विपत्तिमा सहयोग गर्न ‘पासपोर्ट कुर्दैन’ भारत
भदौ १० गते बिहान भोटेकोशीमा आएको बाढीले देशमात्रै होइ सिंगो विश्वको ध्यान तान्यो । नेपालले त यसलाई ‘हिमालयन सुनामी’ को नाम दिँदै संयुक्त राष्ट्रसंघमार्फत विश्वमञ्चमा आफ्ना कुरा राख्यो । तर, यी सबै कुरा राख्नुअघि भदौ दोस्रो साता देशले ब्यहोरेको क्षतिको कुरा गरौं ।
हजारौं मान्छे घरबारविहीन भएका थिए । अर्बौंको क्षति भएको थियो । राज्यका ठूला ठूला सरकारी संरचना ध्वस्त भएका थिए । अर्बौं लगानीका विद्युत् परियोजनाहरू ध्वस्त थिए ।
नेपालमाथि परेको यो बज्रपातबारे विश्वले सुन्यो, यसमा सन्देह नै रहेन । तर, छिमेकी मुलुक भारतले जुन तदारुकता देखायो, त्यसको भने प्रशंसा गर्न हात कमाउनुपर्ने कुनै कारण छैन ।
नेपालमा कति ठूलो बाढी आयो, कति क्षति भयो भन्ने कुरा बाँकी विश्वले भेउ नपाउँदै भारतले सहयोगी हात अगाडि बढाइसकेको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन शाहसँग फोनमा कुराकानी गर्दै दुःख व्यक्त गरे र नेपाललाई हरसम्भव मानवीय सहायता उपलब्ध गराउने वाचा गरे ।
बाढी प्रभावित क्षेत्रका मानिसहरू सुरक्षित स्थानको खोजीमा नदी किनारबाट उकालो लाग्दै गर्दा भारतले राहत सामग्री नेपाल पठाइसकेको थियो ।
भोटेकोशी–त्रिशूली बाढीपछि भारतले हालसम्म करिब १० पटक विशेष उडानमार्फत नेपाललाई राहत तथा उद्धार सामग्री पठाइसकेको छ । ती उडानहरूमा टनेल उद्धारमा दक्ष विशेषज्ञ टोली, डीएनए संकलन तथा पहिचानका लागि फरेन्सिक विज्ञको समूह, चिकित्सकीय सामग्री र दर्जनौं टन औषधि थिए ।
भारतले पछिल्लो चरणमा फरेन्सिक किट र चिकित्सकीय सामग्रीसहित साढे एक्काइस टन राहत सामग्री नेपाललाई हस्तान्तरण गरिएको छ, जबकि पाँचौं उडानमा एघार सदस्यीय विशेष उद्धार टोली र साढे पाँच टन अत्यावश्यक औषधि ल्याइएको थियो ।
भारतका विदेशमन्त्री एस. जयशंकरले आफैं यसबारे जानकारी दिँदै भनेका थिए, ‘नेपालको दुःखद बाढीको सामना गर्न भारतले मानवीय सहायता र आवश्यक औषधि पठाएको र भारत यस चुनौतीको घडीमा नेपाल र नेपाली जनताको साथमा उभिएको छ ।’
केन्द्रीय सरकारले मात्र होइन, सीमावर्ती भारतीय राज्य सिक्किमले पनि आफ्नै तर्फबाट औषधि, कपडा र खाद्यान्नसहितको राहत टोली नेपाल पठायो र आवश्यकता अनुसार थप सहयोगको प्रतिबद्धता जनायो । यसले भारत–नेपाल सम्बन्ध दिल्ली र काठमाडौंबीचको औपचारिक कूटनीतिमा मात्र सीमित छैन भन्ने देखाउँछ ।
यो सम्बन्ध सीमा वारपारका आम जनताको दैनिक नाता पनि हो, र यो कुरा सरकारी तहभन्दा माथि भारतीय समाजको भावनात्मक तहमा झन् प्रस्ट देखियो । भारतीय सर्वसाधारण, पत्रकार र बलिउडका कलाकारहरूले सामाजिक सञ्जालमार्फत नेपालको बाढीमा दुःख व्यक्त गर्दै सहयोगका लागि अपिल गरे । अभिनेता सोनु सुद त बाढी प्रभावित क्षेत्रमा राहत परिचालनमै खटिए ।
भारतका विभिन्न विद्यालयमा नेपालका लागि प्रार्थना गरियो, बालबालिकाहरूले नेपालका लागि राहत भनेर आफ्ना खुत्रुकेहरू दान गरेका दृश्य पनि देखिए । यी घटनाक्रमले नेपालको पीडा भारतीय समाजका लागि 'छिमेकी देशको समाचार'मात्र नभई आफ्नै शरीरमा लागेको चोट जस्तै हो भन्ने देखायो ।
अझै नेपालस्थित राजदूतावासले यसमा थप सहकार्य गर्यो । केही दिनमै आफ्नो सफल कार्यकाल सकेर फर्किएका राजदूत नविन श्रीवास्तव त फिल्डमै पुगे ।
काठमाडौंस्थित दूतावासमै बसेर उनले सुरुमा अनेकन प्रयास गरे । दिल्लीस्थित सरकारी निकायलाई झकझक्याउँदै छिमेकी मुलुक हुनुको नाताले उनले पटकपटक विमानमार्फत राहत र उद्धार टोली झिकाए ।
भोटेकोशी बाढी भारतले नेपाललाई साथ दिएको पहिलो घटना होइन । २०७२ सालको वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि पनि भारत नेपालको सहयोगमा सबैभन्दा पहिले दौडिएको मुलुक थियो । भूकम्प गएको केही घण्टाभित्रै भारतले 'अपरेशन मैत्री' सुरु गर्दै सेना, राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ), चिकित्सक टोली, हेलिकोप्टर र भारी उद्धार उपकरणसहित सहयोग परिचालन गरेको थियो । हजारौं घाइतेको उपचार, भग्नावशेषबाट मानिस निकाल्ने कार्य र अत्यावश्यक सामग्री ढुवानीमा भारतीय टोलीहरूले महत्त्वपूर्ण भूमिका खेलेका थिए, र त्यसबेला पनि भारतीय जनता र संस्थाहरूले खुला हृदयले राहत कोषमा योगदान गरेका थिए ।
२०८० सालमा जाजरकोटमा गएको भूकम्पमा पनि भारतले तत्कालै राहत तथा उद्धार सामग्री पठाएको थियो । काठमाडौंबाट जाजरकोटसम्म सामग्री पु¥याउन ढिला हुने थाहा पाएर भारतले नेपालगञ्ज विमानस्थलमै राहत सामग्री बोकेको विमान ओराल्यो । त्यसअघि, भारतीय विदेश मन्त्रालयको विवरण अनुसार २०२४ मा नेपालमा आएको विनाशकारी वर्षा, बाढी र पहिरोपछि नेपालले अनुरोध गरेको १२ घण्टाभित्रै भारतले करिब ३६ टन राहत सामग्री उपलब्ध गराएको थियो, र सडक सम्पर्क पुनःस्थापित गर्न १० वटा बेल्ली ब्रिज समेत पठाएको थियो ।
यसअघि २००८ को कोशी बाढीपछि पनि भारतले नेपालका बाढीपीडितका लागि आर्थिक सहयोग गर्नुका साथै क्षतिग्रस्त पूर्व–पश्चिम राजमार्गको भाग पुनर्निर्माण गरिदिएको थियो । कोभिड-१९ को कठिन समयमा पनि भारतले नेपाललाई औषधि र स्वास्थ्य सामग्री उपलब्ध गरायो, र सन् २०२१ मा कोभिड खोपको १० लाख डोज दियो ।
नेपालमा जब-जब संकट आउँछ, भारत ‘पर्ख र हेरको रणनीति अपनाउँदैन’ भन्ने कुरा यसरी बारम्बार पुष्टि भएको छ । कूटनीतिमा प्रायः भनिन्छ, छिमेकी रोज्न पाइँदैन, तर छिमेकीसँगको व्यवहार भने आफैंले निर्धारण गर्न सकिन्छ । सुरुमा प्रारम्भिक राहत सामग्री पुर्याउने छिमेकी राष्ट्रको स्वाभाविक भूमिकाबाट थालेको भारत बिस्तारै टनेल उद्धार, फरेन्सिक विशेषज्ञता र दीर्घकालीन पुनर्निर्माणसम्मको सहयोगमा संलग्न हुँदै मित्रराष्ट्रको भूमिकामा उभिएको देखिन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलाबेला भन्ने गरेको “विपद्को समयमा भारतले पासपोर्ट हेर्दैन” भन्ने भनाइ भोटेकोशी बाढीले फेरि पुष्टि गरेको छ ।
हालः भारतले बाढीका कारण सडक तथा पुल सम्पर्क टुटेका क्षेत्र जोड्न बेलिब्रिज नेपाल पठाएको छ । भोटेकोशी बाढीले दुई दर्जनभन्दा बढी पुल बगाएकोमा अन्य बेलिब्रिज पनि भारतले पठाउँदैछ ।
बाढीको कहर नसकिँदै भारतले नुवाकोटको विदुरस्थित त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय, जुन यसअघि पनि भारतकै सहयोगमा निर्माण भएको थियो, पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको छ । बाढीबाट विस्थापित भई नेपाल-भारत मैत्री भवनमा आश्रय लिइरहेका धेरैलाई भारतको सहयोगमा सञ्चालित अस्पतालले स्वास्थ्य उपचार तथा अन्य आवश्यक सहायता उपलब्ध गराइरहेको छ ।
बेपत्ता तथा मृतकको पहिचान गर्ने चुनौतीबीच भारतबाट आएको १९ सदस्यीय फरेन्सिक विज्ञको टोली नेपाल प्रहरीको केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशाला र खुमलटारस्थित राष्ट्रिय फरेन्सिक विज्ञान प्रयोगशालामा काम गर्यो । जसले बाढीमा बगाएका शवहरूबाट झिकिएको डिएनए संकलन, परीक्षण र पहिचानको काममा झनै सहज पर्यो ।
भोटेकोशी बाढीमा मात्र होइन, यसअघि पनि नेपालमा आउने हरेक ठूला विपद्, चाहे त्यो भूकम्प होस् वा बाढी-पहिरो, भारतले आफ्नो उपस्थिति र प्रतिबद्धता दुवै देखाएको छ । यही कारण कतिपय जानकारहरू भारत नेपालको त्यस्तो मित्र हो, जो सुखमा मात्र होइन दुःखमा झन् बढी नजिक आउँछ भन्ने गर्छन् । राष्ट्रहरूबीचको मित्रताको वास्तविक परीक्षा उत्सवका दिनमा हुँदैन; सुखका दिनमा त सबै मित्र देखिन्छन् । दुःखको समयमा को साथमा उभिन्छ भन्ने कुराले नै सम्बन्धको वास्तविक गहिराइ देखाउँछ ।
भारत-नेपाल सम्बन्धमा विभिन्न समयमा असहमति र चुनौती पनि देखिएका छन्। त्यसबारे नेपाली समाजभित्र फरक-फरक धारणा पनि छन् । तर, विपद्को घडीमा भारतले देखाउने साथ र सहयोगले नेपाल-भारत सम्बन्ध राजनीतिक मात्र नभई मानवीय पनि हो भन्ने कुरा पुनः पुष्टि गर्छ। नेपाल संकटमा पर्दा भारत सहयोगमा कहिल्यै पछि परेको छैन; बरु नेपालका हरेक संकटमा भारतले आफूलाई अग्रमोर्चामा उभ्याएको छ ।
विपद्पछिको पुनर्निर्माणको यात्रा भने लामो हुन्छ, र त्यसमा छिमेकीको साथ उत्तिकै महत्त्वपूर्ण हुन्छ । रसुवादेखि धादिङसम्म बाढीले दर्जनौं पुल र सडक भत्काएको छ; विद्यालय, अस्पताल जस्ता महत्त्वपूर्ण सरकारी संरचना बगाएको छ । यी संरचना पुनर्निर्माण गर्ने लामो बाटोमा पनि भारतले नेपाललाई साथ दिनुपर्छ, र अहिलेसम्मको व्यवहार हेर्दा त्यो साथ निरन्तर रहने अपेक्षा गर्न सकिन्छ ।
प्रतिक्रिया दिनुहोस !