८० प्रतिशत गन्तव्य सुरक्षित, गलत हल्लाले सोत्तर बन्दै पर्यटन क्षेत्र
बाढीभन्दा ठूलो हल्लाले थलियो पर्यटन
वर्षा, भोटेकोशी बाढी–पहिरोका कारण पर्यटन क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएकै छ। तर, मध्य नेपालमा भएको क्षतिलाई देशभरि नै भएकोजस्तो हल्लाको असर नेपालको समग्र पर्यटन क्षेत्रमा परेको छ। देशका ८० प्रतिशतभन्दा बढी पर्यटकीय क्षेत्र र पदमार्गहरू सुरक्षित र खुला भए तापनि गलत सूचनाका कारण हजारौं विदेशी पर्यटकले बुकिङ रद्द गर्दा स्थानीय अर्थतन्त्र र व्यवसायी संकटमा परेका छन्।
काठमाडौं : पर्यटकीय सिजनको सुरुवातमै प्रकृतिको नजर पर्यो। असोज पहिलो सातादेखि असोज ११ सम्म थामिनै नमानेको झरी, नदीहरूमा उर्लिएको बाढी र पहाडहरूबाट खसेको पहिरोले देशका धेरै ठाउँमा गहिरो घाउ छोडेर गयो।
तर, यसपालिको वर्षा र भोटेकोशी जलप्रलयले नदी किनारका बस्ती र पहाडका पाखाहरूमात्र बगाएन, नेपालीहरूको भान्छा, सपना र जीवनयापनको मुख्य आधार मानिएको पर्यटन क्षेत्रलाई समेत गम्भीर संकटमा धकेल्यो। बाढी र पहिरोको प्रत्यक्ष असर परेका ठाउँहरूमा त विनाश भएकै थियो, तर त्योभन्दा बढी त्रास र गलत हल्लाका कारण विपद् नै नआएका पर्यटकीय गन्तव्यहरू पनि सन्नाटामा परिणत भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले भोटेकोशीको असर नसकिँदै हिम्लुङको हिमपहिरोलगायतका खबरले त्रास सिर्जना गरेकाले असर देखिएको बताए। ‘हामीले नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिनुपर्छ, मन्त्रालयले विभिन्न नियोगदेखि विशेष ठाउँमा सन्देश प्रवाह गरिरहेको छ,’ उनले अन्नपूर्णसँग भने।
बाढी भोटेकोशीमा, असर सुदूरको हिल्सासम्म
भौगोलिक दूरीका हिसाबले हेर्ने हो भने भोटेकोशी र सुदूरपश्चिमको विकट हुम्लास्थित हिल्सा नाकाका बीचमा सयौं किलोमिटरको फरक छ। तर, भोटेकोशीमा आएको भीषण बाढीको खबर जब अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भयो, त्यसको अनौठो र नमीठो त्रास सुदूरपश्चिमको हिल्सा नाकासम्म पुगेर ठोक्कियो। मानसरोवर–कैलाश यात्राका लागि हजारौं भारतीय तीर्थयात्रीहरूका लागि प्रमुख प्रवेशद्वार मानिने हिल्सामा यतिबेला पर्यटकीय चहलपहल हुनुपर्नेमा पर्यटकहरू यात्रा रोकेर सुरक्षित हुनतर्फ लागे।
बाढी मध्य नेपालमा आएको थियो, तर त्यसको अदृश्य तरंगले हुम्लाका होटल, विमान सेवा, हेलिकप्टर र भारी बोकेर जीवन धान्ने भरियाहरूको रोजीरोटी खोसिदियो।
मानसरोवर–कैलाशयात्राका लागि मेदेखि सेप्टेम्बरसम्मको समय उत्तम मानिए पनि अगस्ट र सेप्टेम्बरलाई मुख्य सिजन मानिन्छ। तर, भोटेकोशीको बाढीपछि सिंगो नेपाल नै ठप्प भएको गलत सन्देश जाँदा सेप्टेम्बर अन्तिमसम्मका लागि बुकिङ गराएका करिब ४ हजार भारतीय तीर्थयात्रीले आफ्नो यात्रा रद्द गरे। एसोसिएसन अफ कैलाश टुर अपरेटर्स नेपाल (एक्टोन) का अनुसार यस वर्ष हिल्सा नाका भएर ५ हजार ६ सय १४ जनाले कैलाश–मानसरोवरको दर्शन गरिसकेका थिए, तर बाढीपछिको त्रासले अन्तिम समयमा आएर थप ४ हजार पर्यटकको यात्रा रोकियो।
पर्यटन व्यवसायीहरूका अनुसार एक पर्यटकबाट औसतमा ४ लाख रुपैयाँबराबरको कारोबार हुने गर्दथ्यो। यसरी ४ हजार पर्यटकले बुकिङ रद्द गर्दा हुम्ला र यससँग जोडिएको पर्यटकीय सञ्जालमा एक महिनामै १ अर्ब ६० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार प्रभावित हुन पुग्यो।
सिमिकोटका पर्यटन व्यवसायी तथा कर्णाली रिसोर्टका सञ्चालक पेमा गेल्जे लामाले लिमी भ्याली लाप्चाबाट कैलाश दर्जन गर्ने भारतीय र नेपाली पर्यटकले बुकिङ रद्द गर्दा सिजनमै सुनसान जस्तो भएको बताए। ‘कतिपय पदमार्ग भत्किएका छन् नै। तर, सहज अवस्था भएकामा पनि यात्रा रद्द गर्दा पर्यटन व्यवसाय थलिएको छ,’ लामा भन्छन्। विपद्सँगै फैलिएको जोखिमको हल्लाले पनि असर गरेको लामाले जनाए।
कैलाश दर्शनका पर्यटकले यात्रा रद्द गर्दा यसको प्रत्यक्ष मार हुम्लाका स्थानीयवासी र साना व्यवसायीमा परेको छ। सिमकोट र हिल्सा नाकामा खुलेका साना ठूला गरी ३० भन्दा बढी होटलहरू सुनसान छन्। सिमकोटस्थित होटलहरूमा चार सय पर्यटक बढीको बुकिङ रद्द हुँदा होटलका कोठाहरू खाली छन्। होटल व्यवसायी संघका अनुसार पर्यटकलाई लक्षित गरी सिमकोटका होटलहरूमा करोडौंको लगानी
गरिएको थियो।
पर्यटक नआएपछि होटलमा खपत हुने स्थानीय मार्सी चामल, फापर, कोदो, स्याउ र ओखरजस्ता स्थानीय कृषि उत्पादनहरू गोदाममै थन्किएका छन्। सिजनका बेला सिमकोट विमानस्थलमा दैनिक ५८ वटासम्म उडान हुने र ६ वटासम्म हेलिकोप्टरले ओहोरदोहोर गर्ने गरेकोमा अहिले दैनिक २–३ वटा मात्र उडान भइरहेका छन्। भारी बोकेर दैनिक दुई हजार रुपैयाँसम्म कमाउने स्थानीय भरिया र विमानस्थलमा सामान लोड–अनलोड गर्ने कामदारहरूको हात खाली भएको छ। एकातिर भारी वर्षा र बाढी पहिरोको खबरलेके त्रास अर्कातिर हिम्लुङको हिमपहिरोको खबरले पर्यटक त्रसित भएको हुन सक्ने सरोकारवाला बताउँछन्।
दैनिकी ठप्प, यात्रा अनिश्चित
बाढी र पहिरोको भेल मनसुनसँगै बगेर गयो, तर त्यसले अन्तर्राष्ट्रिय जगत्मा ‘नेपाल ध्वस्त भयो’ भन्ने गलत सूचनाको बाढीले सिंगो देशको पर्यटन अर्थतन्त्रलाई सोत्तर बनाएको छ।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) का अनुसार सगरमाथा, अन्नपूर्ण, कञ्चनजंघा र डोल्पाजस्ता ८० प्रतिशतभन्दा बढी पर्यटकीय क्षेत्र पूर्ण सुरक्षित र खुला छन्। तर, बाढीका तस्बिर र अतिरञ्जित हल्लाका आधारमा हजारौं विदेशी पर्यटकले ऐन सिजनको मुखैमा बुकिङ रद्द गर्दा आर्थिक क्षतिका साथै त्रासको मनोवैज्ञानिक बाढीले नेपालको आर्थिक मेरुदण्ड मानिने पर्यटन क्षेत्रलाई नै धराशायी बनाएको छ।
पश्चिम नेपालको पर्यटकीय मुटु मानिने मनाङमा भने बाढी र पहिरोले स्थानीय पूर्वाधारमै ठूलो बज्रपात पारेको छ। लमजुङ हिमालको आधार शिविरबाट बगेर आएको घट्टेखोलाले ल्याएको लेदो र ढुंगाका कारण मस्र्याङ्दी नदीको बहाव थुनिन पुग्यो। नदीमा पानीको सतह ह्वात्तै बढेपछि चामे बजारको मुख्य मोटरेबल पुल पानीमा डुब्यो र मस्र्याङ्दी नदी आफ्नो पुरानो बाटो छाडेर पुलको दायाँबायाँबाट बग्न थाल्यो। यसले माथिल्लो मनाङ जोड्ने मुख्य सडक सम्पर्क ४ दिनभन्दा बढी समयसम्म पूर्णरूपमा विच्छेद हुन पुग्यो।
चक्रिय अन्नपूर्ण पदमार्गमा हिँडेका स्वदेशी तथा विदेशी पदयात्रीहरू बाटोमै अलपत्र परे। उता मनाङकै नार्पाभूमिस्थित ७ हजार १ सय २६ मिटर अग्लो हिम्लुङ हिमालको बेसक्याम्पमा असोज ११ गते भीषण हिमपहिरो जाँदा पर्वतारोहण टोलीका टेन्टहरू पुरिए भने आरोहण सहयोगी र गाइडहरू घाइते तथा बेपत्ता हुन पुगे।
नेपाल पर्यटन बोर्डको द्रुत टोली र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको प्रारम्भिक क्षतिको तथ्यांकअनुसार यसपालिको विपद्का कारण नेपालको पर्यटन क्षेत्रमा कुल ५२ अर्ब ६७ करोड ४५ लाख रुपैयाँ बराबरको भारी नोक्सानी भएको छ। यस विशाल क्षतिभित्र क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा बढी क्षति होटल व्यवसायमा १० अर्ब ५६ करोड रुपैयाँको भएको छ।
त्यसैगरी वैदेशिक पर्यटन आम्दानीमा १४ अर्ब ६० करोड रुपैयाँ, पर्यटन जनशक्ति तथा व्यवस्थापनमा १२ अर्ब २६ करोड रुपैयाँ, पर्यटकीय सम्पदा तथा पूर्वाधारमा १ अर्ब ६६ करोड रुपैयाँ, सवारी साधनमा १ अर्ब ५१ करोड रुपैयाँ, रेस्टुरेन्टहरूमा १ अर्ब ३८ करोड रुपैयाँ, लाङटाङ क्षेत्रको स्थानीय कारोबारमा १ अर्ब २७ करोड रुपैयाँ, आन्तरिक पर्यटन राजस्वमा १९ करोड ८७ लाख रुपैयाँ, राफ्टिङ र क्याम्पिङमा १५ करोड ५० लाख रुपैयाँ र पदमार्गहरूमा ५ करोड रुपैयाँबराबरको नोक्सानी भएको तथ्यांकले देखाएको छ।
हल्लाले रित्तिए पदमार्ग
५२ अर्बभन्दा बढीको क्षतिको डरलाग्दो तथ्यांक र सञ्चारमाध्यममा आएका बाढीका तस्बिरहरूले अन्तर्राष्ट्रिय जगत्मा सिंगो नेपाल नै पर्यटकीय दृष्टिले जोखिमपूर्ण छ भन्ने गलत भ्रम पैदा गरिदियो। यथार्थ भने निकै फरक छ। विपद्ले देशका केही निश्चित क्षेत्रका सडक र संरचनामा क्षति पुर्याए पनि नेपालका अधिकांश प्रमुख पर्यटकीय गन्तव्यहरू पूर्णरूपमा सुरक्षित र खुला रहेका छन्।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल टानका गण्डकी अध्यक्ष कृष्णप्रसाद आचार्यले भोटेकोशी बाढीले सेप्टेम्बर र हिम्लुङ पहिरोले अक्टोबरका बुकिङहरू रद्द भएको बताए। पदमार्ग असुरक्षित छन् भन्ने सन्देश जाँदा पर्यटकहरू त्रसित भएको बताए। अहिले पनि अधिकांश पदमार्गहरू खुल्लै रहेको र पदयात्रीहरू गन्तव्यमा जान थालेको आचार्यको भनाइ छ। ‘पोखरा हुँदै घान्द्रुक घोरेपानी पदमार्ग व्यस्त छ, गण्डकीका अधिकांश पदमार्ग खुला र सुरक्षित छन्,’ उनले भने।
अहिले मनसुनी वायु कमजोर भई मौसम सुधार आइसकेको छ र नेपालका बहुसंख्यक पदमार्गहरू पदयात्राका लागि पूर्ण सुरक्षित छन्। टानको तथ्यांकले सगरमाथा क्षेत्रका माथिल्लो भाग बेसक्याम्प तथा तल्लो भाग दूधकुण्ड, पिके, मेरा भ्याली पूर्णरूपमा खुला र सुरक्षित छन्। लुक्ला विमानस्थलमा उडानहरू नियमित भइरहेका छन् र सुर्केसम्म गाडी चलिरहेका छन्।
अन्नपूर्ण क्षेत्रका प्रमुख आकर्षण मानिने घान्द्रुक, घोरेपानी पुनहिल, अन्नपूर्ण बेसक्याम्प, मर्दी हिमाल सिकलेसका पदमार्गहरूमा पर्यटकहरू हिँडिरहेका छन्। मनास्लु क्षेत्रको चुम भ्याली पूर्णरूपमा खुला छ भने सामागाउँ र सामदोसम्म सहजै पुग्न सकिन्छ। त्यसैगरी कञ्चनजंघा, रोलवालिङ, हेलम्बु, धौलागिरि, डोल्पा, जुम्ला, रारा, हुम्ला, खप्तड र अपि क्षेत्रका पदमार्गहरूमा कुनै क्षति पुगेको छैन। यी सबै गन्तव्यहरू खुला छन्। संकटका बेला सुरक्षा निकाय र उद्धार टोलीले पनि तदारुकताका साथ
काम गरेका छन्।
सरकारी प्रतिवेदनअनुसार बाढी तथा पहिरोबाट प्रभावित वा सम्पर्कविहीन भएका कुल १ हजार १ सय ८२ जना मानिसमध्ये ३ सय १९ जनाको सकुशल उद्धार गरिएको छ भने १३ जना आफैं सम्पर्कमा आइसकेका छन्। यद्यपि, अझै पनि १ सय ८८ जना नेपाली र ६ सय ७१ जना विदेशी गरी कुल ८ सय ५० जना बेपत्ताको सूचीमा रहेकाले खोजी कार्य जारी राखिएको छ।
नेपालका ८० प्रतिशतभन्दा बढी पदमार्गहरू सुरक्षित र खुला हुँदाहुँदै पनि सूचनाको सही प्रवाह हुन नसक्दा र नकारात्मक हल्लाको प्रभाव पर्दा शरद ऋतुको यो सुन्दर पर्यटकीय सिजनमा पदमार्गहरू रित्तिने खतरा बढेको छ। बाढीले बगाएका सडक र पुलहरू त प्राविधिक र स्थानीयको मिहिनेतले पुनः बन्लान्, तर भ्रमका कारण रित्तिएका पदमार्ग, सुनसान बनेका होटल र स्थानीय अर्थतन्त्रलाई लामो समयसम्म पिरोलिरहनेछन्।
क्षतिभन्दा धेरै नकारात्मक हल्लाको असर परेको छ। हामीले नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भन्ने सन्देश दिनुपर्छ। मन्त्रालयले विभिन्न नियोगदेखि विशेष ठाउँमा सन्देश प्रवाह गरिरहेको छ।
जयनारायण आचार्य - प्रवक्ता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयभोटेकोशी बाढीले सेप्टेम्बर र हिम्लुङ पहिरोले अक्टोबरका बुकिङहरू रद्द भएका छन्। पदमार्ग असुरक्षित छन् भन्ने सन्देश जाँदा पर्यटकहरू त्रसित छन्। तर, गण्डकीका अधिकांश पदमार्ग खुला र सुरक्षित छन्। विस्तारै पर्यटक पनि आउन थालेका छन्।
कृष्णप्रसाद आचार्य अध्यक्ष, टान गण्डकी प्रदेश
कर्णालीमा पनि उस्तै प्रभाव
असोज महिना कर्णालीका पर्यटकीय गन्तव्यमा आन्तरिक पर्यटकको चहलपहल बढ्ने समय हो। मुगुको रारा ताल, हुम्लाको मानसरोवर र डोल्पाको शे–फोक्सुन्डो घुम्न देशका विभिन्न ठाउँबाट पर्यटक कर्णाली पुग्ने गर्छन्। यही समयमा सुर्खेतदेखि दैलेख, कालीकोट, जुम्ला हुँदै मुगुसम्मका सडक छेउका होटल तथा रेस्टुरेन्टमा पर्यटकको भीड हुन्थयो। तर, यस वर्ष भने निरन्तर वर्षा, बाढी र पहिरोका कारण कर्णालीको पर्यटन क्षेत्र प्रभावित भएको छ।
पर्यटकीय गन्तव्य जाने मुख्य सडकमा पटक–पटक अवरोध भएपछि आन्तरिक पर्यटकको आगमन घटेको छ भने होटल व्यवसायसमेत सुनसान बनेका छन्।
विगतका वर्षमा असोज लागेसँगै कर्णाली राजमार्गमा पर्यटक बोकेका सवारीसाधनको चाप बढ्ने गरेको थियो। तर, अहिले सडकमा नयाँ मोसाइकल पर्यटक बोकेका गाडी निकै न्यून देखिन्छ। अस्थायी प्रहरी चौकी खुलालुमा कार्यरत ट्राफिक प्रहरी ओम ढकालले भने, यस वर्षको असोजमा कर्णाली राजमार्गमा गुड्ने गाडी तथा मोटरसाइकलहरूमा पर्यटकको चहलपहल देखिएन। भारी वर्षाका कारण बाढी र पहिरोले एक दिन सडक खुल्ने, अर्को दिन बन्द हुने अवस्थाले यहाँको पर्यटकको आगमन प्रभावित भयो। सडकमा पहिरो खस्ने, यातायात अवरुद्ध हुने र घण्टौंसम्म यात्रु बाटोमै अलपत्र पर्ने अवस्थाका कारण पर्यटकहरूको आगमन कम भएको उनको भनाइ छ।
कालीकोट सदरमुकाम मान्मस्थित स्वीइस बेल होटलका सञ्चालक योगेन्द्र थापाले असोजमा होटलमा पर्यटकको चाप बढ्ने गरे पनि यस वर्ष त्यस्तो अवस्था नभएको बताए। उनले भने, ‘असोजमा रारा, डोल्पा शे–फोक्सुन्डो ताललगायतका पर्यटकीय क्षेत्रमा जाने आन्तरिक पर्यटकका कारण होटलहरू भरिभराउ हुन्थे। यसपटक वर्षा र पहिरोका कारण सडकको अवस्था असहज बनेपछि पर्यटकको संख्या निकै घटेको छ।’
होटल व्यवसायीले असोजको सिजनलाई लक्षित गरेर तयारी गरेका थिए, तर अपेक्षाअनुसार ग्राहक नआउँदा व्यवसाय प्रभावित भएको छ। हाम्रो होटलका कोठाहरू हरेक दिन खाली छन्।
मुगुको छायानाथ रारा नगरपालिकाका स्थानीय रमेश मल्लले विगतको तुलनामा यस वर्ष रारामा पर्यटकको चहलपहल कम भएको बताए। असोजमा रारा घुम्न आउने पर्यटकको संख्या धेरै हुन्थ्यो। रारातालको यरिया पर्यटकले भरिभराउ हुन्थ्यो। तर, अहिले सुन्दर राराताल पनि सुनसान छ। जसका कारण यहाँका होटल, पसल र बजारमा समेत निकै चहलपहल घटेको छ। रारा पुग्ने सडक सहज नभएसम्म पर्यटकले यात्रा गर्ने जोखिम सधैं उस्तै हुन्छ।
कर्णालीको प्रमुख पर्यटकीय गन्तव्य राराताल आन्तरिक पर्यटकको मुख्य रोजाइमा पर्छ। त्यस्तै हुम्लाको मानसरोवर र डोल्पाको शे–फोक्सुन्डो पनि पछिल्लो समय पर्यटकको आकर्षणका केन्द्र बन्दै गएका छन्। प्राकृतिक सौन्दर्य, हिमाली भूगोल, धार्मिक तथा सांस्कृतिक महत्त्वका कारण यी क्षेत्रमा बर्सेनि पर्यटकको संख्या बढ्दै गएको छ। तर, पर्यटकीय गन्तव्यको आकर्षण बढे पनि त्यहाँ पुग्ने सडक र यातायातको भरपर्दो व्यवस्था नहुँदा पर्यटन व्यवसायले अपेक्षित लाभ लिन सकेको छैन।
प्रतिक्रिया दिनुहोस !