१७४ जीवन जोगाउने पाइलट स्मित मच्छरको साहसिक कदमको विश्वभर प्रशंसा

१७४ जीवन जोगाउने पाइलट स्मित मच्छरको साहसिक कदमको विश्वभर प्रशंसा
सुन्नुहोस्

काठमाडौं : दुबईको अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान नम्बर एफजेट-१०७३ (बोइङ ७३७ म्याक्स ८) ले इजरायलको तेल अभिभका लागि उडान भर्दा आकाश खुला र मौसम शान्त थियो। विमानमा चालक दलका सदस्यहरूसहित १७४ जना यात्रुहरू सवार थिए।

९,७५० घण्टाभन्दा बढी उडानको गहिरो अनुभव बोकेका भारतीय नागरिक पाइलट स्मित मच्छर ककपिटको मुख्य नियन्त्रणमा थिए भने उनीसँगै सह-पाइलटका रूपमा ओमानी नागरिक बसिरहेका थिए।

सबै कुरा सामान्य लयमै चलिरहेको थियो। विमान साउदी अरबको उत्तर-पश्चिमी आकाशमा ३४ हजार फिटको उचाइमा निरन्तर उडिरहेको थियो। तर कसैले कल्पनासम्म नगरेको एउटा भयानक र कहालीलाग्दो घटना ककपिटभित्रै घट्न पुग्यो।

उडान भरेको करिब दुई घण्टापछि, सह-पाइलट अचानक आफ्नो सिटबाट उठे र पाइलट स्मित मच्छरमाथि साङ्घातिक आक्रमण गरे। उनले आफूसँग ल्याएको धारिलो चक्कुले पाइलटको टाउको र हातमा अन्धाधुन्ध प्रहार गर्न थाले। क्षणभरमै ककपिटभित्र रगतको आहाल जम्यो।

आक्रमणकारी सह-पाइलटले पाइलटलाई पूर्ण रूपमा अचेत बनाएर वा मारेर विमानको नियन्त्रण आफ्नो हातमा लिने र इतिहासकै भयानक ९/११ जस्तै दुर्घटना गराउने मनसाय राखेको अनुमान गरिएको छ। उनले विमानको स्टेयरिङ (योके) लाई जबर्जस्ती तलतिर धकेले।

मात्र १ देखि २ मिनेटको छोटो समयभित्रै ३४ हजार फिटको उचाइमा रहेको विमान तीव्र गतिमा तल खस्न थाल्यो। ककपिटको प्रणालीले खतराको संकेत  दिन थाल्यो र विमान सोझै १६ हजार ६ सय फिटसम्म तल झर्‍यो। अस्वाभाविक रूपमा विमान तल खसेपछि यात्रुहरूमा रुवाबासी र त्रास छायो।

टाउको र हातबाट भलभली रगत बगिरहेको, असह्य पीडा र अचेत हुन लागेको त्यो अति संवेदनशील क्षणमा पनि पाइलट स्मित मच्छरले आफ्नो सुझबुझ र धैर्यता गुमाएनन्। उनलाई थाहा थियो—यदि ककपिट भित्रैबाट बन्द रह्यो भने यो आततायीलाई कसैले रोक्न सक्ने छैन। आफू पूर्ण रूपमा अचेत हुनुभन्दा ठीक अघि, पाइलट मच्छरले अत्यन्तै चलाखीपूर्वक ककपिटको मुख्य ढोका अनलक गर्ने स्विच थिचिदिए।

त्यही समयमा ककपिटबाट आएको चिच्याहट र विमानको अस्वाभाविक स्थिति बुझेर विमानमा सवार फ्लाईदुबईका अन्य दुई पोजिसनिङ पाइलटहरू, उडान कर्मचारी (फ्लाइट एटेन्डेन्ट) र केही इजरायली यात्रुहरू ककपिटतर्फ दौडिए। ढोका पहिले नै अनलक भइसकेकाले उनीहरू सजिलै भित्र छिर्न सफल भए।

भित्र पुगेका यात्रु र क्रू सदस्यहरूले आक्रमणकारी सह-पाइलटलाई नियन्त्रणमा लिए भने सोही क्रममा विमानमा सवार एक इजरायली दन्तचिकित्सकले रक्ताम्मे भएर ढलेका पाइलट स्मितको तत्काल प्राथमिक उपचार गरी अत्यधिक रक्तस्राव हुनबाट बचाए।

यसैबीच सादा पोशाकमा सवार दुई पोजिसनिङ पाइलटहरूले ककपिट नियन्त्रणमा लिएर विमानबाट संकटकालीन संकेत कोड ‘७७००’ र अपहरणको संकेत गर्ने अन्तर्राष्ट्रिय कोड ‘७५००’ वायुसेवा नियन्त्रण कक्षमा पठाएका थिए। हाइज्याकको सूचना पाउनासाथ इजरायली वायुसेनाले आफ्ना फाइटर जेटहरू तत्काल परिचालन गर्‍यो र केही समयका लागि आफ्नो हवाई क्षेत्रसमेत पूर्ण रूपमा बन्द गर्‍यो।

पछि फाइटर जेटको विशेष निगरानीमा विमानलाई सादा पोशाकमा यात्रा गरिरहेका पोजिसनिङ पाइलटहरूले साउदी अरबको ताबुकस्थित ‘प्रिन्स सुल्तान बिन अब्दुलअजिज’ विमानस्थलमा सुरक्षित आपत्कालीन अवतरण गराएका थिए। विमानका पाङ्ग्राहरूले जमिन छुनेबित्तिकै १७४ जना यात्रुहरूले ताली बजाएर आफ्नो नयाँ जीवनको खुसी मनाए।

को हुन् १७४ जनाको जीवन जोगाउने पाइलट स्मित मच्छर?

टाइम्स अफ इण्डियाका अनुसार स्मित मच्छर भारतको महाराष्ट्र राज्यस्थित मुम्बईको घाटकोपरका बासिन्दा हुन्। उनी भारतका एक अत्यन्त अनुभवी व्यावसायिक पाइलट हुन्।

मच्छरले आफ्नो उडान करिअर सन् २०११ मा स्पाइसजेटबाट सुरु गरेका थिए। त्यहाँ करिब ११ वर्ष काम गर्दा उनी सिनियर पाइलटको पदसम्म पुगेका थिए। सन् २०२० नोभेम्बरदेखि उनले ‘लाइन ट्रेनिङ पाइलट’को भूमिका समेत निभाएका थिए, जसको जिम्मेवारी नयाँ पाइलटहरूलाई तालिम दिने र उडान मापदण्ड पालना गराउने हुन्थ्यो।

सन् २०२२ जुनमा उनी ‘फ्लाई दुबई’मा डाइरेक्ट इन्ट्री पाइलटका रूपमा जोडिएका थिए। बोइङ ७३७–८०० तथा ७३७ म्याक्स विमानहरूमा उनीसँग करिब ९ हजार ७५० घण्टाको उडान अनुभव रहेको छ।

पाइलट स्मित मच्छरकाे साहसिक कदमको विश्वभर प्रशंसा 

यस भयावह घटनापछि साउदी अरबको ताबुक शहरस्थित अस्पतालमा उपचाररत पाइलट स्मित मच्छरको स्वास्थ्य अवस्था हाल स्थिर रहेको छ। साउदी अरबस्थित भारतीय दूतावासले सामाजिक सञ्जाल ‘एक्स’मार्फत पाइलट मच्छरको स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारमा निरन्तर निगरानी गरिरहेको जनाएको छ। 

आफ्नै ज्यान जोखिममा राखेर १७४ जना यात्रुको सुरक्षित अवतरण गराउन सफल भएका पाइलट स्मितको अभूतपूर्व साहस र सुझबुझको विश्वभर प्रशंसा भइरहेको छ। संकटपूर्ण घडीमा देखाएको यो अद्भूत हिम्मतका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु लगायतका प्रमुख विश्व नेताहरूले उनको खुला हृदयले प्रशंसा गरेका छन्।

यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाइलट स्मितको धैर्यले ९/११ जस्तै अर्को ठूलो त्रासदी हुनबाट बचाएको बताउँदै उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्।

त्यस्तै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नै ज्यान जोखिममा राखेर १७४ जना यात्रुको जीवन रक्षा गरेको भन्दै उनको बहादुरीलाई सलाम गरेका छन्, भने ट्रम्पले पाइलट मच्छरलाई 'सच्चा हिरो' को संज्ञा दिँदै उनको बुद्धिमत्ताको प्रशंसा गरेका छन्। 

किन दोहोरिन सक्थ्यो अर्को '९/११'?

पाइलट स्मित मच्छरको यो कदमले विश्वलाई सन् २००१ सेप्टेम्बर ११ (९/११) को त्यो कालो दिनको सम्झना दिलाएको छ। सन् २००१ सेप्टेम्बर ११ का दिन अल-कायदाका १९ जना आत्मघाती उग्रवादीहरूले अमेरिकाका चारवटा यात्रुवाहक विमानहरू अपहरण गरेर आत्मघाती बम हमला गराएको थियो । जुन हमलाले  विश्वलाई नै स्तब्ध पारेको थियो । 

आतंकवादीले क्यालिफोर्निया उड्न लागेका चार वटा विमानलाई अपहरण गरी न्युयोर्क र वासिङ्टनका महत्वपूर्ण भवनमा ठोकाएका थिए । दुई विमानलाई विश्व व्यापारिक केन्द्र ट्वीन टावरमा ठोक्काइएकाे थियो । स्थानीय समयअनुसार मंगलबार बिहान ८ बजेर ४६ मिनेटमा पहिलो टावरमा विस्फोट गराइएको थियो । लग्त्तै १६ मिनेटपछि दोस्रो टावरमा ठोकाइएको थियो । विस्फोटपछि टावरमा दुई घण्टासम्म लागेको आगोले ११० तले दुवै भवन ढलेर धूलोको विशाल मुस्लोमा परिणत भएका थिए।

त्यस्तै ९ बजेर ३७ मिनेटमा तेस्रो विमानलाई अमेरिकी रक्षा मन्त्रालय रहेको भवन पेन्टागनमा ठोक्काइएकाे थियो भने वासिङ्टनतर्फ बढिरहेको अर्को विमान पेन्सालभेनियाको आकाशमा विस्फोट भएको थियो । पछि जानकारीमा  आएअनुसार अपहरणकारी र यात्रुबीच विमानभित्र भनाभन हुदा विमान आकाशमै बिस्फोट भएको थियो । त्यस भयानक आक्रमणमा परि १९ अपहरणकारीबाहेक २,९७७ जना निर्दोष मानिसहरूले ज्यान गुमाउनुका साथै अर्बौकाे क्षति भएको थियो ।

सो हमला साउदी नागरिक ओसामा बिन लादेनको नेतृत्वको अतिवादी सञ्जाल अलकायदाले गरेको थियो । आक्रमणमा संलग्न १५ जना  साउद अरबका थिए भने दुई जना युएई, एक जना इजिप्सेली र अर्का लेबनानका थिए । त्यतिबेला अपहरणकारीहरूले ककपिटभित्र छिरेर विमान कब्जामा लिएर मिसाइलजस्तै प्रयोग गरेका थिए। यदि पाइलट स्मित मच्छरले घाइते अवस्थामा पनि चलाखीपूर्वक ककपिटको ढोका अनलक नगरेका भए, आक्रमणकारी सह-पाइलटले विमानलाई कुनै ठूलो शहर वा भवनमा ठोक्काएर ९/११ जस्तै अर्को विनाशकारी इतिहास दोहोर्याउन सक्थे भन्ने बहस चलिरहेकाे छ । 

अत्यधिक रक्तस्राव र असह्य पीडाका बीच पनि कर्तव्यबाट विचलित नभई पाइलट स्मित मच्छरले देखाएको अदम्य साहसका कारण आज १७४ वटा परिवार उजाडिनबाट जोगिएका छन्। जुन साहसिक कदमको अहिले विश्वभर निकै प्रशंसा भइरहेको छ । 

पाइलट स्मितमाथि आक्रमण गर्ने ओमानी सह-पाइलटलाई साउदी अरबको सुरक्षा निकायको हिरासतमा राखिएकाे छ। पोजिसनिङ पाइलटहरूले साउदी अरबको तबुक विमानस्थलमा विमान आपत्काल अवतरण गराएलगत्तै साउदी सुरक्षा बलले आक्रमणकारी सह-पाइलटलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएकाे छ। उनीमाथि साउदी अरबका सुरक्षा एजेन्सी, नागरिक उड्डयन प्राधिकरण तथा अन्तर्राष्ट्रिय अनुसन्धान टोलीहरूले कडा अनुसन्धान गरिरहेका छन्। 

उनले ककपिटभित्र मुख्य पाइलटमाथि धारिलो हतियार चक्कु प्रहार गर्नुको कारण, विमानलाई तीव्र गतिमा तल झारेर दुर्घटना गराउन खोज्नुको उद्देश्य, र यो घटनाका पछाडि कुनै उग्रवादी वा आतंकवादी  मनसाय छ कि छैन भन्ने कोणबाट छानबिन भइरहेको जनाइएकाे छ।

साथै आक्रमणका क्रममा भएको झडप र यात्रु तथा चालक दलले नियन्त्रणमा लिने क्रममा उनी पनि घाइते भएकाले हिरासतसँगै उनको आवश्यक मेडिकल जाँच र उपचार पनि भइरहेको छ।  इजरायली सुरक्षा निकायहरूले यस घटनालाई सम्भावित आतंकवादी आक्रमणका रूपमा अनुसन्धान अघि बढाएका छन्। यद्यपि, उक्त आक्रमणको वास्तविक कारण भने हालसम्म खुल्न सकेको छैन।

-एजेन्सीहरूको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.