संविधान संशोधनका सिद्धान्त
धारा २७४ को संवैधानिक व्यवस्थाले संविधान संशोधनमा संसद्को अधिकारलाई नियन्त्रित र निर्देशित गरेको छ।
जब संविधान संशोधनको विषय आउँछ तब संविधानको आधारभूत संरचनाका बारेमा छलफल सुरु हुन्छ। आधारभूत संरचनाको सिद्धान्त भन्नाले कुनै पनि देशको संविधानमा त्यस्ता मूलभूत तत्वहरूको व्यवस्था गरिएको हुन्छ जुन संविधान संशोधन गर्दा त्यसलाई संशोधन वा फेरबदल गर्न पाइँदैन, सकिँदैन। संविधानका ती त्यस्ता मूल्य, मान्यता वा सिद्धान्तहरू हुन जसलाई संविधान संशोधनको सामान्य प्रक्रियाबाट हटाउन वा नष्ट गर्न सकिँदैन। यसलाई संविधानको मूल चरित्र भनिन्छ। यसलाई संविधानको अपरिवार्तनीय प्रावधान भनिन्छ। यसको अर्थ संविधान संशोधन गर्दा यसको मूल चरित्र एवं आधारभूत संरचनालाई नष्ट गर्न पाइँदैन भन्ने नै हो।
नेपालको संविधानमा संविधानका आधारभूत संरचनाको सिद्धान्तका बारेमा स्पष्ट रूपमा उल्लेख गरिएको छैन। संविधानको मौलिक विशेषता, पहिचान वा आधारभूत तत्त्वका रूपमा संविधान निर्माताले कुनै खास प्रावधान उल्लेख गरेको हुन्छ, जुन अपरिवर्तनीय हुन्छन्। यदि संविधान निर्माणको क्रममा त्यस्ता आधारभूत अपरिवर्तनीय प्रावधानको व्यवस्था गरेको छैन भने न्यायपालिकाले संविधानको व्याख्याको माध्यमबाट त्यस्ता अपरिवर्तनीय प्रावधानको उल्लेख गर्ने गर्छ। सर्वोच्च अदालतले संविधानको व्याख्याको क्रममा संविधानका मूलभूत विशेषताका बारेमा व्याख्या गरेको भए पनि आधारभूत संरचनाका बारेमा स्पष्ट व्याख्या गरेको छैन। तर, सर्वोच्चले लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, मानव अधिकार, समानता, न्यायिक स्वतन्त्रता र संवैधानिक सर्वोच्चता, कानुनी शासन संविधानका मूल आधार हुन् भनी व्याख्या गरेको पाइन्छ।
फ्रान्सको संविधान १९५८ का अनुसार गणतन्त्रात्मक शासन व्यव्यस्थाविपरीत हुने गरी संविधान संशोधन गर्न पाइँदैन भनी संविधान संशोधनमा अपरिवर्तनीय व्यवस्था गरेको छ। त्यस्तैगरी जर्मनको संविधान १९४९ पनि संविधानमा केही असंशोधनीय सिद्धान्तको उल्लेख गरेको छ। राज्यको संघीय संरचना, प्रजातन्त्र, मानवाधिकार, कानुनी शासनलाई संवैधानिक सिद्धान्तका रूपमा अंगिकार गरेको छ। नेपालको संविधानको धारा २७४ को व्यवस्था पनि संविधान संशोधनमा संसद्को अधिकारलाई नियन्त्रित र निर्देशित गरेको हो। यसरी संविधान संशोधन गर्न पाउने सांसदको अधिकार असीमित हुँदैन भनी मुलुकको मूल कानुन संशोधन गर्दा विशेष सतर्कता अपनाउनु पर्दछ भनी विभिन्न देशका संविधानले सांसदको अधिकारमा नियन्त्रण गरी संविधानको आधारभूत संरचनाका सिद्धान्तको रूपमा उल्लेख गरी संविधान संशोधनको महत्त्वलाई दर्शाएको पाइन्छ।
संविधान संशोधन गर्दा यसको औचित्य, आवश्यकता र महत्वलाई सर्वोपरी ठानी संविधानको आधारभूत संरचना, यसको विशेषता एवं मौलिकता माथि असर नपर्ने गरी जनचाहना र राष्ट्रिय आवश्यकता अनुरूप संविधान संशोधन हुनुपर्दछ।
संविधानसभाबाट बनेको भारतको संविधान १९५० मा संविधानको आधारभूत संरचनाको सिद्धान्त वा असंशोधनीय प्रावधानको व्यवस्था गरेको छैन। भारतको संविधानमा असंशोधनीय प्रावधानको व्यवस्था नगर्नुको कारण तत्कालीन समयमा भारत भर्खरै स्वतन्त्र भएको र पाकिस्तान पनि हिन्दुस्तानबाट छुट्टिएको अवस्थामा एवं विभिन्न जात–जाति, धर्म, वर्ण, समुदायका माग सम्बोधन गर्ने अभिप्रायले संविधानमा कुनै पनि बेला संशोधनको आवश्यकता पर्न सक्ने भएकाले संशोधनको बाटो लचिलो बनाउने उद्देश्यले असंशोधनीय प्रावधानको व्यवस्था पाइँदैन। त्यसैले भारतको संविधानको धारा ३६८ मा संविधान संशोधनको तरिका फराकिलो ढंगले राखेको पाइन्छ। भारतको संविधान संशोधन गर्न अमेरिका र अन्य देशको जस्तो कठिन नभई सरल छ। संविधानको कुनै पनि धारा संशोधन गर्नु पर्दा संविधानको मूल मर्म र भावनामा असर पर्न सक्ने खतरालाई भारतीय सर्वोच्च अदालतले विभिन्न मुद्दाको रोहमा व्याख्या गर्दै संविधानमा असंशोधनीय प्रावधानको व्याख्या गर्दै संविधान संशोधनमा आधारभूत संरचनाको सिद्धान्त प्रतिपादन गरेको छ।
संविधानको आधारभूत संरचना भनेको लोकतान्त्रिक संविधानको चरित्र हो र यस सिद्धान्तको विकास अदालतबाट हुँदै आएको छ। अमेरिकाको सर्वोच्च अदालतले सन् १८०३ मा मार्बुरी वि. म्याडिसनको मुद्दामा न्यायपालिकालाई पुनरावलोकनको अधिकार रहेको हुन्छ भनी न्यायिक पुनरावलोकनको ढोका खुल्ला गर्यो। यस मुद्दामा पुनरावलोकनको माध्यमद्वारा संविधानको व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतमा निहित हुन्छ भनी शक्ति पृथकीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्तको समेत व्याख्या भयो।
नेपालको सर्वोच्च अदालतले आफूमा निहित न्यायिक पुनरावलोकनको अधिकार प्रयोग गरी विभिन्न मुद्दामा व्याख्या गर्दै संविधानको आत्मा र मर्मलाई संरक्षण प्रदान गरेको पाइन्छ। संविधानको आधारभूत मूल्य मान्यता, नागरिकलाई संविधानले प्रदान गरेको मौलिक हकको संरक्षण न्यायपालिकाले गरेको छ। यद्यपि नेपालको संविधान २०७२ मा रहेका जम्मा ३०८ धारामा संविधानको आधारभूत संरचनाको परिभाषा पाइँदैन। न त सर्वोच्च अदलातलेनै यससम्बन्धी स्पष्ट व्याख्या गरेको पाइन्छ।
नेपालको सर्वोच्च अदालतले संविधानको आधारभूत संरचनाको सिद्धान्तको विषयमा स्पष्ट व्याख्या गरेको पाइँदैन। बीपी कोइराला वि. काठमाडांै मजिस्ट्रेट (ने.का.प.२०१६, नि.नं.२४) भएको मुद्दामा ‘संवैधानिक व्यवस्था प्रतिकूलको कानुनलाई अबैधानिक ठहर गरिएको’ छ। यस मुद्दामा शाही घोषणाबाट जारी भएको ऐनलाई असंवैधानिक ठहर गरी संवैधानिक सर्वोच्चता र न्यायिक सक्रियताको सुरुवात भएको हो। त्यस्तै ‘कानुनी राज्य, वैयक्तिक स्वतन्त्रा र आधारभूत मानवाधिकार जस्तो संवेदनशील विषयमा कुनै ठोस आधारबिना कसैको स्वतन्त्रताको अपहरण गर्न नपाइने’ भनी कृष्णध्वज खड्का वि. कानुन मन्त्रालयसमेत (ने.का.प.२०५५, नि.नं.१९५) भएको मुद्दामा संविधानमा उल्लेखित मूलभूत व्यवस्थालाई सर्वोच्च अदालतले संरक्षण गरेको पाइन्छ।
‘संविधानले मौलिक हकको रूपमा वैयक्तिक स्वतन्त्राको हकलाई प्रत्याभूत गरेको अनिवार्य रूपमा पालना हुनुपर्ने’ भन्ने प्रेम चौलागाईंको हकमा कृष्णकुमारी श्रेष्ठ वि. गृह मन्त्रालय समेत (ने.का.प.२०६१,नि.नं.४२४? २) भएको बन्दीप्रत्यक्षीकरण मुद्दा लगायत अन्य विभिन्न मुद्दामा नेपालको सर्बोच्च अदालतले आफ्नो संवैधानिक र न्यायिक सर्वोच्चताको अधिकारको प्रयोग गरी संविधानको मूलभूत स्वरूपलाई संरक्षण प्रदान गर्दै आएको छ। सर्वोच्च अदालतले अन्य विभिन्न मुद्दामा संविधानको मौलिक व्यवस्था र विशेषताका बारेमा उल्लेख र व्याख्या गरेको पाइन्छ।
नेपालको सन्दर्भमा वर्तमान संविधान संशोधन गर्न केही निश्चित अवस्था र तरिका संविधानमै उल्लेख गरेको छ। जसअनुसार धारा २७४ को व्यवस्थालाई संविधानमा रहेको अपरिवर्तनीय वा असंशोधनीय आधारभूत मौलिक व्यवस्था हो भनेर बुझ्न सकिन्छ। जसअनुसार नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र जनतामा निहित सर्वभौमसताको प्रतिकूल नहुने गरी संविधान संशोधन गर्न सकिने उल्लेख छ। यसलाई संविधानको आधारभूत संरचनाको सिद्धान्त कै रूपमा बुझ्न सकिन्छ।
नेपालमा अप्रत्यासित रूपमा हुने आन्दोलन र राजनीतिक उथल–पुथलले संविधानको आधारभूत संरचनालाई बेवास्ता गरेको पाइन्छ। २०८२ साल भदौ २३ र २४ मा जेन–जी आन्दोलनको नाममा भएको विद्रोहको जगमा राज्यका तीनवटै अंगहरूमा भएको आगजनी, लुटपाट, भौतिक तथा पुरातात्विक महत्त्वका विषयहरूमा पुग्न गएको अपुरणीय क्षतिको परिणाम स्वरूप सुशीला कार्की नेतृत्वमा गठन भएको सरकार र सो सरकारले भंग गरेको प्रतिनिधिसभा नेपालको संविधान २०७२ को पूर्ण उल्लंघन हो। विद्रोहको नाममा कुनै पनि आपराधिक कार्य गर्न संविधानको कुनै पनि धाराले अनुमति दिँदैन। विद्रोहका नाममा हुने अपराधजन्य कार्यको कसुरदारलाई कानुनको दायरामा ल्याई कानुनी शासनको प्रत्याभूत गर्नसके मात्र संविधानका मूलभूत विशेषताको संरक्षण हुन सक्छ। आवश्यकताको सिद्धान्तको नाममा कसुरदारलाई उन्मुक्ति दिँदै जाने हो भने मानवअधिकार र कानुनी शासनको उपहास मात्र हुनजान्छ। संविधानको आधारभूत संरचनाको सिद्धान्त र संविधानवादको परिभाषा राज्यसत्ताको शक्तिमा निर्भर हुन्छ।
संविधानमा पहिलो संशोधन : ०७२ साल असोज ३ गते दोस्रो संविधानसभाबाट नेपालको सातांै संविधान जारी भयो। संविधानको प्रयोग भएको एक दशक पनि पूरा भएको छ, जुन अहिले कार्यान्वनको चरणमा छ। नेपाली जनताको युगौं पुरानो सपना, कठोर बलिदानीपूर्ण एवं दसकौं लामो संघर्ष, अत्यन्त कठोर मेहनत, प्रयास, राजनैतिक अन्तरद्वन्द्व, आन्तरिक तथा बाह्य स्वार्थको खिचातानीबीच जारी भएको संविधानको विरुद्धमा विभिन्न स्वार्थ समूहले तत्कालै आन्दोलन र असन्तुष्टि व्यक्त गर्न थाले। संविधान जारी भएको विषयलाई लिएर देशका विभिन्न भागमा आन्दोलन भयो।
विशेषत : मधेस क्षेत्रमा प्रतिनिधित्व संख्या, निर्वाचन क्षेत्र निर्धारण र राज्य संरचनासम्बन्धी असन्तुष्टि थियो। यही पृष्ठभूमिमा २०७२ माघ ९ गते नेपालको वर्तमान संविधानमा पहिलोपटक संविधान संशोधन प्रस्ताव पारित गरियो। यस संशोधनबाट प्रतिनिधिसभामा निर्वाचन क्षेत्र निर्धारण गर्दा जनसंख्यालाई मुख्य आधार मानिने व्यवस्था गरियो। राष्ट्रियसभामा प्रदेशहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने तथा समावेशी सिद्धान्तलाई थप स्पष्ट र मजबुत बनाउने प्रयत्न भयो। आन्दोलनरत पक्षहरूले सीमांकनलगायतका मूल माग सम्बोधन नभएको भन्दै संशोधनलाई अपूर्ण मान्दै आए ता पनि संविधानको बैध्यतालाई सबैले स्वीकार गरेका छन्।
संविधानमा दोस्रो संशोधन : संविधानसभाबाट जारी भएको संविधानमा २०७७ साल असार ४ गते दोस्रो संशोधन भयो। यस संशोधनले नेपालको निशाना छापभित्र रहेको पुरानो नक्साको सट्टा लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ राजनैतिक र प्रशासनिक नक्सा राखियो। महाकाली नदीवारिको क्षेत्र नेपालको भूमि भएको कुरा ऐतिहासिककालदेखि नै प्रमाणित र पुष्टि भएको तथ्यलाई छिमेकी मित्रराष्ट्र भारतले आफ्नु भूमि हो भन्दै दाबी गर्दै आएको छ। यो क्षेत्र नेपाल, भारत र चीनको त्रिदेशीय सीमा सम्बन्धका कारण सामरिक दृष्टिले पनि महत्त्वपूर्ण क्षेत्र भएको हुनाले भारतले पनि यस क्षेत्रलाई अवैधानिक दाबी र अनावश्यक विवाद गर्दै आएको छ।
दोस्रो संशोधनमा तत्कालीन संसद्मा रहेका सम्पूर्ण राजनैतिक दल, दुवै सदनका सम्पूर्ण सांसदहरूबाट एक मतका साथ संविधानको दोस्रो संशोधन विधेयक संसद्बाट पारित भयो। यस संशोधनले नेपालको लुकेको साँचो भौगोलिक इतिहास जनसमक्ष प्रकट भयो। यसले आम नेपाली जनताको रास्ट्रियता प्रतिको समर्पण र राष्ट्र प्रेमको भावनालाई पनि एकत्रित गर्यो। यो संशोधनबाट तत्कालीन संसद्मा रहेका सम्पूर्ण जनप्रतिनिधिहरूको ऐतिहासिक कार्यलाई नेपाली जनताबाट समेत एकमतले अनुमोदन भयो। यसरी नेपालको संसद्बाट सर्वसम्मत रूपमा पारित भएको संविधान संशोधनको विधेयक तत्कालीन रास्ट्रपति विद्यादेवी भण्डारीबाट २०७७ साल असार ४ गते प्रमाणीकरण भई लागू भएको हो। यस घटनाले संविधान संशोधन केवल कानुनी प्रक्रियामात्र नभई गहिरो राजनीतिक सहमति र शक्ति सन्तुलनको विषय भएको स्पष्ट गर्यो। त्यसैले संविधान संशोधनको विषय सामान्य कानुन संशोधन जस्तोमात्र नभएर अत्यन्त जटिल, गम्भीर र दुरगामी असर पार्ने विषय भएको हुँदा यसको संशोधनमा पनि त्यतिकै सावधानी अपनाउनु जरुरी हुन्छ।
अन्त्यमा, : संविधान संशोधन गर्दा आधारभूत संरचनाको सिद्धान्तलाई विशेष ध्यान दिनुपर्दछ। आधारभूत संरचनाको सिद्धान्तलाई बेवास्ता गरी संविधान संशोधन गर्दा संविधानको मूलभूत विशेषता र आधारभूत संरचनामा दख्खल पर्न जान्छ र संविधानले आफ्नो लक्ष प्राप्त गर्न सक्दैन। नेपालको वर्तमान संविधान,२०७२ निर्माणमा नेपाली जनताको ठूलो त्याग, लगानी र मेहनत रहेको छ। अर्थात् यो संविधान निर्माणमा आम नेपाली जनताको प्रत्यक्ष सहभागिता रहेको हुनाले यसको छुट्टै महत्त्व रहेको छ।
पटक–पटक संविधानसभाको निर्वाचन हुने विषय नभएको हुँदा यसै संविधानलाई संशोधन, परिमार्जन र परिस्कृत बनाएर अघि बढ्नु आजको आवश्यकता हो। तसर्थ संविधान संशोधन गर्दा यसको औचित्य, आवश्यकता र महत्त्वलाई सर्वोपरी ठानी संविधानको आधारभूत संरचना, यसको विशेषता एवं मौलिकता माथि असर नपर्ने गरी जनचाहना र राष्ट्रिय आवश्यकता अनुरूप संविधान संशोधन हुनुपर्दछ।
लुइँटेल, वरिष्ठ अधिवक्ता हुन्।
प्रतिक्रिया दिनुहोस !