एभरेष्ट र समिट अटो रिपेयरद्वारा प्रधानमन्त्री कोषमा १० हजार अष्ट्रेलियाली डलर सहयोग
अष्ट्रेलिया : नेपालको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट प्रभावित परिवारको सहयोगार्थ अष्ट्रेलियाको राजधानी क्यानबेरामा सञ्चालित एभरेष्ट अटो रिपेयर एन्ड वर्कशप र सिड्नीमा सञ्चालित समिट अटो रिपेयर एन्ड वर्कशपले उदाहरणीय सहयोग गरेका छन्।
यी दुई अटो वर्कशपले आफ्ना ग्राहकमार्फत संकलन गरेको १० हजार अष्ट्रेलियाली डलर प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाएका हुन्। वर्कशपमा गाडी सर्भिसिङका लागि आएका करिब २०० ग्राहकबाट प्रतिग्राहक ५० अष्ट्रेलियाली डलरका दरले रकम संकलन गरिएको हो।
मातृभूमिमा परेको विपत्तिमा व्यवसायसँगै सामाजिक उत्तरदायित्व र मानवीय सेवामा योगदान गर्न सकिन्छ भन्ने उदाहरण यी दुई व्यवसायले प्रस्तुत गरेका छन्।
एभरेष्ट अटो रिपेयर एन्ड वर्कशप क्यानबेरा तथा समिट अटो रिपेयर एन्ड वर्कशपका सञ्चालकद्वय इन्जिनियर अनिश ढकाल र यज्ञ अधिकारीले बाढीपीडितको सहयोगका लागि अभियान सञ्चालन गरेका हुन्।
अन्नपूर्ण पोस्ट्सँगको कुराकानीमा इन्जिनियर अनिश ढकालले मातृभूमिमा परेको पीडामा आफूहरूले सकेको सहयोग गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए। उनले यस अभियानमा ग्राहक, नेपाली समुदाय तथा शुभेच्छुकहरूको समेत उत्साहजनक साथ र सहयोग प्राप्त भएको उल्लेख गरे।
व्यवसायसँगै सामाजिक सेवा र मानवीय सहयोगलाई पनि अघि बढाउन सकिन्छ भन्ने सन्देश दिने यो अभियान अष्ट्रेलियामा रहेका नेपाली व्यवसायी र समुदायका लागि समेत प्रेरणादायी बनेको छ।
प्रतिक्रिया दिनुहोस !