सेयर बजार लगातार घट्दो क्रममा
काठमाडौं : सांसद भीष्म आङदेम्बेले सरकारले निजी क्षेत्रप्रति देखाएको व्यवहारप्रति गत बिहीबार संसद्मा प्रश्न उठाए। सरकारलाई सांसद आङदेम्बेले आधादर्जन प्रश्न सोधेकामध्येमा सेयर बजारमा आकर्षण र लगानी कति सुरक्षित, निजी क्षेत्रप्रति अपराधीलाई झै व्यवहार किन ? भन्ने पनि थियो।
उनले सरकारले अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेका निजी क्षेत्रमा हुकुमी दण्डा लगाएर, त्रसाएर, थुन्ने काम गरेको बताए। सरकारले निजी क्षेत्रलाई विश्वासको वातावरण बनाएर काम गर्न नसकेको उनले धारणा राखेका थिए, आमसर्वधारणको पनि बुझाइ त्यही छ। यी नै कारणले लगानीकर्ताको मनोबल दिनदिनै गिर्दा सेयर बजार लगातार घट्दो क्रममा रहेको छ।
असोजको तेस्रो सातामा ५ दिनै सेयर कारोबार भएकोमा नेप्से ४ दिन घटेर १ दिनमात्रै अति सामान्य बढ्यो। अघिल्लो साता ३ दिन कारोबार भएकोमा नेप्से २ दिन बढेर १ दिन घटेको थियो। अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २६२९.६१ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार दोहोरो अंकले घट्यो। त्यसदिन नेप्से १६.४७ अंकले घटेर २६१३.३३ विन्दुमा झर्यो। त्यसपछिका दुई दिन पनि नेप्से लगातार घट्यो।
मंगलबार ९.६२ अंक र बुधबार ४.८२ अंकले नेप्से घटेको थियो। बिहीबार भने अति सामान्य अंकले नेप्से बढेको थियो। त्यसदिन ०.२६ अंकले बढेको थियो। साताको अन्तिम कारोबारको दिन शुक्रबार ११.९० अंकले घटेर नेप्से २५८७.२५ विन्दुमा झरेर बन्द भयोे। सातामा ४ दिनको कारोबारमा नेप्से ४२.८१ अंकले घट्ने र एक दिनको कारोबारमा ०.२६ अंकले बढ्दा नेप्सेमा ४२.५५ अंकले गिरावट आयो। अघिल्लो सातामा पनि नेप्से १७.४२ अंकले घटेको थियो। यस सातामा शुक्रबार न्यून विन्दु २५८२.३६ मा र सोमबार उच्च विन्दु २६३८.२८ अंकसम्म नेप्से बढेर सेयर कारोबार भयो।
यस साता सबैभन्दा कम बुधबार ३ सय ५२ वटा कम्पनीको कारोबार भएकोमा मंगलबार साताकै सबैभन्दा बढी ३ सय ६३ स्क्रिप्टको कारोबार भयो। अघिल्लो साता बढीमा ३ सय ५६ स्क्रिप्टसम्मको मात्रै कारोबार भएको थियो।
यस साता सबैभन्दा कम सेयर कारोबार शुक्रबार ४ अर्ब ७९ करोड ८२ लाख र सबैभन्दा बढी सोमबार ५ अर्ब ३८ करोड ५७ लाख रुपैयाँको भयो। साताभरिमा ५ दिनको कारोबारमा २३ अर्ब ९९ करोड ११ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो। यसबाट औसतमा दैनिक ४ अर्ब ७९ करोड ८२ लाख रुपैयाँको सेयर कारोबार भएको देखाउँछ।
अघिल्लो साता भने १८ अर्ब ८५ करोड ४२ लाखको कारोबार हुँदा औसतमा दैनिक ६ अर्ब २८ करोड ४७ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो। यसले सातामा औसत दैनिक सेयर कारोबार लगभग २३.६५ प्रतिशतले घटेको देखिन्छ। अघिल्लो साता भने औसत दैनिक सेयर कारोबार करिब २.६५ प्रतिशतले बढेको थियो।
नेप्सेको कुल बजार पुँजीकरण शुक्रबार ४४ खर्ब ५० अर्ब ३७ करोड रुपैयाँ छ। अघिल्लो साताको अन्तिम दिन बिहीबार बजार पुँजीकरण ४५ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ थियो। साताभरमा नेप्से ४२.५५ अंकले घट्दा कुल बजार पुँजीकरण पनि ७३ अर्ब २४ करोड रुपैयाँले घट्न पुग्यो। अघिल्लो साता पनि कुल बजार पुँजीकरण २९ अर्ब ९४ करोड रुपैयाँले घटेको थियो।
यस साता कुनै पनि कम्पनीको सर्किट लेभलमा कारोबार भएन। अघिल्लो साता मिड सोलु हाइड्रोपावर र धौलागिरी लघुवित्त वित्तीय संस्थाको एक–एक दिन सकरात्मक सर्किट लेभलमा कारोबार भएका थिए।
यस साता सर्वाधिक बढी कारोबार हुनेमा सोमबार र मंगलबार हिमालयन डिस्टिलरीको क्रमशः ३५ करोड ८२ लाख र २२ करोड ९९ लाख, बिहीबार सिद्धार्थ बैंकको ३० करोड ५३ लाख र शुक्रबार २६ करोड ५३ लाख रुपैयाँ छ।
नेप्सेमा सूचीकृत १३ उपसमूहहरू यस साता सबै घटेका छन्। अघिल्लो साता ११ समूहको घटेको थियो, एउटाको बढेको थियो भने एउटाको स्थिर थियो। म्यानुप्mयाचरिङ् एण्ड प्रोसेसिङको बढेको थियो भने म्युचुअल फन्ड समूहको स्थिर रहेको थियो।
यस साता सेन्सेटिभ इन्डेक्स १.२८ अंक, फ्लोट इन्डेक्स १.५६ र सेन्सेटिभ फ्लोट इन्डेक्स १.३७ अंकले घटेका थिए। अघिल्लो साता पनि सेन्सेटिभ इन्डेक्स १.२८ अंक, फ्लोट इन्डेक्स २.०६ र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९६ अंकले घटेका थिए।
पुँजी बजार सुदृढीकरणमा सरकारको प्राथमिकता
अर्थ मन्त्रालयले पुँजी बजार सुदृढीकरण गर्न सरकारको प्राथमिकतामा रहेको बताएको छ। अर्थ मन्त्रालयका सहसचिव महेश आचार्यले गत बुधबार प्रतिनिधि सभाको अर्थ समितिको बैठकमा पुँजी बजार सरकारको प्राथमिकतामा रहेको बताएका हुन्।
उनले सरकारको प्राथमिकतामा पुँजी बजारसँगै समग्र अर्थतन्त्र नै रहेको बताए। उनले नेप्सेको पुनर्संरचनाका लागि काम सुरु भइसकेको जनाए। उनले नेप्सेको सिस्टमलाई दरिलो बनाउने काम सुरु भइसकेको र सीडीएससीको पनि काम अगाडि बढ्ने जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !