२०औं एसियाली खेलकुद सम्पन्न, दोहामा भेट्ने बाचा
नागोया (जापान) : जापानको आइची–नागोयामा आयोजना भएको २०औं एसियाली खेलकुद आइतबार भव्य समापन समारोहसँगै सकिएको छ। एसियाका ४५ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेको महादेशीय खेलकुदको महाकुम्भमा नेपाल भने दुई कास्य पदकमै सीमित भएको छ। दोहोरो अंकमा पदक जित्ने र एसियाडमा पहिलो स्वर्ण हासिल गर्ने लक्ष्यसहित जापान आएको नेपाली टोलीको प्रदर्शन अपेक्षाअनुसार हुन सकेन।
समापन समारोहअघि आइतबार साँझ ४ बजेदेखि विभिन्न कलाकारको प्रस्तुति समेटिएको विशेष कार्यक्रम आयोजना गरिएको थियो। जापानी गायिका तथा कलाकार, संगीत समूह र निप्पोन स्पोर्ट्स साइन्स युनिभर्सिटीका कलाकारले समारोहपूर्वको कार्यक्रममा सहभागिता जनाएका थिए।
स्थानीय संस्कृति र आधुनिक प्रस्तुतिको संयोजनले समापन समारोहको माहोललाई उत्सवमय बनाएको थियो। औपचारिक समारोहमा एसियाली खेलकुदको यात्रालाई स्मरण गर्दै खेलाडी, प्रशिक्षक, आयोजक तथा स्वयंसेवकको योगदानलाई सम्मान गरिएको थियो। समारोहमा ड्रम बजाउने कलाकारको प्रस्तुतिसहित उज्यालो र आतिशबाजीले दर्शकको ध्यान खिचेको थियो। दुई सातासम्म तुलनात्मक रूपमा कम दर्शक देखिएका खेलस्थलमा समापन समारोहका दिन भने उल्लेख्य उपस्थिति थियो।
समारोहको मुख्य आकर्षणमध्ये एक एसियाली खेलकुदको झन्डा आगामी आयोजक कतारलाई हस्तान्तरण गर्नु रह्यो। कतारी घोडचढी खेलाडी जासिम अल कुवारीले घोडामा सवार हुँदै झन्डा ग्रहण गरेर दोहाको प्रतिनिधित्व गरेका थिए। यससँगै जापानले आयोजना गरेको एसियाली खेलकुदको औपचारिक यात्रा टुंगिएको थियो।
सेप्टेम्बर १९ देखि अक्टोबर ४ सम्म सञ्चालन भएको प्रतियोगितामा नेपालले कराते र महिला कबड्डीबाट एक/एक कांस्य पदक जितेको छ। करातेका तेन्जिङ शेर्पाले पुरुष कुमितेको ८४ केजीमाथिको स्पर्धामा कांस्य जित्दा महिला कबड्डी टोलीले लगातार दोस्रो एसियाडमा कांस्य पदक हात पारेको थियो। नेपालले यसअघि चीनको हाङझाउमा भएको १९औं एसियाली खेलकुदमा पनि महिला कबड्डीबाट कांस्य जितेको थियो।
राष्ट्रिय खेलकुद परिषद्ले अघि सारेको ‘मिसन २०२६’ अन्तर्गत लामो समयदेखि तयारी गरेको नेपाली टोलीले यसपटक ऐतिहासिक उपलब्धि हासिल गर्ने अपेक्षा गरिएको थियो। तर, पदकका प्रमुख दाबेदार खेलाडीले अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपालको पदक तालिका दुई कांस्यमा
रोकिएको हो।
स्वर्णको सपना अधुरै
एसियाली खेलकुदमा नेपालको स्वर्ण पदक जित्ने सपना यसपटक पनि पूरा हुन सकेन। नेपालले अहिलेसम्म एसियाडमा स्वर्ण जित्न सकेको छैन। यसपटक करातेकी एरिका गुरुङसहित पदकको आशा गरिएका खेलाडीबाट ठूलो अपेक्षा गरिएको थियो। तर, प्रमुख दाबेदारको चुनौती सफल हुन नसक्दा नेपाली टोली निराश बन्न पुगेको थियो।
नेपालले यसअघि एसियाडमा रजत र कास्य पदक जिते पनि सर्वोच्च सफलता हात पार्न सकेको छैन। लामो तयारी, अन्तर्राष्ट्रिय प्रतियोगिताको अनुभव र पदकको आशा गरिएका खेलाडीको उपस्थितिका बाबजुद नेपालले आफ्नो लक्ष्य पूरा गर्न सकेन। त्यसैले नेपाली खेलकुदमा प्रतिभा, तयारी र संस्थागत व्यवस्थापनबीचको तालमेलबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता देखाएको छ।
चीन शीर्ष स्थानमा, जापान दोस्रो
२०औं एसियाली खेलकुदको पदक तालिकामा चीनले आफ्नो वर्चस्व कायम राखेको छ। चीनले १ सय ६९ स्वर्ण, ८९ रजत र ८३ कांस्य गरी कुल ३ सय ४१ पदक जित्दै पहिलो स्थान हासिल गरेको छ। आयोजक जापान ३९ स्वर्ण, ९५ रजत र ९१ कांस्य गरी कुल २२५ पदकसहित दोस्रो भयो। दक्षिण कोरिया तेस्रो र भारत चौथो स्थानमा रह्यो। भारतले २१ स्वर्णसहित कुल ८५ पदक जित्यो।
प्रतियोगितामा पौडी, एथलेटिक्सलगायतका खेलमा एसियाली खेलाडीले उल्लेखनीय प्रदर्शन गरेका छन्। नयाँ पुस्ताका खेलाडीले समेत अन्तर्राष्ट्रिय खेलकुदमा आफ्नो प्रभाव देखाएका छन्। चीनकी १३ वर्षीया पौडी खेलाडी यु जिदीको प्रदर्शन प्रतियोगिताका चर्चित उपलब्धिमध्ये एक रह्यो।
दोहालाई एसियाडको झन्डा हस्तान्तरण
नागोयास्थित मिजुहो पार्क एथलेटिक स्टेडियममा आयोजित समापन समारोहमा सांस्कृतिक प्रस्तुति, प्रकाश र आतिशबाजीले प्रतियोगिताको अन्तिम साँझलाई उत्सवमय बनाएको थियो। ओलम्पिक काउन्सिल अफ एसियाले प्रतियोगिताको औपचारिक समापन घोषणा गर्दै अर्को संस्करणको आयोजक कतारको दोहालाई एसियाडको झन्डा हस्तान्तरण गरेको थियो। अब २०३० मा हुने २१औं एसियाली खेलकुदको आयोजना दोहाले गर्नेछ।
यो एसियाली खेलकुद केही उपलब्धिसँगै व्यवस्थापकीय समस्याका कारण पनि चर्चामा रह्यो। खेलाडीको आवास, यातायात तथा केही व्यवस्थापकीय त्रुटिका विषयमा आयोजकले आलोचना खेप्नुपरेको थियो। आयोजकले प्रतियोगिताको समापन दिन आयोजित समीक्षा पत्रकार सम्मेलनमा खेलकुद परिषद् र आयोजक समितिका प्रतिनिधिले प्रतियोगिताबारे धारणा राखेका थिए।
प्रतिक्रिया दिनुहोस !