आफ्नै क्याप्टेनमाथि आक्रमण गर्ने ‘फ्लाई दुबई’का सह–पाइलटले कसरी उडानका लागि अनुमति पाए ?
यशराज शर्मा/अलजजिरा : ककपिटभित्रै दुई पाइलटबीच कुटाकुट भएपछि फ्लाई दुबईको विमानलाई अन्यत्रै मोड्नुपरेको घटनाले इजरायलका साथै नागरिक उड्डयन क्षेत्रमा थुप्रै प्रश्नहरू खडा गरिदिएको छ। यसले पाइलटहरूको पृष्ठभूमि जाँच (भेटिङ) र विमान सुरक्षा व्यवस्थामाथि गम्भीर आशंका उब्जाएको छ।
इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बुधबार दिएको जानकारीअनुसार सहपाइलटबाट चक्कु प्रहार गरिएका क्याप्टेनले घाइते अवस्थामै ककपिटको ढोका खोल्न सफल भएका थिए। उनले भारतीय नागरिकसमेत रहेका क्याप्टेन स्मित मच्छारलाई ‘ठूलो आकाशीय दुर्घटना’ हुनबाट जोगाउने ‘सच्चा नायक’ भन्दै प्रशंसा गरेका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) ले घटनाको अनुसन्धान गर्न आदेश दिइसकेको छ। युएईका एटर्नी जनरल हमद सैफ अल–शम्सीले बिहीबार दिएको जानकारी अनुसार अनुसन्धान टोलीले ‘घटनाको सत्यतथ्य, परिस्थिति, विवरण र मनसाय पत्ता लगाउन प्रमाणहरू संकलन गर्नेछ।’ साथै यस घटनाको कुनै आतंकवादी गतिविधि वा पूर्व–योजनासँग सम्बन्ध छ÷छैन भन्नेबारे पनि अनुसन्धान गरिने उनले बताए।
- ककपिटमै दुई पाइलटबीच कुटाकुट र चक्कु प्रहार भएपछि फ्लाई दुबईको विमानलाई साउदी अरबको तबुकमा डाइभर्ट गरिएको थियो।
- झगडाका क्रममा विमान ३३ हजार फिटबाट एकै मिनेटमा १७ हजार फिटमा झरेको बताइएको छ।
- घाइते क्याप्टेन स्मित मच्छारले ककपिटको ढोका खोल्न सफल भएपछि यात्रु र चालक दलले आक्रमणकारी सहपाइलटलाई नियन्त्रणमा लिएका थिए।
- विमानमा यात्रुका रूपमा रहेका अन्य पाइलटहरूले कमान्ड सम्हालेर सुरक्षित अवतरण गराएका थिए।
- भारतीय क्याप्टेन स्मित मच्छारले करिब १५ वर्षको करियरमा ९,७५० घण्टा उडान गरेको उनको लिंक्डइन प्रोफाइलमा उल्लेख छ।
- मच्छार सन् २०२२ मा फ्लाई दुबईमा आबद्ध हुनुअघि स्पाइसजेटमा ११ वर्षभन्दा बढी कार्यरत थिए।
सउदी अरबले भने अहिलेसम्म यस घटनाबारे कुनै आधिकारिक जानकारी सार्वजनिक गरेको छैन। अहिलेको अवस्थामा फ्लाई दुबई घटनालाई लिएर उत्तरभन्दा प्रश्नहरू धेरै छन्। आखिर, ती आक्रमणकारी सह–पाइलटलाई उडानको अनुमति कसरी मिल्यो ? र, घाइते भएका क्याप्टेनको पृष्ठभूमि के हो ?
फ्लाई दुबईमा के भएको थियो ?
दुबईबाट उडान भरेको करिब साढे दुई घण्टापछि, स्थानीय समयअनुसार बिहान करिब ८ः४४ बजे विमानबाट आपत्कालीन सन्देश (डिस्ट्रेस कल) आएको थियो।
इजरायली अधिकारीहरूका अनुसार ककपिटभित्र क्याप्टेन र सहपाइलटबीच हातहालाहाल भएको थियो। त्यसै क्रममा विमान तीव्र गतिमा तल झर्न थाल्यो र एकै मिनेटभित्रै ३३,००० फिट (१०,००० मिटर) बाट १७,००० फिट (५,००० मिटर) मा ओर्लियो। नेतान्याहुका अनुसार एक पाइलटले अर्का पाइलटलाई चक्कु हानेर विमान दुर्घटना गराउने प्रयास गरेका थिए। इजरायली सञ्चारमाध्यमहरूले जनाए अनुसार घाइते मच्छारले कुनै न कुनै तरिकाले ककपिटको ढोका खोल्न सफल भए। ढोका खुल्नासाथ यात्रु र चालक दलका अन्य सदस्यहरूभित्र छिरेर आक्रमणकारी सहपाइलटलाई नियन्त्रणमा लिएका थिए।
त्यसै, विमानमा यात्रुका रूपमा सवार रहेका अन्य पाइलटहरूले विमानको कमान्ड सम्हाले र करिब १ घण्टापछि सउदी अरबको तबुकमा सुरक्षित अवतरण गराए। झगडामा दुवै पाइलट घाइते भएका थिए र उनीहरूको सउदी अरबमै उपचार भइरहेको छ।
आक्रमणकारी पाइलटबारे के जानकारी छ ?
अहिलेसम्म उनीबारे निकै कम आधिकारिक विवरणहरू बाहिर आएका छन्। प्राथमिक उपचारपछि उनलाई सउदी अधिकारीहरूले हिरासतमा लिएका छन्, तर अहिलेसम्म कुनै औपचारिक मुद्दा दर्ता गरिएको छैन। उनको नागरिकताबारे पनि कुनै आधिकारिक पुष्टि भएको छैन। उनको उडान अवधि (फ्लाइङ आवर्स), योग्यता, वा यसअघि फ्लाई दुबईको विमानमार्फत इजरायल उडान गरे÷नगरेकाबारे कुनै जानकारी छैन। उनी करिब एक वर्षअघि मात्र फ्लाई दुबईमा भर्ना भएका थिए। केही इजरायली अधिकारीहरूले यसलाई ‘जिहादी आक्रमण’ भन्न हतार गरे पनि नेतान्याहुले भने यो लक्षित आक्रमण थियो वा यसमा इरानको कुनै भूमिका थियो भन्नेबारे ‘अहिले नै भन्नु हतार हुने’ बताएका छन्। आक्रमणको पछाडिको मनसाय अझै स्पष्ट हुन नसकेको उनले थपे।
नेतान्याहुले फक्स न्युजलाई दिएको अन्तर्वार्तामा भने, ‘मलाई लाग्छ उनलाई यूएई पठाइनेछ, जहाँका उनी हुन् वा जहाँबाट उनले उडान भरेका थिए। हामी यस अनुसन्धानलाई नजिकबाट नियाल्नेछौं र सम्भवतः सहभागी पनि हुनेछौं।’एयरलाइन र सउदी अधिकारीहरूको प्रारम्भिक बयानअनुसार अनुसन्धान जारी छ र मानिसहरूलाई अनावश्यक अड्कलबाजी नगर्न आग्रह गरिएको छ।
सहपाइलटलाई उडानको अनुमति कसरी मिल्यो ?
फ्लाई दुबई युूईको हवाई सेवा प्रदायक हो, जसको प्रमाणीकरण र सञ्चालन सुपरिवेक्षण यूएईको जनरल नागरिक उड्डयन प्राधिकरणले गर्छ।
युरोपेली युनियन उड्डयन सुरक्षा एजेन्सीले रोयटर्सलाई बताएअनुसार फ्लाई दुबईको सुरक्षा निगरानीको जिम्मेवारी जीसीएएको हो। ‘यसमा उडान टोली र उनीहरूको उडान योग्यतासम्बन्धी मापदण्ड पूरा भए÷नभएको निश्चित गर्ने जिम्मेवारी पनि पर्छ,’ इएएसएले भन्यो। जीसीएएको मानक नियमअनुसार पाइलटसँग वैध व्यावसायिक पाइलट लाइसेन्स, सम्बन्धित विमानको टाइप रेटिङ, हालको क्लास १ मेडिकल प्रमाणपत्र, अंग्रेजी भाषाको दक्षता र आवश्यक उडान अनुभव हुनुपर्छ।
क्लास १ मेडिकल प्रक्रियामा शारीरिक र मानसिक स्वास्थ्यको परीक्षण हुन्छ। मानसिक स्वास्थ्य समस्या, लागुऔषध दुव्र्यसनी वा अन्य गम्भीर समस्या भएका पाइलटहरूलाई थप परीक्षणका लागि पठाइन्छ।
लन्डनस्थित एभिएसन कन्सेल्टेन्सी ‘स्ट्याटेजिक एरो रिसर्च’का मुख्य विश्लेषक सज अहमद भन्छन्, ‘पाइलटको पृष्ठभूमि जाँच (भेटिङ) सुरक्षा, आर्थिक स्थितिदेखि मानसिक स्वास्थ्य परीक्षणसम्म निकै कडा हुन्छ।’
‘तर ती जाँचहरू एक निश्चित समयका लागि मात्रै हुन्छन्। पछि कार्यस्थल वा ककपिटमा व्यक्तिमा कस्ता समस्याहरू उत्पन्न हुन्छन् भन्ने कुरा ती परीक्षणले पहिले नै पत्ता लगाउन सक्दैनन्,’ उनले अल जजिरासँग भने। ‘त्यसैले, यदि कसैले आफूमाथि अन्याय भएको महसुस गर्छ भने उसले के सोचिरहेको छ वा उसले के गर्न सक्छ भनेर थाहा पाउन निकै गाह्रो हुन्छ,’ अहमदले थपे।
इजरायली यातायात मन्त्री मिरी रेगेभलाई उद्धृत गर्दै त्यहाँका सञ्चारमाध्यमहरूले यूएईसँगको सम्झौता अनुसार इजरायलसँग कूटनीतिक सम्बन्ध भएका देशका पासपोर्टवाहक पाइलटहरूलाई मात्र इजरायलमा अवतरण गर्न दिइने दाबी गरिरहेका छन्। तर, अल जजिराले यो दाबीको स्वतन्त्र पुष्टि गर्न सकेको छैन। इजरायलको यातायात मन्त्रालयको सुरक्षा विभागको कार्यक्षेत्रमा ‘इजरायलमा अवतरण गर्ने÷पार गर्ने विदेशी उडानहरूको सुरक्षा स्क्रिनिङ’ पर्दछ। तर, यसमा व्यावसायिक एयरलाइन्सका पाइलट वा केबिन क्रुको नियमित व्यक्तिगत पृष्ठभूमि जाँच गर्ने कुरा उल्लेख छैन। अहिले भने इजरायलले आफ्नो देशमा उडान भर्ने पाइलटहरूको सुरक्षा जाँच बढाउने बताएको छ। इजरायली प्रधानमन्त्री कार्यालयका प्रवक्ता डोरोन स्पिलम्यानले भने, ‘इजरायलमा उडान भर्ने प्रत्येक पाइलटको पहिचान हामीलाई थाहा हुनेछ र हामी उनीहरूको सुरक्षा जाँच गर्ने छौं।’
भारतीय पाइलट स्मित मच्छार को हुन् ?
इजरायल र भारतका प्रधानमन्त्रीहरूद्वारा ‘नायक’का रूपमा प्रशंसा गरिएका मच्छार मुम्बईका बासिन्दा हुन् र हाल आफ्नी पत्नी र दुई बच्चासँग दुबईमा बस्दै आएका छन्। हाल उनको सउदी अरबको तबुकस्थित एक अस्पतालमा उपचार भइरहेको छ।
इजरायली अधिकारीहरूका अनुसार मच्छारले ककपिटको ढोका खोल्न सफल भएका कारण यात्रु र चालक दलका सदस्यहरूभित्र छिरेर सहपाइलटलाई नियन्त्रणमा लिन सकेका थिए।
उनको लिंकडइन प्रोफाइलअनुसार, सन् २०२२ मा फ्लाई दुबईमा भर्ना हुनुअघि उनले भारतीय विमान सेवा कम्पनी ‘स्पाइसजेट’मा एक दशकभन्दा बढी काम गरेका थिए। १५ वर्ष लामो करियरमा उनले करिब ९,७५० घण्टा उडान भरिसकेका छन्।
स्कुलको पढाइपछि पारिवारिक व्यवसाय सम्हाल्ने उद्देश्यले उनले टेक्स्टाइल इन्जिनियरिङ पढेका थिए र पछि मुम्बईको वेलिंकर इन्स्टिच्युटबाट व्यवस्थापन अध्ययन गरे। करिब १९ वर्षको उमेरमा त्यहीँ आयोजित एक उड्डयनसम्बन्धी गोष्ठीमा उनले उडानप्रतिको आफ्नो रुचि पत्ता लगाएका थिए।
त्यसपछि उनले न्युजिल्यान्डमा तालिम लिए र स्पाइसजेटमा भर्ना भए, जहाँ उनले ११ वर्ष बिताए। उनी विगत चार वर्षदेखि फ्लाईदुबईमा कार्यरत छन्। सन् २०२५ मा एक युट्युब पोडकास्टमा बोल्दै मच्छारले भनेका थिए, ‘उडान ढिलो हुनु मेरो समस्या होइन। तपाईं विमानबाट सुरक्षित बाहिर निस्कनुभयो कि भएन भन्ने मेरो मुख्य प्राथमिकता हो। जब म ककपिट वा विमानबाट बाहिरिन्छु, मानिसहरूले म पाइलट हुँ भन्ने थाहा नपाऊन् भन्ने म चाहन्छु।’
‘जब म युनिफर्म लगाउँछु, तब कुनै सम्झौता नगरी आफ्नो काम पूरा गर्छु। ककपिटबाट बाहिर निस्किएपछि त्यसबारे सोच्न छाडिदिन्छु। त्यसपछि मलाई मेरो परिवार र बच्चाहरू चाहिन्छ, जो मसँग खेल्न चाहन्छन्,’ उनले भनेका थिए।
ककपिटभित्र हिंसाका घटना कत्तिको दुर्लभ हुन् ?
उडानका क्रममा ककपिटभित्र नियोजित हिंसा भएका घटनाहरू निकै विरलै हुन्छन्। ‘स्ट्याटेजिक एरो रिसर्च’का अहमदका अनुसार, ‘ककपिटभित्र हुने हिंसाका प्रकार फरक हुन सक्छन्, तर प्रायः चालक दलका अन्य सदस्यहरूको सहयोग लिन ढोका खोल्ने रणनीति अपनाइन्छ।’
‘दुःखको कुरा, यस्ता घटनाहरूको पहिले नै अनुमान गर्न र नियन्त्रणमा लिन निकै गाह्रो हुन्छ। फ्लाई दुबईको घटनामा अन्य पाइलटहरू पनि विमानमै उपलब्ध भएकाले उनीहरूले सुरक्षित अवतरण गराउन सके, जुन आफैंमा अनौठो र भाग्यवसको कुरा हो,’ अहमदले भने। ‘यदि ती अतिरिक्त पाइलटहरू त्यहाँ नभएको भए परिणाम के हुन्थ्यो होला भनेर सोच्दा पनि डर लाग्छ,’ उनले थपे।
ककपिट हिंसाका केही विगतका घटनाहरूः
जापान एयरलाइन्स उडान ३५० (सन् १९८२): क्याप्टेन सेइजी कातागिरीले टोकियोमा अवतरण गर्ने क्रममा जानाजानी विमानलाई तल खसाल्ने प्रयास गरेका थिए। सहपाइलट र इन्जिनियरले उनलाई समातेर नियन्त्रणमा लिएका थिए। तर पनि विमान दुर्घटना हुँदा १ सय ७४ मध्ये २४ जनाको मृत्यु भयो। पछि कातागिरीलाई मानसिक रूपमा अस्वस्थ घोषित गरियो।
प्यासिफिक साउथवेस्ट एयरलाइन्स उडान १७७१ (सन् १९८७): जागिरबाट निकालिएका एक पूर्वकर्मचारीले यात्रुका रूपमा यात्रा गर्दै आफ्ना पूर्वहाकिम र पाइलटहरूलाई गोली हानेका थिए। विमान दुर्घटना हुँदा सवार सबै ४३ जनाको मृत्यु भयो।
फेडएक्स उडान ७०५ (सन् १९९४): फेडएक्सका कर्मचारी अउबर्न क्यालोवेले हथौडा र अन्य हतियार लिएर तीन जना पाइलटमाथि आक्रमण गरी विमान कब्जा गर्ने प्रयास गरेका थिए। पाइलटहरूले उनीसँग लडेर विमानलाई सुरक्षित अवतरण गराएका थिए।
जर्मनविंग्स उडान ९५२५ (सन् २०१५): सह–पाइलट एन्द्रियास लुविजले क्याप्टेनलाई ककपिट बाहिरै थुनेर जानाजानी ए३२० विमानलाई फ्रान्सेली एल्प्स पर्वतमा ठोक्काइदिएका थिए, जसमा सवार सबै १५० जनाको मृत्यु भयो। गम्भीर मानसिक समस्या भएका पाइलटलाई रोक्न मेडिकल प्रणाली असफल भएको निष्कर्ष निकालिएको थियो।
चाइना इस्टर्न उडान : यू५७३५ (सन् २०२२): बोइङ ७३७–८०० दुर्घटना हुनुअघि इन्जिनको इन्धन स्विचहरू म्यानुअल रूपमा बन्द गरिएको पाइएको थियो। यद्यपि, कसले र किन त्यसो ग¥यो भन्नेबारे चीनले अन्तिम प्रतिवेदन सार्वजनिक गरेको छैन। घटनामा सवार सबै १ सय ३२ जनाको मृत्यु भएको थियो।
प्रतिक्रिया दिनुहोस !