२०औं एसियाली खेलकुद : हराउँदै गएको बहुखेलकुदीय भाव

२०औं एसियाली खेलकुद : हराउँदै गएको बहुखेलकुदीय भाव
सुन्नुहोस्

बहुखेलकुदीय प्रतियोगिता भनेको केवल पदक जित्ने प्रतिस्पर्धामात्र होइन, विभिन्न खेलका खेलाडीलाई एउटै ठाउँमा ल्याउनु, उनीहरूबीच भेटघाट र अनुभव आदानप्रदान गराउनु तथा एउटा साझा खेलकुदीय वातावरण सिर्जना गर्नु पनि यस्ता प्रतियोगिताको महत्वपूर्ण उद्देश्य हो। ब्याडमिन्टन खेलाडी एउटै टेबलमा पौडीबाजसँग बस्ने, बास्केटबल खेलाडीको भेट कुस्ती खेलाडीसँग हुने, धावकले आर्चरी खेलाडीसँग अनुभव साट्ने, यही बहुखेलकुदीय प्रतियोगिताको विशेषता हो। 

तर, जापानमा जारी २०औं एसियाली खेलकुद एआईची–नागोयामा सहभागी भारतीय ब्याडमिन्टन खेलाडी एचएस प्रणयको अनुभवले यो भावना हराउँदै गएको वा कमजोर भएको स्पष्ट पार्दछ। टिम स्पर्धामा कास्य पदक जितेका प्रणयले एआईची–नागोया एसियाडलाई ‘निकै दुःखद्’ अनुभवका रूपमा वर्णन गरेका छन्। उनको असन्तुष्टि कोठाको आकार वा ओछ्यानको गुणस्तरसँग मात्र सम्बन्धित थिएन। उनको मुख्य गुनासो प्रतियोगितालाई बहुखेलकुदीय बनाउने सामाजिक वातावरण नै कमजोर भएकोमा थियो।

प्रणयले हाङझाउमा भएको सन् २०२३ को एसियाली खेलकुद सम्झँदै भनेका छन्, ‘बहुखेलकुदीय प्रतियोगिताको वास्तविक रमाइलो नै विभिन्न खेलका खेलाडीलाई भेट्नु हो। उनीहरूबीच घुलमिल हुने, कुराकानी गर्ने र नयाँ साथी बनाउने अवसर पाउनुनै यसको मुख्य उद्देश्य हो। तर, एआईची–नागोयामा भने हामीले वास्तविक अर्थमा एसियाली खेलकुद खेलिरहेको महसुस गर्न सकेनौं।’

यसपटकको एसियाली खेलकुदमा आयोजक जापानले परम्परागत ‘एथलेट्स भिलेज’ निर्माण नगर्ने निर्णय गरेको थियो। खर्च नियन्त्रण गर्ने उद्देश्यले १७ हजारभन्दा बढी खेलाडी तथा पदाधिकारीलाई होटल, अस्थायी काठका आवास र क्रुज जहाजसम्ममा राखिएको थियो। 

ठूला खेलकुद प्रतियोगिता आयोजना गर्दा खर्च नियन्त्रण गर्नु आफैंमा गलत होइन। अहिले धेरै आयोजक सहर महँगा पूर्वाधार निर्माण गरेर प्रतियोगिता सकिएपछि त्यसको उपयोग कम हुने अवस्थाबाट चिन्तित छन्। त्यसैले उपलब्ध होटल तथा पूर्वाधार प्रयोग गर्नु आर्थिक रूपमा व्यावहारिक हुन सक्छ। तर, खेलकुदलाई सधैं हिसाबकिताबबाट मात्र मापन गर्न सकिँदैन।

एथ्लेट्स भिलेज भनेको केवल खेलाडी सुत्ने कोठाको समूह होइन। यो खेलाडीबीच अनौपचारिक भेटघाट र सम्बन्ध निर्माण गर्ने सामाजिक थलो पनि हो। बिहानको खानाको टेबलमा एउटा देशका पदक विजेताको भेट अर्को देशका अपरिचित खेलाडीसँग हुन सक्छ। फुटबल खेलाडीले फेन्सिङ खेलाडीसँग कुरा गर्दै नयाँ खेलबारे जान्न सक्छ। आज प्रतिस्पर्धा गर्ने खेलाडी भोलि साथी बन्न सक्छन्। यस्ता भेटघाट प्रतियोगिताको आधिकारिक कार्यक्रम तालिकामा हुँदैनन्। तर, खेलाडीले एसियाली खेलकुद सम्झँदा यिनै क्षणहरू महत्वपूर्ण स्मृतिका रूपमा रहने गर्छन्।

एआईची–नागोयामा उठेका समस्या भने परम्परागत एथ्लेट्स भिलेजको अभावमा मात्र सीमित रहेनन्। आवासको कमी, विमानस्थलमा ढिलाइ तथा यातायात व्यवस्थापनबारे पनि गुनासा आएका थिए। केही टोलीले अस्थायी काठका आवासको अवस्थामाथि प्रश्न उठाए। कोठा साँघुरो भएको र केही खेलाडीका लागि ओछ्यान छोटो भएको उनीहरूको गुनासो थियो।
दक्षिण कोरियाका अधिकारीले कन्टेनर शैलीका आवासलाई ‘अहिलेसम्मकै खराब’ भनेका थिए। उनीहरूले आफ्नो बास्केटबल टोलीका केही सदस्यका लागि ओछ्यानसमेत सानो भएको बताएका थिए।

त्यसपछि आयोजकले सञ्चारकर्मीलाई ती अस्थायी आवासको निरीक्षण गर्न दिएका थिए। त्यहाँ करिब २ सयवटा यस्ता अस्थायी संरचना छन्। प्रतियोगिताको अवधिमा करिब दुई हजार खेलाडीलाई ती आवासमा राखिएको थियो। एउटा युनिटमा तीनदेखि चार खेलाडी बस्ने व्यवस्था थियो। प्रत्येक युनिट करिब ३५ वर्गमिटरको थियो भने छतको उचाइ २.३० मिटर थियो।

आवासमा काठका साधारण भित्ता, भान्साको सिंक भए पनि खाना पकाउने उपकरण थिएन। खेलाडीका ओछ्यान पर्दाले छुट्याइएका थिए। यद्यपि खेलाडीका लागि सामूहिक भोजन, पसल, स्वास्थ्य सेवा, फिटनेस सेन्टर तथा आपसी भेटघाटका लागि छुट्टै स्थानको व्यवस्था भने गरिएको थियो। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीकी अध्यक्ष कस्र्टी कोभेन्ट्रीले ती आवासलाई ‘सुन्दर’ बताएकी थिइन्। यद्यपि उनले मिलान–कोर्टिना शीतकालीन ओलम्पिकको तुलनामा ती आवास केही साँघुरा रहेको स्वीकार गरेकी थिइन्।

आयोजकहरूले पनि आफूहरूले अपेक्षा गरेभन्दा बढी समस्या सामना गर्नुपरेको स्वीकार गरेको थियो। खेलाडी आवासका उपनिर्देशक युता मात्सुओले आयोजकले आफूहरूले उचित प्रतिक्रिया दिएको विश्वास व्यक्त गर्दै खेलाडीका आवश्यकता र अनुरोधलाई निरन्तर सुन्ने बताएका थिए। वास्तवमा प्रत्येक खेलाडीलाई विलासी सुविधा आवश्यक हुँदैन। ठूलो खेलकुद प्रतियोगिता होटलको स्तर र सुविधाबीचको प्रतिस्पर्धा बन्नु पनि हुँदैन। तर, आवास समस्या समग्र विषयको एउटा हिस्सा मात्र हो।

मुख्य प्रश्न यो हो, खेलाडीहरूले आफूहरू एउटा साझा खेलकुदीय अनुभवको हिस्सा भएको महसुस गरे कि गरेनन् ?   भन्ने। प्रणयले हाङझाउ र एआइची–नागोयाबीच गरेको तुलनाले पनि यही विषयतर्फ संकेत गर्छ। उनका लागि सन् २०२३ को हाङझाउ एसियाड व्यापक र सामूहिक अनुभवको राम्रो अवसर थियो। एआईची–नागोयामा भने त्यस्तो सामूहिक भाव कमजोर भएको उनले महसुस गरेका थिए।

कुनै खेलकुद प्रतियोगितामा खेलस्थल व्यवस्थित हुन सक्छन्, सबै खेल निर्धारित समयमा सम्पन्न हुन सक्छन् र पदक तालिका पनि पूरा हुन सक्छ। तर, त्यसका बाबजुद खेलाडीलाई केही महत्वपूर्ण कुरा छुटेको महसुस हुन सक्छ। किनभने बहुखेलकुदीय प्रतियोगिताको सार एकै समयमा धेरै खेल हुनु मात्र होइन। यसको वास्तविक सार विभिन्न खेलमा प्रतिस्पर्धा गर्ने खेलाडीहरूलाई एउटै अनुभवमा जोड्नु हो।

त्यसैले आगामी आयोजकका लागि चुनौती सबैभन्दा महँगो शैलीको एथ्लेट्स भिलेज पुनर्निर्माण गर्नु मात्र होइन। चुनौती भनेको एथ्लेट्स भिलेजले प्रतिनिधित्व गर्ने समुदाय, आपसी संवाद र साझा खेलकुदीय अनुभवलाई पनि जोगाउनु हो।

नत्र बहुखेलकुदीय प्रतियोगिता एउटै ब्यानरमुनि आयोजना गरिएका अलग–अलग च्याम्पियनसिपको शृंखलामा सीमित हुन सक्छ। पदकहरू जितिँदै जानेछन्। नयाँ कीर्तिमान पनि बन्नेछन्। तर, खेलाडीले आफू आफ्नो खेलभन्दा ठूलो कुनै साझा यात्राको हिस्सा भएको महसुस गर्ने भाव हरायो भने कुनै पनि पदक समारोहले पूर्ति गर्न नसक्ने कुरा एसियाली खेलकुदले गुमाउनेछ।

बंगलादेशबाट प्रकाशित हुने द डेली स्टारको सम्पादित लेख


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.