‘हार्ट बिट’सँगै बिदा हुँदै एसियाली खेलकुद

‘हार्ट बिट’सँगै बिदा हुँदै एसियाली खेलकुद
सुन्नुहोस्

नागोया (जापान) : जापानको आइची–नागोयामा जारी २०औं एसियाली खेलकुदको १६ दिने खेलयात्रा आगामी अक्टोबर ४ मा भव्य समापन समारोहसँगै औपचारिक रूपमा टुंगिँदैछ।

नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियममा हुने समापन समारोहमा खेलाडी, प्रशिक्षक, पदाधिकारी तथा दर्शकलाई भावनात्मक रूपमा जोड्ने सांस्कृतिक र सांगीतिक प्रस्तुति मुख्य आकर्षण बन्नेछन्। समापन समारोह अक्टोबर ४ अर्थात् आइतबार साँझ ६ बजे सुरु हुनेछ। आयोजकका अनुसार समारोहअघि दिउँसो ४ बजेदेखि ‘वार्म–अप स्टेज’ कार्यक्रम सञ्चालन हुनेछ। 

आइची–नागोया एसियाली खेलकुदको उद्घाटन र समापन समारोहको मूल अवधारणा ‘हार्ट बिट आइची–नागोया’ हो। आयोजकले आइची र नागोयाबाट एसियाली खेलाडी तथा एसियाली जनतालाई भावनात्मक अनुभूति र साझा उत्साहमार्फत एक बनाउने उद्देश्यसहित समारोह तयार पारिएको जनाएको छ। समारोहमा आइची र नागोयाको स्थानीय विशेषता तथा जापानी संस्कृति झल्काउने प्रस्तुति समेटिनेछ।

समापन समारोह केवल खेल सकिएको घोषणा गर्ने औपचारिक कार्यक्रममात्र हुने छैन। १६ दिनसम्म विभिन्न खेलस्थलमा देखिएको प्रतिस्पर्धा, खेलाडीको संघर्ष, जित–हार र एसियाली एकताको भावनालाई सांस्कृतिक प्रस्तुतिमार्फत अभिव्यक्त गर्ने तयारी गरिएको छ।

सपापन समारोहमा खेलाडी तथा सहभागी प्रतिनिधिमण्डलको सहभागिता, सांस्कृतिक प्रस्तुति, सांगीतिक कार्यक्रम, खेलकुद यात्राको स्मरण र एसियाली खेलकुदको झन्डा हस्तान्तरणजस्ता परम्परागत समापन कार्यक्रम रहनेछन्। आगामी एसियाली खेलकुद आयोजना गर्ने सहरलाई खेलकुदको झण्डा हस्तान्तरण गरेपछि २०औं एसियाली खेलकुदको औपचारिक समापन हुनेछ। २१औं एसियाली खेलकुदको आयोजना कतारले गर्दैछ। 

समापन समारोहको मुख्य मञ्च नागोया सिटी मिजुहो पार्क एथलेटिक स्टेडियम हुनेछ। यही रंगशालामा गत सेप्टेम्बर १९ मा उद्घाटन समारोह आयोजना गरिएको थियो।

‘वन एसिया’मा पनि समापनको उत्सव
समापन समारोहको दिन नागोयाको हिसाया–ओदोरी पार्कमा रहेको ‘वन एसिया वल्र्ड’मा पनि विशेष कार्यक्रम राखिएको छ। त्यहाँ अपराह्न ५ बजेदेखि सुमोको पूर्वप्रस्तुति, त्यसपछि खेलाडीको ‘एथलिट टक एन्ड वाक’ कार्यक्रम हुनेछ। खेलाडीले आफ्ना अनुभव सुनाउँदै दर्शकमाझ हिँड्ने कार्यक्रमले एसियाडको अनुभवलाई अझ नजिकबाट जोड्ने अपेक्षा गरिएको छ।

त्यसपछि साँझ ६ बजेदेखि एसियाली खेलकुदको समापन समारोह देखाइनेछ। खेलकुदको औपचारिक समापनपछि साँझ ७ बजेदेखि ‘वन एसिया वल्र्ड’को छुट्टै समापन कार्यक्रम हुनेछ। आयोजकले यसलाई एसियाली खेलकुदको उत्साह, संस्कृति, संगीत र खेलाडीको उपलब्धिलाई एकै ठाउँमा मनाउने अवसरका रूपमा प्रस्तुत गरेको छ।

यस पटकको एसियाडमा एसियाका ४५ देश तथा क्षेत्रका खेलाडी सहभागी छन्। ४३ खेलमा प्रतिस्पर्धा भइरहेको प्रतियोगिताले नागोया र आइची क्षेत्रमा खेलकुदसँगै विभिन्न सांस्कृतिक गतिविधिलाई पनि जोडेको छ। १६ दिनसम्म पदकका लागि भएको प्रतिस्पर्धापछि अन्तिम दिन खेलाडीहरू परिणामको तनावबाट मुक्त हुँदै एउटै मञ्चमा उभिनेछन्। त्यसैले समापन समारोहमा पदक जित्ने खेलाडीमात्र होइन, प्रतियोगितामा सहभागी सबै खेलाडीको यात्रालाई सम्मान गर्ने वातावरण बन्नेछ।

आयोजकले समापन समारोहलाई ‘हार्ट बिट आइची–नागोया’को भावनाअनुसार एसियाली खेलकुदको उत्साहलाई एउटै धड्कनमा जोड्ने अवसरका रूपमा अघि सारेको छ। त्यससँगै जापानले आयोजना गरेको तेस्रो एसियाली खेलकुदको अध्याय पनि औपचारिक रूपमा इतिहासमा अंकित हुनेछ।

अक्टोबर ४ को साँझ मिजुहो रंगशालामा प्रज्ज्वलित हुने अन्तिम ज्वाला, सांगीतिक तथा सांस्कृतिक प्रस्तुति र झण्डा हस्तान्तरणसँगै २०औं एसियाली खेलकुद इतिहासको पानामा सीमित हुनेछ। तर, १६ दिनसम्म खेलाडीले देखाएको प्रतिस्पर्धा, संघर्ष, कीर्तिमान र एसियाली एकताको सन्देश भने अर्को एसियाडसम्म सम्झनामा रहनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.