‘देहेडू : अलौकिक ऊर्जा’ लोकार्पित
काठमाडौं : जब ध्यान र साधनाको बलमा एउटा मोटो फलामे लठ्ठी मानिसका खाली पञ्जाले ‘पिटिक्क’ भाँचिन्छ, तब विज्ञानको अहंकार पनि एकछिन मौन बस्छ। कर्णालीको सुदूर काख, कालीकोटको बाँझकोटमा बर्सेनि देखिने यही अकल्पनीय दैवीशक्ति र प्रकृतिपूजक सीमान्तकृत समुदायको दबिएको इतिहास अब भने अक्षरहरूको सँगालो बनेर बाहिर आएको छ। कालाशिल्ला मष्ट र देहेडू देवताको महिमा, जसले फलामलाई मैनजस्तै पगाल्ने शक्ति राख्छ, त्यही शक्ति र संस्कृतिको गहिरो अनुसन्धान अब एउटा जीवन्त दस्तावेज बनेको छ।
सञ्चारकर्मी एवं लेखक गोपीकृष्ण ढुंगाना र डीबी नेपाली ‘दमु’द्वारा लिखित यही विशिष्ट सांस्कृतिक कृति ‘देहेडू : अलौकिक ऊर्जा’ बुधबार राजधानीमा एक विशेष समारोहबीच लोकार्पित भयो। राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मा, डा. गोविन्द टण्डन, प्राडा खगेन्द्रप्रसाद लुइटेल, डा. केशवमान श्रेष्ठ, डा. निर्मल विश्वकर्मा, डा. ज्ञानु अधिकारीले कृतिको विमोचन गरेका हुन्। पुस्तक सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि आयोगका अध्यक्ष विश्वकर्माले राज्यसत्ताबाट सीमान्तकृत वर्गले पलपल भोगेको शोषणको चर्चा गरे। उनले भने, ‘जातीय विभेदको समूल अन्त्य गर्न हामी लागिपरेका छौं, यस दिशामा लेखकद्वयको यो अनुसन्धानले थप अध्ययनको बाटो खोलेको छ।’
नेपाल गुठी संस्थानका अध्यक्ष एवं संस्कृतिविद् डा. गोविन्द टण्डनले ‘दलित’ शब्दमाथि भइरहेको राजनीतिको प्रसंग उप्काउँदै लोकतन्त्रमा स्थिति सुधारोन्मुख रहेको बताए। ‘हामी एक हौं भन्ने भावनाले मात्र मुलुक माथि उठ्छ’, उनले थपे, ‘लेखकद्वयले निरन्तर मिहिनेत गरेर पिछडिएको क्षेत्र र समुदायको संस्कृतिलाई जसरी राष्ट्रियकरण गरेका छन्, यो अत्यन्तै प्रशंसनीय छ।’
अन्नपूर्ण पोस्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक बालकृष्ण बस्नेत अनुसन्धानकर्ता, प्राध्यापक÷शिक्षक र पत्रकारले बृहद् ढंगले पृथक शैली र धारमा समालोचकीय दृष्टिकोणका साथ काम गर्ने बताए। उनले भने, ‘हामीले संस्कृति, सम्पदा, सभ्यता र इतिहास बनाउन सके देश बाँच्छ, त्यो काम देहेडू कृतिमा लेखकद्वयले गर्नुभएको छ, अब यसलाई नेपालको सम्पत्ति बनाएर विश्वव्यापीकरण गर्नुपर्छ।’
कृतिको चिरफार गर्दै समालोचक डा. ज्ञानु अधिकारीले मूर्त र अमूर्त सम्पदाहरू नै देशको सक्कली सम्पत्ति भएको बताइन्। अनुसन्धानको कठिन बाटोलाई औंल्याउँदै उनले भनिन्, ‘कालीकोटका कुमाल वंशको परम्परा, उनीहरूका जात्रा, पुज्ने देवताको महिमा र किंवदन्तीहरूलाई कृतिले निकै सुन्दर रूपमा उजागर गरिदिएको छ।’
डा. निर्मल विश्वकर्माले इतिहास अझै खोतल्नुपर्नेमा जोड दिँदै ५ सय २५ मात्र नभई ४ हजार ५ सय वर्ष अगाडिको इतिहास अध्ययन गर्नुपर्ने बताए। डा. केशवमान श्रेष्ठले कर्णालीमा विकासे कार्यकर्ता हुँदाका आफ्ना अनुभव जोड्दै पुस्तकको महत्व प्रष्ट पारे। लेखक हीरा विश्वकर्मा पुस्तकका रूपमा आएको विषयवस्तुलाई वैज्ञानिक ढंगले पुष्टि गरी दोस्रो संस्करणमा अझ सशक्त बनाउन सुझाव दिए।
लेखक गोपीकृष्ण ढुंगानाले देहेडू कर्णालीको विकट भूगोल, विशेषगरी कालीकोटको पचालझरनास्थित बाँझकोटमा अवस्थित एउटा सिंगो सभ्यता, सम्पदा, संस्कृति र इतिहासको दस्तावेज भएको बताए। तीन तहका सरकार र सरोकारवालाको ध्यानाकर्षण गर्दै उनले भने, ‘देहेडू सम्पदा वा भनौं सभ्यता, अब एउटा गाउँको मात्र संस्कृति वा सम्पत्ति होइन, यो त युनेस्कोको विश्वसम्पदा सूचीमा सूचीकृत हुनुपर्ने नेपालकै राष्ट्रिय सम्पदा हो।’
लेखक डीबी नेपाली देहेडू संस्कृतिलाई संरक्षण गर्नु भनेको प्राचीन मौलिक सम्पदा गर्नु हो र यसले नेपालको संस्कृति र सम्पदालाई बचाउने बताएका छन्। उनले भने, ‘आस्था र सामुदायिक स्मृतिले पुस्तौंको दुरी पार गरेर पनि आफ्नो अस्तित्व जोगाउन सक्छन् भन्ने कृतिले स्पष्ट पारेको छ।’
समता फाउन्डेसन, एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज र व्यावसायिक विकास तथा अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा भएकोसमीक्षात्मक कार्यक्रमको अध्यक्षता पदम सुन्दासले गरेका थिए।
प्रतिक्रिया दिनुहोस !