चौथो भेडेटार ब्याडमिन्टन प्रतियोगिता असोज २४ देखि हुने
धनकुटा : पर्यटकीयस्थल भेडेटारमा यही असोज २४ गतेदेखि चौथो भेडेटार ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। भेडेटार ब्याडमिन्टन क्लबको आयोजनामा साँगुरीगढी गाउँपालिका–६, भेडेटारस्थित भेडेटार ब्याडमिन्टन हलमा प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगितामा महिला डबल्स प्रदेश–१ ओपन, प्रदेश ओपन ‘बी’ लेभल पुरुष डबल्स र भेट्रान राष्ट्रिय डबल्स गरी तीन विधामा प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष दिपेन लिम्बुले बताए। प्रदेश ओपन ‘बी’ लेभल पुरुष डबल्सतर्फ प्रथम हुनेले रु. ३० हजार, दोस्रोले रु. १५ हजार र तेस्रो हुनेले रु. ७ हजार पुरस्कार प्राप्त गर्नेछन्।
महिला डबल्सतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः रु. २० हजार, रु. १० हजार र रु. ५ हजार प्राप्त गर्नेछन्। त्यस्तै, भेट्रान राष्ट्रिय डबल्सतर्फ प्रथम हुनेलाई रु. ३० हजार, दोस्रोलाई रु. १५ हजार र तेस्रो हुने जोडीलाई रु. १० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा नेपालका विभिन्न स्थानका खेलाडीका साथै भारतको सिलिगुडी र सिक्किमबाट समेत खेलाडीहरूको सहभागिता रहने बताइएको छ।
साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र राईले पछिल्लो समय ब्याडमिन्टन खेल लोकप्रिय बन्दै गएको बताउँदै गाउँपालिकाले विभिन्न वडा तथा स्थानहरूमा कभर्डहल निर्माण गरिरहेको जानकारी दिए। उनले भेडेटारको पर्यटन प्रवर्द्धनमा खेल क्षेत्रबाट समेत योगदान पुग्ने बताए। प्रतियोगिता असोज २७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !