ज्ञानेन्द्र शाहीले भने : रास्वपाकै सरकार छ, जुम्लाको स्याउ बजारमा रहेसम्म विदेशको रोकिदिनुहोस्
काठमाडौं : राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारलाई नेपाली स्याउलाई प्राथमिकता दिन आग्रह गरेका छन्। किसानले उचित मूल्य नपाएको बताउँदै शाहीले जुम्लाको स्याउ बजारमा रहने समयसम्म विदेशबाट आयात हुने स्याउ रोक्न सरकारसँग अपिल गरेका हुन्।
शाहीले जुम्लाको स्याउ बाँडेर केन्द्रीय समिति बैठक सुरु गरेकोमा रास्वपा सभापति रवि लामिछानेप्रति आभार व्यक्त गर्दै जुम्लाको स्याउको प्रचारमा यसले सहयोग पुग्ने बताए। उनले सरकार र कृषि मन्त्रालय रास्वपाकै नेतृत्वमा रहेकाले किसानले उचित मूल्य पाउने वातावरण निर्माण गर्न आग्रह गरे।
‘जुम्लाको स्याउ बाँडेर रास्वपाको केन्द्रीय समिति बैठक सुरु गरिदिनुभएकोमा पार्टी सभापति रवि लामिछानेज्यूलाई धेरै–धेरै धन्यवाद।’ उनले भने, ‘तर सरकार तपाईंहरूको छ, कृषि मन्त्रालय र मन्त्री पनि तपाईंहरूकै छन्। जुम्लाको स्याउ अहिले बजारमा छ, तर किसानले उचित मूल्य पाएका छैनन्। मेरो आग्रह छ—जुम्लाको स्याउ बजारमा रहने समयसम्म विदेशबाट आउने स्याउ रोकिदिनुहोस्। यति गरिदिनुभयो भने जुम्लेली किसानले तपाईंको यो गुण कहिल्यै बिर्सने छैनन्।’
आज रास्वपा सभापति लामिछानेले पार्टी केन्द्रीय कार्यालय घन्टीघरमा जुम्लाको स्याउ बाँडेर केन्द्रीय समिति बैठक सुरु गरेका थिए।
प्रतिक्रिया दिनुहोस !