जितिया पर्वको पौराणिक मान्यता र परम्परा

जितिया पर्वको पौराणिक मान्यता र परम्परा
सुन्नुहोस्

महोत्तरी : भनिन्छ, आमा एउटा यस्तो शब्द हो जुन आफैंमा महान् हो। आमालाई त्यसै मायाकी खानी भनिएको होइन। उनीहरूले जीवनभरि नै आफ्ना सन्तानका निम्ति त्याग गरेकै हुन्छन्। त्यसैले त आमालाई ममतारूपी भगवान् भनिएको छ।

हरेक युगमा आमाले छोराछोरीको लागि त्याग गरेकै पाइन्छ। सन्तानको सुख, शान्ति, दीर्घायु अनि कल्याणका निम्ति हरसम्भव परीक्षा दिएकै हुन्। एक गाँस समेत नखाइकन आमाहरू सन्तानको भरणपोषणमा जीवन बिताएकी हुन्छन्। त्यसैले त अन्य नाताभन्दा आमा शब्द प्यारो अनि पूजनीय भएको हो।

अहिले मिथिलानीहरू सन्तानका लागि ३६ घण्टे निराहार कठोर व्रत बसेका छन्। उनीहरू जितिया पर्व मनाइरहेका छन्। सन्तानको सुस्वास्थ्य अनि पारिवारिक कल्याणको निम्ति थुकसमेत ननिलिकन बडो सचेत अनि पवित्रताका साथ उपवास बसेका हुन्। पर्वको अवधिभरिमा जानेर वा नजानेर कुनै पनि सामग्री भाँचिए वा टुट्न गए व्रत नै अधुरो रहन पुग्छ। यसो भएको खण्डमा पुनः अर्को वर्ष पर्व नै नमनाउने गरी कठोर धार्मिक विधि रहेको छ। त्यसैले हरेक आमाले बडो सचेत अनि श्रद्धापूर्वक यो पर्व मनाइरहेका छन्।

शनिबार पर्वको पहिलो दिन ‘नहाय खाय’ विधि व्रतालुले मनाएका छन्। व्रतालुहरू चोखो भएर पर्वको शुभारम्भ गरेका थिए। शनिबार मध्यरातिमा दर खाएका व्रतालु आइतबार व्रतको दोस्रो दिन मुख्य पर्व मनाइरहेका छन्। सूर्योदयभन्दा चार घडीपूर्वको समयमा व्रतालुहरू बेसारको पातमा दही, चिउरा, फलफूलसहित भगवान् जितुवाहनलाई प्रसाद अर्पण गरी दर खाएका छन्। भगवान्लाई अर्पण गरेको प्रसाद बिहानपख बच्चाहरूलाई समेत खान दिएका छन्।

सन्तानको दीर्घायु, सुस्वास्थ्य र कल्याणका लागि मिथिलाञ्चलका आमाहरूले ३६ घण्टासम्म थुकसमेत ननिलिकन निष्ठाका साथ जितियाको निर्जल र निराहार व्रत मनाइरहेका छन्। द्वापरयुगमा राजा जितुवाहनले मृत बालकहरूलाई जीवित पारेको पौराणिक लोकगाथामा आधारित यो कठोर पर्वमा व्रतालुहरूले पितृ तर्पण गर्छन् भने पूर्ण धार्मिक सचेतताका साथ सन्तानको सौर्यवृद्धिको कामना गर्छन्।

व्रत अवधिमा व्रतालुले नजिकैको जलाशयमा गई सामूहिक रूपमा राजा जितवाहनको कथा सुन्ने गरिन्छ। आफ्ना पुत्र उनीजस्तै परोपकारी र साहसी होऊन् भनी कामना गर्छिन्। जितिया दुई प्रकारको रहेको गौशालाकी शिक्षिका बबी सिंहले बताइन्। उनी भन्छिन्, ‘अविवाहित महिलाले गर्ने व्रतलाई ‘खर जितिया’ भनिन्छ। त्यस्तै, विवाहित महिलाले गर्ने व्रतलाई ‘जितिया’ भन्ने गरिन्छ। खर जितिया गर्ने आमाका सन्तान अनेकौं दुःख र कष्टबाट पार लाग्छन्।’

आफूहरूले गर्ने जितिया व्रतको प्रभावले नै सन्तानको सौर्यवृद्धि, कल्याण, सामाजिक इज्जत, प्रतिष्ठा र साहस प्राप्त हुने अर्की व्रतालु रामकली देवी महतोले बताइन्। उनी भन्छिन्, ‘सन्तानको कल्याण र सौर्यवृद्धिको कामनासहित व्रतालु मिथिलानीले यस पर्वमा दिवंगत पितृ रिझाउन व्रत बस्ने परम्परा छ। यस व्रतमा पुरुषले पितृपक्षमा दिवंगत आफन्तलाई तर्पण दिएजस्तै व्रतालुले दिवंगत आफन्त महिलालाई तर्पण दिने गर्दछन्।’

द्वापरयुगमा एक विधवा ब्राह्मणीको पुकारमा उनका ५ मृत छोरालाई राजा जितवाहन (देवरूप) ले आफ्नो आर्जित तपशक्तिबाट बचाइदिएको पौराणिक लोककथामा उल्लिखित रहेको गौशाला दुर्गा मन्दिरका पुजारी शिवशंकर मिश्रले बताए। पछिल्लो समयमा आई सोही धार्मिक मान्यताको यो कठोर व्रत बस्ने परम्परा बसेको पुजारी मि श्र बताउँछन्। राजा जितवाहन र जितिया पर्वको चर्चा भविष्यपुराणमा भएकाले यसको थालनी द्वापरयुगमा नै सुरु भएको उनको भनाइ रहेको छ।

यस्तो छ व्रतको विधि

जितिया पर्वको पहिलो दिन भदौ शुक्लपक्ष सप्तमीमा नुहाएर खाना खाने चलन छ। यसदिन व्रतालुहरू पोखरी वा कुनै जलाशयमा गई नुहाएर सूर्य भगवान्लाई जलको अघ्र्य दिन्छन् र तोरीको तेल, पिना र सिन्दूर भगवान् जितवाहनलाई र आफ्नो स्वर्गीय माता–पिता तथा सासू–ससुराको नाममा चढाउँछन्। यसदिन खानाको रूपमा कोदोको रोटी, साग, भात र माछा खाने विशेष परम्परा छ। 

अरू पर्वहरूमा पर्व सुरु हुनुभन्दा दुई–तीन दिनअघिदेखि नै माछामासुजन्य खानेकुरा खान वर्जित गरिन्छ। तर, जितिया एउटा यस्तो पर्व हो, जसमा माछा खाएर पर्वको सुरु गरिन्छ। दोस्रो दिन अष्टमीको रात करिब ३–४ बजेतिर घिरौंलाको पातमा दही, चिउरा, मिठाई, केरा, काँक्रो, अम्बाजस्ता फलफूल जितवाहन, पितृ तथा चिलको नाममा चढाइन्छ। चिलका नाममा चढाइएको पातलाई घरमाथि छानोमा फालिन्छ भने पितृ तथा भगवान् जितवाहनको नाममा चढाइएको पातलाई व्रतालुले आफ्ना श्रीमान् वा छोराछोरीलाई खान दिन्छन्।

यतिबेला व्रतालुले पनि आफूले चढाएको प्रसाद खान्छन्। यसपटक राति ३ बजेसम्ममा खाइसक्नुपर्ने परम्परा छ। यो खाना (दर) नै व्रतअगाडिको अन्तिम खाना हुन्छ। तेस्रो दिन अर्थात् नवमीको दिन पनि फेरि एकाबिहानै पहिलो दिन जसरी नै बेसारको पातमा दही, चिउरा, मिठाई, केरा, काँक्रो, अम्बा, लड्डु, आँपको अमोट, तुलसीको पात आदि भगवान् जितवाहन, पितृ तथा चिलका नाममा चढाई अगरबत्तीले पूजा गरिन्छ र त्यसलाई पानीले छर्की पूजाको समापन गरिन्छ। सप्तमीदेखि सुरु भएर नवमीसम्म चल्ने यस पर्वमा अष्टमीको दिन, रात र नवमीको पारणसम्म पूर्ण रूपले निराहार र निर्जल गरेर व्रत बस्ने गरिन्छ। जितिया पर्वको अवसरमा मिथिलाका धेरैजसो ठाउँहरूमा भगवान् जितुवाहनको प्रतिमा राखी पूजाआजासँगै विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिएको छ।

यस्तो छ पौराणिक लोकगाथा

एकादेशमा नर्मदा खोलाको किनारमा कञ्चनवती नाम गरेको एउटा गाउँ थियो। उक्त ठाउँमा राजा मलयकेतुले राज्य गर्दथे। खोलाको पश्चिमी किनारामा बलुहटा नाम गरेको एउटा मरुभूमि पनि थियो। त्यही किनारमा एउटा पाखुरीको रूख थियो, जसमा पोथी चील चरा बस्थी। जसको रूखमुनि पोथी स्यालको बास थियो। 

उनीहरू दुवै साथी–साथी भए। एकदिन गाउँका अरू महिलाहरूले जस्तै उनीहरूले पनि भगवान् जितवाहन गोसाइँको निर्जल व्रत बस्ने निर्णय गरे। तर संयोगवश त्यसै दिन उनीहरू बस्ने मरुभूमिको छेउस्थित सहरको धनी व्यापारीको छोरालाई ल्याएर गाडियो। चीलले अरू महिलाहरूझैं व्रत कायम राखे पनि स्याल भने गाडेको लासको मासु सेवन गर्ने तीव्र इच्छा दबाउन नसकेर व्रत तोड्न पुग्दछे। अर्को जन्ममा यी दुवै चील र स्याल एउटै घरमा अनि ब्राह्मण परिवारमा दिदी–बहिनीका रूपमा जन्मिन्छन्।

चील अब शीलवती नामकी ब्राह्मण कन्याको रूपमा र उनकी बहिनी अर्थात् स्यालको यस जन्ममा कपुरवती हुन्छे। शीलवतीको बुद्धिसेन भन्ने व्यक्तिसँग अनि बहिनी कपुरवतीको विवाह राजा मलयकेतुसँग हुन्छ। शीलवतीका ७ जना सुन्दर पुत्रहरू हुन्छन् भने कपुरवतीको पुत्रको मृत्यु भएकाले उनी एकदमै दुःखी र निराश हुन्छिन्। शीलवतीका छोराहरूले राजा मलयकेतु कहाँ काम गर्न थाल्छन्।

ती केटाहरू आफ्नी दिदीका पुत्रहरू भएको थाहा पाएपछि पूर्वजन्मकी स्याल अनि यो जन्मकी शीलवतीकी बहिनी कपुरवती रिसले चुरचुर हुन्छिन्। राजालाई भनेर ती सातै जना शीलवतीका पुत्रहरूको हत्या गर्न लगाई तिनको टाउकोलाई रातो कपडामा बेरेर दिदी कहाँ पठाउने षड्यन्त्र गर्छिन्। तर, यो कुरा भगवान् जितवाहन गोसाइँले थाहा पाएपछि सातै छोरालाई बचाउनुहुन्छ। ती सातै जना पुत्रहरूलाई अमृत दिएर अमर बनाउँदै उनीहरूको टाउकाको साटो माटोको टाउको रातो कपडामा बेरिन्छ। यसरी रातो कपडाले बेरिएको भाँडो शीलवतीको घरमा पुग्दा टाउकाको साटो फलफूलले भरिपूर्ण उपहारको रूपमा परिणत हुन्छ।

यता हत्याको योजना बुन्ने बहिनी कपुरवती आफ्नी दिदीको घरमा अब छोराहरूको मृत्यु र टाउकाको मात्र आगमनले त्रसित, भयभीत अनि रुवावासी भइरहेको होला भनी एक जना सेविकालाई बुझ्न पठाउँछिन्। तर शीलवतीको घरमा हर्षोल्लास र खुसियाली छाएको सन्देशयुक्त खबर उनीहरूले ल्याएपछि राजा मलयकेतु अर्थात् कपुरवतीका पतिले पक्कै पनि त्यो घरमा भगवानको कृपा छ भन्ने सोच्छन्।

दिदीको खुसी सहन नसकी अब कपुरवती दिदीको घर पुग्छिन् र आफूले सम्पूर्ण कुरा भनिदिन्छिन्। यसो भन्दै गर्दा शीलवतीलाई पूर्वजन्मको कुरा याद आउँछ, जहाँ उनले चीलको रूपमा भए पनि भगवान् जितवाहन गोसाइँको व्रत बसेकी थिइन्। यो प्रसंग शीलवतीले बहिनीलाई भन्छिन्। यो सुनेर बहिनी कपुरवती बेहोस हुन्छिन्, जसलगत्तै उनको मृत्यु हुन्छ। यसै बेलादेखि भगवान् जितवाहन गोसाइँको श्रद्धापूर्वक ढंगले आमाहरूले छोराछोरीको रक्षाका लागि जितिया पर्वमा व्रत बस्ने परम्परा थालेको मान्यता रहिआएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.