न्यून संख्यासहित नवलपरासीमा कांग्रेस देउवा समूहको जिल्ला सम्मेलन
परासी : सहभागीहरुको न्यून सहभागितासहित नवलपरासीमा शेरबहादुर देउवा समूह कांग्रेसको जिल्ला सम्मेलन भएको छ । कांग्रेसको संस्थापन (गगन थापा नेतृत्व) ले १५ औं महाधिवेशनको प्रक्रिया अघि बढाइरहेका बेला देउवा समूहले पनि समान्तर महाधिवेशनको तयारी सुरु गरेको हो । नवलपरासीमा संस्थापनको वडा र क्षेत्रीय अधिवेशनहरु सकिएलगत्तै शनिबार देउवा समूहको जिल्ला अधिवेशन तयारी समितिले जिल्ला सम्मेलनको आयोजना गरेको हो ।
सम्मेलनमा झण्डै ४० जनाको हाराहारीमा सहभागीहरू रहेका थिए । जिल्लाबाट केन्द्रीय सदस्य भएका र पुराना नेताहरू भने संस्थापनको अधिवेशनमा सहभागी भएका थिए । सम्मेलनमा उपस्थितिको संख्याले नवलपरासीमा देउवा समूहको संगठन कमजोर रहेको अनुमान गरिएको छ ।
जिल्ला सम्मेलनले अधिवेशन गर्नका लागि दुई निर्वाचन क्षेत्र र ७ वटा पालिकामध्ये ६ वटामा संयोजक तोकेको छ । प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा राजुप्रसाद अधिकारी र क्षेत्र नम्बर २ मा विक्रम रानालाई संयोजक तोकिएको छ ।
त्यस्तै पालिकास्तरमा रामग्राममा प्रकाश चौधरी, सुनवलमा गमबहादुर गुरुङ्, सरावलमा कृष्णदत्त चौधरी, पाल्हीनन्दनमा तारेन्द्र बर्मा, प्रतापपुरमा कमलेश कुमार गुप्त र सुस्तामा अजमुद्दिन मियाँलाई संयोजक तोकेर अधिवेशनको तयारी सुरु गरिएको केन्द्रीय प्रतिनिधि विकास घिमिरेले जानकारी दिए ।
वडा अधिवेशन असोज १८ गते, असोज २१ गतेसम्म क्षेत्रीय अधिवेशन सकेपछि जिल्ला अधिवेशन सुरु गरिने घिमिरेले बताए । अधिवेशनमा सहभागी हुने क्रियाशील सदस्य भने १४ औं महाधिवेशनकै रहेका छन् । जसअनुसार जिल्लामा ८ हजारको हाराहारीमा क्रियाशील सदस्यहरू रहेको घिमिरेले जानकारी दिए । अधिवेशन गर्नका लागि केन्द्रबाट जिल्ला संयोजकमा धर्मदत्त चापागाईँलाई जिम्मेवारी दिइएको छ ।
यसैबीच सम्मेलनको उद्घाटन गर्दै ट्रेड युनियनका सल्लाहकार अयोध्याप्रसाद यादवले तत्काल राजनीतिक लाभ लिन खोज्नेहरुले पार्टीलाई फुटको संघारमा पुर्याएको आरोप लगाए ।
अहिले विशेष महाधिवेशनको नाममा गठन गरिएको कांग्रेस र नियमित महाधिवेशन गराउन खोजेको देउवा नेतृत्वको कांग्रेसबीच क्रान्ति सुरु भएको बताउँदै पार्टीको मूल्य, मान्यता र परम्परालाई जोगाउन आफूहरूले गर्न लागेको नियमित महाधिवेशनमा सक्रियरुपमा लाग्न यादवले कार्यकर्तालाई आग्रह गरे ।
विशेष महाधिवेशनका नाउँमा भएको अधिवेशनमार्फत निर्वाचित भएका प्रतिनिधिहरूलाई राजीनामा दिएर आउन र त्यसरी आउनेहरूलाई उचित स्थान दिइनेसमेत यादवले बताए । देउवा समूहले आगामी मंसिर २१, २२ र २३ गते महाधिवेशनको मिति तोकेको छ ।
प्रतिक्रिया दिनुहोस !