हिउँमुनि हराएका ‘हिम्लुङ’का सपना

आधार शिविरमा ४ को शव भेटियो, १२ जना अझै बेपत्ता

हिउँमुनि हराएका ‘हिम्लुङ’का सपना
सुन्नुहोस्

काठमाडौं : मौसमको बेवास्ता र बंगालको खाडीबाट उठेको जलवाष्पयुक्त प्रणालीले यसपटक हिमाली जिल्ला मनाङलाई नराम्ररी गाँज्यो। शरद ऋतुको पर्वतारोहण मौसम सुरु हुँदै गर्दा आफ्ना परिवारको रोजीरोटी र सपनाको भारी बोकेर हिम्लुङ हिमालको आधार शिविर पुगेका सहयोगी हातहरू हिउँको बाक्लो तहमुनि हराएका छन्। भने तल्लो क्षेत्रका बस्तीहरू मर्स्याङ्दीको लेदो र पहिरोको चपेटामा परेका छन्।

मौसमको बेवास्ता, जलवायु परिवर्तनको असर र बंगालको खाडीबाट उठेको जलवाष्पयुक्त मौसमी प्रणालीको दुष्प्रभाव हिमाली जिल्ला मनाङमा यतिबेला सन्नाटा र शोक छाएको छ। 

असोजको  ८ गतेदेखि ११ गतेसम्म परेको अविरल वर्षा, माथिल्लो भेगको भारी हिमपात र त्यसपछिको विनाशकारी बाढी–पहिरोले पर्यटकीय जिल्ला मनाङको जनजीवनलाई पूर्णरूपमा अस्तव्यस्तमात्र बनाएको छैन, पर्वतारोहणको इतिहासमै गहिरो र कहिल्यै नपुरिने घाउ छाडिदिएको छ।

शरद ऋतुको पर्वतारोहण मौसम सुरु भएसँगै आफ्ना परिवारको उज्ज्वल भविष्य, रोजीरोटी र सपनाको भारी बोकेर हिम्लुङ हिमालको आधार शिविर पुगेका सहयोगी हातहरू हिउँको १५ फिटभन्दा बाक्लो तहमुनि हराएका छन्। उता तल्लो क्षेत्रका पर्यटकीय बस्तीहरू मर्स्याङ्दीको लेदो, भेल र भीषण पहिरोको चपेटामा परेर छटपटाइरहेका छन्।

एकातिर आफ्ना प्रियजनको शव  हेलिकप्टरमा बोक्नुपरेको पीडा छ भने अर्कातिर सिंगो जिल्ला नै सञ्चार र सडक सञ्जालबाट बिछोडिएको छ। हिउँ पहिरोमा परेकाहरूको उद्धार कठिन भएकाले फर्किने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलले बताए। उनले भने, ‘४ जनाको शव भेटिएको छ, टोली हिउँको बाक्लो तह पल्टाएर शव खोज्ने अवस्था नभएकाले फर्किने तयारीमा भएको जानकारी पाएको छु।’

हिम्लुङमा बज्रपातः हिउँमुनि पुरिएका सहयोगी हातहरू
मनाङको नारफु सीमा क्षेत्रमा अवस्थित ७ हजार १ सय २६ मिटर उचाइको हिम्लुङ हिमाल हिमाली पर्यटनको दुनियाँमा सधैं एक लोकप्रिय, शान्त र कम प्राविधिक जटिलता भएको सुरक्षित हिमालका रूपमा परिचित थियो। 

पर्यटन विभागकाअनुसार सन् १९९२ मा आरोहणका लागि खुला गरिएको यो हिमालमा सोही वर्षको अक्टोबर ३ मा जापानी नागरिक ओसामु हानाई, आकियो कोइजुमी र नेपाली निमा शेर्पाको टोलीले पहिलोपटक सफल पाइला टेकेर आरोहणको औपचारिक इतिहास रचेका थिए।  त्यसयताका तीन दशकभन्दा बढी समयमा विश्वभरका एक हजारभन्दा बढी विदेशी तथा स्वदेशी आरोहीहरूले यसको चुचुरो चुमिसकेका छन्। नेपाल पर्वतारोहण संघका विद्यार्थीहरूले समेत प्रयोगात्मक तालिम र प्रशिक्षणका लागि यही हिमाल रोज्ने गर्थे। विगतका वर्षहरूमा फाट्टफुट्ट लेक लाग्नेबाहेक ठूला दुर्घटना नभएको हिम्लुङमा यसपटक भने बज्रपात नै पर्‍यो।

शरद ऋतुको यो सिजनमा मुख्य विदेशी आरोहीहरू आधार शिविर पुग्नुअघि नै पूर्वतयारीका लागि हिमालयन होलिडेज र इमाजिन नेपाललगायतका ट्रेकिङ एजेन्सीमार्फत २७ जना नेपाली शेर्पा गाइड, भान्साका कामदार तथा सहयोगी मजदुरहरू त्यहाँ खटिएका थिए। टेन्ट टाँग्ने, बाटो बनाउने र रसदपानी व्यवस्थापन गर्ने काम भइरहेकै बेला आधार शिविर क्षेत्रमा भीषण हिमपात भयो। लगत्तै खसेको १५ फिटभन्दा बाक्लो हिउँसहितको विशाल हिमपहिरोले सिंगो आधार शिविरलाई क्षणभरमै तहसनहस बनाइदियो।

हिमपहिरोको बितण्डाबीच ११ जना कामदारहरू चमत्कारिक रूपमा ज्यान जोगाएर भाग्न सफल भए, हिँडेरै सदरमुकाम फर्किए। तर, बाँकी १६ जना टोलीका लागि प्रकृति अत्यन्तै निष्ठुरी बन्यो। घटनालगत्तै अन्तर्राष्ट्रिय गाइड मिङ्मा जी शेर्पाको नेतृत्वमा र जिल्ला प्रहरी कार्यालय मनाङको समन्वयमा उद्धार टोली तीव्ररूपमा खटाइयो। उद्धार टोलीले लगातारको प्रयासपछि संखुवासभा भोटखोला गाउँपालिका ३ का ५२ वर्षीय छेवी भोटे, सोही ठाउँका ३१ वर्षीय पासाङ भोटे तथा वीरेन्द्र गुरुङ र घनश्याम राईको शव फेला पारेको छ।

आइतबार र सोमबार फेला परेका ती शवहरूलाई कैलाश हेलिकप्टरमार्फत उद्धार गरी पहिले प्रदेश अस्पताल चामे ल्याइयो र पोस्टमार्टमका लागि काठमाडौंस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पठाइएको छ। तर, जिल्ला प्रहरी कार्यालय मनाङबाट पैदल करिब ३ दिन उत्तरतर्फ पर्ने विकट हिमाली मरुभूमिजस्तै बनेको हिम्लुङ बेसक्याम्पमा अझै १२ जना नेपाली मजदुर हिउँमुनि बेपत्ता छन्। प्रतिकूल मौसम, लगातारको हिमपात र अत्यधिक चिसोका कारण उद्धार टोलीलाई हिउँ पन्छाएर खोजी गर्न निकै चुनौती रहेको उद्धार टोलीका प्रमुख मिङ्मा जी शेर्पाले बताए।

मर्स्याङ्दीको रोद्र रूप 

उच्च हिमाली क्षेत्रमा हिमपहिरोले शोक र रुवाबासीको वातावरण बनाइरहँदा तल्लो मनाङका बस्तीहरू भने बाढी र पहिरोको दोहोरो मारमा परे। असोज ८ देखि ११ गतेसम्म परेको लगातारको झरीका कारण ठाडो खोलाहरू बहुलाए। 
मर्स्याङ्दी नदीले आफ्नो ऐतिहासिक रोद्र रूप देखायो। नदीमा आएको पेलानयुक्त बाढी र माथिबाट खसेको लेदो पहिरोले सदरमुकाम चामे र आसपासका गाउँहरूमा ठूलो विनाश लीला रच्यो। स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार राति साढे ११ बजेतिर एक्कासि ढलढले आवाजसहित बस्तीमा बाढी र लेदो पसेपछि स्थानीयवासी ज्यान जोगाउन छाना र चौतारी छाडी रातारात जंगल तथा माथिल्लो डाँडातर्फ भागेका थिए। 

बाढीले चामेका ५ भन्दा बढी घरहरू पूर्णरूपमा बगाएर मर्स्याङ्दीमा मिलाइदिएको छ भने कृषि ज्ञानकेन्द्र नजिकका पक्की संरचनाहरूमा गम्भीर क्षति पुर्‍याएको छ। सदरमुकाम जोड्ने दुईवटै काठेपुल र मुख्य मोटरेबल पुलहरू बाढीको तीव्र बहावले बगाएपछि एक गाउँबाट अर्का गाउँ जाने आवतजावत पूर्णरूपमा ठप्प बनेको छ। मर्स्याङ्दीमा चट्टान खसेर बनेको ताल खोल्न पोखराबाट सेनाको जनशक्ति मगाइएकाले मंगलबारदेखि काम सुरु हुने सहायक प्रमुख जिल्ला अधिकारी पौडेलले अन्नपूर्णलाई बताए। ताल सानो भएकाले धेरै जोखिम भने नभएको उनले जनाए। 

चामे–खाङसार सडक खण्ड ठाउँ –ठाउँमा पहिरोले बगाएपछि यातायात सेवा ठप्प छ भने नासोँ गाउँपालिकाको प्रसिद्ध ताल गाउँमा दर्जनौं घर डुबान र लेदोमा पुरिएका छन्। लगातार तीन दिनसम्म टेलिफोन र विद्युत् सेवा पूर्णरूपमा विच्छेद हुँदा मनाङवासीले भोगेको यो दर्दान्त कथा बाहिरी संसारसम्म पुग्नै ढिला भयो । 

यसैबीच मनाङमा निम्तिएको यो प्राकृतिक विपत्ति र मानवीय संकटको विषय सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद टेकबहादुर गुरुङले सदनलाई जानकारी गराउँदै सरकारको ध्यानाकर्षण गराए।

सांसद गुरुङले सभामुखमार्फत सरकारसँग गुहार माग्दै भने– ‘नार्पा भूमि गाउँपालिकाको हिम्लुङ हिमाल चढ्न गएका २७ जना नेपाली सहयोगीमध्ये ४ जनाको शव भेटिएको छ, १२ जना अझै हिउँमुनि सम्पर्कविहीन छन्। बाटोघाटो, पुल र सञ्चार सम्पर्क टुटेका कारण उद्धार कार्य अत्यन्तै जटिल बनेको छ। यता बाढी–पहिरोले गर्दा सयौंको संख्यामा रहेका आन्तरिक तथा बाह्य पर्यटकहरू मनाङका विभिन्न दुर्गम स्थानमा अलपत्र परेका छन्। उनीहरूको तत्काल उद्धार गरियोस्।’

विपत्तिका कारण मनाङको समग्र अर्थतन्त्र र जनजीवन नै तहसनहस हुने स्थितिमा छ। पर्यटनको मुख्य सिजनमै आएको यस अकल्पनीय विपत्तिले स्थानीय पर्यटन व्यवसायी, होटेल सञ्चालक र पदयात्रा एजेन्सीहरूलाई करोडौंको आर्थिक नोक्सानी पुर्‍याएको छ। हिमाली क्षेत्रमा वर्षमा एकपटकमात्र हुने उवा, फापर र आलुजस्ता बालीहरू बेमौसमी वर्षा र हिमपातले पूर्णरूपमा नष्ट पारिदिएको छ। जसका कारण आगामी दिनमा मनाङमा खाद्य संकटको जोखिम बढाएको छ।

अवरुद्ध विद्युत् सेवा तत्काल सुचारु गर्न, हिउँमुनि बेपत्ता भएका कामदारहरूको खोजीका लागि तालिमप्राप्त सुझबुझपूर्ण टोली र प्रविधि पठाउन मनाङबासीले सरकारसँग माग गरेका छन्। सरकारको ध्यान दुर्गमतिर  समयमा नपुग्दा सेतो हिउँको च्यादर ओढेर बसेको मनाङको दुर्दशा अझै लम्बिने चिन्ता मनाङेलाई छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.