पार्टी केन्द्रीय कार्यालय अन्यत्र सार्ने रास्वपाको निर्णय
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वनस्थलीमा रहेको पार्टी केन्द्रीय कार्यालय अन्यत्र सार्ने भएको छ। शनिबार बसेको केन्द्रीय समितिको बैठकले पार्टी कार्यालय सार्नुपर्ने आवश्यकता महसुस गर्दै उपत्यकामा पायक पर्ने स्थानमा जमिन तथा घर खोजी गर्न पार्टीका सदस्यहरूलाई अनुरोध गरेको छ।
यस्तै, आजको बैठकले स्थानीय तहको निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन गरेको छ। आगामी स्थानीय तहको निर्वाचनका लागि पार्टीका महामन्त्री विपिन आचार्यको संयोजकत्वमा गठित केन्द्रीय उम्मेदवार छनोट समितिमा ७ सदस्य मनोनयन गरेको हो। मनोनित सदस्यहरुमा मिलन लिम्बु, रहबर अन्सारी, तोसिमा कार्की, कविन्द्र बुर्लाकोटी, सुशान्त बैदिक, टासी ल्हाजोम र जनक सिंह धामी रहेका छन्।
यस्तै पार्टीको सातै प्रदेशका सभापतिहरु पदेन समितिमा सदस्य रहने पार्टीका प्रवक्ता जगदीश खरेलले बताए।
प्रतिक्रिया दिनुहोस !