को थिए फ्लाइ दुबईका ती पाइलट ?

गत वर्ष ओमानको राष्ट्रिय एयरलाइन्सबाट हटाइएको पुष्टि

को थिए फ्लाइ दुबईका ती पाइलट ?
सुन्नुहोस्

सीएनएन/न्युयोर्क : बुधबार तेल अभिभतर्फ उडिरहेको फ्लाइ दुबईको विमानमा अर्का पाइलटमाथि आक्रमण गरेको आशंका गरिएका पाइलटलाई उग्रवादी विचारका कारण गत वर्ष ओमानको राष्ट्रिय एयरलाइन्सबाट हटाइएको थियो। घटनाक्रमबारे जानकारी भएका दुई स्रोतले सीएनएनलाई यो जानकारी दिएका हुन्।

दुई स्रोत र एक इजरायली अधिकारीका अनुसार ती पाइलट हम्मम अल–हम्मामी नाम गरेका ओमानी नागरिक हुन्। साउदी राज्य सञ्चारमाध्यमले पनि अल–हम्मामीको पहिचान पुष्टि गरेका छन्। उनका पिता ओमानी र आमा सिरियाली हुन्। उनी संयुक्त अरब इमिरेट्समा जन्मिएका र आफ्नो जीवनका धेरै वर्ष यूएईमै बिताएको स्रोतले थपेको छ।

हम्मम अल–हम्मामीको नाममा रहेको लिंक्डइन प्रोफाइल अनुसार उनले फेब्रुअरी २०२५ मा छाड्नुअघि ओमान एयरमा ७ वर्ष काम गरेका थिए। त्यसपछि जुन २०२५ मा रोयल एयर म्यारोक मा आबद्ध भई जनवरी २०२६ मा त्यहाँबाट बाहिरिएका थिए। प्रोफाइलमा फ्लाइ दुबईको भने कुनै उल्लेख थिएन। एक स्रोतले यो प्रोफाइल बुधबारको घटनामा संलग्न फ्लाइ दुबईका पाइलटकै भएको पुष्टि गरेको छ। उक्त प्रोफाइल अहिले हटाइसकिएको छ भने सीएनएनले प्रतिक्रियाका लागि लिंकडइनलाई सम्पर्क गरेको छ।

  •  फ्लाइ दुबईको विमानमा सहपाइलटमाथि आक्रमणको आशंका गरिएका पाइलट हम्मम अल–हम्मामीलाई उग्रवादी विचारका कारण ओमान एयरको उडान तालिमबाट हटाइएको स्रोतहरूको दाबी।
  • उनले ओमान एयरमा करिब ७ वर्ष काम गरेका थिए। त्यसपछि रोयल एयर म्यारोकमा काम गरी २०२६ मा फ्लाइ दुबईमा आबद्घ भएको विवरण।
  • घटनापछि उनको लिंक्डइन र इन्स्टाग्राम प्रोफाइल हटाइएको छ। प्रोफाइलमा घटना भएको दिन बोइङ ७३७ म्याक्सका ककपिट भिडियो पोस्ट गरिएको थियो।

दोस्रो स्रोतका रूपमा रहेका क्षेत्रीय कूटनीतिज्ञले सीएनएनलाई बताएअनुसार, कट्टरपन्थी विचारको आशंकाका कारण उनलाई उडान तालिमबाट हटाएर ओमानको राष्ट्रिय एयरलाइन्समा अर्कै जिम्मेवारी दिइएको थियो। बिहीबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले आशंकित व्यक्ति ‘इस्लामी उग्रवादी विचारधाराबाट प्रभावित’ भएको विश्वास गरिएको बताएका थिए।
इजरायली अधिकारीले सीएनएनलाई दिएको जानकारी अनुसार अल–हम्मामीले फ्लाइ दुबईमा ८ महिनामात्र काम गरेका थिए। चौथो स्रोतका अनुसार आक्रमणका आशंकित पाइलटले यसअघि रोयल एयर म्यारोकमा काम गरेका थिए।

यी तथ्यहरू सार्वजनिक भएसँगै उड्डयन क्षेत्रको भर्ना प्रक्रियामा पृष्ठभूमि जाँचको महत्वबारे चासो र प्रश्न उठेको छ। सीएनएनले प्रतिक्रियाका लागि ओमान एयर, रोयल एयर म्यारोक र दुबई सरकारको मिडिया अफिससँग सम्पर्क गरेको छ।

घटना अनुसन्धानकै क्रममा रहेकाले यसबारे कुनै प्रतिक्रिया दिन नसकिने फ्लाइ दुबईले जनाएको छ।

अंगभंग र हत्याको धम्की

उक्त लिंकडइन प्रोफाइलमा दुईवटामात्र पोस्ट गरिएका थिए, जुन दुवै घटना भएको करिब ९ घण्टापछि एकपछि अर्को गरी द्रुत गतिमा प्रकाशित भएका थिए। ती पोस्ट कसले प्रकाशित ग¥यो वा पहिले नै ‘सेड्युल’ गरेर राखिएको थियो भन्ने स्पष्ट छैन।

पहिलो पोस्टमा बोइङ ७३७ म्याक्स विमानको ककपिटभित्र खिचिएका भिडियो क्लिपहरू थिए। बुधबारको घटनामा साउदी अरेबियातर्फ मोडिएको विमान फ्लाइ दुबईकै ७३७ म्याक्स ८ थियो।

एउटा क्लिपमा—जसको लोकेसन सीएनएनले दुबई अन्तर्राष्ट्रिय विमानस्थल भएको पुष्टि गरेको छ– भिडियो खिच्ने व्यक्तिले इजरायली एयरलाइन्स ‘एल अल’ को विमानलाई जुम गरेर देखाएका छन्। भिडियोमा ककपिटको स्क्रिनले उडान नम्बर–ओएमए ६२४– र मिति अक्टोबर ११, २०२३ देखाएको थियो। यो उडान नम्बर सामान्यतया दुबईबाट मस्कट जाने उडानको हो। उक्त मिति उनले ओमान एयरमा काम गरेको समयसँग मेल खान्छ। भिडियोका अन्य क्लिपहरूमा ‘एल अल’ का थप विमानहरू र अर्को इजरायली एयरलाइन्स ‘आर्किया’ को विमान पनि देखाइएको छ।

भिडियोको अन्त्यमा ओसामा बिन लादेनको मृत्युपछि अल कायदाको नेतृत्व सम्हालेका आयमान अल–जवाहिरीको तस्बिर र सन् २००९ को आत्मघाती बम विस्फोटमा सात जना अमेरिकी सीआईए अधिकारी र ठेकेदारसहित ९ जनाको हत्या गर्ने अल कायदाप्रति वफादार हुमाम खलिल अबु–मुलाल अल–बलावीको तस्बिर राखिएको छ।

दोस्रो पोस्टमा एआईद्वारा निर्मित तस्बिर छ, जसमा इस्लामका तीन पवित्र स्थलहरू–मक्का, मदिना र जेरुसेलमलाई निरन्तर बलेको प्रकाशको रेखाले जोडिएको देखाइएको छ। पृष्ठभूमिमा बजाइएको कवितामा अपमान अस्वीकार गर्ने, मृत्युसँग नडराउने र आफ्नो आत्मसम्मानको रक्षा गर्ने कुरा उल्लेख छ। अल–हम्मामीको लिंकडइन पृष्ठ अनुसार उनले इंग्ल्यान्डको बकिंगमशायर न्यू युनिभर्सिटीमा अध्ययन गरेका थिए। विश्वविद्यालयका एक स्रोतले सीएनएनलाई पुष्टि गरेअनुसार सोही नामका व्यक्तिले तीन वर्षको दूरशिक्षा (पाठ्यक्रम पूरा गरी सन् २०२३ मा एभिएसन म्यानेजमेन्टमा स्नातक उत्तीर्ण गरेका थिए।

सोही नाम र तस्बिर रहेको इन्स्टाग्राम अकाउन्टमा पनि लगभग सोही समयमा ती दुई भिडियोहरू पोस्ट गरिएका थिए, जुन अकाउन्ट पछि हटाइयो। सीएनएनले प्रतिक्रियाका लागि मेटालाई सम्पर्क गरेको छ।

‘बिग्रिएका महिलाहरू’

अल–हम्मामीको हटाइएको ट्विटर (एक्स) अकाउन्टको सीएनएन विश्लेषणले उनी अति धार्मिक र महिलाद्वेषी रहेको देखाउँछ। 

हटाइएका पोस्टहरूमा अल–हम्मामीले आफ्ना सर्तहरू—जस्तैः नकाब (मुख छोप्ने कपडा) लगाउनुपर्ने र विवाहपछि काम गर्न नपाउने—स्वीकार्ने दुलही खोज्दा उनकी आमाले भोग्नुपरेका कठिनाइहरूबारे चर्चा गरेका थिए।
‘उनीहरू सबैले अस्वीकार गरे। त्यसपछि मेरी आमाले उनीहरूलाई भन्नुभयो, ‘मेरो छोरा पाइलट हो,’ र उनीहरू सबै अचानक सहमत भए,’ फेब्रुअरी २०२२ को पोस्टमा लेखिएको थियो।

ती पोस्टहरूमा पुरुष र महिला सँगै काम गर्ने कार्यस्थलको पनि कडा विरोध गरिएको थियो, जसले महिलाहरूलाई भ्रष्ट बनाउने दाबी गरिएको थियो। ‘पुरुष र महिलासँगै काम गर्ने वातावरणमा कति धेरै आदरणीय, धार्मिक युवतीहरू बिग्रिएका छन् र उनीहरूको शोषण भएको छ ? ’ जनवरी २०२२ को एउटा पोस्टमा भनिएको थियो। सन् २०२१ र २०२२ को बीचमा प्रकाशित भएका करिब ३,००० हटाइएका ट्विटहरूलाई एआई–सञ्चालित ’सिमेन्टिक सर्च मोडल’ प्रयोग गरी विश्लेषण र वर्गीकरण गरिएको थियो।

आतंककारी सम्बन्धको अनुसन्धान

इजरायललाई मान्यता नदिने देश ओमानका नागरिकलाई इजरायलको कडा उड्डयन सुरक्षा व्यवस्थाका बाबजुद टेल अभिभ जाने उडानको पाइलट बन्न कसरी अनुमति दिइयो भन्नेमा प्रश्नहरू उठिरहेका छन्।

एक इजरायली अधिकारीले बुधबार सीएनएनलाई बताएअनुसार सिन बेट, मोसाद, सेना र यातायात मन्त्रालयसहितका धेरै इजरायली निकायहरूले ती ओमानी पाइलट कसरी उडान टोलीको हिस्सा बने भन्नेबारे अनुसन्धान गरिरहेका छन्।

पाइलटले ककपिटभित्र क्र्यास बञ्चरोले आफ्ना सहकर्मीमाथि आक्रमण गरी विमान नियन्त्रणमा लिने प्रयास गर्दै ‘आतंककारी कार्य’ गर्न खोजेको यूएईका महान्यायाधिवक्ता हमद सैफ अल शम्सीले शनिबार सरकारी समाचार एजेन्सी ‘वाम’ लाई उद्धृत गर्दै बताएका छन्।

विमान यूएईमा दर्ता भएकाले र यूएईको कानुन आफ्ना विमानभित्र हुने अपराधहरूमा (देशबाहिर भए पनि) लागू हुने भएकाले यूएई अधिकारीहरूसँग यस घटनाको अनुसन्धान गर्ने क्षेत्राधिकार रहेको ‘वाम’ ले जनाएको छ। नेतान्याहुले बुधबार अबेर सीएनएनका जिम स्क्युट्टोसँग कुरा गर्दै आक्रमणकारीलाई साउदी अरेबियामा सोधपुछ गरिएको र इजरायल पनि अनुसन्धानमा संलग्न रहेको बताएका थिए। ‘मैले संयुक्त अरब इमिरेट्सका राष्ट्रपति शेख मोहम्मद बिन जायदसँग कुरा गरेँ, र उहाँ इजरायल सोधपुछमा सामेल हुन सहमत हुनुभयो,’ उनले भने।

(सीएनएनका जेरेमी डाइमन्ड, मोस्तफा सालेम, एन्ड्रयु क्यारी र बिली स्टकवेलको सहयोगमा।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.