होसियार, माइटले टोक्ला है !
किर्ना जस्तो देखिने सानो किरा (माइट)को टोकाइबाट हुने स्क्रब टाइफसको संक्रमण बढेको छ। मुलुकका ७४ जिल्लामा फैलिएको यो सरुवा रोगले पछिल्लो ९ महिनामा ९ हजारभन्दा बढीलाई पिरोलेको छ। यो स्क्रब टाइफस रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जीवाणुबाट लाग्छ। माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घरवरिपरको घुरान हुने ठाउँमा पाइन्छ।
काठमाडौं / नेपालगन्ज :
सल्यानमा बढ्दो संक्रमण
हुम्ला, मुगु र डोल्पा बाहेकका ७४ जिल्लामा स्क्रब टाइफस संक्रमण फैलिएको छ। कर्णाली प्रदेशको पहाडी जिल्ला सल्यानमा सबैभन्दा बढी संक्रमित पाइएका छन्।
अहिले कसैलाई ज्वरो आयो कि जो कोहिले स्क्रब टाइफसको शंका गर्छन्। परिवारमा तनाब बढ्छ। स्वास्थ्यकर्मीका अनुसार संक्रमितको संख्या ६ सय नाघिसकेको छ । अझै पनि दैनिक नयाँ संक्रमितहरू थपिइरहेका छन्। संक्रमण फैलिँदै गएपछि स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोली सल्यान पुगेको छ। सल्यानको बागचौर नगरपालिकामा सबैभन्दा बढी १ सय ८० जना संक्रमित भेटिएका छन्।
त्यसपछि दार्मा गाउँपालिकामा १ सय २९, कुमाखमा ७६, कपुरकोटमा ५४, जिल्ला अस्पताल सल्यानमा ४८, छत्रेश्वरीमा २८, बागचौरबाहेक अन्य स्थानीय तहमा संक्रमणको अवस्था फरक देखिएको छ। बनगाड कुपिण्डे नगरपालिकामा ८ र कालीमाटी गाउँपालिकामा २ जनामा संक्रमण पुष्टि भएको छ।
दार्मा गाउँपालिकामा साउन महिनाको सुरुवाततिर स्क्रब टाइफसका लक्षण देखिएका थिए। गत वर्ष दार्मामा १ सय ४५ जनामा संक्रमण देखिएको थियो। यस वर्ष भने गत वर्षको तुलनामा चार गुणाभन्दा बढी संक्रमित भेटिएका छन्। संक्रमणबाट प्रभावित परिवार र बस्तीको संख्या बढ्दै जाँदा स्थानीयस्तरमा त्राससमेत बढेको छ।
दार्मा गाउँपालिकाका स्वास्थ्य तथा सरसफाइ शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन गर्नुका साथै घरघरमा पुगेर परीक्षण र सचेतना फैलाउने काम भइरहेको छ। अहिले पनि दैनिकजसो नयाँ बिरामी भेटिने गरेका छन्। उनका अनुसार अझै पनि ८ देखि १० जनासम्म नयाँ संक्रमित फेला पर्ने गरेका छन्। बस्नेतले दार्माका ६ वटा वडाका करिब १ हजार ५ सय घरपरिवार संक्रमणबाट प्रभावित भएको बताए।
कतिपय घरमा परिवारका सबै सदस्य बिरामी परेका छन्। स्वास्थ्यकर्मीहरू खेतबारी, घाँस तथा झाडीमा काम गर्दा पूरा बाहुला भएका कपडा लगाउन, जुत्ता प्रयोग गर्न र आवश्यकताअनुसार किरा भगाउने स्प्रे प्रयोग गर्न सुझाइरहेका छन्।
कसरी सर्छ ?
मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट)को टोकाईबाट मानिसमा सर्दछ। यो रोग मानिसबाट मानिसमा भने सर्दैन। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार, संक्रमित ‘चिगर माइट’ नामक किर्नाले टोके पछि मानिसमा स्क्रब टाइफस रोग लाग्ने गर्दछ।
‘चिगर माइट’ किर्ना साना स्तनधारी जनावर, खासगरी मुसामा पाइने गर्दछ। यो किर्ना एकदमै सानो हुने हुनाले सजिलै आँखाले ठम्याउन सकिँदैन। मुसा तथा अन्य साना जनावर र झाडीयुक्त क्षेत्र रोगको संक्रमण गराउने किर्ना (चिगर माइट)को बासस्थान मानिन्छन्।
विशेषगरी खेतबारी, वनजंगल, घरवरपरका झाडी, खरबारी तथा ओसिलो र ओझेल परेका किर्ना ठाउँमा पाइन्छ। यस्ता क्षेत्रमा काम गर्दा वा हिँड्डुल गर्दा संक्रमित किर्ना मानिसको शरीरमा सर्न सक्छ। मुसा तथा अन्य साना जनावरको उपस्थितिले संक्रमण फैलिने भएकाले घरवरपरको सरसफाइ र मुसा नियन्त्रणमा ध्यान दिन आवश्यक हुन्छ।
स्क्रब टाइफसको संक्रमण पछि सामान्यतया उच्च ज्वरो आउँछ। टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीर अत्यधिक कमजोर हुनेजस्ता लक्षण देखिन्छन्। कतिपय बिरामीमा टोकेको ठाउँमा कालो दाग वा घाउसमेत देखिन सक्छ। समयमै पहिचान र उपचार नभए निमोनिया, श्वास–प्रश्वासमा गम्भीर समस्या, शक तथा मस्तिष्कमा संक्रमणजस्ता जटिलता देखिन सक्छन्।
पहाडी क्षेत्रका बासिन्दा घाँसदाउरा, खेतीपाती र पशुपालनका लागि नियमित रूपमा वनजंगल तथा झाडी भएका क्षेत्रमा जाने भएकाले संक्रमणको जोखिममा पर्न सक्छन्।
भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजन पाण्डेका अनुसार स्क्रब टाइफस नेपालमा हरेक वर्ष देखिने रोग हो। यस वर्ष पनि संक्रमण देखिएको छ। अहिले पनि स्क्रब टाइफसका बिरामी आइरहेका छन्। डा.पाण्डे भन्छन्,‘वर्षायामको सुरुवातसँगै स्क्रब टाइफसको संक्रमण देखिने गर्छ। जाडो सुरु भएपछि संक्रमण घट्दै जाने गरेको छ।’
महिला बढी जोखिममा
गाउँमा घाँसदाउरा गर्न जाने, खेतबारीमा काम गर्ने र वनजंगल धाउनेहरू जोखिम छन्। संक्रमितहरूमा महिलाको संख्या बढी भएको स्वास्थ्यकर्मी बताउँछन्। ग्रामीण भेगका महिलाहरू दैनिक घाँसदाउरा गर्न वनजंगल जाने, खरबारीमा काम गर्ने र पशुचौपायाका लागि घाँस काट्ने भएकाले चिगर माइटको टोकाइमा पर्ने जोखिममा छन्।
गत वर्ष पनि नेपालमा ‘स्क्रब टाइफस’ को सङ्क्रमण उच्च थियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको प्रयोगशालाबाट प्राप्त तथ्यांकअनुसार सन् २०२५ मा १० हजार १ सय ९२ जनामा ‘स्क्रब टाइफस’ पुष्टि भएको थियो। प्रदेशगत रूपमा लुम्बिनीमा तीन हजार ४ सय ६० , सुदूरपश्चिममा दुई हजार ३६ र गण्डकीमा एक हजार २ सय ३४ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
डा. पाण्डेका अनुसार, रोगबारे पर्याप्त जानकारी नहुँदा र समयमै उपचार नखोज्दा बिरामीको ज्यान जाने गरेको छ। यसको उपचारमा डक्सिसाइक्लिन र आवश्यक अवस्थामा एजिथ्रोमाइसिनजस्ता एन्टिबायोटिक प्रयोग गरिन्छ। चिकित्सकको सल्लाहअनुसार सही औषधि प्रयोग गर्दा कम खर्चमै प्रभावकारी उपचार सम्भव हुन्छ।
संक्रमित माइटको टोकाइबाट स्क्रब टाइफस रोग लाग्छ। यो किर्ना एकदमै सानो हुन्छ। सहजै आँखाले ठम्याउन सकिँदैन ।
डा.शेरबहादुर पुन, संयोजक, रिसर्च युनिट, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल।वर्षायामको सुरुवातसँगै स्क्रब टाइफसको संक्रमण हुने गर्छ। यस वर्ष पनि स्क्रब टाइफसका बिरामी उपचार गर्न आइरहेका छन्। समयमै सही औषधि सेवन पछि रोग निको हुन्छ।
डा. राजन पाण्डे, वरिष्ठ फिजिसियन, भेरी अस्पताल
विशेषगरी बालबालिका र गर्भवती महिलाको उपचारमा औषधि छनोट गर्दा विशेष सावधानी अपनाउनुपर्ने डा. पाण्डे बताउँछन्। रोगको लक्षण र बिरामीको अवस्थाका आधारमा चिकित्सकले उपयुक्त औषधि निर्धारण गर्न सक्छन्।
दुर्गम तथा पहाडी क्षेत्रमा प्रयोगशाला परीक्षणको सुविधा पर्याप्त नहुँदा उपचारमा ढिलाइ हुन सक्ने भएकाले लक्षणका आधारमा समेत उपचार सुरु गर्न सकिने व्यवस्था रहेको डा. पाण्डेले बताउँछन्। प्रयोगशाला परीक्षणको नतिजा पर्खेरमात्र उपचार सुरु गर्नुपर्ने अवस्था नरहेको डा. पाण्डे बताउँछन्। पछिल्ला वर्षमा संक्रमण र यसका जटिलता बढ्दै गएपछि रोगको गम्भीरताबारे जनचेतना बढेको उनको भनाई छ। स्क्रब टाइफसलाई समयमै पहिचान गर्न नसक्दा अन्य ज्वरोयुक्त रोगसँग छुट्याउन कठिन हुने भएकाले चिकित्सकहरूसमेत सजग हुनुपर्ने उनको भनाइ छ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले समेत स्क्रब टाइफसलाई दक्षिण–पूर्वी एसियालगायतका क्षेत्रमा कम पहिचान हुने र कम रिपोर्ट हुने ज्वरोयुक्त रोगमध्ये एकका रूपमा उल्लेख गरेको छ। यसको लक्षण अन्य संक्रामक रोगसँग पनि मिल्दोजुल्दो हुन्छ। त्यसैले समयमै पहिचान र उपचार गरे ज्यान जोगिने चिकित्सकहरू बताउँछन्।
सावधानी नै जोगिने उपाय
स्क्रब टाइफसबाट बच्न खेतबारी, खरबारी तथा झाडीमा काम गर्दा पूरा बाहुला भएको कमिज, लामो पाइन्ट, जुत्ता र पन्जा लगाउनु पर्ने चिकित्सकहरूको सुझाव छ।घाँसदाउरा गर्न जंगल जानेहरूले शरीर खुला नराख्न र शरीर एवं कपडामा किर्ना छ÷छैन भनेर ध्यान दिनुपर्ने स्वास्थ्यकर्मी बताउँछन्।
स्क्रब टाइफसका लक्षणहरू
- धेरै ज्वरो आउने
- टाउको दुख्ने
- पसिना धेरै आउने
- आँखा रातो हुने
- झाडापखाला लाग्ने
- किरा (माइट)ले टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिने
- रातो दाग विस्तारै कालो दागमा परिणत हुने
कसरी जोगिने ?
- खेतबारी, बनजँगल, झाडीमा काम गर्दा शरीर ढाकिने कपडा लगाउने
- घाँसबारी वा चउरमा बस्दा गुन्द्री वा दरि ओच्छ्याएर बस्ने
- सम्भव भएसम्म भुइँमा नबसि खाट वा अग्लो स्थानमा बस्ने÷सुत्ने
- घरवरिपरि झाडी, घाँस, घुरान बढ्न नदिने
- मुसा नियन्त्रणकालागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने
- मुसाको वृद्धि विकास नहुने वातावरण बनाउने
प्रतिक्रिया दिनुहोस !