फास्ट ट्र्याकमा विलम्ब : सेनाको खरिद प्रक्रियामा योजना आयोग सदस्यले उठाए प्रश्न

अन्नपूर्ण फलोअप

फास्ट ट्र्याकमा विलम्ब : सेनाको खरिद प्रक्रियामा योजना आयोग सदस्यले उठाए प्रश्न
सुन्नुहोस्

काठमाडौं : काठमाडौंलाई तराईसँग जोड्ने लाइफलाइन मानिएको फास्ट ट्रयाक आयोजना अहिले नीतिगत झन्झट र खरिद प्रक्रियाको पर्खालभित्र थुनिएको छ। चार वर्षको भाका नाघिसक्दा पनि आधामात्रै काम सकिएपछि राष्ट्रिय गौरवको आयोजनामा प्रगतिमा आलोचना भइरहेको छ। चौतर्फी दबाबबीच ढिलो गरी भए पनि सरकार आयोजनाका गाँठाहरू फुकाउँदै निर्माणलाई तीव्र गति दिने नीति र कार्यविधि परिवर्तनको गृहकार्यमा तातिएको छ।
चार वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित नेपाली सेनालाई जिम्मा दिइएको आयोजना वर्षौं बितिसक्दा पनि भौतिक प्रगति ५० प्रतिशतको हाराहारीमा सीमित भएपछि निर्माणमा देखिएका अवरोध हटाउने विषयमा बहस तीव्र भएको हो। 

राष्ट्रिय योजना आयोगका सदस्य अर्जुनजंग थापाले फास्ट ट्र्याक निर्माणमा खरिद प्रक्रिया, सामग्रीको स्पेसिफिकेसन, डिजाइन स्वीकृति, निर्माण व्यवसायीमाथि लगाइएको जरिबाना, बजेट अभाव र खोकना विवादले आयोजनाको गति प्रभावित भएको बताएका छन्।

थापाले नेपाली सेनाले यसअघि यस्तो प्रकृतिको ठूलो पूर्वाधार आयोजना निर्माण नगरेकाले खरिद प्रक्रिया र सामग्री छनोटमा कमजोरी भएको बताएका छन्। उनका अनुसार आयोजनाका केही खरिद प्रक्रियामा निश्चित कम्पनी वा ब्रान्डको सामग्रीमात्रै प्रयोग गर्नुपर्ने गरी स्पेसिफिकेसन तयार गरिएको पाइएको छ। ‘नेपाली सेनाको तर्फका परामर्शदाताले पनि केही गल्ती गरेको देखियो। यस्तो किसिमको काम सेनाले यसअघि गरेको थिएन। त्यसैले खरिद प्रक्रियामा उहाँहरू पनि नयाँ हुनुहुन्थ्यो। त्यस क्रममा केही दलालहरू पनि त्यहाँ छिरेछन्,’ थापाले अन्नपूर्णसँग सोमबार साँझ भने।

नेपाली सेनाका सूचना अधिकारी राजाराम बस्नेतले फास्ट ट्र्याक निर्माणमा आफूहरूले मुख्यत :  आयोजनाको भौगोलिक अवस्था, जग्गा प्राप्ति, सुरुङ तथा पुल निर्माण र प्राकृतिक विपद्को चुनौती सामना गर्नु परेको बताएका छन्। आयोजनामा करिब ११ किलोमिटर सुरुङ र १० देखि 
११ किलोमिटर पुल निर्माण गर्नुपर्ने तथा केही पुल ८१ मिटरसम्म अग्ला हुने भएकाले काम प्राविधिक रूपमा जटिल रहेको उनले बताए।

थापाका अनुसार जियोटेक्निकललगायत प्राविधिक सामग्री खरिद गर्दा कुनै एउटा कम्पनी वा ब्रान्डलाई मात्रै लक्षित गरेर स्पेसिफिकेसन बनाउन मिल्दैन। तोकिएको गुणस्तर पूरा गर्ने समान प्रकृतिका अन्य उत्पादनलाई समेत प्रतिस्पर्धामा सहभागी गराउनुपर्ने उनको भनाइ छ।

 ‘गुणस्तरको मापदण्ड पूरा गर्ने जुनसुकै कम्पनीको सामग्री प्रयोग गर्न पाउनुपर्छ। कुनै एउटा कम्पनीकै उत्पादन किन्न बाध्य पार्ने गरी सर्त राख्नु उचित हुँदैन,’ थापाले भने, ‘गुणस्तर परीक्षणमा फेल भए सामग्री अस्वीकार गर्न सकिन्छ, तर कम्पनी नै तोकेर खरिद गर्न लगाउन मिल्दैन।’

बस्नेतले भने निश्चित कम्पनीको सामग्री प्रयोग गर्नुपर्ने गरी स्पेसिफिकेसन तयार गरिएको विषयमा आफूलाई जानकारी नभएको बताएका छन्। आयोजना निर्माणमा देखिएका चुनौतीका बाबजुद नेपाली सेना फास्ट ट्र्याक निर्माण चाँडै सक्ने गरी द्रुत रूपमा काम भइरहेको उनको भनाइ छ।  फास्ट ट्र्याकका सुरुङ तथा पुल निर्माणका लागि गरिएको पूर्वयोग्यता प्रक्रियामा समेत विवाद देखिएको छ। सार्वजनिक लेखा समितिले प्रक्रियागत त्रुटि औंल्याउँदै उक्त प्रक्रिया रद्द गरी नयाँ प्रक्रिया सुरु गर्न नेपाली सेनालाई निर्देशन दिएको थियो। समितिका अनुसार २२ कम्पनीले आवेदन दिएकामा एउटा कम्पनीमात्रै पूर्वयोग्यताका लागि छनोट गरिएको थियो।

खरिद प्रक्रियामा देखिएको समस्याले समय र लागतमा असर गर्न सक्ने थापाको भनाइ छ। यसअघि सन् २०१९ मा फास्ट ट्र्याकको डिजाइन तथा परामर्श सेवाका लागि अन्तर्राष्ट्रिय परामर्शदाता छनोट गर्ने प्रक्रियासमेत विवादमा परेको थियो। मूल्यांकन मापदण्ड बोलपत्र आह्वानअघि नै सम्भावित बोलपत्रदातासम्म पुगेको पाइएपछि उक्त प्रक्रिया रद्द गरिएको थियो।

निर्माण ढिलाइको अर्को कारण डिजाइन स्वीकृतिमा भएको ढिलाइ रहेको थापाले बताए। डिजाइन स्वीकृत हुन समय लागे पनि निर्माण व्यवसायीलाई लिक्विडेटेड ड्यामेज (एलडी) लगाउँदा उनीहरूको क्यास फ्लोमा समस्या आएको र त्यसले कामको गति प्रभावित गरेको उनको भनाइ छ।  ‘डिजाइन स्वीकृतिमा ढिलाइ भएपछि पनि निर्माण व्यवसायीलाई एलडी लगाइदिएछन्। त्यसबाट निर्माण व्यवसायीलाई क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आयो। त्यसपछि उनीहरूको क्यास फ्लोमा समस्या आयो। क्यास फ्लोमा समस्या आएपछि निर्माण व्यवसायीहरूले त्यहाँ काम गर्न तदारुकता नदेखाएको अवस्था रहेछ,’ थापाले भने।  बस्नेतका अनुसार भने फास्ट ट्र्याक निर्माणमा कोभिड–१९ महामारी र २०८१ असोज ११ गते आएको बाढीले समेत बाधा सिर्जना गरेको छ। भौगोलिक जटिलतासँगै प्राकृतिक विपद्का कारण कतिपय क्षेत्रमा निर्माण कार्य प्रभावित भएको उनले बताए।

आयोजनामा लागिसकेका ११ वटा ठेक्काको समयसीमा पुन :  निर्धारण गरी काम समयमा सक्ने निर्माण व्यवसायीलाई प्रोत्साहन गर्ने र ढिलाइ गर्नेलाई थप दण्ड दिने प्रस्तावमाथि छलफल भइरहेको थापाले जानकारी दिए। ५० प्रतिशतभन्दा बढी प्रगति भएका ठेकेदारले आगामी एक वर्षभित्र काम सम्पन्न गरेमा यसअघि लागेको जरिवाना फिर्ता गर्ने प्रस्ताव छ। तोकिएको नयाँ समयसीमामा समेत काम सम्पन्न नगर्ने ठेकेदारलाई थप जरिवाना लगाउने व्यवस्था गर्न खोजिएको छ। यस्तो व्यवस्था लागू गर्न मन्त्रिपरिषद्बाट निर्णय आवश्यक पर्ने उनको भनाइ छ।

फास्ट ट्र्याक निर्माणमा खोकना विवाद पनि अर्को प्रमुख अवरोधका रूपमा रहेको छ। रक्षा मन्त्रालयले भने आफूहरू खोकना विवादको विषयलाई ध्यानपूर्वक हेरिरहेको र अन्य विकल्पका विषयमा छलफल अध्ययन गरिरहेको जनाएको छ।  बस्नेतले आयोजनाको काम अघि बढाउन आफूहरू प्रतिबद्ध रहेको दोहोर्‍याउँदै निर्माणमा देखिएका प्राविधिक तथा भौतिक चुनौती समाधान गर्दै अघि बढिरहेको बताए।  

थापाले फास्टट्रयाकलाई छिटो सम्पन्न गर्न पर्याप्त बजेट आवश्यक रहेको बताएका छन्। सय अर्ब रुपैयाँभन्दा बढीको काम गर्नुपर्ने आयोजनामा चालु आर्थिक वर्षमा करिब १७ अर्ब रुपैयाँमात्र विनियोजन भएको भन्दै उनले तत्काल प्रभाव नपर्ने साना तथा टुक्रे आयोजनाको बजेट केही समय रोकिए पनि रणनीतिक आयोजनामा स्रोत केन्द्रित गर्नुपर्ने बताए। चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित नेपाली सेनालाई जिम्मा दिइएको फास्ट ट्र्याकको भौतिक प्रगति २०८३ भदौ मसान्तसम्म ५०.०२ प्रतिशत र वित्तीय प्रगति ५१.४७ प्रतिशत पुगेको छ। निर्माण अवधि लम्बिँदै जाँदा आयोजनाको अनुमानित लागत २ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ। बाँकी काम सम्पन्न गर्न थप करिब २० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।

सरकारले आयोजना सम्पन्न गर्ने समयसीमा फेरि ३ वर्ष थपेर २०८६ चैत मसान्त पुर्‍याएको छ। सुरुमा २०७८ वैशाखसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना पहिलोपटक २०८१ मंसिरसम्म र दोस्रोपटक २०८३ चैत मसान्तसम्म पुर्‍याइएको थियो। म्याद थपिँदै र लागत बढ्दै गएको अवस्थामा फास्टट्रयाक अब केवल थप बजेट र समय थपेर मात्र सम्पन्न हुने अवस्थामा छैन। खरिद प्रणाली सुधार, डिजाइन तथा स्वीकृति प्रक्रियामा सहजीकरण, निर्माण व्यवसायीका समस्या समाधान, खोकना विवादको टुंगो र पर्याप्त बजेट व्यवस्थापनसँगै सेनाको प्राविधिक तथा व्यवस्थापकीय क्षमता प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने देखिन्छ। 

थापाका अनुसार फास्ट ट्र्याक सम्पन्न भएपछि काठमाडौं र तराईबीच भरपर्दो वैकल्पिक सडक सञ्जाल बन्नेछ र आयोजनाले वार्षिक १० देखि १५ अर्ब रुपैयाँसम्म आम्दानी गर्न सक्नेछ। त्यसैले वर्षौं ढिलाइ भइरहेको आयोजनालाई थप म्याद थप्नेभन्दा बाँकी अवरोध हटाएर निर्माणलाई निर्णायक रूपमा अघि बढाउनुपर्ने दबाब सरकारमाथि बढेको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.