होङ वंशका कथा रै’छ पूरै उपन्यास। कि किराँतीहरूले देउता मान्ने मिथकीय काव्य! लाग्यो, समात्न गाह्रै पर्ने भो! वर्षौंदेखि ओझेल परेका लाभा ? मन हौसियो।
‘पढ्नुभो...!’ परिचित मनुवाको प्रश्न थियो यो। ‘छैन’ भन्दै धानको बालाझैं मुन्टो परक्कै बटारें। ती मित्रले भने मुख...। उनको हातमा ‘तात्तातै’ आइपुगेको थियो पुस्तक। अहिले, तत्काल, तुरुन्तै, भर्खरै मेलो तुर्नुपर्ने सकसपूर्ण हतारमा देखिन्थे ती मित्र। त्यसैले त उनी सोध्दै थिए, ‘पढ्नुभो...!’
छेउमै रहेको एक ठेम्काने धुवाँ उडाउँदै एकाएक चर्कियो, ‘पुरस्कारै उछिट्ट्याउन लेखेका हुन् बुढाले... यसपालि त सबै पुरस्कार सोत्तर पार्ने भए।’ फेरि धुवाँ उडाउँदै सकसकायो केटो। मैले चियाको गिलास टेबलमा राख्दै केटोको धुवाँ उडाइलाई गहिरिएर हेरें। तर, कताकता किताब पढेको गन्ध धुवाँमा मिसिएको छनक भेटिनँ। उसैउसै रन्थनिएँ। झोक्राइरहें, निकैबेर!
‘कि लेखाए ?’ केटो बाउँडिन खोज्छ, बे! कि उक्साए छेउछाउका टोलीले ? हैट! के भन्छ ठेम्को ? यत्रो प्रसिद्ध कविलाई कसैले उक्साउनुपर्छ ? मनमनै रिसाउँदै छु। ऊ आँखा जुधाउँदै सिँघुरिन खोज्छ। त्यसपछि त्यो केटोलाई वास्ता गर्नै छाडें। वास्ता गर्न छाडेपछि केटो त्यहाँबाट क्षणमै चुरोटको धुवाँझैं बेपत्ता भो। म चुप भएँ। छुकछुक भएँ। कुनापट्टि मुढोमा अडेस लागेर बसेको थिएँ। कुनै पनि ‘पुरस्कार घोषणा हुनु’ अगावै पढिसक्नुपर्छ मैले। ठूलै पाठक पो हुँ म! भ्रम छ मभित्र। के भनूँ ? कविज्यूका कविताले आगो ओकल्दा म नाकका नदी हातले थुन्दै पूर्वकै कुनै पहाडमा कट्टु तान्दै दगुर्दै थिएँ होला। तर आज, तिनै कविज्यूको किताबबारे पठन–अनुभूति पोख्ने भइछु।
खैर, कताकता भड्किएँ फेरि... नायुमाको आत्माझैं! अँ साँच्ची, म ती मनुवासँग थिएँ, भन्दै थिए नि...! त्यै त। क्यार्नु ? किताब त उसैको हातमा थियो। हातमा आइपुग्न कति समय लाग्ने हो ? ठम्याउनै नसक्ने दोसाँधमा थिएँ। एक मनले त किनौं कि भनें। फेरि आफ्नै आर्थिक पुरस्कारका अनेक जटिलता सम्झिएँ। ...झोला टिपें र चिया स्वाट्ट पारें। त्यहाँबाट पुस्तक पसलतिर बेपत्ता भएँ।
२०६२/६३ सालतिर एउटा कविताले निकै चर्चा बटुल्यो। कविताका पिता थिए, उनै प्रसिद्ध कवि श्रवण मुकारुङ। सन्तान थियो— ‘बिसे नगर्चीको बयान’। कविता जनआन्दोलन नामको रथको पांग्रा भएर दगु¥यो। यो कविताले आन्दोलनकारीको मस्तिष्कमा आगो झोस्दा म एसएलसीको तयारीमा रै’छु। निकै वर्षपछि मात्र कविताबारे थाहा पाएको हुँ। पढें, लल्याकलुलुक नै भएँ। झन् राज्यसत्ता नहुने कुरै थिएन। त्यसको ठ्याक्कै २०–२२ वर्षपछि अहिले उनकै चर्चित उपन्यास ‘सलह’ हातमा छ। सलह अर्थात् फट्यांग्रा जातिको कीरा। उडेर पुग्छ नि जताततै! यसको खराब बानी भनेकै बाली भसक्कै पार्ने हो। तर, यो पुस्तकरूपी लोकष्ट (सलह) का जननी मुकारुङले चाहिँ के भसक्कै पार्लान् त ? त्यो जान्न तपाईँले पढ्नैपर्ने हुन्छ।
खैर, गुगलदाइसँग केहीबेर नोकझोक गर्दा इतिहासमा २०२० सालतिर ठूलै संख्यामा मरुभूमिका सलह नेपाल छिरेको पाइयो। त्यसपछि पनि सलह छिरे होलान् तर त्यतातिर खासै चासो राखिनँ। यो कीराले मान्छेले वर्षदिनभरि खाने बालीनाली भुसकुट पार्ने भएकाले एक किसानको मिहिनेतको सपना रित्याइदिन सक्छ। तर, यसपटक कसैलाई हानि नगर्ने गरी झन्डै नेपाल छिरेको ६० वर्षपछि सहरमा फेरि सलह एकाएक देखा परेको छ। यसपटक सलहको हूल छैन। यसले बालीनाली बिगार्ने छैन। बरु केही पाठकको, केही समीक्षकको, केही साहित्यिक बौद्धिक व्यक्तित्वको दिमाग भने पक्कै भुसकुट पार्न सक्छ। यो सलहसँग नायुमाका दुःखका चाङ छन्। त्यहाँ कथा, कथाका उपकथा, उपकथाका पनि छुट्टै उपकथा हुँदै सिंगो उपन्यास छ।
उपन्यासको सलह बनेकी छन्— नायुमा। उपन्यासको मुख्य पात्र भनौं न! उनी जताजता भौंतारिएकी छन्, जताजता दगुरेकी छन्, जताजता समयकै कुलोमा जिन्दगी नामको पानी बनेर बगेकी छन्, कथ्य उतैउतै मोडिएको छ। उतैउतै कथाले सुखदुःखको कुलो, खोल्चो बनाएको छ। उनीसँग जो–जो ठोक्किन आएका छन्, ती उपन्यासका मरन्च्याँसेदेखि पोसिला पात्र बनेर बौरिएका छन्। उनको दुःख सलहझैं उनीसँगै टाँसिएर जिन्दगी नामको एउटा बडो दुःखदायी भनौं कि सुखदायी यात्रामा छ। त्यो यात्रामा झरीका बेला मझेरीबाट खस्ने पानीका थोपाझैं तपतप गर्दै पूर्वको होङ वंशको इतिहास थोरै खसेको छ। अलि धेरै कमैया प्रथाका सुखदुःखका पाप्रा छन्। हुर्कंदै गरेको जवानी र जवानीले लतपताएका रङ छन्।
नायुमाका चाह, इच्छा र रहरका भाका छन्। गाउँबाट झरना बनेर झरेको एक खोल्चो सपना कथा बनेर सहर पसेको छ। सहरभित्र झेल्नुपर्ने दुःखको पहाड छ। ती पहाडबाट खस्नुपर्ने मान्छेको नियति छ। नियति हो कि व्यवस्थाले हामीमाझ राखिदिएको असमानता छ, अव्यवस्था छ। पात्रसँग केही प्रतिशोधी भावना छ र सँगै अस्तित्व बोध। झगडाको बिउ छ। समाज विज्ञान छ।
राजनीति छ। अर्थशास्त्र छ। नायुमाको सिंगो जिन्दगी छ। त्यो छोटो तर कटाउन कति गाह्रो छ भन्ने दुःखको सार छ। सुखका फाटफुट सार पनि छन्। तर, नायुमाको अनुहारमा उदाउने जाबो एउटा घाम छैन। उनका लागि शीतलता छरिदिने जूनतारा कहीँकतै छैनन्। बीचबीचमा भाँचिन लागेको लौरोझैं केही पात्र सहारा बनेर देखा भने पक्कै परेका छन्। तर, तिनको भरथेगले उनको संघर्षशील जिन्दगी धानेको छैन।
उपन्यास पढ्न सुरु गर्दा होङ वंशका कुरा आए। लाग्यो, होङ वंशका कथा रै’छ पूरै उपन्यास। कि किरातीहरूले देउता मान्ने मिथकीय काव्य! लाग्यो, समात्न गाह्रै पर्ने भो! वर्षौंदेखि ओझेल परेका लाभा ? मन हौसियो। तर, जब नायुमालाई पूर्वको किराती पहाडबाट टपक्क टिपेर सहरको वैकुण्ठ कोलोनीभित्र लेखकले छिराए, केही क्षण म त फत्रक्कै भएँ। हन, बुढालाई साँच्चिकै उक्साए कि क्या हो ? खैर, तैपनि उपन्यासमा लोभिँदै गएँ।
लेखन बेजोड! कस्तो मिठासपूर्ण, साहित्यिक, हास्यरस र स्वादिलो। कथा उन्ने शैली/लयका हिसाबले अब्बल। मनमा छाप बनेरै बस्ने। तर, पुस्तकका केही प्लटमा प्राविधिक त्रुटि छन्/भेटिन्छन्। गलत हुन सक्छु, काठमाडौंजस्तो कुच्रुक्क परेको सहरमा नायुमा भाग्दा/जेल पर्दा वैकुण्ठ कोलोनीवासीले ‘तँलाई कहाँ खोजेनौं हामीले ? पुलिस गुहारेनौं कि ? माइती नेपाल गुहारेनौं कि ? रेडियो, टेलिभिजन, एफएम, पत्रपत्रिका कसलाई गुहारेनौं! तीन सहरको के कुरा, गाउँ नै पुगेनौं कि ?’ भन्दा चाहिँ कताकता नमिल्दो लाग्ने। यस्ता अमिल्दा प्रसंग केही छन्। यत्रो हल्लाखल्लामा नायुमा नभेटिने विशाल सहर काठमाडौं होइन। हुन त उपन्यास न हो, कल्पनाको यात्रामा यो पच्य कुरा नै हो।
त्यसैगरी, फकल्यान्ड युद्ध र जुद्धबहादुरको उमेरमा शंका गर्नुपर्ने हुन्छ। औंला भाँच्ने हो भने उनी ७०–८० को उमेर आसपास छन्। त्यो बेलासम्म वैकुण्ठ कोलोनीका मान्छे र झाँक्रीसँग जुधेर बस्ने सामथ्र्य मान्छेसँग मत्थर भइसकेको हुन्छ। तर, उनी अझै जवानझैं देखिन्छन्। अनि, अर्को कुरा नि!
ब्राह्मण/क्षेत्रीका पात्र खराब हुन्, तर केही हुन्, सबै होइनन्। यहाँ देखापर्ने सबै खराब ब्राह्मण/क्षेत्रीका पात्रहरू तिनै केहीभित्रका हुन् भन्ने मनसाय आम पाठकले बुझ्नुपर्छ पठनबाट, कामना छ। त्यसैगरी, श्रम शोषणका मुद्दा देखापर्दा कम्युनिस्ट ठीक भन्ने तर्क सार्दिएका छन् लेखकले। व्यवस्था परिवर्तन हुँदा मालेले ठीकै ग¥यो भन्ने विषय आएको छ। आन्दोलन आसपासमा नामै राखेर गगनकुमार थापा कुन पार्टीका नेता हुन् भन्ने भाती पु¥याएरै नायुमाकै कथावरपरको ‘लिग’मा हिँडाएका छन्। राजनीतिक आँखाबाट नियाल्दा चातुर्य देखिन्छ लेखनीमा।
खैर, यसो भन्दै गर्दा नायुमाले बाँचेको जिन्दगी भने भव्य नै हो, छ— आजको हरेक भुइँमान्छेले बाँच्ने जिन्दगी। र, यो जिन्दगी बाँच्नु र बुझ्नुमा फरक कुरा रै’छ। बाँच्नु, बुझ्नु र भोग्नुमा त बिलकुल फरक। बाँच्नु, बुझ्नु, भोग्नु र विरोध गर्नुमा झन् बिलकुलै भयानक। त्यसैले, उपन्यासमार्फत ‘त्यो जिन्दगी’ एकपटक मनन चाहिँ गर्नुपर्ने देखिन्छ, किनकि त्यहाँ मान्छेका अनेकन् आवरण कथामार्फत आउँछन्। मुकुन्डो भिरेका अनुहार। त्यो अनुहारभित्र लुकेका पत्रैपत्र लेखकले उप्काइदिएका छन् र हामीमाझ छताछुल्ल पारिदिएका छन्।
नायुमाले बाँच्दै आएको जिन्दगी ईश्वरीय कल्पना होस् वा पारुहाङको कथा होस्, किरातीहरूको होङ वंशको मिथक/इतिहास होस् वा राज्य निर्माणका गुण/अवगुण, समाजका चित्र/विचित्र होस् वा सांस्कृतिक कर्म/पर्म/पर्व, पर्यावरणका अनेकौं नोकझोक होस् या राजनीतिक घोचपेच; यी सबैसबैका दर्शनभित्र छिपेको मान्छे नामको एउटा सलहले मान्छे नामको अर्को सलहलाई कसरी निमिट्यान्न पार्न उद्वेलित छ ? र, सामाजिक व्यवस्थामा एउटा पिँधमा बाँच्दै गरेका तिनै आम मान्छेले जिन्दगीको अनेकन् संघर्षमा सलहझैं कताकता भौंतारिनु परेको छ वर्तमान समाज/समयमा भन्ने विषयको झिल्का/तान्द्रो तन्किएर काव्यिक र खँदिलो बनेर पोसाएकै पुस्तकका रूपमा उभिएको छ, उपन्यास।
र अन्त्यमा, भनुँ कि नभनुँ ? डर छ, सलहका रूपमा उपन्यास आउनु नै आम पाठक/लेखकका लागि सबैभन्दा ठूलो पुरस्कार हो, तर लेखकको साहित्यिक योगदान अतुलनीय छ। त्यो योगदानको कदर गर्दै पुरस्कृत हुनुभएको भए चाहिँ म निकै खुसी हुने थिएँ, किनकि मान्छे हुँ, ‘सही होस् वा गलत’, लाग्छ नि कहिलेकाहीँ, नदीशको कविताजस्तै— ‘...बेत्थामा खेर फालें,
अर्कोले पो जिउँथ्यो कि ?’
प्रतिक्रिया दिनुहोस !