देउवाबिनै आजदेखि कांग्रेस महाधिवेशन
काठमाडौं : लामो राजनीतिक इतिहास बोकेको मुलुकको दोस्रो ठूलो दल नेपाली कांग्रेसको १५औं महाधिवेशन आइतबारदेखि काठमाडौंमा सुरु हुँदैछ। खुलामञ्चमा उद्घाटन हुने महाधिवेशनले पार्टीभित्र नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र संगठनात्मक पुनर्संरचनालाई संस्थागत गर्नेछ। महाधिवेशनमा एकातिर युवा पुस्ताका नेताहरू केन्द्रीय कार्यसमितिमा प्रवेशका लागि धमाधम उम्मेदवारी घोषणा गरिरहेका छन् भने अर्कोतिर कांग्रेसका लामो समय निर्णायक शक्ति केन्द्र बनेका पूर्वसभापति शेरबहादुर देउवा महाधिवेशनको प्रक्रियाबाट बाहिर छन्। देउवाले छुट्टै महाधिवेशन गर्दै छन्। विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वमा महाधिवेशन हुँदैछ।
प्रवक्ता देवराज चालिसेका अनुसार कांग्रेसले यसपटकको महाधिवेशनलाई नेता छान्ने अधिवेशनका रूपमा मात्रै सीमित नगर्ने बताएको छ। ‘नेता छनोटभन्दा नीति छनोटलाई प्राथमिकता दिएका छौं,’ चालिसेले भने, ‘पदाधिकारी चयन सकेसम्म सर्वसम्मत रूपमा गर्ने प्रयास भइरहेको छ।’
प्रवक्ता चालिसेले कांग्रेसको विधान र परम्पराअनुसार पार्टी सभापतिले नै महाधिवेशन उद्घाटन गर्ने प्रचलन रहेकाले पूर्वसभापति शेरबहादुर देउवालाई उद्घाटनका लागि आग्रह गरिएको उनले जानकारी दिए। देउवा उपस्थित हुन नसके वर्तमान सभापति गगन थापाले महाधिवेशन उद्घाटन गर्ने तयारी रहेको उनले बताए।
महाधिवेशनमा आगामी ५ वर्षका लागि पार्टीको राजनीतिक, आर्थिक, उत्पादन, रोजगारी तथा विदेश नीतिसम्बन्धी दृष्टिकोण समेटिएको कार्यपत्र सभापति थापाले प्रस्तुत गर्ने तयारी छ। बन्दसत्रमा नीति, कार्यक्रम र समसामयिक प्रतिवेदनमाथि छलफल हुने भनिएको छ। उम्मेदवारी मनोनयनअघि विधान संशोधन प्रस्तावमाथि महाधिवेशन हलमै छलफल गरी आवश्यक निर्णय गर्ने तयारी छ।
कांग्रेसले महाधिवेशनस्थल, मञ्च, आवास, भोजन, स्वास्थ्य, अतिथि सत्कार तथा सञ्चार व्यवस्थापनका लागि छुट्टाछुट्टै संयन्त्र परिचालन गरेको छ। सभापति थापाको संयोजकत्वमा केन्द्रीय व्यवस्थापन समिति बनाइएको छ। ७ हजारभन्दा बढी प्रतिनिधि सहभागी हुने महाधिवेशनको उद्घाटन र बन्दसत्र दुवै खुलामञ्चमै गर्ने तयारी गरिएको छ। प्रतिनिधि दर्ता असोज १७ बाट सुरु भएको हो भने असोज १९ र २० गते बन्दसत्र तथा असोज २१ र २२ गते निर्वाचन गर्ने कार्यतालिका छ।
दौडमा नयाँ पुस्ता
महाधिवेशनको सबैभन्दा देखिने परिवर्तन भने केन्द्रीय सदस्यमा युवा पुस्ताको बढ्दो दाबी हो। कांग्रेसका विभिन्न तहका कार्यसमिति तथा भ्रातृ संस्थामा जिम्मेवारी सम्हालिसकेका युवा नेताहरूले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरिरहेका छन्।
सुदूरपश्चिम प्रदेशकी सहमहामन्त्री अम्बिका चलाउनेदेखि काठमाडौं–४ बाट पछिल्लो निर्वाचनमा कांग्रेस उम्मेदवार बनेका सचिन तिमिल्सिनासम्म केन्द्रीय कार्यसमितिमा पुग्ने दौडमा छन्।
पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाका नाति सिद्धार्थ थापाले पनि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन्। विशेष महाधिवेशनका अभियन्तामध्येका जनक चटौत, अछाम–१ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित डा. डीबी सुनार, त्रिभुवन विश्वविद्यालयका निवर्तमान स्ववियु सभापति श्याम ओझा तथा कञ्चनपुर–१ बाट प्रतिनिधि बनेका मदन उपाध्याय, बाँके–३ बाट प्रतिनिधि बनेकी पत्रकार कमला हमाल, काठमाडौं–१ बाट प्रतिनिधि बनेका प्रबल थापा पनि यही दौडमा छन्।
सोलुखुम्बुबाट प्रतिनिधि निर्वाचित कांग्रेस सांसद गीता गुरुङ, युवा नेता सुशील भट्ट, बाराका नवराज त्रिपाठी र मेघा शाही, कैलालीका आदर्श मल्ल, डडेल्धुराका भुवन भट्टलगायतले पनि केन्द्रीय सदस्यमा दाबी गरेका छन्। त्यस्तै, सिन्धुलीका मुकेश घिमिरे, तनहुँ–२ का राजकुमार श्रेष्ठ, तनहुँ–१ की एलिजा ढकाल, डडेल्धुराका भरत वडायर जोशी, दैलेखका प्रेम शाही, मोरङ–३ का सविन पराजुली, रोल्पाका डा. सुदनकुमार वली र खोटाङका बिकल राई पनि केन्द्रीय सदस्यको दौडमा छन्।
३५ वर्षमुनिका ४९५ प्रतिनिधि
कांग्रेसको महाधिवेशनमा यसपटक युवा पुस्ताको उपस्थिति केवल उम्मेदवारी घोषणामा मात्र सीमित छैन। १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिको कोटामा ४ सय ९५ जना महाधिवेशन प्रतिनिधि आएका छन्। यीमध्ये केहीले खुला तथा विभिन्न समावेशी समूहबाट समेत केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।
कांग्रेसको विधानमा ३५ वर्षमुनिका लागि केन्द्रीय कार्यसमितिमा २१ सदस्यको व्यवस्था छ। सात प्रदेशबाट दुई–दुई जनाका दरले १४ जना निर्वाचित हुनेछन् भने बाँकी ७ जना सबै प्रदेशका मतदाताबीचको प्रतिस्पर्धाबाट आउने व्यवस्था छ। प्रदेशबाट निर्वाचित हुने १४ मध्ये ७ जना महिला हुनुपर्ने व्यवस्था छ।यसका अतिरिक्त खुला तथा अन्य क्लस्टरबाट समेत युवा नेताहरू केन्द्रीय कार्यसमितिमा प्रवेश गर्न सक्छन्। यसले यसपटकको महाधिवेशनमा एउटा महत्वपूर्ण पुस्तान्तरणको सम्भावना सिर्जना गरेको छ।
कांग्रेसले पछिल्लो संशोधित संरचनामा महिला, युवा, दलित, अल्पसंख्यक तथा अन्य समुदायको प्रतिनिधित्वलाई पनि विस्तार गरेको छ। ८ तहको संगठनात्मक संरचनामा ३३ प्रतिशत महिला प्रतिनिधित्व अनिवार्य गरिएको तथा हरेक तहमा युवा प्रतिनिधित्व सुनिश्चित गरिएको कांग्रेसले जनाएको छ।
२१ वर्षपछि देउवा महाधिवेशनको प्रक्रियाबाहिर
युवा पुस्ता सानेपा प्रवेशको तयारीमा रहेका बेला कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा भने करिब दुई दशकपछि कांग्रेसको मूल महाधिवेशन प्रक्रियाबाट बाहिर छन्।
०५७ सालको १०औं महाधिवेशनमा देउवाले गिरिजाप्रसाद कोइरालासँग सभापतिका लागि प्रतिस्पर्धा गरेका थिए। ०५९ सालमा कांग्रेस विभाजन गरी नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरेपछि उनी ११औं महाधिवेशनको मूल कांग्रेस प्रक्रियाबाट बाहिर रहे।
०६४ सालमा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकीकरण भएपछि उनी १२औं महाधिवेशनमा पुनः कांग्रेसको मूल धारमा फर्किए। १२औं महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका देउवा १३औं र १४औं महाधिवेशनमा भने सभापति निर्वाचित भएर कांग्रेसको केन्द्र आफूमा स्थपित गरे। १४औं महाधिवेशनमा शेखर कोइरालालाई दोस्रो चरणमा पराजित गरेर सभापतिमा निर्वाचित भएका थिए।
पुसमा गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा भएको विशेष महाधिवेशनपछि थापा नेतृत्वमा आए। विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई लिएर देउवा पक्षले वैधानिकता चुनौती दिँदै आएको छ। निर्वाचन आयोग र सर्वोच्च अदालतका पछिल्ला प्रक्रियापछि पनि विवाद पूर्ण रूपमा अन्त्य भएको छैन। सर्वोच्चले विशेष महाधिवेशनसम्बन्धी अघिल्लो फैसलाको पुनरावलोकनका लागि अनुमति दिएपछि देउवा पक्षले आफ्नो कानुनी दाबी कायम राखेको छ।
देउवा नआउने, निम्तो भने गयो
महाधिवेशनको पूर्वसन्ध्यामा सबैभन्दा बढी चासो देउवाको उपस्थितिलाई लिएर थियो। सभापति थापाले देउवालाई महाधिवेशनमा सहभागी भएर उद्घाटन गर्न आग्रह गरेका थिए। थापा पक्षले पूर्वसभापतिलाई सम्मानपूर्वक महाधिवेशनमा सहभागी गराउने प्रयास गरेको सार्वजनिक रूपमा बताउँदै आएको थियो। तर देउवा पक्षले असोजको महाधिवेशनलाई स्वीकार गरेको छैन। देउवानिकट नेता डा. प्रकाशशरण महतले देउवा उद्घाटन सत्रमा नआउने जानकारी शनिबार सञ्चारकर्मीमार्फत गराएका थिए।
देउवा पक्षले मंसिर २१–२३ गते काठमाडौंमा १५औं महाधिवेशन गर्ने कार्यतालिका अघि सारेको छ। कार्यतालिका निर्वाचन आयोगमा समेत जानकारी गराइएको छ। आयोगले पत्रलाई अभिलेखमा राखेको छ। यससँगै कांग्रेसको इतिहासमा लामो समयपछि पूर्वसभापति नै पार्टीको एउटा पक्षको महाधिवेशनमा सहभागी नहुने अवस्था बनेको छ।
दुई महाधिवेशन, एउटै कांग्रेस
असोज १८ आइतबारदेखि २२ सम्म थापा नेतृत्वको समूहले महाधिवेशन गर्दै छ। देउवा पक्षले भने वडा अधिवेशनदेखि नयाँ प्रक्रिया सुरु गरेर मंसिर २१–२३ मा काठमाडौंमा केन्द्रीय महाधिवेशन गर्ने कार्यतालिका बनाएको छ। असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्ने, असोज २० गते पालिका, असोज २३ गते प्रदेश तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका देउवा पक्षले सार्वजनिक गरेको छ। कांग्रेसको मूल विवाद अहिले केवल सभापति को बन्ने भन्नेमा सीमित छैन। कुन महाधिवेशन आधिकारिक हो, कुन कार्यसमिति वैधानिक हो र अन्ततः कांग्रेसको संगठनात्मक निरन्तरता कुन प्रक्रियाबाट कायम हुन्छ भन्ने प्रश्न पनि सँगसँगै जोडिएको छ।
गगनका लागि महाधिवेशनको अर्थ
सभापति थापाका लागि यो महाधिवेशन नेतृत्व चयनभन्दा पनि आफ्नो नेतृत्वलाई संगठनात्मक रूपमा स्थापित गर्ने अवसरका रूपमा आएको छ। विशेष महाधिवेशनबाट सभापति बनेपछि उनको नेतृत्वमा पहिलोपटक नियमित महाधिवेशन हुँदै छ। त्यसैले उनले नयाँ विधान, नयाँ संगठनात्मक संरचना, युवा प्रतिनिधित्व र प्रविधिमैत्री पार्टी निर्माणको नारालाई महाधिवेशनसँग जोडिरहेका छन्।
कांग्रेसले पनि पार्टीलाई कांग्रेस २.० को अवधारणासहित आधुनिकीकरण गर्ने सन्देश अघि सारेको छ। तर, त्यससँगै थापाको नेतृत्वले पुरानो संस्थापनसँगको विवाद कसरी व्यवस्थापन गर्छ भन्ने प्रश्न पनि महाधिवेशनको समानान्तर एजेन्डा बनेको छ।
खुलामञ्चमा शक्ति प्रदर्शन होइन, नयाँ कांग्रेसको दाबी
कांग्रेसले खुलामञ्च रोज्नु पनि प्रतीकात्मक छ। महाधिवेशनस्थलको तयारी अन्तिम चरणमा पुगेको छ। मञ्च निर्माण सकिएको छ र हजारौं प्रतिनिधिलाई व्यवस्थापन गर्ने संरचना तयार पारिएको छ। पार्टीका अनुसार खुलामञ्च रोज्नु शक्ति प्रदर्शनका लागि नभई ऐतिहासिक तथा राजनीतिक महत्व बोकेको स्थल भएको बताइएको छ।
कांग्रेसको ८ दशक लामो इतिहासमा नेतृत्व संघर्ष, गुटबन्दी र विभाजन नयाँ विषय होइनन्। तर, यसपटकको विशेषता के हो भने एकातिर पार्टीको मूल महाधिवेशनमा युवा पुस्ताको उल्लेखनीय प्रवेशको तयारी छ, अर्कोतिर पूर्वसभापतिको नेतृत्वमा अर्को महाधिवेशनको प्रक्रिया पनि अघि बढिसकेको छ।
फुट्दै, जुट्दै, फेरि फुट्दै कांग्रेस
पार्टीमा देखिएको दुई धार कांग्रेसको इतिहासमा पहिलो घटना होइन। कांग्रेस स्थापनाकै केही वर्षमा बीपी कोइराला र मातृकाप्रसाद कोइरालाबीचको शक्ति संघर्षले पार्टी विभाजनको रूप लिएको थियो। २००९ सालमा मातृकालाई कारबाही गरिएपछि २०१० सालमा वीरगन्ज सम्मेलनमार्फत छुट्टै पार्टी गठन भएको थियो।
२०४६ पछिको कांग्रेसमा गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला तीन शक्ति केन्द्रका रूपमा देखिए। २०४८ को निर्वाचनपछि फेरि विभाजित भए।
२०५९ मा गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवाबीचको विवाद पार्टी विभाजनसम्म पुग्यो। देउवाले नेपाली कांग्रेस प्रजातान्त्रिक गठन गरे र ५ वर्षपछि २०६४ मा दुई पार्टीबीच एकीकरण भयो। १३औं महाधिवेशनमा देउवा, रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाबीच त्रिकोणात्मक प्रतिस्पर्धा भयो भने १४औंमा देउवा र शेखर कोइरालाबीच मुख्य प्रतिस्पर्धा देखियो। अहिले फेरि कांग्रेस दुई समानान्तर प्रक्रियाको अवस्थामा पुगेको छ।
प्रतिक्रिया दिनुहोस !