कांग्रेस महाधिवेशन: सहमति प्रयासले धकेलियाे निर्वाचन कार्यक्रम
काठमाडौं: नेपाली कांग्रेसको १५औं महाधिवेशनमा बुधबार दिनभर एउटा दृश्य दोहोरिइरह्यो– सहमतिको खोजी। सभापति पददेखि विभिन्न पदाधिकारीमा परेको उम्मेदवारी घटाउने, नेताहरूलाई मिलाउने र सकेसम्म सर्वसम्मत नेतृत्व निर्माण गर्ने प्रयास दिनभर चल्यो।
किशोरसिंह राठौरले सभापतिको उम्मेदवारी फिर्ता लिए पनि श्यामकृष्ण खड्गी मैदानबाट पछि नहट्दा सभापतिमा निर्वाचन हुने देखिएको छ। बुधबार राति अबेरसम्म खड्गीको उम्मेदवारी कायम थियो। ‘गगनलाई रोक्न होइन, निर्वाचनको अधिकार जोगाउन उम्मेदवारी दिएको हुँ,’ खड्गीले अन्नपूर्णसँग भने। कांग्रेसको नेतृत्व निर्वाचन प्रक्रियाबाटै आउने इतिहास स्मरण गर्दै व्यक्ति विशेषलाई निर्विरोध बनाउनुभन्दा नेतृत्व चयनको लोकतान्त्रिक विधि जोगाउनुपर्ने उनले तर्क गरेका छन्। खड्गीले भने, ‘व्यक्ति विशेष सभापति बन्दैमा लोकतन्त्र कमजोर हुने होइन, तर नेतृत्व चयनको विधि र प्रक्रिया सधैं लोकतान्त्रिक हुनुपर्छ भनेर म मैदानमा आएको हुँ।’ निर्वाचन समितिले सार्वजनिक गरेको सूचीअनुसार १९ जना पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ। २ सय ७८ सदस्यीय केन्द्रीय समितिका लागि ७ सय ६१ जना मैदानमा छन्। कांग्रेस केन्द्रीय समितिको संख्या महाधिवेशनबाट २ सय ९७ सदस्यीय बनाइएको छ।
सभापति १, वरिष्ठ उपसभापति १ सहित ४ उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी हुने व्यवस्था गरिएको छ। सहमहामन्त्रीमा ४ जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ। निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको हुनेछ। वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा र उपसभापति पदमा महिला क्लस्टरमा पुष्पा भुसालको एकल उम्मेदवारी परेको छ। दुवै निर्विरोध भइसकेका छन्। प्रथम नामावलीमा कुनै दाबी विरोध रहेमा प्रक्रियासम्मत दाबी विरोधका लागि बुधबार बिहान १० बजेदेखि १२ बजेसम्मका लागि समय तोकिएको थियो। तर, सहमतिका लागि सभापति थापा स्वयं खटिरहँदा एकाधबाहेकले उम्मेदवारी फिर्ता लिएका छैनन्।
निर्वाचन कार्यक्रमअनुसार बिहीबार बिहानदेखि मतदान सुरु हुनेछ। सभापति गगन थापा भने कतिपय नेताहरूलाई केन्द्रीय समिति बाहिर पठाउन चाहँदैनन्। ‘पार्टीका लागि चाहिने एकदमै जिम्मेवार साथीहरू पदाधिकारीमै भिड्दा भोलि पराजित भएर पार्टीको केन्द्रीय समितिबाटै बाहिर रहने अवस्था नआओस् भन्नेमा म सचेत छु,’ उनले मंगलबार नै भनेका थिए।
४ प्रतिवेदनका सन्देश
कांग्रेसको १५औं महाधिवेशनको बन्दसत्रमा पार्टीको आगामी राजनीतिक, वैचारिक, संगठनात्मक र आर्थिक दिशालाई समेट्ने चारवटा प्रतिवेदन प्रस्तुत भएका थिए। सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रतिवेदन पेस गरेका हुन्। सभापति थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’ शीर्षकको राजनीतिक प्रतिवेदन, उपसभापति शर्माले ‘राजनीतिक संस्कृतिको क्षय र युगानुकूल रूपान्तरणको अभिभारा’ सम्बन्धी समसामयिक प्रतिवेदन, महामन्त्री घिमिरेले संगठनात्मक प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। प्रतिवेदनमा कांग्रेसले केवल नेतृत्व परिवर्तनको होइन, पार्टी सञ्चालनको शैली, संगठन, राजनीतिक संस्कृति र आर्थिक व्यवस्थापनमै पुनर्संरचनाको सन्देश दिन खोजेको देखिन्छ।
सभापति गगन थापाले प्रस्तुत गरेको ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा कांग्रेसले पछिल्ला दुई दशकमा मूल उद्देश्य छाडेर पद र सत्तालाई प्राथमिकता दिएको आत्मसमीक्षा गरिएको छ। गठबन्धन व्यवस्थापन, भागबन्डा र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको उल्लेख गर्दै थापाले अब नागरिकसँग जोडिने, युवा सहभागिता बढाउने, सुशासनमा जोड दिने र संगठनलाई आधुनिक बनाउने प्रस्ताव अघि सारेका छन्। उम्मेदवार छनोटमा गुट र पहुँचभन्दा योग्यता र योगदानलाई प्राथमिकता दिने, निर्वाचनपूर्व गठबन्धन नगर्ने र ‘डिजिटल कांग्रेस’ निर्माण गर्ने विषयलाई उनले जोड दिएका छन्।
बन्द सत्रलाई सम्बोधन गर्दै थापाले पूर्वसभापति शेरबहादुर देउवालगायतका अग्रजहरूको अनुपस्थितिले आफूहरूलाई नमिठो लागेको बताए। पार्टी निर्माणमा देउवा र अन्य नेताहरूको ठूलो योगदान रहेको स्मरण गर्दै उनले भोलिका दिनमा पनि सबैसँग जोडिएर अघि बढ्ने प्रतिबद्धता जनाए। साथै, पार्टीको विवाद राजनीतिक भएकाले राजनीतिक रूपमै समाधान खोज्नुपर्ने र अदालत धाउने परिपाटीले समय मात्र बर्बाद हुने उनको भनाइ थियो। सर्वोच्च अदालतले पटक–पटक दरपीठ गरिसकेकाले विवादको यो च्याप्टर बन्द गरेर अघि बढ्न उनले आग्रह गरे।
उपसभापति विश्वप्रकाश शर्माको प्रतिवेदनले पार्टीभित्रको राजनीतिक संस्कृतिमाथि सीधा प्रश्न उठाएको छ। शर्माले लोकरिझ्याइँलाई राजनीति नबनाउने, आलोचकलाई शत्रु नठान्ने, व्यक्ति केन्द्रित राजनीति र स्थायी गुटबाट माथि उठ्ने प्रस्ताव पेस गरेका छन्। भ्रष्टाचारप्रति शून्य सहनशीलता, आन्तरिक निर्वाचनबाट उम्मेदवार छनोट र सार्वजनिक जवाफदेहितामा उनले विशेष बल दिएका छन्। यसरी हेर्दा थापाको प्रतिवेदनले ‘कांग्रेसले अब के गर्ने ?’ भन्ने प्रश्नको उत्तर खोज्छ भने शर्माको प्रतिवेदनले ‘कांग्रेसले राजनीति कसरी
गर्ने ?’ भन्ने प्रश्न उठाएको देखिन्छ। राजनीतिक नेतृत्वले अघि सारेका नयाँ एजेन्डा कार्यान्वयन गर्न पार्टीको संगठन पनि सोहीअनुसार बदल्नुपर्ने निष्कर्ष निकाल्दै महामन्त्री गुरुराज घिमिरेको प्रतिवेदनमा संरचना र कार्यशैलीलाई समयअनुकूल बनाउने प्रस्ताव गरिएको छ।
कोषाध्यक्ष उमेश श्रेष्ठको आर्थिक प्रतिवेदनले पार्टीको वित्तीय व्यवस्थापन र अनुशासनको विषय समेटेको छ। राजनीतिक दलको विश्वसनीयता भाषण र नीतिले मात्र नभई पारदर्शी आर्थिक स्रोत र खर्च प्रणालीले निर्धारण गर्ने भएकाले आर्थिक अनुशासनलाई सुधारको अनिवार्य हिस्सा बनाइएको छ।
गगन–मिनेन्द्रको त्यो संवाद
१५औं महाधिवेशनमा खुला उपसभापतिमा उम्मेदवारी दिएका नेता मिनेन्द्र रिजालले सभापति गगन थापासँग भेटेपछि उम्मेदवारी फिर्ता लिन तयार भए। उम्मेदवारी फिर्ताअघिको भिडियो संवाद सार्वजनिक भयो रिजालकै फेसबुकबाट।
सभापति थापाले रिजालसँग आफूले पार्टी सभापतिको हैसियतमा सँगै बसेर काम गर्न चाहेको बताएका छन्। रिजालको अनुभव र ज्ञान नयाँ पुस्तालाई जोड्ने ‘पुल’ का रूपमा आवश्यक रहेको उनको भनाइ छ। ‘दाइको उपस्थिति नेपाली कांग्रेस पार्टीभित्र र हाम्रो जेनेरेसनले पार्टी लिड गर्दै गर्दा पनि त्यो अनुभव, ज्ञानको साथमा अझै सशक्त उपस्थिति हुनुपर्छ भन्ने ठान्छु,’ थापाले भनेका छन्, ‘यो बेलामा सँगै बसेर काम गर्ने कुराका लागि मेरो रिक्वेस्ट पनि छ।’
रिजालले पनि कांग्रेसलाई योगदान गर्ने कुरा आफ्नो प्राथमिकता रहेको भन्दै आफूले पदका लागि उम्मेदवारी नदिएको बताएका छन्। ‘आजको दिनमा जहाँ हामी पुग्या छौं, गगन थापाबाट सम्भव भयो भने सम्भव छ, अरू कसैबाट सम्भव छैन,’ रिजालले भने, ‘त्यसैले तिमीलाई सहयोग गर्छु। तिमीले नै भनिसकेपछि मैले कुनै पदमा लड्छु भनेर पनि यहाँ आएको छैन।’
खुला उपसभापतिका लागि दुई जना निर्वाचित हुने पदमा रिजालसहित डा. चन्द्र भण्डारी, देवराज चालिसे, सुरेन्द्रराज पाण्डे, मधु आचार्य, दीपक गिरी, धनराज गुरुङ, गोविन्द भट्टराई र डा. चन्द्रमोहन यादवले उम्मेदवारी दिएका थिए। चालिसेले पनि उम्मेदवारी फिर्ता
लिइसकेका छन्।
प्रतिक्रिया दिनुहोस !