनले झस्काइरहेकै छ। हात र खुट्टामा गहिरो चोट अनुभव हुन्छ। जिउँ पूरै थिलथिलो भएको छ, धेरै मानिसले कुटेर थला पारिदिए जस्तो। शरीरमा तागत नै छैन। अहिले पनि बत्ती निभाएर उनी निदाउन सक्दैनन्। नुहाउँदा धाराको पानीले पनि उनको शरीर थर्थराइदिन्छ। 

एकमहिने काजमा गएको भोलिपल्टै विपद् त्रिशूली–३ ‘ए’ को सुरुङ कबिरका लागि नयाँ होइन। ०७६ सालदेखि ६ वर्ष उनले यही आयोजनामा काम गरेका थिए। २०६८ सालमा नेपाल विद्युत् प्राधिकरणको मेकानिकल जुनियर मिस्त्रीका रूपमा सेवा प्रवेश गरेका कबिर दुई वर्षअघि यहीँबाट सुपरभाइजरमा बढुवा भए। गत वर्षमात्र कुलेखानीमा सरुवा भएका उनलाई पुरानो अनुभवी भन्दै प्राधिकरणले भदौमा एक महिनाको काज दिएर अपर त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनामा पठाएको थियो।

यति धेरै बेहोशी, तन्द्रा र पीडामा पनि उनले हौसलालाई बिस्तारै जागै राखे। कहिलेकाहीँ उनी उठ्न खोज्थे। खुट्टाले साथ दिँदैनथ्यो। एउटा खुट्टा लतार्दै केही पर पुग्ने प्रयास गर्थे। शरीरमा ऊर्जा सकिन्थ्यो। फेरि त्यहीँ सुत्थे।

आयोजनाको युनिट–१ को मर्मतसम्भार चलिरहेको थियो। करिब ३० दिनको कामको तालिका थियो। भदौ ९ गते उनी आयोजनामा पुगेका थिए। कुलिङ फ्यान–१ को काम गर्नुपर्ने थियो। नियमित मर्मत सम्भारअन्तर्गत बृहत् बेरिङ नापजाँच र सरसफाइ सुरु भएको थियो र सबै सामान्य नै चल्दै थिए। तर, भोलिपल्ट रसुवागढी क्षेत्रबाट ठूलो बाढी आएको खबर आयो। ‘बाढी आइरहेको छ,’ भन्ने खबर थाहा पाएको कबिर सम्झन्छन्। तर, यो रूपको बाढीको कसैले कल्पना नगरेको उनले बताए।

‘हामी ३०/३५ जना काममा थियौं, बाढीबाट बच्न साथीहरू आउटलेटतर्फ दौडिए,’ उनले सम्झिए। कबिर भने मोबाइल लिन कन्ट्रोल रुमतर्फ गए। कन्ट्रोल रुमको सीसीटिभी फुटेजमा उनले देखे कि आउटलेटमा बाढी पसिसकेको थियो। अब सामान्य बाटोबाट बाहिर निस्कन सम्भव थिएन। उनले सहकर्मी सञ्जय साहलाई समेत हात समाएर ताने अनि एक्सिस टनेल छाडेर केही उचाइमा रहेको केबल टनेलतिर लागे। तर, बाढी त्यहाँ पनि पुग्यो। बत्ती गयो। अँध्यारो भयो। पानीले उनीहरूको बाटो छोप्यो। त्यसपछि कबिरलाई आफू कहाँ पुग्छु भन्ने पनि थाहा भएन। पानीको लहरमा उनीहरू बगे। बाढीले उनलाई र सञ्जयलाई अलग गरिदियो।

सञ्जय कतै केबल ग्यालरीमा अड्किए। कबिर भने पानीसँगै बगिरहे। भर्‍याङबाट पटक–पटक खसे। चार, आठ, दस, एघार कति खुड्किला खसेको भन्ने पनि उनलाई यकिन भएन। शरीरमा चोट थपिँदै गएको महसुसमात्रै भइरहेको थियो।

पानी घटेपछि उनी उठे। शरीरमा भित्री बस्त्र मात्रै बाँकी थिए। जुत्ताभित्र बालुवा र माटो भरिएको थियो। जुत्ता भारी भएपछि  फुकाले। खुट्टामा चोट लागिसकेको थियो। तर, त्यसबेला उनलाई चोटको मतलब थिएन। उनलाई बाहिर निस्कनु थियो। अँध्यारोमा उनले सुरुङको मुख खोजे। तर, आउटलेट पुरिइसकेको थियो। बाहिर जाने बाटो बन्द थियो। उनी पहिलेकै ठाउँमा फर्किए। खोपा जस्तो त्यो ठाउँ उनलाई सुरक्षित नै लाग्यो।

सुरुङकै पानी पिएँ, साथीको प्रतीक्षामा समय बिताए

कबिरलाई लागेको थियो कि बाढीको समयमा आउटलेटतर्फ दौडिएका साथीहरू बाहिर निस्कन सफल भए। उनीहरू सुरक्षित छन् र आफूलाई लिन आउँछन् भन्ने आशामा उनले समय बिताए। तर, उनका साथीहरू आएनन्। उनले आफूलाई तिर्खा लाग्दा सुरुङमा सिपेज भएको पानी पिएर प्यास मेटाए। सुरुङको कङ्क्रिटका जोइन्टबाट पानी चुहिरहेको थियो। त्यहीँ पानी उनको जीवन धान्ने आधार बन्यो।

घडी थिएन, उज्यालो त झन् हुने कुनै भएन। दिन कति बित्यो उनले अनुमान सम्म गर्न सकेनन्। न दिन र रात नत तिथि र बार। उनी प्रायः सुत्थे। अनि झस्किएर बिउँझिन्थे। अनि कराउँथे, ‘गार्ड दाइ, कोही हुनुहुन्छ ?’ तर, जवाफ आउँदैनथ्यो। बिस्तारै उनले सपनालाई जीवनको साथी बनाए। सपना नै उनको घर बन्यो। अँध्यारोमा उनको दिमागले अर्को संसार बनाउन थाल्यो।

‘खाना ? अन्नपूर्णको जिज्ञासामा कबिरले भने, ‘खानेकुरा त कहाँ हुनु, थिएन।’ १० दिनसम्म पानी पिएर बाँचे।’ उनलाई भोक लागेको भन्दा पनि घरमा पुगेको र भोज खाएको भ्रम भइरह्यो। नेवारी भोज खाएको आभास भइरहँदा कैयौंपटक उनको मुखमा हिलो माटो, काठ, छेस्काहरू पसेर उनले कुल्ला गरिरहे। 

दिमागले अर्को संसार बनाउन थाल्यो
घडी थिएन, उज्यालो त झन् हुने कुनै भएन। दिन कति बित्यो उनले अनुमान सम्म गर्न सकेनन्। न दिन र रात नत तिथि र बार। उनी प्रायः सुत्थे। अनि झस्किएर बिउँझिन्थे। अनि कराउँथे, ‘गार्ड दाइ, कोही हुनुहुन्छ ?’ तर, जवाफ आउँदैनथ्यो। बिस्तारै उनले सपनालाई जीवनको साथी बनाए। सपना नै उनको घर बन्यो। अँध्यारोमा उनको दिमागले अर्को संसार बनाउन थाल्यो।

उनी सपना देख्थे। सपनामा घर पुग्थे। परिवारसँग बसेका हुन्थे। घुमघाम गर्थे। रमाइलो गर्थे। फेरि झल्यास्स बिउँझिन्थे। त्यतिबेला थाहा हुन्थ्यो, घर पुगेको होइन रहेछ। सपना पो रहेछ !

अनि फेरि त्यही चिसो भुइँ। त्यही हिलो। त्यही अँध्यारो। त्यही एक्लोपन। समय बित्दै जाँदा उनी आफू सुरुङभित्र फसेको कुरा पनि बिर्सन थाले। उद्धार गर्न साथीहरू आउँछन् भन्ने स्मृति पनि धमिलो हुँदै गएपछि उनले आफू त्यही ठाउँको कुनै प्राणी भएको समेत अनुभव गर्न भ्याए।

आत्तिने होइन, जोगाउने प्रयास
यति धेरै बेहोशी, तन्द्रा र पीडामा पनि उनले हौसलालाई बिस्तारै जागै राखे। कहिलेकाहीँ उनी उठ्न खोज्थे। खुट्टाले साथ दिँदैनथ्यो। एउटा खुट्टा लतार्दै केही पर पुग्ने प्रयास गर्थे। शरीरमा ऊर्जा सकिन्थ्यो। फेरि त्यहीँ सुत्थे।

सुरुङभित्र फसेको सुरुको क्षणमा उनको दिमागमा एउटा कुरा आएको थियो– ‘मान्छे ५०÷५५ दिनसम्म पनि नखाई बाँच्न सक्छन् रे !’ अनि उनले सोचे कति दिन भयो होला ?     पछि हुँदै जाँदा कबिरले त्यो पनि सोच्न छोडिदिए।

जति दिन बाँचिन्छ, बाँचिन्छ। नभए मरिन्छ।’ त्यो बेला उनी एक किसिमले मृत्युको प्रतीक्षामा थिए। तर, साहसिक मृत्यु। एक दिन मर्नै पर्छ, मृत्युसँग केको डर ? उनले मृत्युसँग नडराएरै मृत्यु स्वीकार गरे। उनले रुने, कराउने, आत्तिनेभन्दा आफूलाई जोगाउने प्रयास गरे। उनको दिमागमा एउटै कुरा थियो– नआत्तिने र आफूलाई जोगाउन प्रयास गरिरहने। श्रीमती, स्कुल पढ्दै गरेका दुई छोरा, वृद्ध बुवाआमाका लागि आफू बाच्नुपर्ने भन्दै उनले मनलाई बलियो बनाए। उनले भगवानलाई समेत अनेकौं पटक पुकारे र आशाको त्यान्द्रो कायमै राखे।

उद्धार टोली आउँदा ‘भ्रम’ ठाने
सुरुङमा कति दिन बितिसकेको थियो, उनलाई थाहा थिएन। एक दिन निन्द्रामै मान्छे बोलेको जस्तो सुनियो। अनि केही उज्यालो पनि देखियो। तर, उनले उद्धार टोली आएको भन्ने कल्पना गरेनन्। कहिलेकाहीँ उनलाई सुरुङभित्रैबाट स्वयम्भूबाट काठमाडौं हेरेजस्तो लाग्थ्यो। तल सहरका बत्तीहरू बलिरहेका देखिन्थे। तिनै भ्रमबाट आजित कबिरले यसपटक पनि त्यस्तै होकि भन्ने सोचे। यो पनि भ्रम पो हो कि ?

तर, आवाज फेरि आयो। उज्यालो पनि आवाजसँगै थियो। यसपटक त्यो भ्रम थिएन। बाहिरबाट मानिसहरू साँच्चिकै आएका थिए। कबिर कराए। उताबाट आवाज आयो–‘ए, साउन्ड आयो यार। साउन्ड आयो।’

‘कोही कराउँदै छ त्यहाँ।’ कबिरले आफ्नो बाँकी शक्ति जम्मा गरे। र, चिच्याए, ‘म यता छु। मेरो नाम यो–यो हो। म यहाँ छु। तपाईंहरू को हो ? मलाई निकाल्नुस् यहाँबाट।’

‘अब तपाईं बाँच्नुहुन्छ’ उद्धार गर्न आएकाले भनेको यो वाक्यले उनको निभ्न नदिएको जीवनको आशालाई पूरै जगाइदियो। ‘तपाईं त्यहाँ बसिरहनुस्। कहीँ नजानुस् है, हामी आउँछौं।’ उद्धार टोलीले भनेको कबिरलाई याद छ तर, त्यसको कति समयपछि उनीहरू आए, कबिरलाई थाहा भएन।

करिब सय मिटरको यात्रा
कबिरलाई करिब सय मिटरसम्म उद्धार टोलीले बोक्दै, ट्रेमा राखेर घिसार्दै बाहिर ल्यायो। उनलाई जुस खान दिएपछि तागत आएको भान भयो। उनका हातखुट्टा चलिरहेका थिएनन्। शरीर चोटले थलिएको थियो। तर, अब एउटा कुरा निश्चित थियो– अँध्यारो सकिँदै थियो। उद्धार टोलीले उनलाई स्ट्रेचरमा राख्यो। बेल्ट बाँध्यो। त्यसपछि उनीहरूले परिचय दिए–नेपाली सेनाको उद्धार टोली। उद्धार टोलीका एक कमान्डर भक्तपुरका नेवार रहेछन्। उनले कबिरलाई भने– ‘कुलदेवतालाई सम्झिनुस्।’

फेरि जुस खान दिए। कबिरले जुस पिए। त्यसपछि कमान्डरले भने, ‘अब तपाईं ढुक्क हुनुस्। तपाईं बाँच्नुहुन्छ। हामी बचाउँछौं।’ १० दिनदेखि अँध्यारोमा हराएको कबिरले त्यो वाक्य संसारकै सबैभन्दा उज्यालो महसुस गरे।

अँध्यारो सकियो
बाहिर निस्कँदा पहिलोपटक घाम उनको आँखामा पर्‍यो। १० दिनसम्म अँध्यारोमा बसेका आँखाले उज्यालो सहन सकेनन्। उनले आँखा चिम्लिए। त्यो घाम उनको आँखाका लागि असह्य थियो। तर, त्यही घामले एउटा कुरा प्रमाणित गरिरहेको थियो कि उनी जीवित थिए।

उनले नेपाली सेनाका उद्धारकर्तालाई धन्यवाद स्वरूप नमस्कार गरे, विद्युत् प्राधिकरणका चिनेका अग्रज सहकर्मीलाई पनि नमस्कार गरे। यसले उनी सकुशल रहेको प्रमाणित भएकाले बाहिरी माहौलमा पनि खुसी छायो। तर, उनी टाउको उठाउन नसक्ने गरी कमजोरी महसुस गरिरहेका थिए, बाहिरी उज्यालो हेर्न लालायित आँखा घामको प्रकाश थेग्न नसक्ने भएका थिए। उनलाई उपचार आवश्यक रहेको देखिएपछि नेपाली सेनाले हेलिकप्टरमार्फत आफ्नै अस्पताल पुर्‍यायो। अस्पतालमा उनले     श्रीमतीलाई रोइरहेको पाए र नरुनु भनेर सम्झाए।

अस्पतालमा २० दिनको  उपचारपछि घर फर्किएका कबिरलाई अझै उद्धार टोलीका कमान्डरले सोधेको प्रश्न ताजा बनेर आइरहेछ। जब कमान्डरले सोधेका थिए। ‘कति दिन भयो ?’ कबिरले भने– ‘दुई दिन।’ ‘तपाईं कहाँ हुनुहुन्छ थाहा छ ?’ ‘थाहा छैन।’ ‘तपाईं ३ ‘ए’ मा हुनुहुन्छ।’ भनेर कमान्डरले भनेपछि बल्ल कबिरको दिमागमा केही जोडिएको थियो।

‘३ ‘ए’मा त म अस्ति नै फसेको थिएँ।’ उनले सम्झिए अनि उनले बल्ल बाहिर आएपछि थाहा पाए कि उनी १० दिनदेखि त्यहाँ फसेका थिए। उनी आफूलाई बचाएकोमा उद्धारकर्ताप्रति आभारी व्यक्त गर्छन्। तर, आफ्ना साथीहरू, अग्रजहरू र ठूलो जनधनको क्षति भएको थाहा पाउँदा उनलाई दुःख पनि उत्तिकै लागेको छ। उनका रसाएका आँखाले सुरुङमा सँगै काम गरेका आफ्ना साथीहरू खोजिरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.