कांग्रेस महाधिवेशनमा शीर्ष नेता एउटै मञ्चमा
काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहमा मुलुकका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू एउटै मञ्चमा देखिने भएका छन्। असोज १८ गते काठमाडौंको खुलामञ्चमा हुने उद्घाटन समारोहमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, जसपा अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत सहभागी हुने कांग्रेसले जनाएको छ।
श्रम संस्कृति पार्टीका महासचिव आरेन राई तथा राष्ट्रिय जनमोर्चाका तर्फबाट कार्यवाहक महासचिव घनश्याम पौडेल पनि सहभागी हुने कांग्रेस प्रवक्ता एवं महाधिवेशन सूचना, सञ्चार तथा प्रविधि समितिका संयोजक देवराज चालिसेले बताए। कांग्रेसले शीर्ष नेताहरूलाई व्यक्तिगत रूपमा पुगेर निमन्त्रणा दिएको छ। सहमहामन्त्री उदयशमशेर राणाले लामिछाने, ओली र प्रचण्डलाई उनीहरूको निवासमै पुगेर निमन्त्रणा गरेका थिए। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क राईलगायतलाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका महानिर्देशक डा. सुरेश आचार्यले औपचारिक निमन्त्रणा दिएका थिए।
छैन भड्किलो प्रचार
लगातारको वर्षा र प्राकृतिक विपद्का कारण दुई दिनपछि सरेको महाधिवेशनलाई कांग्रेसले यसपटक भड्किलो प्रचारप्रसारबाट टाढा राख्ने निर्णय गरेको छ। भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विपद् तथा असोज ८–११ सम्मको वर्षाबाट भएको मानवीय क्षतिको पृष्ठभूमिमा प्रचार सामग्रीले सहर नढाक्ने कांग्रेसको निर्णय छ।
खुलामञ्चमा एउटा मूल गेटबाहेक अन्य प्रचार सामग्री नराखिने र डिजिटल बोर्ड मार्फत मात्र सूचना प्रवाह गरिने चालिसेले बताए। उम्मेदवारहरूलाई पनि डिजिटल माध्यमबाट मात्रै प्रचार गर्न आग्रह गरिएको छ।
७,७०० भन्दा बढी प्रतिनिधि
कांग्रेसका अनुसार १५औं महाधिवेशनमा ७७ सयभन्दा बढी महाधिवेशन प्रतिनिधि सहभागी हुँदैछन्। यसअघि १४ औं महाधिवेशनमा ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधिहरूको सहभागिता थियो। यो भनेको प्रतिशतका हिसाबले ६२ प्रतिशतभन्दा बढी हो। सभापतिको दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ मत खसेको थियो।
त्यसैले पनि यसपालि कांग्रेसको इतिहासमै यो ठूलो संख्यामा महाधिवेशन प्रतिनिधि सहभागी हुने महाधिवेशन भएको पार्टीको दाबी छ। कांग्रेसको १५ औं महाधिवेशनमा प्रतिनिधि संख्या १४औंको तुलनामा करिब १.६ गुणा पुगेको देखिन्छ।
यस्तो छ महाधिवेशन तालिका
कांग्रेस महाधिवेशनमा असोज १८ मा उद्घाटन सत्र, १९ देखि २० मा बन्द सत्र र २१ देखि २२ सम्म निर्वाचन प्रक्रिया चल्नेछ। महाधिवेशनका लागि १५ वटा समिति गठन गरीएको छ। खुलामञ्चमा उद्घाटनसँगै बन्द सत्रका लागि विभिन्न हल, मिडिया सेन्टर तथा प्राथमिक उपचार केन्द्रको तयारी भइरहेको कांग्रेसले जनाएको छ।
अन्तर्राष्ट्रिय उपस्थिति
सोसलिस्ट इन्टरनेसनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागी हुन नेपाल आइसकेको कांग्रेसले जनाएको छ। १४ औं महाधिवेशनमा भारतबाट बिजेपी नेता हर्षवर्धन द्विवेदीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शुभकामना सन्देशसमेत बोकेर आएका थिए। भारतीय राष्ट्रिय कांग्रेसका महासचिव मुकुल वासनिकको पनि सहभागिता थियो।
प्रतिक्रिया दिनुहोस !