अधिवेशन र कांग्रेसको भावी दिशा

अधिवेशन र कांग्रेसको भावी दिशा
सुन्नुहोस्

आज कांग्रेससामु मूल प्रश्न ‘नेतृत्वमा को आउने ?’ मात्र होइन, ‘कस्तो कांग्रेस बनाउने?’ भन्ने हो ।

कांग्रेसले जनतासँगको सम्बन्धलाई फेरि आत्मीय बनाउनुपर्छ। निर्वाचनका बेला मात्र घरदैलो गर्ने र बाँकी समयमा जनताको जीवनबाट टाढा रहने राजनीति अब पर्याप्त छैन। किसानको खेतमा देखिने समस्या, श्रमिकको पसिनामा लुकेको पीडा, युवाको भविष्यप्रतिको चिन्ता, उद्यमीको संघर्ष, विद्यार्थीको सपना, महिलाको आकांक्षा र विदेशमा रहेका नेपालीको मनमा रहेको देशप्रतिको सम्बन्ध—यी सबै कांग्रेसको राजनीतिक सरोकार बन्नुपर्छ।

नेपाली कांग्रेसको महाधिवेशन एउटा सांगठनिक औपचारिकतामात्र होइन, यो इतिहाससँग संवाद गर्ने, वर्तमानलाई आत्मसात् गर्ने र भविष्यप्रति नयाँ संकल्प गर्ने महत्त्वपूर्ण क्षण हो। यो त्यस्तो अवसर हो, जहाँ प्रत्येक कांग्रेसजनले आफूलाई मात्र होइन, आफ्नो पार्टीलाई पनि ऐनामा हेर्नुपर्छ। विगतका संघर्ष, त्याग, योगदान र उपलब्धिलाई सम्झँदै आज कांग्रेस कहाँ उभिएको छ र भोलि कहाँ पुग्नुपर्छ भन्ने प्रश्नको इमानदार उत्तर खोजिनुपर्छ। महाधिवेशन पद प्राप्तिको प्रतिस्पर्धाभन्दा माथि उठेर विचार, आदर्श, संगठन र जनविश्वासको पुनर्निर्माण गर्ने अभियान बन्न सकेमात्र यसको सार्थकता स्थापित हुनेछ।

नेपाली कांग्रेसको इतिहास केवल एउटा राजनीतिक दलको इतिहास होइन; यो नेपालको लोकतान्त्रिक यात्रासँग जोडिएको इतिहास हो। नागरिक स्वतन्त्रता, बहुदलीय लोकतन्त्र, विधिको शासन र राजनीतिक परिवर्तनका लागि कांग्रेसका असंख्य नेता तथा कार्यकर्ताले गरेको संघर्ष, त्याग र योगदान नेपाली राजनीतिको अमूल्य सम्पत्ति हो। तर इतिहासको गौरवमा मात्र भविष्य सुरक्षित हुँदैन। इतिहासले हामीलाई प्रेरणा दिन्छ, बाटो देखाउँछ; तर हरेक पुस्ताले आफ्नो समयका चुनौतीको सामना आफैं गर्नुपर्छ। आजको नेपाल बदलिएको छ। सूचना प्रविधिले समाजको स्वरूप परिवर्तन गरेको छ, युवाका आकांक्षा फराकिला भएका छन्, रोजगारी र अवसरका प्रश्न गम्भीर छन्, बिदेसिनुपर्ने बाध्यता बढेको छ र राज्य तथा राजनीतिक संस्थाप्रतिको जनविश्वासलाई निरन्तर परीक्षा भइरहेको छ। यस्तो समयमा कांग्रेसले विगतलाई सम्मान गर्दै भविष्यलाई नयाँ आँखाले हेर्नुपर्छ।

आज कांग्रेससामु मूल प्रश्न ‘नेतृत्वमा को आउने ? ’ मात्र होइन, ‘कस्तो कांग्रेस बनाउने ? ’ भन्ने हो। संगठन ठूलो भएर मात्र पार्टी बलियो हुँदैन। पार्टी बलियो तब हुन्छ, जब कार्यकर्ताले आफ्नो आवाज सुनिएको महसुस गर्छन्, फरक विचार राख्न डराउँदैनन्, योग्यताले अवसर पाउँछ र नेतृत्वप्रति विश्वास कायम हुन्छ। कांग्रेसभित्र विचारको सम्मान, असहमतिलाई स्वीकार गर्ने संस्कार, निर्णय प्रक्रियामा पारदर्शिता र जिम्मेवारीप्रतिको उत्तरदायित्व अझ बलियो बनाउनुपर्छ। व्यक्तिभन्दा विचार, गुटभन्दा संस्था र पदभन्दा जिम्मेवारी ठूलो हुने राजनीतिक संस्कार नै आजको आवश्यकता हो।

कांग्रेसको शक्ति उसका कार्यालय वा निर्वाचनको समयमा देखिने भीडमा मात्र छैन; यसको वास्तविक शक्ति गाउँ–गाउँमा बसेका ती कार्यकर्ताको मनमा छ, जसले कठिन समयमा पनि पार्टीको झण्डा छोडेनन्। संगठनका लागि समय दिए, संघर्ष गरे, आलोचना सहेर पनि पार्टीसँग आफ्नो सम्बन्ध कायम राखे। यस्ता कार्यकर्ताको योगदानलाई केवल निर्वाचनका बेला सम्झिने होइन, पार्टीको नीति, निर्णय र नेतृत्व निर्माणमा समेत सम्मानपूर्वक स्थान दिनुपर्छ। संगठन पहुँच र निकटताको आधारमा होइन, योगदान, क्षमता, इमानदारी र निरन्तर सक्रियताको आधारमा अघि बढ्ने वातावरण बन्नुपर्छ।

पुस्तान्तरण पनि यही भावनाबाट बुझिनुपर्छ। नयाँ पुस्ता आउनु भनेको पुरानो पुस्तालाई विस्थापित गर्नु होइन। अनुभवी पुस्ताको संघर्ष, राजनीतिक चेतना र संस्थागत स्मृति कांग्रेसको अमूल्य पुँजी हो। त्यसमाथि नयाँ पुस्ताको ऊर्जा, प्रविधिमैत्री सोच, नवीनता र परिवर्तनको आकांक्षा जोडिनुपर्छ। अनुभव र ऊर्जाको मिलनबाट मात्र कांग्रेसले आफ्नो राजनीतिक जीवन्तता कायम राख्न सक्छ। युवालाई केवल नारामा होइन, निर्णय प्रक्रियामा, नीति निर्माणमा, संगठन सञ्चालनमा र नेतृत्व विकासमा वास्तविक अवसर दिनुपर्छ।

महाधिवेशनको केन्द्रमा नीतिगत बहस हुनुपर्छ। आजको नागरिकले केवल भाषण सुन्न चाहँदैन; उसले आफ्नो जीवनसँग जोडिएको परिणाम खोजिरहेको छ। रोजगारी कहाँबाट सिर्जना हुन्छ ? युवालाई नेपालमै भविष्य देख्ने वातावरण कसरी बनाउने ? कृषि कसरी उत्पादनमुखी बनाउने ? शिक्षा र स्वास्थ्य कसरी गुणस्तरीय बनाउने ? उद्यमशीलता र लगानीलाई कसरी प्रोत्साहन गर्ने ? भ्रष्टाचार कसरी नियन्त्रण गर्ने ? सार्वजनिक सेवा कसरी छिटो, सरल र पारदर्शी बनाउने ? यस्ता प्रश्नको स्पष्ट उत्तर कांग्रेसले दिन सक्नुपर्छ। राजनीतिक दलको विश्वसनीयता घोषणापत्रमा लेखिएका शब्दले होइन, जनताको जीवनमा देखिने परिवर्तनले निर्माण गर्छ।

बलियो, सक्षम र समावेशी केन्द्रीय कार्यसमिति कांग्रेसको भावी यात्राको महत्त्वपूर्ण आधार हो। केन्द्रीय कार्यसमिति केवल पदाधिकारी र सदस्यहरूको सूची होइन; यो कांग्रेसका विविध विचार, क्षेत्र, समुदाय, पुस्ता र अनुभवको साझा प्रतिनिधित्व गर्ने राजनीतिक मञ्च हुनुपर्छ। देशका कुनाकाप्चामा रहेका कार्यकर्ताको आवाज केन्द्रीय तहसम्म पुग्नुपर्छ र केन्द्रमा भएका निर्णयको अनुभूति संगठनको तल्लो तहसम्म हुनुपर्छ। प्रत्येक कांग्रेसजनले ‘यो पार्टी मेरो पनि हो, मेरो आवाजको पनि मूल्य छ’ भन्ने अनुभूति गर्न सक्ने वातावरण निर्माण गर्नुपर्छ। अनुभवी पुस्ताको राजनीतिक ज्ञान र संघर्षबाट प्राप्त सिकाइसँगै नयाँ पुस्ताको ऊर्जा, नवीन सोच, प्रविधिको ज्ञान र परिवर्तनप्रतिको चाहनालाई समान सम्मान दिइनुपर्छ। महिला, युवा, विभिन्न क्षेत्र, समुदाय र सामाजिक समूहको सार्थक सहभागिताले मात्र केन्द्रीय कार्यसमितिलाई वास्तविक अर्थमा प्रतिनिधिमूलक र जीवन्त बनाउन सक्छ।

यही सन्दर्भमा लामो समयदेखि कांग्रेसको विचार, संगठन र राजनीतिक यात्रासँग आत्मीय रूपमा जोडिएर निरन्तर सक्रिय रहँदै आएका अनुभवी कांग्रेसजनको भूमिकालाई पनि नयाँ दृष्टिले हेर्नुपर्छ। लामो राजनीतिक यात्रामा पार्टीसँगै रहेर विभिन्न आरोह–अवरोह देखेका र आज महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीको सर्वोच्च सांगठनिक प्रक्रियामा सहभागी भइरहेका व्यक्तिका लागि केन्द्रीय जिम्मेवारी व्यक्तिगत महत्त्वाकांक्षाभन्दा ठूलो विषय हो। त्यो लामो अनुभवलाई पार्टीको संस्थागत शक्ति बनाउने, कार्यकर्ताका भावना नेतृत्वसम्म पुर्‍याउने र नयाँ पुस्ता तथा अनुभवी पुस्ताबीच सेतु बन्ने अवसर पनि हो। कांग्रेसको केन्द्रीय कार्यसमितिमा योगदान गर्ने आकांक्षा त्यसैले पदप्रतिको आकर्षण मात्र नभई आफूले जीवनको लामो समय विश्वास गरेको राजनीतिक आदर्श र संगठनप्रतिको जिम्मेवारीलाई अझ व्यापक रूपमा पूरा गर्ने चाहनाका रूपमा बुझिनुपर्छ। यस्तो जिम्मेवारीका लागि व्यक्तिको विगतमात्र होइन, उसको अध्ययन, सोच, समन्वय क्षमता, संगठनप्रतिको निष्ठा, नयाँ पुस्ताप्रतिको विश्वास र भविष्य निर्माण गर्ने दृष्टिकोण पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ।

केन्द्रीय कार्यसमितिमा पुग्ने प्रत्येक व्यक्तिले एउटा कुरा सम्झनुपर्छ—केन्द्रीय जिम्मेवारी सम्मानभन्दा बढी उत्तरदायित्व हो। त्यहाँ पुगेर कार्यकर्ताका आवाज सुन्नुपर्नेछ, फरक विचारलाई स्थान दिनुपर्नेछ, संगठनका कमजोरी स्वीकार गर्नुपर्नेछ र आवश्यक सुधारका लागि साहसपूर्वक निर्णय गर्नुपर्नेछ। राजनीतिक सक्रियता र राजनीतिक नेतृत्वबीच यही अन्तर हुन्छ। नेतृत्व भनेको अगाडि उभिनुमात्र होइन; पछाडि छुटेकालाई पनि साथ लिएर अघि बढ्नु हो। नेतृत्व भनेको आफ्ना समर्थकको मात्र आवाज सुन्नु होइन; असहमतको आवाज पनि सुन्न सक्नु हो। नेतृत्व भनेको अधिकार प्रयोग गर्नु मात्र होइन, निर्णयको परिणामप्रति जवाफदेही हुनु हो।

महाधिवेशनमा विचार र समूहबीच प्रतिस्पर्धा हुनु लोकतान्त्रिक प्रक्रियाको स्वाभाविक पक्ष हो। तर प्रतिस्पर्धा सकिएपछि कांग्रेस एउटै परिवारका रूपमा उभिन सक्नुपर्छ। निर्वाचनको समयमा बनेका दूरीहरू संगठनको दीर्घकालीन सम्बन्धमा रूपान्तरण हुनु हुँदैन। कुनै गुट, समूह वा व्यक्ति कांग्रेसभन्दा ठूलो हुन सक्दैन। नेतृत्वमा पुग्ने व्यक्तिले आफ्नो विजयलाई समूहको विजयका रूपमा होइन, सम्पूर्ण पार्टीको जिम्मेवारीका रूपमा ग्रहण गर्नुपर्छ। फरक विचारलाई कमजोरी होइन, लोकतान्त्रिक शक्ति ठान्ने संस्कार विकसित गर्न सके कांग्रेसभित्रको विविधता विभाजन होइन, सामूहिक ऊर्जा बन्न सक्छ। कांग्रेसले जनतासँगको सम्बन्धलाई फेरि आत्मीय बनाउनुपर्छ। निर्वाचनका बेला मात्र घरदैलो गर्ने र बाँकी समयमा जनताको जीवनबाट टाढा रहने राजनीति अब पर्याप्त छैन। किसानको खेतमा देखिने समस्या, श्रमिकको पसिनामा लुकेको पीडा, युवाको भविष्यप्रतिको चिन्ता, उद्यमीको संघर्ष, विद्यार्थीको सपना, महिलाको आकांक्षा र विदेशमा रहेका नेपालीको मनमा रहेको देशप्रतिको सम्बन्ध—यी सबै कांग्रेसको राजनीतिक सरोकार बन्नुपर्छ। जनताको सुखमा खुसी हुने र दु : खमा साथ दिने राजनीतिक संस्कार पुन :  स्थापित गर्न सकेमात्र पार्टी र जनताबीचको सम्बन्ध गहिरो बन्न सक्छ।

सुशासन, न्याय र उत्तरदायित्व लोकतन्त्रका आधार हुन्। लोकतन्त्र पाँच वर्षमा एकपटक मत हाल्ने प्रक्रिया मात्र होइन। नागरिकले राज्यका संस्थामा न्याय, सेवा र सम्मान पाउने व्यवस्था नै लोकतन्त्रको वास्तविक अनुभूति हो। सार्वजनिक स्रोतको पारदर्शी उपयोग, विधिको शासन, भ्रष्टाचार नियन्त्रण र प्रभावकारी सेवा प्रवाहमा कांग्रेसले स्पष्ट मापदण्ड स्थापित गर्न सक्नुपर्छ। पार्टीभित्रको लोकतन्त्र र बाहिरको लोकतान्त्रिक संस्कारबीच दूरी हुनु हुँदैन। कांग्रेसले आफूभित्र अभ्यास गर्ने राजनीतिक संस्कारले नै उसले समाजमा प्रस्तुत गर्ने लोकतन्त्रको गुणस्तर निर्धारण गर्छ।

महाधिवेशन सम्पन्न हुनु अन्त्य होइन, एउटा नयाँ सुरुवात हो। त्यसपछि कांग्रेसले आफूलाई कति बदल्छ भन्ने नै वास्तविक परीक्षा हुनेछ। योग्य र इमानदार कार्यकर्ताले अवसर पाउँछन् कि पाउँदैनन्, युवाले निर्णय प्रक्रियामा अर्थपूर्ण स्थान पाउँछन् कि पाउँदैनन्, नीतिगत बहसले प्राथमिकता पाउँछ कि पाउँदैन, संगठन जनतासँग जोडिन्छ कि जोडिँदैन र नेतृत्वले आफ्ना निर्णयप्रति जवाफदेहिता वहन गर्छ कि गर्दैन—यिनै प्रश्नले महाधिवेशनको सफलता मापन गर्नेछन्।

कांग्रेसको पुनर्जागरण भनेको इतिहास दोहोर्‍याउनु होइन; इतिहासबाट शक्ति लिएर भविष्य निर्माण गर्नु हो। विगतका आदर्शलाई वर्तमानका आवश्यकता र भविष्यका सम्भावनासँग जोड्न सक्नुपर्छ। लोकतन्त्रप्रतिको प्रतिबद्धता, सामाजिक न्यायको भावना, आर्थिक समृद्धिको आकांक्षा, राष्ट्रिय हितप्रतिको निष्ठा र जनताप्रतिको उत्तरदायित्वलाई नयाँ पुस्ताको सोचसँग जोड्न सके कांग्रेस अझ जीवन्त र सान्दर्भिक बन्न सक्छ।

अन्तत :  महाधिवेशन केवल नेतृत्व चयन गर्ने क्षण होइन, कांग्रेसले आफूलाई पुन :  चिन्ने क्षण हो। यो त्यस्तो अवसर हो, जहाँ विगतका त्यागलाई सम्मान गर्दै वर्तमानका कमजोरी स्वीकार गर्ने र भविष्यका लागि नयाँ संकल्प गर्ने साहस आवश्यक हुन्छ। कांग्रेसले जनताको बदलिँदो आकांक्षा बुझ्न सक्यो, कार्यकर्ताको मन जित्न सक्यो, अनुभवी पुस्ताको ज्ञान र नयाँ पुस्ताको ऊर्जा जोड्न सक्यो तथा लोकतान्त्रिक मूल्यलाई व्यवहारमै स्थापित गर्न सक्यो भने महाधिवेशन एउटा सांगठनिक घटना मात्र रहने छैन—यो कांग्रेसको नयाँ राजनीतिक यात्राको आधार बन्नेछ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.