रजस्वला बिदा : महिलालाई सुविधा कि कार्यस्थलमा चुनौती ?

रजस्वला बिदा : महिलालाई सुविधा कि कार्यस्थलमा चुनौती ?
सुन्नुहोस्

महिनावारी महिलाको जीवनसँग जोडिएको प्राकृतिक प्रक्रिया हो। तर यही प्राकृतिक प्रक्रियालाई हाम्रो समाजले लामो समयदेखि लाज, अपवित्रता र छुवाछूतसँग जोडेर हेर्दै आएको छ। महिनावारी भएकी महिलालाई घरको एउटा कुनामा सीमित गर्ने, भान्सामा जान नदिने वा सामाजिक गतिविधिबाट अलग राख्ने अभ्यास अझै पूर्ण रूपमा हटिसकेको छैन। यस्तो सामाजिक सोच बदल्नु राज्यको दायित्व हो। त्यसैले महिलाको स्वास्थ्य र सहजतालाई ध्यानमा राखेर रजस्वला अर्थात् मासिक धर्मका समयमा बिदा दिने प्रस्ताव अघि आउनु आफैंमा बहसयोग्य र सकारात्मक पहल हुन सक्छ।

महिनावारीका समयमा सबै महिलाको अनुभव समान हुँदैन। कसैलाई सामान्य हुन्छ, कसैलाई अत्यधिक पीडा, रक्तस्राव, कमजोरी वा अन्य स्वास्थ्य समस्या हुन्छ। यस्तो अवस्थामा कामबाट केही समय विश्राम पाउनु आवश्यक हुन सक्छ। तर प्रश्न यतिमै सकिँदैन। महिलालाई सहज बनाउन खोजिएको यो व्यवस्था भोलि महिलामाथि नै नयाँ प्रकारको विभेदको आधार त बन्दैन ? यही प्रश्नमा रजस्वला बिदासम्बन्धी बहसलाई अलि गहिराइमा लैजान आवश्यक छ।

रजस्वला प्राकृतिक प्रक्रिया भए पनि यसको अनुभव सबै महिलामा उस्तै हुँदैन। कसैलाई महिनावारी हुँदा सामान्य दिनजस्तै काम गर्न सकिन्छ, कसैलाई पहिलो वा दोस्रो दिन निकै कठिन हुन्छ। कसैलाई रक्तस्राव बढी हुन्छ भने कसैलाई सामान्य। कतिपय महिलाको महिनावारी चक्र नियमित नहुन सक्छ। त्यसैले सबै महिलालाई महिनावारी भएकै आधारमा काम गर्न असमर्थ ठान्नु पनि अर्को अतिवादी सोच हुन सक्छ। नीतिको उद्देश्य महिलालाई ‘काम गर्न नसक्ने’ भनेर वर्गीकरण गर्नु होइन, आवश्यक परेको अवस्थामा उनीहरूलाई सुविधा उपलब्ध गराउनु हुनुपर्छ। अर्थात् महिनावारीको तथ्यभन्दा त्यसले महिलाको स्वास्थ्य र काम गर्ने क्षमतामा पारेको प्रभावलाई आधार बनाउने नीति बढी व्यावहारिक हुन सक्छ।

रजस्वला बिदा महिलाको स्वास्थ्य अधिकारसँग जोडिएको विषय हो। तर कुनै पनि सुविधाले अनपेक्षित रूपमा विभेद जन्माउन सक्छ भन्ने सम्भावनालाई पनि नकार्न मिल्दैन। कुनै कार्यालयमा महिला कर्मचारीले महिनावारीका कारण बिदा लिन सक्ने व्यवस्था भयो। केही समयपछि व्यवस्थापकको मानसिकतामा ‘महिला कर्मचारी नियमित रूपमा उपलब्ध नहुन सक्छन्’ भन्ने धारणा विकास भयो भने के होला ? महत्त्वपूर्ण जिम्मेवारी, आकस्मिक सेवा वा नेतृत्वका अवसरमा महिला छनोट गर्दा उनको जैविक अवस्थालाई अप्रत्यक्ष रूपमा आधार बनाइयो भने आज अधिकारका रूपमा प्राप्त सुविधा भोलि करियरको बाधक बन्न सक्छ। यो जोखिम निजामती सेवामा मात्र छैन। निजी कम्पनी, बैंक, उद्योग, सञ्चारमाध्यम, अस्पताल, होटल, गैरसरकारी संस्था, सुरक्षा सेवा तथा अन्य क्षेत्रमा काम गर्ने महिलाले पनि यस्तो अप्रत्यक्ष विभेद भोग्न सक्ने सम्भावना रहन्छ। महिलालाई सुविधा दिनु र महिलालाई कमजोर ठान्नु फरक कुरा हो। नीति निर्माणले यो फरक स्पष्ट गर्न सक्नुपर्छ।

रजस्वला बिदाको बहस निजामती कर्मचारीमा मात्र सीमित राख्न मिल्दैन। विद्यालयमा कार्यरत महिला शिक्षक पनि यही प्राकृतिक अवस्थाबाट गुज्रिन्छन्। महिला शिक्षकलाई महिनावारीका समयमा अत्यधिक पीडा भयो भने आराम आवश्यक पर्न सक्छ। तर उनी बिदामा बस्दा कक्षा कसले लिने ? विद्यालयमा पर्याप्त शिक्षक नभए विद्यार्थीको पढाइ के हुन्छ ? विशेषगरी ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यालयमा सीमित शिक्षकले धेरै कक्षा सम्हालिरहेका हुन्छन्। एउटा शिक्षक अनुपस्थित हुँदा अर्को शिक्षकले अतिरिक्त जिम्मेवारी लिनुपर्ने वा कक्षा नै प्रभावित हुने अवस्था आउन सक्छ। यसको समाधान महिला शिक्षकलाई बिदा नदिनु होइन। विद्यालयले वैकल्पिक शिक्षक, कक्षा समायोजन वा अन्य व्यवस्थापनको प्रणाली तयार गर्नुपर्छ। शिक्षकको स्वास्थ्य र विद्यार्थीको शिक्षाबीच कुनै एकलाई रोज्नुपर्ने अवस्था सिर्जना हुनु हुँदैन। महिला शिक्षकलाई आफ्नो स्वास्थ्यका कारण आवश्यक सुविधा दिने र विद्यार्थीको पढाइ निरन्तर राख्ने दुवै जिम्मेवारी राज्य तथा विद्यालय व्यवस्थापनको हो।

अव रजस्वला बिदाको बहसको अर्को महत्त्वपूर्ण पक्ष विद्यालयका किशोरी विद्यार्थी पनि हुन्। महिनावारी सुरु हुँदा धेरै किशोरी डराउँछन्, संकोच मान्छन्। विद्यालयमै महिनावारी भयो र त्यहाँ पर्याप्त पानी, सुरक्षित शौचालय वा सेनेटरी सामग्री उपलब्ध भएन भने उनीहरू घर फर्किन बाध्य हुन सक्छन्। यस अवस्थामा महिनावारी भएकी किशोरीलाई बिदा दिनेभन्दा पहिले विद्यालयलाई महिनावारीमैत्री बनाउने विषयमा ध्यान दिनुपर्छ। विद्यालयमा सफा शौचालय, पानी, सेनेटरी सामग्री, फोहोर व्यवस्थापन र आवश्यक परे केही समय आराम गर्न सक्ने व्यवस्था हुनु आवश्यक छ। अत्यधिक पीडा वा स्वास्थ्य समस्या भएका विद्यार्थीले बिदा लिन पाउने विकल्प पनि हुनुपर्छ। तर महिनावारी भएकै कारण हरेक महिना विद्यालय छुट्ने अवस्था सामान्य बनाइयो भने त्यसले किशोरीको शिक्षामा असर पार्न सक्छ। नियमित कक्षा छुट्दा सिकाइ कमजोर हुन सक्छ, पाठ छुट्न सक्छ र दीर्घकालमा शैक्षिक उपलब्धिमा असर पर्न सक्छ। त्यसैले किशोरीका लागि सबैभन्दा ठूलो आवश्यकता महिनावारी बिदा मात्र होइन, महिनावारीकै अवस्थामा पनि विद्यालयमा सुरक्षित र सम्मानपूर्वक पढ्न सक्ने वातावरण हो।

महिनावारीका कारण महिलालाई अलग राख्ने सामाजिक अभ्यास अझै कतिपय ठाउँमा छ। यसलाई अन्त्य गर्नुपर्ने राज्यले नै महिलालाई महिनावारी भएकै कारण कामबाट अलग राख्ने अर्थ लाग्ने नीति बनाउनु उचित हुँदैन। रजस्वला बिदा र ‘नछुने’ प्रथा निश्चय नै एउटै होइनन्। एउटा स्वास्थ्य र कार्यसहजतासँग जोडिन्छ, अर्को विभेदपूर्ण सामाजिक अभ्यास हो। तर कुनै पनि नीति समाजमा कसरी बुझिन्छ भन्ने प्रश्न पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ। राज्यको सन्देश स्पष्ट हुनुपर्छ, महिनावारी भएकी महिला अलग हुनुपर्ने होइन; आवश्यक परे उनलाई सुविधा चाहिन्छ, तर उनी सामान्य अवस्थामा अरू सरह काम गर्न सक्षम र समान अधिकारकी नागरिक हुन्।

रजस्वला बिदाको बहस सरकारी कार्यालयमा कार्यरत महिलाबाट सुरु भए पनि यसलाई त्यही सीमामा राख्न मिल्दैन। कारखानामा काम गर्ने श्रमिक, निर्माण क्षेत्रमा खटिने महिला, खेतबारीमा काम गर्ने किसान, अस्पतालमा सेवा दिने स्वास्थ्यकर्मी, विद्यालयको महिला शिक्षक, निजी कम्पनीकी कर्मचारी, बैंकमा काम गर्ने महिला, सञ्चारकर्मी, होटल तथा पर्यटन क्षेत्रमा कार्यरत महिला, सुरक्षाकर्मी, व्यवसायी वा स्वरोजगार महिलासम्म सबैको महिनावारी हुन्छ। तर उनीहरूको काम गर्ने अवस्था एउटै छैन। कार्यालयमा सहज वातावरणमा काम गर्ने महिलाको अवस्था र दिनभर शारीरिक श्रम गर्ने श्रमिक महिलाको अवस्था फरक हुन्छ। अस्पतालको आकस्मिक सेवामा खटिने स्वास्थ्यकर्मी र घरबाटै व्यवसाय गर्ने महिलाको आवश्यकता पनि फरक हुन्छ। 

विशेषगरी अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाको अवस्था अझ संवेदनशील छ। उनीहरूले बिदा लिए आम्दानी गुमाउनुपर्ने हुन सक्छ। कतिपयले सामाजिक सुरक्षाको पहुँचसमेत पाएका हुँदैनन्। त्यसैले रजस्वला बिदाको बहसले औपचारिक क्षेत्रका महिलालाई मात्र समेटेर पुग्दैन।

कार्यस्थलमैत्री नीति आवश्यक महिनावारीका समयमा महिलालाई सहज बनाउन बिदा एउटा उपाय हुन सक्छ। तर त्यससँगै कार्यस्थलको आधारभूत संरचना सुधार्नु आवश्यक छ। सफा र सुरक्षित शौचालय, पर्याप्त पानी, सेनेटरी सामग्री, स्वास्थ्यसम्बन्धी जानकारी, आवश्यक परे केही समय आराम गर्ने सुविधा र कामको प्रकृतिअनुसार समय व्यवस्थापनजस्ता विषयलाई पनि नीतिको हिस्सा बनाउनुपर्छ। कुनै महिलालाई पूरै दिन आराम आवश्यक पर्न सक्छ। कसैलाई केही घण्टा पर्याप्त हुन सक्छ। कतिपयलाई कुनै अतिरिक्त सुविधा नचाहिन सक्छ। यस्तो विविधतालाई स्वीकार गर्ने नीति बढी मानवीय र व्यावहारिक हुन्छ।

रजस्वला बिदालाई लिएर समर्थन वा विरोधमा मात्र बहस गर्नु पर्याप्त हुँदैन। मूल प्रश्न महिलाको स्वास्थ्य र समान अवसरबीच सन्तुलन कसरी कायम गर्ने भन्ने हो। महिला कर्मचारीले आवश्यक पर्दा आराम पाऊन्, तर त्यसका कारण उनको पदस्थापन, जिम्मेवारीमा असर नपरोस्। महिला शिक्षकले स्वास्थ्यका कारण बिदा लिन सकून्, तर विद्यार्थीको पढाइ नरोकिने वैकल्पिक व्यवस्था होस्। किशोरीले महिनावारी हुँदा आवश्यक सहयोग पाऊन्, तर त्यसकै कारण उनको शिक्षा नछुटोस्। श्रमिक महिलाले पनि आफ्नो काम र आम्दानी गुमाउन नपर्ने गरी सुरक्षित वातावरण पाऊन्। महिनावारी न रोग हो, न कमजोरी। त्यसलाई सामान्य बनाउनु आवश्यक छ। तर सामान्य बनाउनुको अर्थ महिलाको पीडालाई बेवास्ता गर्नु पनि होइन।

रजस्वला बिदाको उद्देश्य महिलालाई कामबाट अलग राख्ने होइन, आवश्यक परेको अवस्थामा कार्यस्थल मै काम र स्वास्थ्यबीच सन्तुलन कायम गर्ने सुविधा दिनु हुनुपर्छ। महिलालाई सुविधा दिँदा उनीहरूलाई कमजोर बनाउने होइन। सुविधा लिए पनि उनीहरू समान रूपमा सक्षम, जिम्मेवार र अवसरका हकदार छन् भन्ने मान्यता स्थापित गर्न सकियो भने मात्र यस्तो नीति सार्थक हुनेछ। प्रश्न ‘रजस्वला बिदा दिने कि नदिने ? ’ मा मात्र सीमित हुनु हुँदैन। प्रश्न महिनावारीको प्राकृतिक अवस्थालाई सम्मान गर्दै महिलाको स्वास्थ्य, रोजगारी, शिक्षा, आम्दानी, जिम्मेवारी र समान अवसर कसरी सुरक्षित गर्ने ? राज्यले खोज्नुपर्ने उत्तर यही हो।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.