एसियाडमा जापानले कमाउँछ कि घाटा बेहोर्छ ?
नागोया : २०औं एसियाली खेलकुद (एसियाड) आयोजना गर्दै गर्दा जापानले एउटा ठूलो खेलकुद प्रतियोगितामात्र आयोजना गरिरहेको छैन, त्यससँगै अर्थतन्त्रमा कति प्रभाव पर्छ भन्ने परीक्षा पनि दिइरहेको छ।
प्रतियोगिता सुरु हुनुअघि नै आयोजनाको लागत बढेर ठूलो आकारमा पुगे पनि आयोजक क्षेत्र आइची र नागोयाले दीर्घकालीन आर्थिक लाभलाई त्यसको प्रतिफलका रूपमा अघि सारेका छन्। तर, अहिलेको अवस्थामा एसियाडबाट जापानले प्रत्यक्ष रूपमा नाफा कमायो वा घाटा बेहोर्यो भन्ने निष्कर्ष निकाल्न हतार हुनेछ। आयोजनाको अन्तिम आम्दानी, खर्च, कर तथा पर्यटनबाट भएको वास्तविक अतिरिक्त आम्दानीको पूर्ण हिसाब प्रतियोगिता सकिएपछि मात्र स्पष्ट हुनेछ।
हाल सार्वजनिक गरिएको तथ्यांकअनुसार २०औं एसियाली खेलकुद र त्यसपछि हुने पाँचौं एसियाली पारालिम्पिक खेलकुदसँग जोडिएको कुल खर्च करिब ३७ खर्ब येन पुग्ने अनुमान छ। सुरुमा दुवै प्रतियोगिताका लागि करिब १० खर्ब येन हाराहारी खर्च हुने अनुमान गरिएको थियो। तर, निर्माण सामग्री तथा श्रमको मूल्यवृद्धि, योजना परिवर्तन र अन्य खर्चका कारण लागत उल्लेख्य रूपमा बढेको जापानले जनाएको छ।
लागत बढे पनि आइची–नागोया आयोजक पक्षले प्रतियोगितालाई आर्थिक गतिविधि विस्तार गर्ने अवसरका रूपमा प्रस्तुत गर्दै आएको छ। आइची प्रिफेक्चर र नागोया सिटीले गरेको अध्ययनअनुसार २०१६ देखि २०३६ सम्मको अवधिलाई हेर्दा एसियाड तथा एसियाली पारालिम्पिक आयोजनासँग सम्बन्धित राष्ट्रिय स्तरको आर्थिक प्रभाव ३६ खर्ब ८३ अर्ब येन पुग्ने अनुमान गरिएको छ। आइची प्रिफेक्चरभित्र मात्रै यसको प्रभाव १८ खर्ब १७ अर्ब ७७ करोड येनबराबर हुने अनुमान छ।
प्रत्यक्ष खर्चभन्दा ठूलो आर्थिक प्रभावको दाबी
आयोजकको अध्ययनले प्रतियोगिताका कारण सिर्जना हुने कुल अतिरिक्त माग १६ खर्ब २४ अर्ब येन हुने अनुमान गरेको छ। यसमध्ये प्रत्यक्ष प्रभाव ५ खर्ब १३ अर्ब येन र प्रतियोगितापछि पनि रहने ‘लेगेसी’ प्रभाव ११ खर्ब ११ अर्ब येन रहेको अध्ययनले जनाएको छ। यसमा खेलकुद पूर्वाधार, पर्यटन, होटल तथा रेस्टुरेन्ट, यातायात, व्यापार, सांस्कृतिक गतिविधि र प्रतियोगितापछि प्रयोग हुने पूर्वाधारलाई समेटिएको छ।
आर्थिक प्रभावको अर्को महŒवपूर्ण पक्ष रोजगारी हो। आयोजकको अध्ययनअनुसार एसियाड र एसियाली पारालिम्पिकसँग जोडिएका गतिविधिबाट जापानभर २ लाख ७१ हजारभन्दा बढी रोजगारी सिर्जना हुने अनुमान गरिएको छ। आइची क्षेत्रमा मात्रै करिब १ लाख ६९ हजार रोजगारीको प्रभाव पर्ने प्रक्षेपण छ।
पर्यटन र स्थानीय व्यापारमा चहलपहल
एसियाडका कारण जापानमा आएका खेलाडी, प्रशिक्षक, पदाधिकारी, सञ्चारकर्मी र समर्थकले होटल, रेस्टुरेन्ट, यातायात तथा खुद्रा व्यापारमा अतिरिक्त माग सिर्जना गर्ने अपेक्षा गरिएको छ। जापान बैंकले गत जुलाईमा सार्वजनिक गरेको क्षेत्रगत आर्थिक मूल्यांकनमा देशका विभिन्न क्षेत्रमा अर्थतन्त्र ‘मध्यम रूपमा सुधार’ वा ‘बिस्तारै सुधारतर्फ’ रहेको उल्लेख गरेको थियो। पर्यटन, होटल तथा खानपानमा घरेलु माग बलियो रहेको र विदेशी पर्यटकको माग पनि उच्च स्तरमा रहेको बैंकको मूल्यांकन थियो।
यस अर्थमा एसियाड जापानको समग्र अर्थतन्त्रलाई एक्लै बदल्ने आकारको कार्यक्रम नभए पनि आइची–नागोया क्षेत्रको सेवा, पर्यटन र व्यापार गतिविधिलाई थप गति दिने एउटा अतिरिक्त माध्यम बनेको देखिन्छ।
खर्चको प्रश्न अझै ठूलो
एसियाडको आर्थिक प्रभावबारे आयोजकको प्रक्षेपण ठूलो भए पनि त्यसलाई सीधै ‘नाफा’ भन्न भने मिल्दैन। ३६ खर्ब ८३ अर्ब येनको आर्थिक प्रभाव भनेको सरकार वा आयोजकको हातमा आउने नाफा होइन। यो प्रतियोगितासँग सम्बन्धित खर्च, लगानी र त्यसबाट अर्थतन्त्रका विभिन्न क्षेत्रमा सिर्जना हुने प्रत्यक्ष तथा अप्रत्यक्ष उत्पादनको अनुमान हो। यही कारण आयोजनाको वास्तविक आर्थिक सफलता मापन गर्दा टिकट बिक्री, प्रायोजन, प्रसारण अधिकार, व्यापारिक आम्दानी, होटल तथा पर्यटनबाट आएको अतिरिक्त कर, सरकारी खर्च र भविष्यमा पूर्वाधारबाट प्राप्त हुने लाभलाई अलग–अलग हेर्नुपर्ने हुन्छ।
आयोजकको खर्च पनि केवल प्रतियोगिताका केही साताको सञ्चालनमा सीमित छैन। २०१६ मा आयोजनाको जिम्मेवारी प्राप्त भएदेखि २०३६ सम्मका दीर्घकालीन प्रभावलाई आर्थिक अध्ययनमा समेटिएको छ। त्यसैले अहिलेको खर्चसँग १० वर्षसम्मको अनुमानित आर्थिक प्रभावलाई सीधै तुलना गरेर निष्कर्ष निकाल्न मिल्दैन।
महँगो आयोजना, दीर्घकालीन प्रतिफलको आशा
आइची–नागोया एसियाडको सबैभन्दा ठूलो आर्थिक चुनौती भनेको लागत बढ्नु हो। सुरुको अनुमानको तुलनामा खर्च धेरै बढेपछि जापानमा पनि यस्तो ठूलो खेलकुद प्रतियोगिताको आर्थिक व्यवस्थापनमाथि प्रश्न उठेको छ। जापानी सञ्चारमाध्यमहरूले लागत बढ्नुमा मूल्यवृद्धि र आयोजनाका क्रममा भएका विभिन्न योजना परिवर्तनलाई प्रमुख कारणका रूपमा उल्लेख गरेका छन्। तर, आयोजकको तर्क फरक छ। प्रतियोगिताबाट तत्काल हुने आम्दानीभन्दा पनि नयाँ पूर्वाधार, पर्यटन प्रवद्र्धन, खेलकुद संस्कृति, अन्तर्राष्ट्रिय सम्बन्ध र स्थानीय अर्थतन्त्रमा दीर्घकालीन प्रभाव महŒवपूर्ण हुने उसको दाबी छ।
आयोजकको अध्ययनले पनि ‘लेगेसी’ अर्थात् प्रतियोगितापछि रहने प्रभावलाई आर्थिक प्रभावको ठूलो हिस्सा मानेको छ। त्यसमा खेलकुद, सामाजिक गतिविधि, वातावरण, सहरी पूर्वाधार र आर्थिक प्रवद्र्धनसँग सम्बन्धित कार्यक्रम समावेश छन्। त्यसैले २०औं एसियाली खेलकुद जापानका लागि तत्काल नाफा कमाउने आयोजना भन्दा दीर्घकालीन लगानीको परीक्षा बनेको छ। अहिलेको हिसाबले खर्च ठूलो छ, तर आयोजकको प्रक्षेपणअनुसार त्यसले जापानी अर्थतन्त्रमा सिर्जना गर्ने आर्थिक गतिविधि पनि त्योभन्दा निकै ठूलो छ।
अन्तिम हिसाब भने प्रतियोगिता सकिएपछि मात्रै हुनेछ। त्यसबेला कति खर्च भयो, कति आम्दानी भयो, कति पर्यटक आए, होटल–व्यवसायले कति अतिरिक्त कारोबार गरे र सरकारले कति कर उठायो भन्ने वास्तविक तथ्यांक आएपछि मात्रै एसियाड जापानका लागि आर्थिक रूपमा कति सफल रह्यो भन्ने स्पष्ट चित्र आउनेछ।
- एजेन्सीको सहयोगमा
प्रतिक्रिया दिनुहोस !