पृथ्वी विचार : विकासको बाटो
सीपयुक्त जनशक्ति निर्माणमा योजना बनाऊ। शिक्षा नीति र तालिम नीतिमा व्यापक फेरबदल गर।
पृथ्वी विचारको मूल बाटोमा अर्थात् पृथ्वी पथमा हिँडेर नेपाललाई विकसित मुलुक बनाउन सकिन्छ भन्ने आधार यहाँ प्रस्तुत गर्न कोसिस गरिनेछ। पृथ्वी विचार आफैं विकास विचार हो। विकासको अर्को नाम पृथ्वी विचार हो। पृथ्वी विचारलाई विकासबाट अलग्याउन सकिँदैन भने विकासलाई पृथ्वी विचारबाट अलग्याउन सकिँदैन। पृथ्वी विचार र विकास आफैंमा एउटा साझा नाम हो, साझा अभियान र साझा आन्दोलन पनि हो। जसले विकास चाहन्छ उसले पृथ्वी विचार पढ्छ। यो नेपालको मौलिक विचार पनि हो।
जसले पृथ्वी विचार पढ्छ उसले विकासको मूलकडी बुझ्छ। जसले विकासको मूल कडी बुझ्छ उसैले समृद्ध नेपालको सपना पनि देख्छ र सपनालाई विपनामा रूपान्तरण गर्ने आधार पनि भेट्छ। आउनुहोस् हामी पनि पृथ्वी विचार र विकासमा एकछिन हराऔं र विकासको मूलबाटो फेला पारेर मुलुकलाई यही बाटोबाट अघि बढाएमा समृद्ध नेपालको सपनाले मूर्तरूप लिन सक्ने विश्वास बोकेर अघि बढौं।
पृथ्वी विचार समग्र विकासको एउटा सिंगो डालो हो अर्थात् प्याकेज हो। यसले विकासका सबै सार र धारलाई सम्बोधन गर्छ। चल्तीका शब्दहरू अथवा विकासका प्रारम्भिक सर्तहरू गाँस, बास कपासलाई पृथ्वी विचारले सम्बोधन गर्दछ। गाँस, बास, कपासमात्र होइन यीमाथि नगद पनि थप्छ पृथ्वी विचारको विकासले। शासन, सुशासन, अनुशासन सबै किसिमले बलियाजन भित्रिन्छ। कसरी विदेशी धन आदि सबै सवालको जवाफ दिन्छ पृथ्वी विचारको विकासले। विकासका लोभलाग्दा जे जस्ता नयाँ नारा र कार्यक्रम अघि सारे पनि ती पृथ्वी विचार र विकासको घेरा तोडेर बाहिर जानै सक्तैनन्। ती सबै पृथ्वी विचारका घेराभित्रै पर्छन्। पृथ्वी विचार र विकासको विशेषतार विकासको शक्ति नै यही हो।
पृथ्वी विचारको जगमा उभिएर विकासमा अघि बढौं। पहिला गाँस, बास, कपास र नगदको सम्बोधन हुने विकास पृथ्वी विचारबाट खोजौं। कृषिलाई विकासको महत्वपूर्ण कडी बनाएर अघि बढ्न पृथ्वी विचारले निर्देशन गरेको छ। कृषि उत्पादन योग्य जमिनको संरक्षण र अवरोधरहित सिँचाइको निरन्तरता भनेर पृथ्वी विचारले कृषि उत्पादनलाई आत्मनिर्भर अर्थतन्त्रको मूल कडी बनाउन भनेको हो। यो त्यसै हचुवाको भरमा आएको विचार होइन। यसमा आधार छन्।
जल, जमिन, जंगल, जलवायु, जनावर र जनशक्ति कृषि उत्पादनको लागि नेपाल सबै किसिमले अनुकूल छ भनेर यी ६ ‘ज’हरूले जाहेर गर्छन्। यही अनुकूलतामाथि उभिएर कृषिको उत्पादनको विकास गरेर राष्ट्रको विकासलाई दरिलो बनाउनुपर्छ भन्ने पृथ्वी विचारको बाटोमा हिँडेर कम्तीमा पनि कृषि उत्पादनमा आत्मनिर्भर हुनुबाहेक कुनै विकल्प छैन नेपालसँग। आत्मनिर्भरमात्र होइन कृषि उत्पादनको निर्यातक मुलुकको सम्भावना बोकेको मुलुक परनिर्भर हुनु राष्ट्रिय लज्जा हो। सरकारले सोझै खेतमा सोझै गोठमा फलदायी हुने गरी कृषि कार्यक्रमको घोषणा गर्नुपर्छ। आसेपासे राजनीति पहुँचका नक्कली किसान र भ्रष्ट कर्मचारी गठजोडको भ्रष्टाचारलाई प्रहार गर सरकार। सोझै सक्कली किसानलाई सबै किसिमले सहयोग गर सरकार। कृषिको लहर लिएर आऊ सरकार। यहीमात्रै हो गाँसको समस्या समाधन गर्ने अचुक औषधि पृथ्वी विचार र विकास।
अब कपासमा लागौं। राष्ट्रनायक पृथ्वीनारायण शाहले कपासलाई जोड दिएका छन्। पृथ्वी विचार भनेको स्वदेशमा नै कपडा उत्पादन गर्ने र त्यही कपडाले आफ्नो आवश्यकता पूरा गर्ने भन्ने हो। सरकार पञ्चायतकालमा पनि कपास विकास कम्पनी थियो। त्यसले कपास उत्पादन गथ्र्यो र कपास उत्पादन क्षेत्र बढाउथ्यो, साथै अध्यायन र अनुसन्धानसमेत गर्दथ्यो। त्यसले नेपालकै हेटौंडा कपडा उद्योगलाई आपूर्ति गर्दथ्यो। यो पृथ्वी विचार र विकास थियो कपडा उत्पादनको क्षेत्रमा। यसलाई २०४६ सालको परिवर्तनले जोगाएर बढाएर लान सकेन। बरु यसलाई समाप्तै बनाइदियो। अहिलेको बालेन सरकारले पुनः सञ्चालमा ल्याएको छ शुभकामना सफलता मिलोस्।
पहिला धेरै नेपालीहरू आफ्नै घरमा, गाउँमा वा वरपर गाउँमा बुनेका घरबुना कपडा लगाएका हुन्थे। बाहिरी मुलुकका सस्ता कपडाले ती सबै ध्वस्त भए। गाउँघरतिर पनि कपास खेती गर्न छोडे, कपडा बन्न छोडे। चर्खाहरू थन्किए। कपडा विकासमा पृथ्वी विचार पनि थन्कियो। पृथ्वी विचारले आफ्नै कपडा उत्पादन गर्नु, अझ प्रविधि भिœयाएर गुणस्तर सुधार गर्नु, सधैं आफ्नै कपडा लगाउनु र कपडाको लागि विदेश जाने पैसा बचाउनु भनेका थिए। यसको पनि अनुसरण भएन। खाद्य सामग्रीमा जस्तै कपडामा पनि अर्बाैं नगद बाहिर गइरहेको छ।
सरकार कपासमा फर्क। कपास उत्पादनको पकेट क्षेत्र खोज। गुणस्तरीय कपासको बिउ र प्रविधि खोज। नेपाललाई सुती कपडा उत्पादनको विशेष क्षेत्र बनाऊ। स्वस्थकर सुती कपडाको देश विदेशमा माग र बजार ठूलो छ। पृथ्वीनारायण शाहले भने जस्तै यसको गुणस्तरीय अझ विश्वस्तरीय बनाउन सीप सिकाऊ प्रविधि भिœयाऊ। कपास उत्पादनको लागि सबै किसिमले सहजीकरण गर उत्प्रेरित गर। अल्लो, गाँजा र उनमा पनि ध्यान देऊ। यसरी पृथ्वी विचार र विकासमा गाँसमा जोडिए जस्तै कपासमा पनि जोडियौं सरकार। पृथ्वी विचारले बस्तीको लागि अझ व्यवस्थित बस्तीको लागि संकेत गरेको छ। यो हो बासको कुरा यसरी गाँस, बास, कपासको कुरा पृथ्वी विचारले सम्बोधन गर्दछ।
पृथ्वी विचार र विकासको अर्को बाटो भनेको विदेशी मुद्रा आर्जन गर्ने उपाय र योजना हो। पृथ्वीनारायण शाहले जडीबुटी र अन्य जिनिसलाई निर्यात गर्ने र नगद खैचने भनेका छन्। सरकार यतातिर ध्यान देऊ। केही वर्ष अगाडि छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संसद्मा अर्थात् विधायिकी सभामा नेपालमा नगद आर्जन गर्न जडीबुटीको ठूलो सम्भावना छ भन्दा के नयाँ कुरो बोले है मोदीले भनेर हल नै चर्काउँला झैं गरेर ताली पड्कायौं। तर यही कुरा आफ्ना राष्ट्रनिर्माताले धेरै पहिला नै निर्देशन विचार अघि सारेका थिए भनेर कहिल्यै हेक्का राखेनौं। कहिल्यै पृथ्वीनारायण र पृथ्वी विचारको समर्थनमा जोशको साथ त्यसरी ताली पड्काएनौं। अथवा बुझ पचाएर राष्ट्रनिर्माताको अपमान गर्नुलाई आफ्नो बहादुरी ठान्यौं। बाबा रामदेव आउँदा भगवान् नै आए झैं गरेर उनको चरणमा लम्पसार पर्न पुग्यौं। उनकै सहकर्मी नेपाली मूलका भारतीय बालकृष्ण र उनले जडीबुटीको व्यापारले गरेको चमत्कार देखेका छौ तर पृथ्वी विचारलाई नजरअन्दाज गरेका छौ। पृथ्वी विचारमा विकास छ पृथ्वी विचारमा नगद छ भनेर चेत कहिले खुल्ने हो सरकार ? जडीबुटीको नेपालमा ठूलो सम्भावना छ। ठूलो मनले ठूलो योजना बनाऊ। यहाँ ठूलै नगदको रास छ।
सरकार पृथ्वीनारायण शाहले भनेको नगद षैचनेलाई विदेशी मुद्रा आर्जन गर्ने बुझ र यसको एउटा प्याकेज योजना अघि सार र काम थाल परिणाम निकाल।पृथ्वीनारायण शाहले नेपालको सुन्दरतालाई ईश्वरको रचना भनेका छन्। नेपालको सुन्दर प्रकृति, नेपाली विविध संस्कृति र पूर्वीय आध्यात्मिक धारको केन्द्र नेपाल आफैंमा नगद षैंचने बलियो आधार हो। यसको मौलिकता नष्ट हुन नदिन नेपाललाई ओमकार परिवारको साझा तीर्थस्थलको रूपमा कायम राखिरहन पृथ्वीनारायण शाहको असली हिन्दुस्थानाको मर्मलाई पक्रँदै वैधानिक रूपले नेपाललाई हिन्दुराज्य नै घोषण गरौं। हिन्दुका तीर्थस्थल र बुद्धको जन्मस्थलले धार्मिक पर्यटक तान्छन्। त्यसरी नै हामीसँग मुन्धम मार्गी र अनेक प्रकृति पूजकका अनेक देवी देउरालीलगायत अनेक रैथाने धर्म संस्कृतिका छन्। अर्को महŒवपूर्ण प्रकृति र सांस्कृतिक विविधताको सुन्दरताले अन्य पर्यटक तान्दछन्। पर्यटन आफैंमा नेपालको धन हो। पृथ्वी विचारको नगद तान्नेमा पर्यटन उद्योगलाई जोडौं पर्यटनलाई विकासको मुख्य कडी मान्दै पर्यटन उद्योग र पूर्वाधारको तीव्र गतिमा विकास गरौं।
सरकार पृथ्वी विचार र विकास स्वदेशी सीप र साधनबाटै निकास हो भन्ने बुझ। विकासको निकास यहीबाट खोज। पृथ्वी विचारले भनेजस्तै सीपयुक्त जनशक्ति निर्माणमा योजना बनाऊ। शिक्षा नीति र तालिम नीतिमा व्यापक फेरबदल गर। प्राविधिक, वैज्ञानिक र व्यावसायिक शिक्षामा जोड गर। दक्ष श्रमशक्तिको नेपाल बनाऊ। श्रम शक्ति र युवाशक्ति विदेशीलाई बेचेर नेपाल कहिल्यै धनी र बलियो हुुँदैन। जनशक्तिरहितको उजाड र उदास गाउँ, बस्ती, सहरको मुलुक पृथ्वीनारायणको कल्पना होइन। आन्तरिक रोजगार र स्वरोजागार पृथ्वी विचारको धार र आधार हो भन्ने बुझ सरकार। सरकार निदाउँदा पनि ब्युँझिँदा पनि नेपालको विकास पानीमा छ भन्ने बुझ। पृथ्वी विचार र विकास भनेको नगद तान्नेमात्रै होइन नगद थाम्ने पनि हो। चक्का, चुलो, उज्यालो र उत्पादनमा बिजुली जोड। सम्भव भएसम्म धरतीमा बिजुलीले सबै चक्का घुमाऊ। आकाशमा ढुवानीको लागि रोपवेको सञ्जालको योजना बढाऊ। केबलकारलाई पनि त्यसरी नै फैल्याऊ। पृथ्वी विचारको यसो भए नगद विदेश जाँदैन।
सरकार पानी बेच, नदी नबेच, बिजुली बेच अधिकार नबेच। बिजुली उपयोग पहिलो प्राथमिक सोच। बिजुलीका चुलालाई प्रोत्साहन गर, ग्यासलाई निरुत्साहित गर। चक्का डिजेल, पेट्रोलले होइन बिजुलीले घुमाऊ। योजना आयोग एक घण्टा पृथ्वी विचार पढ दिनमा र पृथ्वी विचारलाई विकासमा जोड। आयातमूलक अर्थतन्त्रलाई निर्यातमूलक अर्थतन्त्रमा बदल्न सम्भव सबै प्रयास गर सरकार। कम्तीमा पनि व्यापार असन्तुलनलाई घटाउने योजना त बनाऊ।
सरकार अलिकति त दुःख छिमेकीले चौकीदार मुलुक भनेर बारम्बार होच्याउँदा खेरी। यस्तै अरुरू धेरै मुलुकले नोकर मुलुक भनेर होच्याउँलान्। खण्डन गर्ने आधार पनि छैन। घोसेमुन्टो लगाएर ‘हुन्दे नानी जस्तो देख्छन् उस्तै भन्छन्’ भन्नु बाहेक अर्को विकल्पै छैन। लामो समयदेखि अवलम्बन गर्दै आएको पृथ्वी विचार विपरीत अर्थनीति र विकास नीतिको परिणाम हो सरकार।
पृथ्वी विचार आफैंमा तीव्र गतिको विकास हो। भ्रष्टाचारले विकास थला परेको छ जताततै। पृथ्वी विचार आफैंमा भ्रष्टाचारमाथि चोटिलो प्रहार गर्ने हतियार हो। सरकार यो हतियारले प्रहार गर जताततै। भ्रष्टाचारको छातीमाथि पृथ्वी विचारको घोडा कुदाऊ सरकार। यसले सुशासन दिन्छ र विकासले गति लिन्छ। सर्त एउटै हो सरकार भ्रष्टाचार नगर। सानातिना कार्यबाहीको प्रचार गर्ने नीतिगत र ठूला भ्रष्टाचारमा साझेदार हुने पाखण्डी र ढोंगी हुनु भएन। सत्तापक्ष पनि हुनु भएन प्रतिपक्ष पनि हुनु भएन। भ्रष्टाचारमा कुशलता हासिल गरेका सिपालु भ्रष्टाचारीहरूलाई अख्तियारमा ल्याएर ठूला भ्रष्टाचारी, सरकार, ठूला दल नेताको कमाइ खाने साझा थलो नबनाऊ अख्तियार दुरुपयोग आयोगलाई। यसलाई पृथ्वी विचारले साँध लगाऊ र नाम र जिम्मेवारीअनुसार नै काममा लगाऊ सरकार। अतः सबैलाई चेतना भया पृथ्वी विचारले विकास पनि दिन्छ निकास पनि दिन्छ।
कृषि उत्पादनमा आत्मनिर्भर हुनुबाहेक कुनै विकल्प छैन नेपालसँग। आत्मनिर्भरमात्र होइन कृषि उत्पादनको निर्यातक मुलुकको सम्भावना बोकेको मुलुक परनिर्भर हुनु राष्ट्रिय लज्जा हो। सरकारले सोझै खेतमा, सोझै गोठमा फलदायी हुने गरी कृषि कार्यक्रमको घोषणा गर्नुपर्छ। आसेपासे राजनीति पहुँचका नक्कली किसान र भ्रष्ट कर्मचारी गठजोडको भ्रष्टाचारलाई प्रहार गर सरकार।
प्रतिक्रिया दिनुहोस !