पहिलो पटक गुम्यो साफ च्याम्पियनसिप, फुटबलमा पुस्ता नै हराउने डर
काठमाडौं : नेपाली फुटबल अहिले अन्धकारमा छ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)को निलम्बनमा परेको अखिल नेपाल फुटबल संघ (एन्फा) र नेपाली फुटबल अहिले निदाएको छ।
राजनीतिको किचघ्यानमा परेर खुम्चिएको नेपाली फुटबलको गोरेटोमा काँडेतारका रूपमा फिफा निलम्बन थपिएको छ। यही निलम्बनको बाढीले पहिलो पटक नेपाली फुटबलले साफ च्याम्पियनसिप गुमाउने भएको छ।
१५औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालबाहेक अन्य ६ देशले भाग लिँदैछन्। साफले उक्त ‘ड्र’ सार्वजनिक गर्दा नेपालले खेल्न पाउने कि नपाउने भन्ने सर्तको बारेमा स्पष्ट जानकारी दिएको थियो। दुई महिनापछि पनि निलम्बन कायमै रहँदा नेपालले पहिलो पटक प्रतियोगिता गुमाउने पक्का भयो। नोभेम्बर ९ देखि १७ सम्म बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनसिपको समूह ‘ए’ मा आयोजक बंगलादेश, श्रीलंका र भुटान रहेका छन्। समूह ‘बी’मा भने साविक विजेता भारत, माल्दिभ्स र पाकिस्तान छन्।
सन् १९९३ मा सुरु भएको दक्षिण एसियाको फुटबल महोत्सवमा नेपालले यसपटक सहभागिता जनाउने छैन। तीन दशकभन्दा लामो समयदेखि साफ नेपालको फुटबल यात्राको हिस्सा बन्दै आएको छ। यो प्रतियोगिता नेपाली फुटबलका लागि दक्षिण एसियामा आफ्नो स्तर नाप्ने सबैभन्दा ठूलो मञ्च पनि हो। तर, यसपटक नेपाल साफको मैदानमा हुने छैन। कारण एक मात्र हो, नेपाली खेलकुदको कहालीलाग्दो राजनीति। नेपाली खेलकुदलाई नजिकबाट बुझ्नेहरूले बारम्बार नेपाली खेलकुदमा राजनीति समस्या हो भनिरहँदा यसको कहर अहिले नेपाली फुटबलले भोगिरहेको छ।
राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्यसचिव टंकलाल घिसिङले अन्नपूर्ण स्पोट्र्स रंगशालामा कुराकानीका दौरान पनि एन्फालगायत संघहरूमा र समग्र नेपाली खेलकुदमा ‘खेलकुद राजनीति’ समस्या हो भनेका थिए।
तीन दशकको साफ यात्रा, उपाधि भने शून्य
साफमा नेपालको यात्रा उतारचढावपूर्ण रह्यो। कहिले समूह चरणमै रोकियो, कहिले सेमिफाइनलसम्म पुग्यो। दक्षिण एसियाली फुटबलमा नेपालले आफ्नो स्थान बनाउन संघर्ष गरिरह्यो। तर, उपाधि भने अझै हात लाग्न सकेको छैन।
नेपाल साफको उपाधिको सबैभन्दा नजिक पुगेको भने २०२१ मा हो। माल्दिभ्समा भएको प्रतियोगितामा नेपाल पहिलो पटक फाइनल पुग्यो। फाइनलमा भारतसँग ३-० ले पराजित भएपछि नेपाल उपविजेतामा सीमित भएको थियो। त्यो फाइनल नेपाली फुटबलको इतिहासमा एउटा ठूलो उपलब्धि थियो। उपाधि जित्न नसके पनि नेपालले पहिलो पटक साफको फाइनल खेलेर नयाँ इतिहास बनाएको थियो।
त्यसअघि पनि नेपाली फुटबलले साफमा पटक-पटक संघर्ष गरेको हो। हरेक पुस्ताले साफलाई आफ्नो क्षमता देखाउने मञ्चका रूपमा प्रयोग गर्दै आएको थियो। नेपाली फुटबलमा दशकौँ बिताएका राष्ट्रिय टिमका पूर्वखेलाडी नवीन न्यौपाने भन्छन्, ‘हाम्रो पुस्ताले फुटबलमा जीवन दियो। फुटबलको वर्तमान अवस्थाले फुटबलमा पुस्ता नै हराउने हो कि भन्ने डर बढाएको छ।’
साफ च्याम्पियनसिप एउटा प्रतियोगितामात्र होइन। नेपाली फुटबलको स्तर नाप्ने महत्वपूर्ण माध्यम हो। ‘हाम्रो लागि साफ च्याम्पियनसिप विश्वकपजस्तै हो। यो खेल्न नपाउनु हाम्रो स्तर नाप्ने माध्यममा नै सहभागी नहुनु सरह हो,’ न्यौपानेले अन्नपूर्ण पोस्ट्सँग भने।
उनले नेपाली फुटबलमा पछिल्लो समय बढेको पलायनलाई पनि चिन्ताको विषय मानेका छन्। दक्षिण एसियाका अन्य राष्ट्र फुटबलमा अघि बढ्दै गर्दा नेपाल भने पछाडि धकेलिँदै गएको उनको बुझाइ छ। ‘दक्षिण एसियाका अन्य राष्ट्रले फुटबलका प्रविधिसँगै उकालो चढ्दै गर्दा नेपाली फुटबल भने ओरालो लागिरहेको छ,’ न्यौपानेले चिन्ता व्यक्त गरे।
दक्षिण एसियामा अरू उकालो लाग्दा नेपालको ओरालो यात्रा
नवीनले खेलाडीलाई नजिकबाट देखेका छन्। नेपाली फुटबलको वर्तमान अवस्था हेर्दा उनी निराशा बाहेक केही देख्दैनन्। ‘अहिले नेपाली फुटबलकर्मीमा नैराश्यबाहेक केही छैन। दक्षिण एसियामा हाम्रो जुन स्तर थियो, हामी त्योभन्दा पनि तल झरिसकेका छौँ,’ उनले भने। भारत, बंगलादेश, श्रीलंका र भुटानको उदाहरण दिँदै उनले भने, ‘भारत, बंगलादेश र श्रीलंका तथा भुटानलाई नै हेर्यौं भने उनीहरूको फुटबल माथि जाँदैछ। हाम्रो देशमा समस्या, चुनौती अनि यस्तै कुर्सीको खेलको राजनीतिले झन् तल जाँदैछ।’
हालः नेपाली फुटबल थप्प छ। २०औँ एसियन गेम्समा अन्य खेलले सहभागिता जनाइरहँदा नेपाली फुटबल भने मौन छ। अन्तर्राष्ट्रिय खेलको निरन्तरता रोकिएको छ। राष्ट्रिय टोलीले खेल्ने नियमित मञ्चहरू खुम्चिँदै गएका छन्। साफ गुम्नुको असर एउटा प्रतियोगितासम्म मात्र सीमित छैन। यसको असर नयाँ पुस्तामा पनि पर्ने चिन्ता छ। राष्ट्रिय टोलीमा आउने नयाँ खेलाडीले अन्तर्राष्ट्रिय अनुभव बटुल्ने र आफूलाई प्रमाणित गर्ने अवसर नै नपाउने अवस्था आउन सक्छ।
साफ गुम्यो, अब पुस्ता जोगाउने चुनौती
नेपाली फुटबलले साफमा खेलेका हरेक पुस्तासँग आफ्नै कथा छ। कसैले समूह चरण पार गर्न संघर्ष गरे, कसैले सेमिफाइनलको यात्रा तय गरे, कसैले उपाधिको नजिक पुगेर पनि सपना पूरा गर्न सकेनन्। २०२१ को पुस्ताले त फाइनलसम्म पुगेर नेपाली फुटबललाई ठूलो सपना देखायो। अब त्यही साफ यात्रा रोकिएको छ।
साफमा खेल्न नपाउनु केवल एउटा प्रतियोगिता गुमाउनु होइन। यो खेलाडीको अन्तर्राष्ट्रिय अनुभव, नयाँ पुस्ताको अवसर र नेपाली फुटबलको निरन्तरतासँग जोडिएको विषय हो। ‘अहिलेका खेलाडी र अब पछि पनि फुटबल खेल्छु भन्नेहरूलाई हालको वातावरणले नैराश्यता, अन्योलता र प्रश्न बाहेक केही दिएको छैन।’
प्रतिक्रिया दिनुहोस !