भुटानविरुद्ध गण्डकीको दोस्रो जित
काठमाडौं : आइसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीका रूपमा नेपाल भ्रमणमा रहेको भुटानविरुद्ध गण्डकी प्रदेशले दोस्रो जित दर्ता गरेको छ।
गण्डकीले भुटानविरुद्ध ६४ रनको जित दर्ता गरेको हो।
पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको गण्डकीले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९६ रन बनाएको थियो। गण्डकीले दिएको १९७ रनको विजयी लक्ष्य पछ्याएको भुटान १७.४ ओभरमा १३२ रन बनाउँदै अलआउट भयो।
भुटानको लागि सोनाम चोपेलले सर्वाधिक ४३ रन बनाए। उनले २१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। ओपनर तेन्जिङ राब्गेले २१ रन बनाए। थिन्ले जाम्सोले १७ र तासी दोर्जेले ३१ रन बनाए।
गण्डकीको लागि कप्तान विपिन खत्रीले सर्वाधिक ४ विकेट लिए। दिपक प्रसाद डुम्रेले ३ र सिर्बिन श्रेष्ठले २ र सन्दीप खत्री क्षेत्रीले १ विकेट लिए।
त्यसअघि, पहिलो इनिङ्समा ब्याटिङ गरेको गण्डकीको लागि सिर्बिन श्रेष्ठ र करण पंगेनीले समान ४५/४५ रन बनाए। मुस्कान थापा मगरले २१, रोहित चन्दले २० र सन्दीप खत्री क्षेत्रीले ३० रन बनाए।
भुटानको लागि थिन्ले जाम्सोले सर्वाधिक ४ विकेट लिए। सोनम यासेले ३ र नाम्गे थिन्लेले १ विकेट लिए। पहिलो खेलमा गण्डकीले भुटानलाई ८ विकेटले पराजित गरेको थियो। भुटानले अब २ खेल क्यान ११ सँग खेल्नेछ।
प्रतिक्रिया दिनुहोस !