तेस्रो वरीयताका आचार्य सीटीईभीटीको सदस्यसचिव
भक्तपुर: सरकारले सानोठिमीस्थित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को सदस्यसचिवमा प्रमोदभक्त आचार्यलाई नियुक्त गरेको छ। बुधबार नियुक्तिपत्र बुझेका उनले बिहीबार पदबहाली गरेका छन्। २०५१ सालमा सेवा प्रवेश गरेका आचार्य परिषद्को निर्देशक पदमा कार्यरत थिए।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ऐन, २०४५ बमोजिम परिषद्का वरिष्ठ कर्मचारीबाट नेपाल सरकारले तोकेको व्यक्ति सदस्यसचिव हुने व्यवस्था रहेको छ। प्रतिस्पर्धामा रहेका भुवनेश्वर ढुंगाना र डा. अनुज भट्टराई आचार्यभन्दा वरिष्ठ हुन्। उनीहरूलाई पछि पार्दै आचार्य सदस्यसचिव हुन सफल भए।
परिषद् स्रोतका अनुसार आचार्य यसै वर्ष उमेर हदका कारण अनिवार्य अवकाशमा जाँदैछन्। पहिलो वरीयतामा रहेका ढुंगानाले पूरै कार्यकाल सदस्यसचिव हुन पाउने भए पनि नियुक्तिमा उनले अवसर पाएनन्। परिषदमा सदस्यसचिवको पदावधि चार वर्षको हुने गर्छ। आचार्यको नियुक्तिसँगै ६ महिनामै फेरि पद रिक्त हुने र नयाँ सदस्यसचिव छनौट प्रक्रिया सुरु गर्नुपर्ने निश्चित छ।
सीटीईभिटीको सदस्यसचिव सिफारिस समितिले ढुंगाना, भट्टराई र आचार्यको नाम सिफारिस गरेको थियो। प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा बसेको मन्त्रिपरिषद्को बैठकले आचार्यलाई सदस्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो। नवनियुक्त सदस्यसचिव आचार्य लेखा समूहको सहलेखापालबाट सीटीईभीटी प्रवेश गरेका हुन्। १२ बर्से बढुवामा परी अधिकृत भएका उनलाई सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षाको मुख्य प्रशासनिक पदमा पत्याउनु उनको सफलता हो। सीटीईभीटी सुरु हुँदा प्राविधिक पदका कर्मचारीमात्र सदस्यसचिव हुन पाउने व्यवस्था रहे पनि पछिल्लो समय रामहरि देवकोटाको पालामा कानुन संशोधन गरी प्रशासनका कर्मचारी पनि सदस्यसचिव हुन पाएका हुन्।
सरकारले गत वैशाखमा अध्यादेशमार्फत सार्वजनिक पदमा नियुक्त १ हजार ५ सय ९४ पदाधिकारीलाई एकमुष्ठ पदमुक्त गरेसँगै सीटीईभीटीका तत्कालीन सदस्यसचिव इ. महेश भट्टराई बर्खास्तीमा परेका थिए। उनको बर्खास्तीपछि त्यहाँ कार्यरत अधिकृतस्तर प्रथम श्रेणीका निर्देशक भुवनेश्वर ढुंगानालाई निमित्त सदस्यसचिवको जिम्मेवारी दिइएको थियो। त्यसको एक साता पछि डा. अनुज भट्टराईले निमित्त सदस्यसचिवको जिम्मेवारी पाएका थिए। नियुक्तिमा भने निमित्त पाएका दुवै निर्देशकलाई सरकारले पत्याएन।
सदस्यसचिव पद राजनीतिक नियुक्ति नभई प्रशासनिक नियुक्ति भएको र आफूलाई कार्यकाल नसकिँदै बर्खास्त गरिएको प्रति असन्तुष्टि जनाउँदै तत्कालीन सदस्यसचिव भट्टराई सर्वोच्च अदालत पुगेका छन्। सर्वोच्चले सरकारसँग लिखित जवाफ माग गरेको छ। मुद्दाको किनारा नलाग्दै सरकारले नयाँ सदस्यसचिव नियुक्त गरी न्यायालयको समेत अपमान गरेको सरोकारवाला बताउँछन्।
प्रतिक्रिया दिनुहोस !